राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीजरल्याण्डको जस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँं राज्य संरचना तर्जुमा गरेको बताउनुभएको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित नव–निर्मित प्रशासकीय भवनको आइतबार समुद्घाटन गर्दै उहाँले राज्यको पुर्नसंरचनाको क्रममा स्थानीय तहको गठन भई संघीयता कार्यान्वयन भएको योे अवधिसम्म पनि देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेका बेला मण्डनदेउपुर नगरपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी जनतालाई दिने सेवासुविधालाई सहज एवम् प्रभावकारी बनाउन आवश्यक सुविधा सम्पन्न प्रशासकीय भवन बनाएकोमा नगरप्रमुख सहितका जनप्रतिनिधि र नगरवासीलाई राष्ट्रपति पौडेलले बधाई व्यक्त गर्नुभयो । मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संघीय राजधानी काठमाण्डौबाट नजिकैको पर्यटकीय क्षेत्र नगरकोटदेखि पवित्र ईन्द्रावती नदीसम्म फैलिएको सुन्दर नगरी मण्डनदेउपुर नगरपालिका आइपुग्दा हर्षानुभूति भएको बताउनुभएको छ । उर्वर कृषिभूमि, हरिया फाँट र मनोरम हिमाली सुन्दर दृश्य देखिने नगरपालिकाले कृषि र पर्यटन क्षेत्रबाट मनग्य लाभ लिन सक्ने संभावना रहेको भन्दै उहाले यस नगरपालिका “देउपुर र मण्डन, कृषि र पर्यटन” को अवधारणा लिएर दीर्घकालीन लक्ष्यसहित अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो । स्थानीयस्तरमा गुणस्तरीय, प्रविधिमा आधारित प्रतिस्पर्धी र प्राविधिक शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिएमात्र राजनीतिक परिवर्तनपछि मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुने उहाँको भनाई रहेको छ । मुलुक संघीयतामा रुपान्तरण भएपछि केन्द्रमा रहेका राजनीतिक, आर्थिक तथा न्यायिक अधिकारहरू जनताको घरदैलोनजिक स्थानीय तहसम्म पु–याईएको सन्दर्भमा बृहत्तर सेवा प्रवाह गर्न भौतिक पूर्वाधारको विकास अपरिहार्य भएको भन्दै राष्ट्रपति पौडेलले मण्डनदेउपुर नगरपालिकाले शैक्षिक गुणस्तर सुधार कार्यक्रम, स्मार्ट कक्षा सञ्चालन, सबै विद्यालयमा आफ्नै इन्टरनेट सेवा पु–याई शिक्षा क्षेत्रमा गरेको प्रगतिको प्रसंसा गर्नुभयो । सोही अबसरमा नगरपालिका परिसरमा नै निर्माण गरिएको हेलिप्याड उद्धघाटनका साथै नगरपालिकाको लोगो अनावरण गरिएको थियो । सामान्य प्रशासन मन्त्रि भानुभक्त जोशीले सघिंय निजामती सेवा ऐन तयार भएकोले सबै स्थानीय तहलाई कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्नेमा आफू लागिरहेको बताउनुभयो । कार्यक्रममा संघीय सांसद गोकुल वास्कोटा, वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रि लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतम, छिमेकी पालिकाका अध्यक्षहरु लगायत आम मण्डनदेउपुर नगरपालिकावासिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सभाध्यक्ष एवं मण्डनदेउपुर नगर प्रमुख टोक बहादुर वाइवाले नगरको समग्र विकासका लागि आफुहरु दिनरात खटिरहेको बताउनुभयो । उप प्रमुख बिष्णुमनि नेपालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्काले गर्नुभएको थियो । बि.