खानाीखोला गाउँपालिका वडा नं २ मा २०३२ सालमा इन्द्र बहादुर तामाङ (छिन्ताङ) को जन्म भएको हो । २०४८ साल देखि सक्रिय राजनीतिमा लागेका जुझारु युवा समाजमा देखिएका विकृति विसंगति र बेथितिका विरुद्ध २०५२ सालमा माओवादी सशस्त्र युद्ध कालको बेलामा काभ्रे जिल्लामा अग्रस्थानमै रहेर आफूलाई उभ्याउनु भयो । खरो स्वभावका छिन्ताङ २०७९ बैशाख ३० गते सम्पन्न खानीखोला गाउँपालिकामा अध्यक्षको उम्मेदवार बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका शेखर लामालाई १ हजार ३ सय २९ मतले पछिपार्दै इन्द्रबहादुर तामाङले ४ हजार ४ सय ८५ मत प्राप्त गरी विजयी हाँसिल गर्नुभयो । उहाँसँग गाउँपालिकाको समग्र विकास गरेर खानीखोला गाउँपालिकाका नागरिकहरुको जीवनमा आर्थिक समृद्धि गर्ने दृढ संकल्प, विकासका योजना के के पुरा भएका छौं । चालु आर्थिक वर्षमा सम्पन्न योजनाका सवालमा भन्ने सन्दर्भमा रेडियो एवीसी ८९.८ मेगाहर्जमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
चालु आर्थिक वर्षको अन्त्य हुन लाग्यो । खानीखोला गाउँपालिकाको विकास योजना सम्पन्नताको अवस्थाको बारेमा बताइदिनुस न ?
काभ्रे जिल्लाको सदरमुकामदेखि दक्षिण भेगमा करीब ८० किमी दुरीमा रहेको गाउँपालिका हो खानीखोला गाउँपालिका । सडक पूर्वाधार सञ्जाल निर्माण, शिक्षा स्वास्थ्य र खानेपानीको पहुँच विस्तार गर्नेदेखि, कृषि उपजमा आत्मनिभर हुने कार्यक्रमिक योजनाका साथ अघि बढेका छौं । नीति कार्यक्रम बजेटको तारतम्य मिलाइ स्रोत साधनको सहिसदुपयोग गरी योजना निर्माण साथ अधि बढेका छौं । ग्रामीण क्षेत्रको विकास निक्कै कठीन छ । आन्तरिक आयस्रोत ज्यादै न्यून हुँदा प्रदेश र केन्द्र सरकारले छुट्टाइदिएको बजेटबाट कार्यहरु हुँदै गएका छन् । भौगोलिक विकटता, जनताका विकासका असिमित चाहना पुरा हुन सकेका छैनन् । जिल्ला सदर मुकाम देखि सडक सञ्जाल निर्माण गर्ने क्रम विगत देखि जारी छ प्रदेश राजधानी हेटौंडा जोड्ने सडक आगामी वर्षमा जोडीने छ ।
कृषकहरुलाई कफी खेतिमा अनुदान दिई आय आर्जन बढाउने कार्यले कतिको प्रगती हाँसिल गर्न सक्यो त ?
गाउँमै कमाउँ गाउँमै रमाउँ भन्ने नराका साथ कृषकहरुलाई आय आर्जनमा वृद्धि गरी जीवन सुखमय बनाउने अभियान निरन्तर जारी छ । विगत ४ वर्ष देखि नै कृषकहरुलाई अनुदानमा कफिको विरुवा रोप्न लगाइ मनग्य आम्दानी गर्ने वातावरण निर्माण गरिएको छ । जसको उत्पादन उसैलाई अनुदान भन्ने योजनाकासाथ कृषकलाई एक केजी कफी उत्पादन गरेवापत किसानले गाउँपलिकाबाट कफीको रु ३५ रुपैया अनुदान प्राप्त गरेका छन् । किसानले १÷२ रोपनी जग्गामा कफी रोप्ने गरेका छन् । प्रतिकिलो ५ सय ६० देखि ११ सय रुपयामा विक्रि गर्ने गरेका छन् । एक किसानले ८ देखि १० लाख सम्म कमाउने गरेका छन् । वार्षिक रुपमा करिब १० करोड भन्दा बेसी कफी विक्रि गर्ने गरेको छ । पशुधनबाट उद्पादन दुधको परिकार खुवा विक्रि गरेर समेत किसानले आम्दानी गरेका छन् ।
गाउँपालिकाले सेवा प्रवाहमा प्रभावकारीता तथा सुशासन र पादर्शीताको सवालमा भए गरेका प्रयासहरु ?
