काभ्रेको भुमिडाँडामा पिता नारायणप्रसाद हुमागाई र माता पुण्यमाया हुमागाईको छोरा बसुन्धारा हुमागाईको जन्म २०२७ साल मंसिरमा भएको हो । अखिल छैठौँको सदस्यतासँगै राजनीति सुरु गर्नुभएका हुमागाई २०४८ देखि २०६४ सम्म गाउँ इलाका सदस्यको जिम्मेवारी लिइ पार्टीमा कार्य गर्दै ३ कार्यकालसम्म एमाले काभ्रेको जिल्ला सचिवालय सदस्य र कार्यालय सचिवको जिम्मेवारी बहन गर्नुभएको छ । २०५४ सालको स्थानीय निर्वाचनमा कँलाती भूमिडाँडा गाविसको अध्यक्ष भएर समाजसेवामा लागि परि अगाडी बढ्नुभएका बसुन्धारा हुमागाई काभ्रे क्षेत्र नं. २ को प्रदेश सभा २ को सदस्यमा २०७४ मंसिर २१ गते भएको निर्वाचनमा बागमती प्रदेश सांसदमा निर्वाचित हुनुभयो । नेकपा एमाले पार्टीबाट अलग भई नेकपा (एकीकृत समाजवादी) गठन भएपछि ५ दलिय गठबन्धनको सरकार ७ वटा प्रदेशमा गठन भएको छ । २०७८ मंसिर २६ गते बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विस्तार गरेको मन्त्री मण्डलमा काभ्रेका युवा पुस्ताको नेता नेकपा (एकीकृत समाजवादी) काभ्रेका उपाध्यक्ष समेत रहेका बसुन्धरा हुमागाई कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्त हुनु भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी क्षेत्रका व्यवसायिक विकास गरी कृषि क्षेत्रमा आधुनिकिकरण गरी किसानहरुको वृहत्तर हितमा नयाँ कार्य के गर्नु हुन्छ भन्ने सन्दर्भमा मन्त्री हुमागाईसँग रेडियो एविसी एफ.एम. ८९.८ मेगाहर्जमा गरिएको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्री बन्नुभयो कस्तो अनुभूति गर्नुभयो ?
गाउँमा जन्मेको एक किसानको छोरो, कृषि पेशामा नै लागेर आफ्नो जीवनलाई सकारात्मक बाटोमा डो¥याएर अघि बढें । समाजमा देखिएको विकृति, विसंगतिका विरुद्ध लागें । दुई दशक देखि निरन्तर राजनीतिमा लागेर समाज सेवा गरी आएको व्यक्ति हुँ । काभ्रेली जनताको अपार मायाँ सद्भाव, पार्टीको एक सच्चा सिपाही भएकोले नेकपा (एकीकृत समाजवादी) पार्टीले वागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्री बन्ने अवसर प्राप्त भएको छ । मलाई गर्व लागेको छ । म मेरो वर्कतले भ्याए सम्म इमान्दारीताका साथ समग्र प्रदेशको कृषि तथा पशुपन्छी क्षेत्रको आधुनिक र व्यवसायिक विकास गर्न लागि पर्ने छु ।
मन्त्री हुनु भयो । तपाइँका कृषि तथा पशुपन्छी विकासको प्राथमिकता के के छन् ?
बागमती प्रदेशमा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अघि बढ्छु । मन्त्री भएको आज ८ दिन भयो । किसानहरुलाई राज्यले दिएको अनुदान रकमको उचित व्यवस्थापन गर्ने, पशुपन्छी व्यवसायलाई सुरक्षा प्रदान गर्ने, बालीनाली बिमा र पशु विमा कार्यक्रम अघि बढाउने, मलखाद अभाव हुन नदिन समयमा नै विदेशबाट मलखाद आयत गर्न खरिद ऐनलाई सम्सोधन गरेर मल ल्याउने वातावरण गर्ने । सम्बन्धीत मन्त्रालय सँग समन्वय गरेर मलखादको दीर्घकालीन समस्या समाधान गर्न मल उत्पादन उद्योग सञ्चालन गर्न आगामी वर्ष बजेट छुट्टाई कार्य प्रारम्भ गर्ने । पशुपन्छीहरुको औषधी उपचार गाउँगाउँ सम्म पु¥याउने लक्ष्यका साथ हामी अगाडि बढ्छाँै ।
तपाइँ सांसद बनेपछि काभ्रे जिल्लाको आफ्नो क्षेत्रमा जनताले अनुभूति गर्ने गरी गरेका ५ कार्यहरु बारे बताइदिनुसन त ?
निर्वाचित भएको ४ वर्ष भयो । समग्र पूर्वाधार विकास तर्फ विद्यालय, सडकहरु कालो पत्रे गर्ने कार्य गरिएको छ । बनेपा र पनौती नगरका भित्रपटीका सहायक सडकहरु जनता र सरकारको साझेदारीमा कालो पत्रे गरिएको छ । नमोबुद्ध लाकुरी भन्ज्याङ, कुशादेवी नमोबुद्ध सडक निर्माण, नाला काशी भन्ज्याङ सडक निर्माण कार्य तिव्र रुपले अघि बढेको छ । पर्यटन क्षेत्रको विकासका लागि हिलो जलजलेमा ताल निर्माण कार्य अघि बढि सकेको छ । सिंचाईको सम्भावना भएको क्षेत्रमा २२ करोडको लगानीमा कार्य शुरु भइसकेको छ । मण्डन देउपुरको हिगुवा पार्टी क्षेत्रको बाटो, त्यस्तै नगरकोटको मोटरबाटो संघीय सरकारको बजेटबाट निर्माण कार्य भएको छ ।
हिजो नेकपा एमालेको नेतृत्वमा भएको सरकारको पालोमा बेथिति थियो । भ्रष्टचार बढ्यो भन्ने अहिले ५ दलिय गठबन्धनको सरकार मन्त्रालय फुटाएर भाग शान्ति जय नेपाल गरी किन अघि बढेको ?
