चौरी देउराली गाउँपालिका–५, पिता शिवप्रसाद ढकाल, माता रुकमाया ढकालका छोरा रत्न ढकालको जन्म २०३६ साल माघ ६ गते भएको हो । अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष, माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी समाल्नु भएका निडर हक्की सवभावका रत्न ढकाल २०७४ मंसिर २१ गते भएको काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ क’, बाट २५ हजार १ सय ६ मत प्राप्त गरी विजयी हुनुभयो । नेपाली कांग्रेस काभ्रेका जिल्ला कोषाध्यक्ष समेत रहेका युवा नेता सि.वि लामालाई ७ हजार २ सय ५१ मतान्तरको फरकले पछि पारी रत्न ढकालले चुनाव जित्नुभयो । २०७८ साल पौष ९ गते बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको मन्त्री परिषदमा युवा तथा खेलकुद मन्त्री हुनु भयो । उहाँ सँग खेलकुद क्षेत्रको समग्र विकास र नयाँ योजना के छन् भन्ने सन्दर्भमा रेडियो एविसी एफ.एममा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री हुनुभयो कस्तो अनुभूति गर्नुभयो ?
काभ्रेली माटोमा जन्मीएर हुर्कीयो । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ ‘क’ बाट जनताको जनविश्वासबाट जनमत प्राप्त गरी निर्वाचित भएँ । युवा तथा खेलकुद मन्त्री भएको पनि माघ ९ गते १ महिन हुन्छ । समाजमा देखिएका बेथिती विकृतिका बिरुद्ध आवाज उठाउँदै समाजलाई संगठित गर्दै समाज रुपान्तरणका लागि अघि बढेको व्यक्ति हुँ । त्यसैले बागमती प्रदेश सरकारको मन्त्री मण्डलमा रहेर कार्य गर्ने अवसर जुटेको छ । चुनौती र अवसर दुवै छ । चुनौतीलाई चिरदै अवसरको सहि सदुपयोग गरेर आफूले पाएको जिम्मेवारीलाई अनुशासित ढङ्गबाट खेलकुद क्षेत्रको दिगो विकास, व्यवस्थित हुन नसकेको खेलकुद क्षेत्रको गरिमालाई जोगाउन आफ्नो वुताले भ्यासम्म लाग्ने छु ।
खेलकुद क्षेत्रको विकास गर्ने नयाँ योजना के छन् ? कसरी अघि बढ्दै हुनुहुन्छ ?
मैले खेलकुद मन्त्रालयको जिम्मेवारी समालेको एक महिना हुँदै छ । बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको दीर्घकालीन विकास गर्ने र व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । यस अघि मन्त्रालय सम्माल्नेहरुले पनि ध्यान दिएको पनि देखिएन । संघिय सरकार र प्रदेश सरकार दुवैले यो मन्त्रालयलाई उपेक्षा गरेके देखिन्छ । संघिय सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्छ । खेलकुद क्षेत्रको व्यवसयिक विकास, भौतिक पूर्वाधारहरुको दिगो विकास, संरचनागत सुधार गर्नु पर्ने छ । नीति, नियम पनि चुस्त दुरुस्त बनाउनु छ । स्थानीय पालिका स्तर, जिल्ला र प्रदेश स्तरको रङ्गशाला निर्माण गर्नुछ । एक वडा एक खेल मैदान बनाउनु पर्ने छ । खेलकुद क्षेत्रको विकास, खेलाडीहरुको जीवनयापनमा समेत ध्यान दिनु पर्ने छ । खेलकुद क्षेत्रको विकासबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्ष्ोत्रमा ख्याती कमाउन सक्ने अवस्थाको श्रृजना गर्नु पर्ने छ ।
“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” को नारालाई व्यवहारमा उतार्न नसकेको यो अवस्थामा त्यसलाई सुधार गर्ने र परिमाणमुखि बनाउन कसरी सकिन्छ ?
प्रदेशको खेलकुद विकास मन्त्रालय विगतमा सामाजिक विकास मन्त्रालयमा थियो । बजेट पनि अघिल्लो सरकारले विनियोजन गरेकोबाट हामीले कार्यान्वयन गर्नु पर्ने छ । पहिलो त अधिकारको सवाल कर्मचारी व्यवस्थापन गर्नु छ, त्यसपछि नीतिगत सुधार गर्दै खेलकुद क्षेत्रको समग्र विकास गर्नुपर्छ । त्यसै कार्यमा आफ्नो समय व्यतित गरेको छु । स्थानीय, जिल्ला, प्रदेश स्तरमा खेल मैदानको उचित प्रवन्ध, खेलकुद क्षेत्रमा लागेका खेलाडीहरुको जीवनमा सकारात्मक परीवर्तन ल्याउनुछ । खेलकुदका लागि राष्ट्रिको नाम र गरिमा बचाउन लागेका खेलाडीहरुको जीवन निर्वाह हुन सकेको छैन । युवा पिढींलाई आशा जगाउनु छ । विदेश पलायनबाट रोक्नु छ । युवाजमातलाई उत्पादनसँग जोडेर देशमा उत्पादन बृद्धि गरेर देशलाई आत्मनिर्भर बनाउनु छ । उद्योगधन्दा खोल्नु छ । अर्थतन्त्रलाई मजवुद बनाउनु छ ।
काभ्रेली माटोमा जन्मेर बागमती प्रदेशको मन्त्री हुनुभयो । पनौतीका रङ्गशाला, धुलिखेलको खेलकुद मैदान व्यवस्थित छैन, काभ्रे जिल्लाको समग्र खेलकुद क्षेत्रको विकासमा के गर्ने सोच छ ?
