IMG-LOGO

सबै चुनावहरुमा काभ्रे कांग्रेसले लाल किल्ला तोड्ने छ

 मंगल, मंसिर १४, २०७८  तिर्थ लामा नव–निर्वाचित सभापति, नेपाली कांग्रेस, काभ्रे

       रोशी गाउँपालिका वडा नं ६ सिपालीमा जन्मनु भएका तिर्थ लामा डेढ दशक देखि राजनीतिमा सक्रिय हुनु हुन्छ । निडर हक्की स्वभावका तिर्थ लामा क्षेत्रीय सभापति २ पटक र प्रतिनिधिसभा क्षेत्र नं १ काभ्रेको सभापति भई जिम्मेवारी समालि कार्य गर्नुभयो । २०७० साल दोश्रो संविधानसभा सदस्यमा काभ्रे प्रतिनिधि सभासदस्यमा निर्वाचित भई जिम्मेवारी समाल्नु भई संविधान निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत २०७८ मंसिर १० गते नेपाली कांग्रेस काभ्रेको ८ औँ जिल्ला अधिवेशनबाट तिर्थ लामालाई सभापतिमा निर्वाचित गरेको छ । तामाङ समुदायबाट जिल्ला सभापति हुने पहिलो व्यक्ति तिर्थ लामा हुनुभएको छ । जिल्ला सभापति लामासँग काभ्रे कांग्रेसलाई गतिशिल ढङ्गबाट अघि बढाउन र असन्तुष्ट पक्षलाई मिलाएर अघि बढाउनुका साथै नयाँ योजना के छन् भन्ने सन्दर्भमा रेडियो एवीसीको समय सन्दर्भमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

       नेपाली कांग्रेस काभ्रेको सभापति बन्नु भयो कस्तो अनुभूति गर्नुभयो ?

नेपाली कांग्रेस काभ्रेका दिग्गज अग्रज योद्धाहरु धेरैको योगदानबाट  बलियो बनेको पार्टीलाई अझ सशक्त, अझ परिस्कृत, सुदृढ र संगठित गर्ने जिम्मेवारी प्राप्त गरेकोमा निक्कै हर्षित छु । आम काभ्रेली कांग्रेस जनहरुको म प्रतिको विश्वास भरोसालाई डगमगाउन दिन्न । यो मैले प्राप्त गरेको जिम्मेवारीलाई पुरा गर्न विपीको सिद्धान्त, विचार र  आदर्शलाई जीवन उपायोगी बनाई अघि बढ्ने छु ।

       अबको काभ्रे कांग्रेसको यात्रा कसरी अघि बढ्छ ?

नेपाली कांग्रेस पार्टी राष्ट्रियता, लोकतन्त्र, समाजवाद त्यसपछि मात्र पार्टीतन्त्र पार्टीवाद हो । नेपाली जनताको सुख दुःखको सारथी जनजीवीकामा आर्थिक परिवर्तन र उन्नतीको लागि २००७ साल देखि नेपाली कांग्रेस निरन्तर लागि रहेको छ । जनताको विकास र समृद्धिको चाहनालाई उत्कृष्ठ ढङ्गले कार्य गर्ने पार्टी हो । त्यसैले नेपाली कांग्रेस नीति, विधि, पद्धती र प्रविधिको प्रयोग नेपाली जनतालाई सम्पन्नता बनाउन चाहन्छ । त्यसको कार्यबहार नेपाली कांग्रेसको जिम्मेवारी छ । “पार्टी भित्रको आन्तरिक लोकतन्त्र बलियो, विचारमा उत्कृष्टता हाँसिल गर्न काभ्रे कांग्रेस पार्टी भित्रका फरकमत राख्ने भिन्न समुहलाई काखापाखा गरिने छैन् । हारजीतलाई प्रतिष्ठाको विषय बनाइने छैन्  । हाम्रा आदरणीय अग्रज नेतागण इन्द्रमणी अधिकारी, शिव प्रसाद हुमागाई, निवर्तमान सभापति मधु आचार्य, तमाम नेपाली कांग्रेसका मित्रहरुले गर्दा कांग्रेस यो अवस्थामा आइपुगेको छ । मेरा प्रतिस्पर्धी आदरणीय दाजु अच्युद प्रसाद पौडेल मेरो अग्रज हुनुहुन्छ । हामी सबै मिलेर सुझबुझका साथ उहाँहरु सबैको सुझावका आधारमा पार्टीलाई एकतावद्ध गराउन के गाउँ के शहर दुबैका संगठनलाई गतिशिलता दिने छौँ ।” आगामी निर्वाचनमा काभ्रेको १ सय ३५ वटै वडामा विजय हाँसिल गरी कांग्रेसको झण्डा फहराउने कार्य गर्नु छ । काभ्रेको समग्र विकास गरी समृद्ध काभ्रे निर्माण गर्ने अठोट गर्न चाहन्छु ।