स. २०७५ साल पुस २७ गते बसेको मण्डनदेउपुर नगरपालिका, नगरकार्यपालिकाको बैठकले मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ मा रहेको मनमती डाँडामा नगर कार्यपालिकाको प्रशासनिक भवन निर्माण गर्ने निर्णय गरेको थियो । नगर कार्यपालिकाको २०७७ साल जेठ २६ गतेको निर्णय बमोजिम पहिलो चरणमा प्रतिआना ५० हजारको दरले १८ रोपनी, ७ आना, ३ पैसा, ३ दाम क्षेत्रफल जग्गा प्राप्त गरेकोमा उक्त क्षेत्रफलको जग्गा अपुग भएकाले नगर कार्यपालिकाको २०७७ साल जेठ २६ गतेकै निर्णय बमोजिम दोस्रो चरणमा प्रतिआना ७० हजारको दरले ७ रोपनी, २ आना, ३ पैसा, ३ दाम क्षेत्रफल जग्गा थप गरिएको थियो । नगरपालिकाको नाममा करिब २९ रोपनी क्षेत्रफल जग्गा रहेको छ । नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि कुल २५ रोपनी, १ आना, ३ पैसा, २ दामको लागतमा जम्मा २ करोड, २८ लाख ४२ हजार ८ सय रुपैंयाँमा खरिद गरिएको नगरपालिकाका प्रवक्ता पुरुषोत्तम बजगाईंले जानकारी दिनुभयो । नगर कार्यपालिकाको प्रशासनिक भवन निर्माणका लागि तयार गरिएको योजना तथा डिजाइन बमोजिमको कुल लागत रकम ४३ करोड, ६१ लाख, ५२ हजार, ७०८ रुपैयाँ मध्ये प्रथम चरणमा मुख्य प्रशासनिक भवन र नगरसभा हल गरी दुई मुख्य संरचना निर्माण गर्न २४ करोड, ८० लाख, ५२ हजार, ४५९ रुपैयाँको लागत अनुमान बमोजिम बजेट सुनिश्चितता गरी ठेक्का व्यवस्थापन गरिएको थियो । राष्ट्रिय प्रतिस्पर्धाको आधारमा निर्माण गर्न १४ करोड, २२ लाख, ९४ हजार ९४२ रुपैयाँमा ठेक्का कबोल गरेको विकोई जयमाता जेभी निर्माण व्यवसायीसँग २०७७ साल पुस १० गते ठेक्का सम्झौता भई २०७९ साल पुस १७ गते कार्य सम्पन्न गर्ने लक्ष्य थियो । कोरोना, आर्थिक मन्दि लगायतका कारणले तोकिएको समयमा काम सम्पन्न हुन नसेकेको हुँदा अन्तिम पटक २०८० पुस मसान्तसम्ममा कार्य सम्पन्न गर्ने तथा निर्माण संरचनामा भएको केही भेरिएसन अनुसार १ करोड ९६ लाख ८४ हजार ०६६ रुपैयाँसहित कुल लागत १६ करोड १९ लाख ७९ हजार ००८ कायम भएको थियो । हालसम्म जम्मा १४ करोड १४ लाख ४५ हजार ६३३ भुक्तानी भइसकेको छ । पछि थपिएका संरचनासहित भवनको खर्च २ करोड ५ लाख ३३ हजार ३७५ भुक्तानी बाँकी रहेको छ । उक्त लागत अनुमान बमोजिम संघीय समपुरकबाट १ करोड, ८० लाख रुपैयाँ, जिल्ला समन्वय समिति काभ्रेपाञ्चोकबाट २ करोड रुपैयाँ, संघीय अनुदानबाट २ करोड ४० लाख रुपैयाँ तथा बाँकी रकम नगरपालिकाबाट स्रोत साझेदारी गरी बजेट ब्यवस्थापन गरिएको छ । वैकल्पिक विद्युत व्यवस्थापन लगायतका केही कार्य बाँकी रहेको अवस्थामा भवन निर्माणको हालसम्मको भौतिक प्रगति ९९ प्रतिशत र वित्तीय प्रगति ९९ प्रतिशत रहेको पनि प्रवक्ता बजगाईंले जानकारी दिनुभयो । नवनिर्मित प्रशासनिक भवनमा ६२ वटा साना ठूला कोठा छन् । दुई वटा हल, प्रत्येक फ्लोरमा अपाङ्गता मैत्री शौचालय, महिला र पुरुषका लागि छुट्टै शौचालय, भवनमा लिफ्ट पनि जडान गरिएको छ ।
राष्ट्रपतिद्वारा कोटीहोममा पुजा अर्चना
आईतवार नै राष्ट्रपति रामचन्द्र पौडेलले पनौती–११ बल्थलीस्थित लड्केश्वर धाममा जारी राष्ट्रिय कोटी होममा पूजाअर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गर्नुभएको छ । उहाँले कोटीहोमबाट समाज, देश र जनताको कल्याण होस भन्ने कामना समेत व्यक्त गर्नुभयो । ओमकार फाउण्डेशनको आयोजनामा २०८० फाल्गुन २ गतेदेखि लड्केश्वरमा जारी राष्ट्रिय कोटीहोम चैत्र २ गतेसम्म हुनेछ ।
