चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाले कुशे औंसीको अवसरमा जेष्ठ सदस्य (पिता) सम्मान कार्यक्रम बुधबार सम्पन्न गरेको छ । संस्थामा आवद्ध ७५ वर्ष भन्दा माथी उमेर समूहका ९० जना जेष्ठ सदस्यहरुलाई सामााजिक उत्तरदायित्व अन्तरगत सम्मान गरिएको अध्यक्ष नविनभक्त वादेले जानकारी दिनुभयो । संस्थाले यसै वर्षबाट आमा सम्मान कार्यक्रम समेत सुरु गरिसकेको छ । संस्थाका सहसचिव एवं सामाजिक क्रियाकलाप कार्यक्रम संयोजक रोशना राजवंशीले कार्यक्रमको औचित्यमाथि संस्थाको धारणा राख्नुभयो । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार विकास वादे, बालभक्त प्रधान, इन्द्रनारायण भैल, हेमन्तराज प्रधान, संस्थाका उपाध्यक्ष रमेशकाजी श्रेष्ठ लगायतले चण्डेश्वरी सहकारीले गरेका क्रियाकलाप र भावी योजनाका बारेमा आ आफ्नो धारणा राख्नुभएको थियो । जेष्ठ सदस्यहरु मध्येबाट गौरीशंकर मानन्धर र शेर बहादुर सुवालले सम्मानित हुन पाउँदा अत्यन्तै हर्षित बनेको बताउनुभयो । संस्थाका सचिव बुद्धरत्न मानन्धरले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