नागरिकहरुलाई छिटोछरितो सेवा प्रवाह प्रदान गर्ने कार्य निरन्तर अघि बढेको छ । विगत ४, ५ वर्ष देखि ५ देखि ६ प्रतिशत बेरुजु थियो । हाल दशमलव ५८ प्रतिशत वेरुजु छ । सुशासन र पार्दर्शीतामा राम्रो गर्दै गएको छ ।
पूर्वाधार बिकासमा भएका प्रगति ?
आधारभूत अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुर्लुङ खोला, वागमती खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । खोला र खोल्सा जहाँ वर्षातको सिजनमा सडक अवरुद्ध भइराख्ने ठाउँमा बेली बृज राख्ने कार्य जारी छ । गाउँपालिका हुँदै बागमती प्रदेश हेटौडा जोड्ने सडक प्रदेश सरकारको सहयोगमा निर्माण कार्यले आगामी वर्ष पुरागर्ने चरणमा छौं । सडक स्तर उन्नती ३ सय किमी, सडक कालो पत्रे ४ किमी सम्पन्न भएको छ । ३ वर्ष अघि वहुर्णीय योजना अन्तरगत मदन भण्डारी मार्गबाट खानी खोला गाउँपालिका जनमुक्ती मार्ग हुँदै १७ किमी सडक प्रदेश राजधानी जोडीने छ । उक्त सडक योजना ६३ करोडमा ठेक्का आह्वान सँगै निर्माण कार्य प्रारम्भ भएको हो ।
शिक्षा स्वास्थ्य खानेपानीको पहुँच विस्तारमा भए गरेका कार्यहरु ?
असक्त असाहय, निम्न वर्ग एकल महिलाका आमा बुबा नभएका टुहुरा छोराछोरीहरुलाई आवास सहितको निःशुल्क शिक्षा, शैक्षिक गुणस्तर बिकासमा विद्यालयमा आवश्यक सहयोग, दरबन्दी मिलन त्यस्तै एसईईमा नतिजा सुधार भएको छ । स्थानीय पाठ्यक्रम लागु गरिएको छ । त्यस्तै स्वास्थ्यमा विगतमा ७ वटा स्वास्थ्य संस्था थियो । हाल १० वटा भएको छ गाउँघर स्वास्थ्य क्लिनिक संचालन निःशुल्क औषधी वितरण, एक घर एक धारा जडानको कार्य जुन स्तरीय पिउने पानी उपलब्ध गराउने कार्य ८० प्रतिशत पुरा भएको छ, बाँकी कार्य आगमी वर्ष पुरा हुनेछ ।
ग्रामीण क्षेत्रको विकासको चुनौती के के छन् ?
अधिकांश गाउँपालिका, नगरपालिकाको आन्तरिक आयस्रोतले विकास निर्माणले पूर्णता पाउन सक्दैन । स्रोत साधनको प्रयाप्तता छैन । केन्द्र र प्रदेश सरकारको भर पर्नु पर्ने हुन्छ । भौगोलिक विकटता, पहुँचको आधारमा बजेट विनीयोजन हुनु, समारनुपातिक विकास योजना लागु नहुनु, विकास प्रतिको नागरिकहरुको धारणामा एकरुपता नहुनु, समाजमा एकले अर्कोलाई खुइल्याउने एकहोरो गाली गरिराख्ने राम्रोलाई राम्रो प्रशंसा गर्न नसक्ने, आरोपको लागि आरोप आलोचनाको लागि आलोचना, गलत भास्य सृजना गर्ने कार्य गर्दै भिडतन्त्र सृजना गरी विध्वंस मच्चाउने कार्यले देश अधोगतितिर धकेलिएको छ । गलत ढङ्गले अपब्याख्या गरी भ्रम फैलाउने कार्य ज्यादा भयो । आम नागरिकहरुले त्यस्ता विषयहरुको सवालमा बुभ्mन सक्नुपर्छ । देशको विकास र समृद्धिको सवालमा सबै राजनीतिक शक्ति एककृत हुनुपर्छ भन्न चाहन्छु । कुल बजेट विनियोजनको केन्द्रले ७७ र प्रदेश सरकारले २३ प्रतिशत बजेट विनियोजनबाट स्थानीय तहको विकासमा तिब्रता दिन सक्दैन । संवैधानिक व्यवस्था अनुसार संघीयताको सवलीकरण हुन जरुरी छ । स्थानीय तहलाई बलियो बनाउन अहिलेको दिएको बजेट दोब्बोर गर्ने अधिकार सम्पन्न बनाउनु पर्छ ।
