शनिबार हमासले इजरायलमा आक्रमण गरेको कारण आक्रमणमा परेर अहिलेसम्म एक हजार जनाभन्दा बढीको मृत्यु भएको छ। जसमा १० जना नेपाली छन्। परराष्ट्र मन्त्रालयका अनुसार आक्रमणमा परेर मृत्यु भएका १० जना नेपाली विद्यार्थी हुन् । गाजानजिकै किब्बुज भन्ने ठाउँको आलुमिम फार्ममा प्रशिक्षणका लागि १७ जना विद्यार्थी सँगै थिए । प्रशिक्षण भइरहेका बेला प्यालेस्टिनी हमास समूहको आक्रमणमा परेर एक जना बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। चार जना घाइते छन्, उनीहरूको उपचार भइरहेको छ । १० जनाको भने मृत्यु भइसकेको मन्त्रालयले पुष्टि गरेको छ । इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थी रहेको खुलेको छ ।
यी विद्यार्थीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका थिए । एक महिनाअघि उनीहरू ’पढ्दै कमाउँदै’ कार्यक्रमबाट इजरायल गएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा केयरगिभरमा चार हजार पाँच सय जना नेपाली छन् । उनीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ । साथै इजरायलमा विभिन्न विश्वविद्यालयबाट दुई सय ६५ जना विद्यार्थी अध्ययनका लागि पुगेका थिए । सरकारले इजरायलमा रहेका नेपालीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, स्वदेश ल्याउने र घाइतेका लागि उपचारको व्यवस्थाका लागि पहल गरिरहेको छ । मृत्यु भएकाहरूको शव ल्याउन जहाज तयारी अवस्थामा राखिएको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जानकारी दिएको छ ।
इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार धनुषाका आनन्द साह, कैलालीका नारायणप्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेशकुमार स्वर्णकार, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट, डोटीका राजन फुलरा, डोटीकै पदम थापा, सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष चौधरीको निधन भएको छ । कञ्चनपुरका विपिन जोशी बेपत्ता छन् । सल्यानका विधान सेजुवाल, गोरखाका हिमांचल कट्टेल, दाङका प्रविण डाँगी अस्पतालमा उपचार गराइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै कैलालीका धनबहादुर चौधरी, कैलालीकै वीरेन्द्र चौधरी र सल्यानका प्रमोद केसी सकुशल रहेको दूतावासले जानकारी दिएको छ ।
निधन भएका व्यक्तिको परिवारलाई सरकारले १० लाख दिने
इजरायलमा हमासको आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले हमासको आक्रमणबाट इजरायलमा मृत्यु भएकाको परिवारलाई राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको हो । प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले शनिबार दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ’यस घटनामा निधन भएका नेपालीहरूको परिवारलाई राहत स्वरुप प्रतिपरिवार दस लाख रुपैयाँ उपलब्ध गराउने । उक्त रकम अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत निकासा दिने ।’ सरकारले घटनामा मृत्यु भएकाको शव पनि नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालयलाई इजरायल सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ । बेपत्ताको खोजीका लागि इजरायली सरकारसँग समन्वय गर्ने र घाइतेहरूलाई आवश्यक उपचारको व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । त्यस्तै नेपाल फर्कन चाहने इजरायलमा रहेका नेपाली ल्याउन सरकारले हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको जहाज पठाउने भएको छ ।