यस अघिको सरकारको पनि १२ वटा मन्त्रालय थियो । अहिले फुटाएर १४ वटा पु¥याइएको हो । यहाँले उठाउनु भएको प्रश्नमा मन्त्राल फुटाएर खर्च बढ्छ भन्ने कुरामा केही सहमत हुन सकिन्छ । जनताले जति सक्दो छिटो छरीतो सेवा पाउन भन्ने उद्देश्यले यसो गरिएको हो । कुल सांसद संख्याको १० प्रतिशत मन्त्री बन्न सक्ने स्पष्ट व्यवस्था संविधानमा नै छ । “संविधान र कानुन भन्दा माथि गएर मन्त्रालय फुटाएको होइन । २२ जना सम्म मन्त्री बनाउन सकिन्छ । संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना पछि प्रदेश र स्थानीय सरकरको माध्यामबाट शिक्षा क्षेत्रमा गुणस्तरीय सेवा, स्वास्थ्य उपचार, पूर्वाधार क्षेत्रको विकास तिब्र गतिमा अघि बढेको छ । जन चाहना अनुसार अझै हुन सकेको छैन तर यो गठवन्धनको सरकारले जनताका हित सर्वोपरी ठानेर कार्य गर्छ । भ्रष्टचारको अन्त्य बेथिति विसंगतिको विरुद्धमा र दण्डहिनताको अन्त्य गर्न, लोकतन्त्रको रक्षाको लागि यो सरकार गठन भएको हो । ”
सांसदहरु भनेको देशको ऐन नियम कानुन नीति राम्रो बनाउनु पर्नेमा जनताका विचमा विकासका सपना बाड्दै हिड्ने किन गरेको ? विकास गर्न त स्थानीय सरकार छँदै छनी ?
मौलिक हक सम्बन्धि सबै कानुन बनिसकेका छन् । संघ, प्रदेश र स्थानीय सरकारका साझा अधिकारका सवालका कानुन बन्न बाँकी छन् । अप्ठ्यारो फुकाउन जनताहरुलाई छिटो छरितो डेलीभरी दिने सवालमा यो सरकार सजक र सतर्क छ नै । नेकपा एमालेको नेतृत्व केपी ओलीको सरकारले जनअपेक्षा अनुसार कार्य गर्न नसकेको सोइच्छाचारी ढङ्गले अघि बढेको दुई÷दुई पटक प्रतिनिधिसभा विघटन गरेकोले आजको स्थिति आएको हो । एमालेसँग अलगीएर नेकपा (एकीकृत समाजवदी) बनेको छ । अब देश समाजवादीको यात्रामा अघि बढ्छ । ५ दलीय गठवन्धनले सुशासन कायम गर्छ । जनताको सुखदुःखमा साथ दिन्छ । संघ, प्रदेश र स्थानीय तहको निर्वाचन गर्ने कार्य गर्छ ।
अन्त्यमा केहि भन्नु छ की ?
५ दलीय गठबन्धनको सरकार लोकतन्त्रको रक्षा, संविधान र कानुनी राज्यको परिपालना गराउने कार्य भार यो सरकारको हो । नक्कली कुरा गरेर जनता अल्मल्याउने कार्य हामी गर्दैनौँ । जे बोल्छौँ त्यो कार्य गर्दछौँ स्रोत साधानको सहि पहिचान गछौँ । जनताका आवश्यकताका आधारमा समग्र विकासको खाका तयार गरेर योजना बद्ध ढङ्गले नीति कार्यक्रम बजेट सिलिङ अनुसार कार्य गर्दछौँ । झुटको खेति गर्दैनौँ । स्रोत साधनको अधिकतम प्रयोग गरी उच्चतम परिणममुखि कार्य गर्नु हाम्रो दायित्व हो । जनताहरुले दिएको जिम्मेवारी हामी पुरा गर्दछौँ । काभ्रे जिल्लाको मात्र नभई बागमती प्रदेशको १३ वटै जिल्लाको कृषि तथा पशुपन्छी क्षेत्रको विकास गरी आत्म निर्भरको मार्ग पहिल्याउने कार्य गर्ने हो । नेकपा (एकीकृत समाजवादी) काभ्रे सम्पूर्ण काभ्रेली जनताहरुको आशा र भरोशालाई केन्द्र विन्दुमा राखेर म काम गर्ने छु । म पार्टीको सिपाही हुँ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेज्यूको मन्त्रीमण्डललाई गतिशिल ढङ्गबाट अघि बढाएर समृद्ध बागमती प्रदेश सुखी जनता बनाउने अभियान सफल बनाउनु छ । भन्न चाहन्छु ।