बागमती प्रदेशको समग्र खेलकुद क्षेत्रको विकास गर्ने जिम्मेवारी म मा छ । त्यसो हुँदा हुँदै काभ्रे जिल्लाको खेलकुद क्षेत्रको पूर्वाधार विकास, दीर्घकालीन, अल्पकालीन योजना तयार गरेर अघि बढेको छौँ । विगतमा भएका बहुवर्षीय योजनाहरु छन् । ती कार्यहरु पुरा गर्दै जानु पर्ने छ । भकुण्डेमा कर्भडहल निर्माण भएको छ । तत्कालै काभ्रे जिल्लाको लागि केही गर्न नसके पनि आगामी वर्षमा केही न केही गर्ने सोचमा छु । खेलकुद क्षेत्रको भौतिक पूर्वाधार विकससँग सँगै काभ्रे जिल्लाको समग्र विकास गर्न समेत मेरो ध्यान केन्द्रीत गर्ने छु ।
पाँचदलीय गठबन्धनको सरकारले ६ महिना पार गरिसक्यो । भष्टचार, बेथिति, महँगी त्यती कै बढेको छ । पेट्रोलियम पदार्थको मुल्य बढेको बढै छ । जनताका लागि जुन सरकार आए पनि कानै चिरेको जस्तै भो भन्ने जनगुनासो व्याप्त छ नि ?
संविधान, लोकतान्त्रीक गणतन्त्रको रक्षा, शान्ति अमन, चयन, सुशासनका लागि यो सरकार गठन भएको हो । केपी ओली नेतृत्वको सरकारको चरम अराजगता निरङकुशता, चरम भ्रष्टचारले सिमा नाघेको अवस्था थियो । दुई दुई पटक प्रतिनिधि सभा भङ्ग गरेर के.पी. ओलीले नेपाली जनतालाई धोका दिएका छन् । यस्ता जनविरोधी कार्य गरेकाले नेपाली कांग्रेस पार्टीका सभापति शेर बहादुर देउवाको नेतृत्वमा ५ दलीय गठबन्धको सरकार बनेको हो । जहाँ सम्म तपाइँले उठाउनु भएको प्रश्न बेथिति, भ्रष्टचार मौलाएको महंगी ह्वात्तै बढेको पेट्रोलियम पदार्थको मुल्य अधिक बढेको बढै गरेको भन्ने छ । बेथिति र भ्रष्टचार नियन्त्रण हुँदै आएका छन् । महंगी नियन्त्रणको सवाल चाँहि ज्यूका तिउँ नै छ । यसमा हामी पनि चिन्तित छौँ । पेट्रोलियम पदार्थमा मुल्य वृद्धि अन्तराष्ट्रिय बजारमा बढ्दा बढ्ने घट्दा घट्ने नै हो । सम्वन्धित आपूर्ति मन्त्रालयले त्यसलाई गम्भीरता पूर्वक हेरेर कार्य गरिनु पर्छ । मुल्य अधिक वृद्धि भई राख्दा जनआक्रोस बढ्नु स्वाभाविक हो ।
बागमती प्रदेश सरकारको सवालमा भन्नु पर्दा मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वमा १४ मन्त्रालय सहित ४ राज्यमन्त्री नियुक्त गरेर मासिक ६ करोड व्यय भार पारेको छ । यसरी काले काले मिलेर खाँउ भाले जस्तै भाये नि ?
कुल सांसद संख्याको २५ प्रतिशत मन्त्री बनाउन सकिने कानुनी व्यवस्था छ । यो मापदण्ड अनुसार ठिकै भए पनि केही व्ययभार त पर्न गएको छ । यो सरकार विशेष परिस्थितिमा बनेको सरकार हो । ५ दलिय गढबन्धनको सरकार प्रदेश र संघ दुबैमा छ नै हाम्रो सरकारको उद्देश्य जनतामा छिटो छरीतो स्तरीय सेवा प्रवाह पु¥याउने, विकास र समृद्धि गर्ने हो । सुशासन, शान्ति, अमन–चयन हो । त्यसमा सरकार अघि बढेको छ । सरकार परिवर्तन हुने वित्तिकै जनताहरुबाट आमुल परिवर्तनको अपेक्षा गरेका हुन्छन् । त्यो सम्भव छैन । विस्तार सुशासन र पारदर्शीता कायम हुँदै गएको छ । यो सरकार बेथिती, भ्रष्टचार महंगी नियन्त्रण गर्न यो सरकार तात्परताका साथ लागि परेको छ ।
आगामी दिनमा हुने तीनै तह केन्द्र, प्रदेश र स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले बहुमत ल्याउँछ त ?
नेकपा माओवादी केन्द्र परिवर्तको पक्षमा संघीयता, धर्मनिरपेक्षता, समावेसीता, सामाजिक न्याय दिलाउने सवालमा समाज रुपमान्तरणमा अग्रेणी भूमिका खेल्दै आएको पार्टी हो । लोकतान्त्रीक गणतन्त्र ल्याउन र यसको संस्थागत विकास र रक्षा गर्न सक्छ र गर्छ । त्यहि भएर नै नेकपा माओवादी केन्द्र गत पुषमा पार्टीले महाधिवेशन ग¥यो, गाउँ, नगरपालिका, प्रदेशमा सशक्त संगठन विस्तार, सुदृढिकरण सहित नयाँ युवा जोस जांगरको नेतृत्व चयन भएको छ । आगामी निर्वाचनमा तीनै तहमा हाम्रो नेतृत्वमा सरकार बन्छ त्यो आधार तयार भएको छ ।
