आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय चुनावका लागि विभिन्न जिल्लाका नगर र गाउँ पालिकामा उम्मेदवार छनौट भएका समाचार आईरहेका बेला काभ्रे जिल्लामा भने कहाँ के भइरहेको छ भन्ने खुल्दुली आम काभ्रेलीलाई भएको छ । यो समाचार तयार गर्दा सम्म काभ्रे जिल्लामा रहेका मुख्य दलहरु नेकपा एमाले , नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी, राप्रपा जनता समाजवादीमा आकांक्षीको संख्या धेरै छ तर टुङ्गो लागेको पालिका र वडा हेर्दा न्युन छ ।
चौरी देउराली गाउँपालिकामा नेकपा एमालेले गाउँपालिका अध्यक्षमा जितराम लामा र उपाध्यक्षमा बबिता खरेललाई सर्वसम्मत उम्मेदवार चयन गरी जिल्लामा सिफारिस गरी पठाएको छ। अन्य नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा टुङ्गो लागेको छैन । वडा कमिटीबाट २०७८ चैत्र २५ गतेदेखि २७ गतेब सम्म नगर तथा गाउँ कमिटी हुँदै जिल्लामा सिफारिस गर्नुपर्ने मिति तय भएको भए पनि थोरैले मात्र पालिकाको वडा अध्यक्षहरुको सर्वसम्मत भइ सिफारिस भएको नेकपा एमाले काभ्रेले जनाएको छ । एमालेबाट बनेपामा वडा नं. १४ वडा कमिटीबाट काभ्रेकै पहिलो वडा अध्यक्ष पदको उम्मेदवारमा निर्मला गोले बाइबालाई सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै गरी एमाले पनौती वडा नं. १ मा विरमान लामा वडा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । त्यसैगरी नेकपा एमाले बनेपा नगरपालिका वडा नं ८ मा श्याम मानन्धर वडा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । एमालेले बनेपा नगर वडा नं ७ मा पनि सर्वसम्मत गर्न सकेको छैन । वर्ण शाक्य, साजन मुस्याजु र सागरनाथ कपालिको दावी रहेकोले सर्वसम्मत हुन नसकेको बुझिएको छ । त्यसै गरी एमाले बनेपा नगरपालिकामा नगर प्रमुख लक्ष्मीनरसिंह वादे पुनः दोहो¥याउने चाहना राखेको र एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जीतले दाबी गरेकोले अझै नगर प्रमुखमा टुङ्गो लाग्न सकेको छैन । नेकपा एमाले धुलिखेलमा वर्तमान नगर प्रमुख एवं जिल्ला पार्टी अध्यक्ष अशोक व्याञ्जुले दोहो¥याउने चर्चा छ । एमाले काभ्रेका नेता विनोद पराजुली र केशव बडालको नाम चर्चामा रहेपनि दावी भने प्रस्तुत गर्न सकेको छैनन् । पनौती नगरपालिकामा एमालेले वर्तमान नगर प्रमुख भिम न्यौपानेलाई नै दोहो¥याउने चर्चा छ । त्यस्तै गरी पाँचखाल नगरमा कांग्रेसबाट युवा नेता महेश खरेल, कांग्रेसकै सालिन नेता कुमार लामिछानेले पनि नगरप्रमुखमा दावी गरेको चर्चा छ । नेकपा एमालेबाट पाँचखाल नगरमा एमाले युवा नेता कञ्चन अधिकारीको दावी रहेको चर्चा छ ।
नेपाली कांग्रेस बनेपा बडा नं ८ मा शुभलक्ष्मी मानन्धरलाई वडा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । स्थानिय चुनावमा आवश्यकता र औचित्यको आधारमा गठवन्धन गर्ने केन्दको निर्णय अनुसार काभ्रेमा पनि पटक पटक छलफल भएको छ । तर टुङ्गोमा भने पुगेको छैन् । चुनावको विषयलाई लिएर सहमतिमा गर्ने भनिए पनि नेपाली कांग्रेस काभ्रेले आयोजना गरेको गठबन्धनको बैठकले अझ सम्म टुङ्गोमा पु¥याएको छैन । मण्डन देउपुरमा नेकपा (एकृकीत समाजवादी) ले नगर प्रमुख सहित ४ वटा वडामा दावी गरेको, त्यस्तै गरी माओबादी केन्द्र काभ्रेले चौरी देउराली गाउँपालिका, महाभारत गाउँपालिका र नमोबुद्ध नगरपालिकामा ३ वटा, धुलिखेल नगरपालिकामा २ वटा वडा दावी गरेको भए पनि सहमति भने हुन नसकेको बुझिएको छ। गठवन्धनको आगामी बैशाख ३ गते बस्ने बैठकले टुङ्गो लाग्ने बताएको छ ।
फेसबुकबाट पनि उम्मेदवार घोषणा
नेपाली कांग्रेसका युवा नेता शान्तिरत्न शाक्य नेपाली कांग्रेस बनेपा नगर सभापति महेशकुमार कर्माचार्य त्यस्तै गरी नेपाली कांग्रेस पनौती नगरपालिकामा कांग्रेसबाट नगर सभापति रामशरण भण्डारी, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व सभापति एवं काभ्रे कांग्रेसबाट नेता भोला थापा २ दिनेश हुँमागाइले समेत नगर प्रमुखको उम्मेदवारको घोषणा गर्नुभएको छ ।
