नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी भित्र र बाहिरका नेताहरुले एमसिसि पास भए काँग्रेस सकिन्छ भनेपनि पहिलो पार्टी भएको बताउनु भएको छ । नेपाली काँग्रेस काभ्रे समितिले स्थानीय तहको निर्वाचनमा विजयीहरुलाई गरेको सम्मान कार्यक्रमलाई बनेपामा सम्बोधन गर्दै उपसभापति खड्काले स्थानीय तहमा काँग्रेस पहिलो पार्टी भएको भन्दै यसलाई प्रारम्भ ठानेर यसको जगमा प्रदेश र संघको चुनावको तयारीमा लाग्नुपर्ने धारणा राख्नुभयो । काँग्रेसलाई आएको मत हेर्दा यो निर्वाचनबाट काँग्रेसप्रति विश्वास बढ्न थालेको भन्दै उहाँले निर्वाचित जनप्रतिनिधिहरुलाई दत्तचित्त रुपमा काम गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्य र गणेश लामा, बागमती प्रदेशका महामन्त्री कञ्चन चन्द्र बादे, जिल्ला सभापति तिर्थ लामा, काँग्रेस नेता इन्द्रमणी अधिकारी, उपसभापति ठाकुर न्यौपाने, प्रदेश सभापतिहरु रामहरी श्रेष्ठ, चन्द्रबहादुर लामा, हेम लामा, जिल्ला सदस्य सुनिता बजगाई लगायतले निर्वाचितहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । स्थानीय तहको चुनावमा काभ्रेमा काँग्रेसबाट ४ नगरप्रमुख, २ नगर उपप्रमुख, ३ गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, ६० वडा अध्यक्ष, ३१४ जना सदस्य, तथा ३३ जना कार्यपालिका सदस्यमा विजयी भएका थिए ।
