श्री माई चण्डेश्वरी जेष्ठ नागरिक आश्रमको भवन निर्माण कार्य प्रारम्भको लागि शिलान्यास गरिएको छ । बुधबार एक समारोहका बीच संघीय सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्यालले आश्रम निर्माणको शिलान्यास गर्नुभएको हो । आश्रम निर्माणका लागि आवश्यक पर्ने जग्गा ब्यवस्थापन सँगै भवन निर्माण कार्य प्रारम्भ गरिएको हो । १५ रोपनी जग्गामा आश्रम निर्माण गर्न लागिएको भएपनि सुरुमा ५ रोपनी जग्गामा भवन बन्ने छ । २०७० सालमा स्थापना गरिएको उक्त संस्थाले करिब एक दशक जग्गा ब्यवस्थापन लगायतका कार्यमा समय ब्यतित गरेको थियो । आश्रम निर्माणका लागि जग्गा कम्पाउण्ड वाल, मुख्य प्रवेशद्धार गेट, गणेश मन्दिर निर्माण, सिंगल ब्लक भवन ४ वटा, डबल ब्लक भवन ४ वटा, कमन क्लक भवन, मल्टिपरपोज भवन, नर्सिङ डिपार्ट सहित स्वास्थ्य क्लिनिक आध्यात्मिक भवन जसमा योग सहितका अभ्यास गर्न सकिन्छ, भान्सा घर लगायतका संरचनाहरु निर्माण हुनेछन् । सुरुमा २० करोड लागतमा पहिलो चरणमा ब्लक भवन बन्ने छन् ।
‘केहि संरचना निर्माणमा सरकारका तीन तहकै सरकारको सहयोग आवश्यक रहेको समितिका अध्यक्ष उद्धव तिमल्सिनाले बताउनुभयो भने–‘बाँकी संरचना निर्माण, जग्गा ब्यवस्थापन तथा त्यसको कार्य संचालनमा समितिले योजना तय गरेकोउल्लेख गर्नुभयो । डिपिआर भित्र रहेर आवश्यक संरचना सहितका पुर्वाधार निर्माण गरिनेछ । निर्माण सम्पन्न भएपछि संचालनमा ल्याईने छ आश्रमका अध्यक्ष तिमल्सिनाले भन्नुभयो ।’ समारोहलाई सम्बोधन गर्दै मुख्य सचिव डा. वैकुण्ठ अर्यालले स्थानीय दानवीरहरुले सहयोगको आइरो र राम्रो क्षेत्रमा जग्गाको व्यवस्थापन भएकाले जेष्ठ नागरिक आश्रम बन्नेमा आफू विस्वस्त भएको बताउनुभयो । बजेट निर्माण तयारी भएकाले आवश्यक प्रक्रिया सहित निर्माण समिति आएमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता मुख्य सचिव अर्यालले राख्नुभयो । सिंगल ब्लक निर्माणका लागि ३५ लाख रुपैया खर्च हुने लागत अनुमान छ । जसमा दुईवटा कोठा हुनेछन् । एट्याच बाथरुम पनि हुनेछ । दाताहरुले एउटा ब्लक बनाएको अवस्थामा दुई मध्ये एउटा कोठा उहाँहरुकै सिफारिसमा प्रयोगमा आउने छ भने अर्काे समितिले ब्यवस्थापन गर्नेछ । उक्त कमन ब्लक बाहेकका सिंगल र डबल ब्लकका भवनहरुमा पैसा तिरेर जेष्ठ नागरिकलाई राखिनेछ । कमन ब्लकमा भने १५÷१५ जना महिला र पुरुष राख्न मिल्नेछ । त्यो निशुल्क हुनेछ । आश्रमको कुल क्षमता, निर्माण गरिएका संरचनाको हेरचाह, ब्यवस्थापन, मर्मत सम्भार र नियमित संचालन समितिले गर्ने सह सचिव मोहनकृष्ण श्रेष्ठले बताउनुभयो । समितिले जग्गा खरिद तथा ब्यवस्थापनका लागि करिव ३ करोड रुपैया खर्च गरिसकेको जनाएको छ । ब्लक जसले निर्माण गरिदियो उहि दाताको नामाकरण गरिनेछ ।
