IMG-LOGO

फागुण ४ देखि ७ गते सम्म बनेपामा वृहत कृषि महोत्सव हुने

 मंगल, फागुन १, २०८०       रमेश प्रसाद न्यौपाने

       मध्यपहाडी पूर्वीय जिल्लाकै व्यापारीक नगरी बनेपाको लायकु तथा नालादोवाटोदेखि  विद्युत्त प्राधिकरण र बनेपा लायकु मञ्चमा फागुण ४ देखि ७ गते सम्म बृहत् काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को आयोजना गरिएको छ । उक्त वृहत कृषि महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले ४ गते १ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री, काभे्रका जिल्लामा निर्वाचित प्रतिनिधि सभा सांसद र प्रदेशका सांसदहरुको आतिथ्यता रहने छ ।

       महोत्सवको तयारी र महोत्सव अवधिभर हुने गतिविधि, महोत्सवका उपलब्धि र त्यसले पार्ने प्रभावका बारेमा समेत मूल आयोजक समितिले विस्तृत योजना तयार गरेको महोत्सव आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमले एक पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

       केही वर्ष देखि काभ्रेपलान्चोक जिल्लाका उत्पादन आलु लगायतका तरकारी बाली, दूध तथा अण्डा र कुखुराको मासु निर्यात हुँदै आएको छ । जिल्लाका नागरिकहरूले प्रयोग गरेर धेरै भएका यस्ता कृषि तथा पशुपालनबाट हुने दुग्धजन्य निर्यात गरिरहेको काभ्रेपलान्चोक जिल्लामा पछिल्लो समय नैराश्यता बढिरहेको छ । वैदेशिक रोजगारमा पलायन हुने युवाहरूको संख्या बढिरहेको छ । उत्पादनका लागि कृषकहरुले लागत अनुसारको मूल्य पाउन सकेका छैनन् । दूध र तरकारी विक्री नहुँदा कृषकहरु पेशाबाट पलायन भएका छन् । यस्तो अवस्थामा काभ्रेपलान्चोक जिल्लामा आयोजना हुने बृहत् कृषि महोत्सवले कृषकहरुलाई पेसामा थप आकर्षण गर्ने, कृषि र पशुपालनमा प्रविधि तथा नयाँ यान्त्रीकरणका बारेमा जानकारी गराउने, देखेपछि विश्वास बढ्छ भन्ने सन्देश प्रभाव गर्न २ सय भन्दा धेरै विभिन्न स्टल मार्फत कृषि र पशुपालनका नयाँ आयामहरुका बारेमा जानकारी गराउने लक्ष्य लिएको समन्वय प्रमुख दिपकुमार कुमार गौतमले बताउनुभयो  ।

       कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको महोत्सवमा कृषकहरुलाई सहभागी गराई कारोबारमा वृद्धि ल्याउने, कृषकहरुलाई आवश्यक पर्ने प्रविधि, उत्पादन सामग्री एवं औजार उपकरणहरुको प्रदर्शनी मार्फत कृषकहरु बिचमा विकसित नयाँ प्रविधि एवं सामाग्री औजार उपकरणहरु प्रति आकर्षण बढाई उत्पादन लागत घटाउने, दर्शक–कृषकहरुलाई प्रोत्साहित गर्न नयाँ नयाँ उन्नत प्रविधीहरू बारे जानकारी गराउनुका साथै नयाँ प्रविधी अपनाई नसकेका कृषकहरुलाई समेत नयाँ उन्नत प्रविधि अपनाउन प्रोत्साहित गर्ने, जिल्लामा उत्पादन हुने बाली एवं पुशपन्छीहरुको ब्यवसायीक उत्पादन, प्रशोधन एवं बजारीकरणका बारेमा कृषकहरु विच जानकारी प्रवाह गर्ने, कृषकहरुको मनोवल उच्च राख्न व्यावसायिक कृषकहरुलाई उत्कृटताको आधारमा कदर गर्दै सम्मान गर्ने योजना रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिनुभयो  ।