       तपाईँ त निवर्तमान सभापति मधु आचार्यको समुहबाट पार्टीको आन्तरिक चुनावी प्रतिस्पर्धामा उत्रीने भन्ने थियो एकाएक परिवर्तन भई फेरी शिव हुमागाईको समूहबाट चुनाव लड्नु भयो नि किन ढुलमुले नीति लिनु भएको त ?

       चुनाव अवधि भित्र मात्रै लोकतन्त्रमा आन्तरिक प्रतिस्र्धा हुन्छ । अग्रज नेताहरु सँग चुनावको बेलामा मात्र नभई अघिपछि पनि बहस छलफल हुनु स्वभाविक हो । यो समूह त्यो समूह भन्ने हुँदैन् । जिल्लाको सभापति सँग भेट्नु कुनै नौलो कुरा होइन । त्यो वा यो भन्ने छैन । विचार समूह फरक र अनसन्तुष्ट पक्ष सबैलाई साथसाथमा लिएर अघि बढ्छु । जिम्मेवारी विहीन भएका साथिहरुलाई सँग सँगै जाने अवस्था श्रृजना गरेर अघि बढ्छौँ । आफू कुनै कतै पक्ष विपक्षमा नभएर ढुलमुले नभएको काभ्रे कांग्रेसलाई मजवुद बनाउने अभियान आजै देखि लाग्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

       काभ्रे कांग्रेसलाई अघि बढाउने यहाँका नयाँ योजना परिकल्पना के छन् ?

नेपाली राजनीतिक आन्दोलनको नेतृत्व होस् या जनताको मुक्तिको लागि लड्ने पार्टी नेपाली कांग्रेस हो । बैचारिक रुपमा सुसंगठित गरि उत्कृष्टता प्रदान गर्ने सबैलाई एकीकृत गर्ने, दलित, जनजाति, पिछडिएका वर्ग, अल्प संख्यक, महिला, युवा, अग्रज सबैको प्रतिनिधित्व गरी पार्टीलाई सशक्त बनाउने पार्टी विधानमा स्पष्ट व्यवस्था छ । त्यही अभियानमा हामी जुटी सकेका छौँ । आगामी निर्वाचनमा १ नम्बरको पार्टी बन्ने छ । काभ्रेमा पनि हामी नम्बर एक नै बन्छौँ । जनताहरुको आवश्यकताको आधारमा जिल्लाको समग्र विकास, जिल्लाको भौगोलिक अवस्था र सम्भावनालाई नियाल्दै जे जे सम्भावना छ, आवश्यकताको आधारमा उद्यमशिलताको विकास, उत्पादनमा बृद्धिल्याउन जनताहरुको जीवनस्तरमा हाँसो र खुसि ल्याउन दत्तचित्त भइ लाग्ने छौँ । पार्टीका अग्रज, जेष्ठ, युवा, महिला, पार्टीका  फरक विचार समुह सबै एक ठाउँमा उभिने छौँ  । पार्टीलाई एक ढिक्का बनाइ अघि बढ्ने छौँ । म त्यो जिम्मेवारी पुरा गर्छु । म कांग्रेसमा केही लिन हैन दिन आएको हँु । जनताका पिर मर्कामा मलम लगाउने छु । काभ्रेको कम्युनिष्ट किल्लालाई तोड्ने छौँ ।

