नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन)को पूर्वसन्ध्यामा पुस ५ गते क्वबहाल बनेपाबाट सुरु हुने भनिएको सुकुन्दा र्याली बारे बताइदिनु हुन्छ कि ?
८ नेपालभाषामा तःमुंज्याको अर्थ वृहत् सम्मेलन भन्ने बुझिन्छ ।यो सम्मेलन साहित्य र सांस्कृतिक कार्यक्रममार्फत् समाजमा सकारात्मक जागरण ल्याउने अभियान हो । नेपालभाषा साहित्य तःमुंज्या काभ्रेले दोस्रो पटक आयोजना गरेको तःमुंज्याको सिलसिलामा शुभ कार्यको शुभारम्भ तथा प्रचारप्रसार स्वरूप सुकुन्दा र्यालीको आयोजना गरिएको हो । बनेपाको ऐेतिहासिक सांस्कृतिक आठ गणेशमध्येका क्वबहाल गणेशस्थानबाट सुकुन्दा र्यालीसुृुरु भई तुकम्पो गणेशस्थान वाङ्ख्योमा समापन हुनेछ । नेपाल सम्वत् ११४५ थिंल्लागा पञ्चमी (२०८१ पुस ५ गते शुक्रबार) साँझ ३ः०० बजे हुने सुकुन्दा र्यालीमा सहभागी हुन सम्पूणर् महानुभावहरूमा सादर आमन्त्रण गर्दछौं ।
भाषा, साहित्य र सुकुन्दा र्याली बीच कस्तो तादात्म्य देख्नु भयो ?
८ भाषा, साहित्य, कला, संस्कृति आदि विषयहरूको विकास र बिस्तारका लागि उज्यालो पक्ष हुनु आवश्यक छ । उज्यालो पक्ष भन्नू शिक्षा नै हो । जसको शुभारम्भ दिप प्रज्वलनबाट होस् भन्ने हेतुले सुकुन्दा र्याली गर्न गइरहेका छौं । शुभ कार्यमा सुकुन्दा बाल्ने चलन हाम्रो संस्कृति र संस्कार भित्र पर्दछ ।
तःमुंज्या (सम्मेलन)ले देशका अन्य भाषालाई कस्तो दृष्टिले हेर्ने गरेको पाइन्छ ?
८ नेपालभाषा साहित्य तःमुंज्या मानव जातिको सभ्यता, संस्कृति, भाषा, कला, साहित्य र राजनीतिक विषयमा छलफल गर्ने साझा दबली हो । सबै जातिको कला, संस्कृति, सम्पदा, भाषा, साहित्यको उत्थान गर्ने र शोषित-पीडित कामदारवर्गका जनताको आमूल परिवर्तनको आवाज उठाउने सबै नेपालीको दबली हो - तःमुंज्या ।
कस्तो खालको साहित्य र सांस्कृतिक प्रस्तुतिलाई तःमुंज्याले प्राथमिकतामा राखेको छ ?
८ साहित्य, गीत, नाटक, नृत्य केवल मनोरञ्जनको लागि मात्र हुनुहुन्न भन्ने मान्यता तःमुंज्याले राख्दछ । गीत, नाटक, नृत्य र साहित्यमार्फत् जनतालाई ब्युँझाउने गलत निणर्य र कार्यको खबरदारी गर्ने, समाजमा व्याप्त असमानता, विकृति र विसंगतिको चिरफार गर्ने तथा पीडित जनताको पक्षमा लेखिएको साहित्यलाई प्राथमिकतामा राखिने छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय समसामयिक विषयका सकारात्मक पक्ष र न्यायिक पक्षलाई वैचारिक रूपले सशक्त तवरले प्रस्तुत गरिएको कुनैपनि विधाले मानव जातिको भलो हुन्छ र त्यो चिरस्थायी हुन्छ ।
सांस्कृतिक कार्यक्रमको बारेमा केही जानकारी दिन मिल्छ कि ?
८ नेपालभाषा साहित्य तःमुंज्यामा विविध भाषाको कला, संस्कृति जातजाति र भेषभुषामा सजिएको सांस्कृतिक प्रस्तुतिलाई उचित स्थान दिइनेछ ।
अन्तमा भन्नुपर्ने केहि छ की ?
८ नेपालभाषा साहित्य तःमुंज्याको बारेमा केही कुरा राख्ने अवसर दिनुभएकोमा लोकप्रिय पत्रिका काभ्रे टाईम्सप्रति हार्दिक आभार व्यक्त गर्दछु । पुस ५ गते शुक्रबार क्वबहाल बनेपाबाट साँझ ३ः०० बजे सुरु हुने सुकुन्दा र्याली र पुस ६ गते शनिबार अरनिको पार्टी प्यालेस भिमसेन मार्गमा बिहान ११ः०० बजेदेखि सुरु हुने दोस्रो नेपालभाषा साहित्य तःमुंज्या भव्यताका साथ सम्पन्न गर्न आर्थिक, नैतिक एवम् भौतिक सहयोग गरिदिनुहुनका साथै उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं ।
प्रस्तुतकर्ता ः हरिनाथ न्यौपाने
