प्रधानमन्त्री ‘प्रचण्ड’ आफू नमर्दासम्म उथलपुथल भइराख्ने दाबी गरेका छन् । सोमबार शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको पनि बताए । ‘आजको दिन विशेष दिन । नयाँ उथलपुथल भएको दिन पनि बन्यो । यो सानो कुरा होइन ठुलो कुरा हो । क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ’, उनले नयाँ सत्ता समीकरणप्रति संकेत गर्दै भने, ‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ ।’ उनले माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउँदो नदी भएको पनि बताए । ‘निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन माओवादी । नयाँनयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी । सहिद सप्ताहको अन्तिम दिन निरन्तरतामा क्रमभंगता भएको छ’, प्रचण्डले भने, ‘माओवादीहरू नेपाल राष्ट्र र जनताको घोडा हो अरुको कसैको होइन ।’
तीन मन्त्रीले सपथ लिए
नेकपा माओवादी केन्द्र, एमाले, रास्वपा र जसपासहितको नयाँ गठबन्धनका तीन मन्त्रीहरुले सोमबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । राष्ट्रपति भवन शितल निवासमा उनीहरुले बिना विभागीय मन्त्रीको हैसियतमा शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिलेर सरकार बनाएका प्रचण्डले सोमबार सानो आकारको मन्त्रीमण्डल गठन गरेका हुन् । विकसित भएको नयाँ सत्ता समीकरणबाट तीन जना मन्त्रीहरुले सोमबार शपथ लिएका थिए । शपथ लिनेहरुमा नुवाकोट–१का माओवादी सांसद हितबहादुर तामाङ, पर्वतका एमाले सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका डोल प्रसाद अर्याल (समानुपातिक सांसद) रहेका छन् ।