जिल्ला समन्वय समिति काभ्रे, बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेको प्राविधिक समन्वयमा तथा काभ्रे उद्योग वाणिज्य संघको आर्थिक व्यवस्थापनमा जिल्ला स्थित १३ वटा  स्थानीय सरकारको प्रत्यक्ष एवं सक्रिय सहभागितामा महोत्सव सञ्चालन हुनेछ । महोत्सवका लागि मूल समिति, सचिवालय तथा विभिन्न उप समितिहरु गठन गरिएका छन् ।

       महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य पदार्थ एवं उत्पादन प्रविधि, पक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्बन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तीय सेवा कर्जा सम्बन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल रहनेछन् ।

       १ करोड १५ लाख खर्चको अनुमान गरेको वृहत कृषि महोत्सवमा करीव १ लाख जतिले अवलोकन भ्रमण गर्ने अनुमान गरिएको छ । प्रतिस्टल २० हजार रकम निर्धारित गरेकोमा त्यसलाई कम गराउन काभे्र जिलाका १३ वटै सरकारलाई सहयोगका लागि अनुरोध गरिएको कुरा महोत्सव संयोजक दिपककुमार गौतमले बताउनुभयो । कृषि महोत्सवले कृषि, पशुजन्य उत्पादनको बजारीकरण, र प्रवर्दनका लागि र किसान साच्चै भुइमान्छे, टोपीको घेरा फाटेका, किसानहरुले उत्पादन गरेका बस्तुहरुको बजार मुल्य पाउन आर्थिक समृद्धिको गन्तव्य पुरा होस भन्ने हाम्रो मुख्य लक्ष्य रहेको महोत्सव संयोजक गौतमले उल्लेख गर्नुभयो ।

महोत्सवका आर्कषणहरु के के छन् ?

       काभे्र जिल्लामा परम्परागत र व्यवसायिक रुपमा कृषि तथा पशुपालन गरी आफ्नो मुल पेशा बनाएकाहरुको बृहत हित हुने छ । कृषिका उदयमान नविनतम प्रविधि तथा वित्तीय साक्षरता सम्बन्धि सेमिनार, गोष्ठि, सूचना प्रविधिमा आधारित नविनतम प्रविधिहरुको प्रदर्शन, रैथानेवाली तथा प्रविधिकरुको प्रदर्शन, उन्नत विउविजन, यन्त्र औजार उपकरण तथा अन्य उपज एवं उत्पादन सामाग्रीहरुको व्यवसायिक कारोबार स्थलगत वालि उपचार शिविर तथा पशु स्वास्थ्य शिविर कृषि विमा तथा सहुलियतपूर्ण कर्जा प्रवाह सम्बन्धि छुट्टाछुट्टै स्टलहरु रैथाने परिकार हस्तकला एवं होम स्टेसम्बन्धी प्रचार प्रचारात्मक स्टलहरु रहनेछन् । कलाकारहरुबाट साँस्कृतिक कार्यक्रमबाट भरपुर मनोरञ्जन समेत लिन सकिने छ ।

       महोत्सवका लागि प्रति स्टल २० हजार शुल्क तोकिएको छ । महोत्सव सम्पन्नपछि एक सयवटा कृषि तथा पशुपंक्षी सम्बन्धी फार्महरुमा कृषकहरु ब्यवसायीक भई उत्पादनमा वृद्धि हुने, जिल्लाका विभिन्न स्थानीय तहमा कृषि एवं पशुजन्य उत्पादन तथा व्यवसायका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने, उपत्यकाका सबै तीन जिल्लामा कृषिजन्य उत्पादनको प्रभावकारी बजारीकरणको लागि आवश्यक आधार तयार गर्ने, युवाहरु बिदेसिने क्रमलाई न्यूनीकरण गर्ने लगायतका उपलब्धिको अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा जिल्ला समन्वय उप प्रमुख रिमबहादुर तामाङ, बनेपा नगरप्रमुख शान्तिरत्न शाक्य , उप प्रमुख विमला सापकोटा दाहाल, नेपाल पत्रकार महासंघ अध्यक्ष बद्रीराज तिमल्सिना, एवं जिल्लाका क्रियासिल सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्