       काभ्रे जिल्ला कम्युनिष्टहरुको लाल किल्ला हो । संगठन धेरै बलियो छ, काभ्रे कांग्रेसमा पूर्व अग्रजहरु, योगदान गरेकाहरु, पालिका र जिल्लामै ठूलो योगदान गरेका नेताहरु प्रदेश प्रतिनिधि र महाधिवेशन हराइएका छन् । असन्तुष्ट पक्ष धेरै छन् कसरी मिलाएर अघि बढ्नु हुन्छ ?

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी  हो यो सबैको छहारी बन्छ । यसमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी मैले पाएको छु । काभ्रे कांग्रेसमा रहेका सबै अग्रज बुद्धिजिवी युवा, महिला जो जसले पार्टीको गरिमा जोगाउन भूमिका खेल्नुभएको छ, उहाँहरुको सबैको कदर हुने गरी हाम्रो नेपाली कांग्रेस काभ्रेको टिमले कार्य गर्ने छ । जो दुःखमा परेका छ जो अन्यायमा परेका छ । त्यसको न्यायको लागि लड्ने पार्टी देशको समग्र विकास गर्ने पार्टी हो । अन्याय अत्याचारको विरुद्धमा लड्न जनताको मुक्तिको लागि लड्न सुदृढ कांग्रेस सशक्त कांग्रेसले मात्र सक्छ । त्यो अभियानमा जुट्न अग्रजहरुको मार्गदर्शन ठूलो हुन्छ । सबै असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छौँ हामीले काभ्रेको लाल किल्ला २०७० सालमा पनि भत्काएका हौँ । नपाली कांग्रेस काभ्रे एकतावद्ध हुन्छ । एक ढिक्का हुन्छ । एकीकृत सुसँगठित  पार्टी सशक्त हुन्छ । काभ्रेका कम्युनिष्ट किल्ला भत्काइन्छ । कम्युनिष्टहरुको विचार भुत्ते भएको छ । हावादारी कुरा बेचेर खाएको थियो अब त्यस्तो हुँदैन । जनताले दुईतीहाई नजिकको जनमत जोगाउन सकेन अब कम्युनिष्टले यो देश हाक्न सक्दैन् । 

       नेपाली  कांग्रेस काभ्रेले युवालाई नेतृत्व प्रदान गर्ने अवस्था त श्रृजना ग¥यो तर पदाधिकारीमा १ जना पनि महिलालाई स्थान दिइएन नि किन ?

       युव पिँढीले नै यो देश हाँक्ने हो । अग्रजहरुको मार्गदर्शन आवश्यक छ । युवा महिला, दलित, जनजाति, अल्पसंख्यक सबैको पार्टी हो । जहाँ सम्म महिलाहरुलाई पदाधिकारीमा किन आउने अवसर श्रृजना भएन भन्ने प्रश्न स्वभाविक हो । आगामी दिनमा जिल्लाको हरेका वडा वडामा जागरण ल्याई महिला शसक्तिकरण गर्ने छौँ, सक्षम र सवल नेतृत्व ल्याउन लाग्ने छौँ । पार्टीमा ३३ प्रतिशत सुरक्षित स्थान संविधान र पार्टी विधानमा किटान गरिएको छ । त्यसैले आगामी अधिवेशनमा पार्टीमा महिलाहरु पनि नेतृत्वमा आउने बाटो खुल्ला छ । यस पटक महिलालाई समेटन सकिएको छैन् । आगामी दिनमा त्यसको सम्बोधन हुन्छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्