समितिमा अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, उपाध्यक्षद्धयमा सुरकृष्ण बैद्य र पुष्पकाजी श्रेष्ठ, सचिव उद्धव आचार्य, सह सचिव मोहनकृष्ण श्रेष्ठ, कोषाध्यक्ष ग्रुवेन तौजले रहनुभएको छ । त्यस्तै सदस्यहरुमा प्रताप बैद्य, अन्जना शाह, धर्मभक्त प्रधान, ध्रुर्वराज कर्माचार्य, रामराजा धौभडेल, रामगोपाल कायष्ठ, मिनु रञ्जित, दिनेश राज कायष्ठ, अरुणचन्द्र बादे, पुर्णदेवी कायष्ठ, कमला श्रेष्ठ, रसिक पलाञ्चोके, नवराज शाक्य, बलराम अधिकारी, रविन कर्माचार्य, हर्षनारायण कर्माचार्य लगायत छन् । जेष्ठ नागरिक आश्रम निर्माणका लागि गु्रवेन तौजले, कृष्णमान कायष्ठ, स्व.बद्रि नापितको स्मृतिमा उनका परिवारका सदस्य, अमरनाथ बादे, श्यामचन्द्र बादे, विक्रम भैल, प्रकाशकुमार श्रेष्ठ, पुष्पकाजी श्रेष्ठ, दशनारायण पोटे, बालकृष्ण मानन्धर, सुनिल बैद्य, रवि श्रेष्ठ, उद्धवप्रसाद तिमल्सिना, किरण मानन्धर, पूर्णदेवी कायष्ठ, दिलिप श्रेष्ठ, दिपक सरकार, लक्ष्मीलाल राजभण्डारी, रामप्यारी बज्राचार्य,कृष्णमान कायष्ठ, डा.भुषण श्रेष्ठ, प्रकाश कायष्ठ, मुनेश कायस्ठ लगायतले सहयोग गरिसक्नुभएको छ ।
कार्यक्रममा प्रदेश सांसद कञ्चनचन्द्र बादे, नगर प्रमुख शान्तिरत्न शाक्य, समितिका उपाध्यक्ष सुरकृष्ण बैद्य लगायतले जेष्ठ नागरिक आश्रम निर्माणले जेष्ठ नागरिक प्रति सम्मान हुने बताउनु भयो । अध्यक्ष उद्धव तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रम सह सचिव मोहनकृष्ण श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।
काभे्रमा कहाँ कहाँ छन् जेष्ठ नागरिक आश्रम ?
काभे्र जिल्लाका विभिन्न पालिकामा ९ वटा जेष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन् । जेष्ठ नागरिक जिल्ला संघ काभे्रका अध्यक्ष सिद्धिबहादुर कर्मचार्यका अनुसार वौद्ध वृद्धाश्रम, ध्यान कुटी विहार बनेपा, बुधवार नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले शिलान्यास गर्नुभएको श्री माई चण्डेश्वरी जेष्ठ नागरिक आश्रम, धुलिखेलमा गिता मन्दिर जेष्ठ नागरिक आश्रम, र संखुमा रहेको सुमित्रा चौलागाईले नेतृत्व गर्नुभएको व्यवस्थित मानव कल्याण समाज जेष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन् । त्यसै गरी पनौती नगरपालिकामा अवस्थित प्राणनाथ जेष्ठ नागरिक आश्रम र पनौती १० खोपासीमा भरत प्रसाद शर्माको नेतृत्वमा रहेको साहारा जेष्ठ नागरिक आश्रममा करिब ३ सय हराहारीमा जेष्ठ नागरिक रहेको र व्यवस्थीत आश्रम रहेको कुरा जिल्ला अध्यक्ष कर्माचार्यले बताउनुभयो । नमोबुद्ध नगरपालिकामा बागेश्वरी जेष्ठ नागरिक आश्रम र बेथानचोक गाउँपालिकामा ढुङ्खर्क जेष्ठ नागरिक आश्रम र दाप्चामा जेष्ठ नागरिक आश्रम रहेको छ ।
