IMG-LOGO

बन्ने भयो काठमाडौंमा नयाँ चक्रपथ

 मंगल, चैत २७, २०८०  ---

 

     चिनियाँ पक्षले कलंकी –महाराजगन्ज चक्रपथ विस्तारको लागि ‘प्रिलिमिनरी डिजाइन’को खाका नेपाललाई पठाएको छ। नेपाल सरकारले ‘साइट क्लियरेन्स’ गर्न थालेको ५ वर्ष पुगिसक्दा बल्ल डिजाइनको खाका आदानप्रदान भएको हो। चिनियाँ अनुदानमा बन्ने आयोजना लामो समय साइट क्लियरेन्स नभएको भन्दै सुरु नै हुनसकेको थिएन। तर चिनियाँले नै चक्रपथ विस्तारको लागि बजेट विनियोजन नगर्दा लामो समय अन्योल रहेको थियो । अहिले चीनले चक्रपथ विस्तारको लागि बजेट छुट्याइसकेको बताइएको छ । ‘चीनले चक्रपथ विस्तारको लागि बजेट छुट्याइसकेको सुनेका छौँ’, चक्रपथ विस्तार सुधार आयोजना प्रमुख कृष्णनाथ ओझाको अनुसार चीनबाट आयोजनालाई गति दिने पत्र पनि आएको छ । उनका अनुसार सडकको कुन ठाउँमा पुल, कल्भर्ट हुने विषयमा जानकारीसहितको पत्र पठाइएको छ । चिनियाँ पक्षले विस्तृत परियोजना प्रतिवेदन भने अझै तयार गरेको छैन । ‘अहिले कुन ठाउँमा कस्तो संरचना बनाउने भन्ने विषयमा जानकारी गराएको छ’, ओझाले भने, ‘त्यसमा हामीले जवाफ पठाएपछि मात्रै विस्तृत परियोजना प्रतिवेदन तयार गर्छ ।’

     दोस्रो खण्डमा आठ दशमलव दुई किलोमिटर सडक छ । सम्झौता सन् २०१८ मा भए पनि कोभिडलगायत कारण चीनले नै डिजाइन गर्नुपर्ने हुँदा टोली आउन नसकेकाले रोकिएको काम पनि पूरा हुन नसकेको कारण देखाइँदै आएको छ । आठ लेनको सडकमा मुख्य लेन चीनको अनुदानमा चिनियाँ पक्षले नै बनाउनेछ । साइड लेन र ढलको काम नेपालले गर्नुपर्छ । जसको ठेक्का समेत लागिसकेर काम भइरहेको छ । २०७९ फागुनमा चक्रपथको दोस्रो चरणको विस्तारमा ढिलाइ भएसँगै चिनियाँ राजदूतसहितको टोली निरीक्षणको लागि पुगेको थियो । तत्कालीन  भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन सोङ, काठमाडौंका मेयर बालेन्द्र शाह, विद्युत् प्राधिकरणका कुलमान घिसिङलगायतसँगै निरीक्षण गरी तत्काल काम सुरु हुने बताएका थिए ।

     चिनियाँ पक्षले साइट क्लियरेन्स नभएको भन्दै काम सुरु गरेको थिएन । नेपाल सरकारले रुख कटान, विद्युतका पोल सार्ने, ढलको व्यवस्थापनका काम सकाएको छ । तर स्वयम्भूलगायत ठाउँमा संरचना नहटाई सडक निर्माण गर्ने सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखा समन्वय महाशाखा प्रमुख भीमार्जुन अधिकारीले चिनियाँ पक्ष रसुवागढी सडक र चक्रपथ विस्तारमा सकारात्मक देखिएको बताए । ‘चिनियाँ राजदूतसहितको टोली नै मन्त्रालयमा आएर छिट्टै काम अघि बढ्ने बताएको छ । अधिकारीले भने, ‘उत्तरी नाकाको महत्त्वपूर्ण मानिने रसुवागढी सडक सुधारको काम छिट्टै गर्ने पत्र आएको छ ।’ हाल चिनियाँ नाकासम्म ठूला कन्टेनर आए पनि नेपालतर्फको सडक साँघुरो हुँदा ठूला ट्रकलाई अप्ठ्यारो हुँदै आएको छ । चक्रपथ र रसुवागढी दुवै सडक चिनियाँ अनुदानमै बन्न लागेका हुन् ।

     गत फागुन ३० गते काठमाडौं महानगरका मेयर बालेन शाहले चक्रपथ विस्तार ढिलाइ भएको भन्दै चिनियाँ सम्बन्धित पक्षमाथि प्रश्न उठाएका थिए । ‘नेपालीले चीनले २४ घण्टामा ठूला ठूला भौतिक संरचना निर्माण गर्छ भन्ने समाचार कसरी पत्याउनु’, उनले भनेका थिए, ‘संघीय नेपालको केन्द्रीय राजधानी सहरकै हालत यस्तो छ । नेपालका दूरदराजको विकास पद्धतिले फड्को मार्छ भनेर कसरी विश्वास गर्नु !’ काठमाडौँका सडकलाई धूवाँ र धूलोमुक्त बनाउन सडक बढार्ने, टिपनटापन गर्ने, बुमर लगाउने र पानीले पखाल्ने गरेको बताउँदै उनले सडकको सफाइमा अपेक्षित सफाइ प्राप्त गर्न नसकेको प्रमुख कारण चक्रपथ सुधार आयोजनाको वर्षौँसम्म नसकिनु रहेको उल्लेख गरेका थिए ।

     चक्रपथको पहिलो खण्डअन्तर्गत कोटेश्वरदेखि कलंकीसम्म विस्तारको काम वि.सं. २०७१ देखि चीन सरकारले थालेको थियो। २०७५ मा १० किलोमिटर कोटेश्वर–कलंकी खण्ड सरकारलाई हस्तान्तरण गरिएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्