नमोबुद्घ नगरपालिका, वडा नं ३ भेडावारीमा २०३२ साल चैत्रमा जन्मनु भएका राजन भुर्तेल २०४५ साल देखी संगठीत सदस्य भइ कम्युनिष्ट आन्दोलनमा सहभागी हुनुभयो । कडा स्वभावका कुशल संगठकको रुपमा परिचित हुनुहुन्छ भुर्तेल । २०५० सालमा गाउँ कमिटीको नेतृत्व गर्दै २०६३ साल देखी नेकपा एमाले काभे्रको जिल्ला सदस्य भई कार्य गर्नुभयो । २०७८ पुषमा सम्पन्न १० औं जिल्ला अधिवेशनमा प्रतिस्पर्धाबाट सचिवमा विजयी हुनुभयो । २०७९ बैशाख ३० को स्थानीय तहको निर्वाचनमा नमोबुद्घ नगरपालिकाको नगरप्रमुखमा उमेद्वार बन्नुभएका राजन भुर्तेल लोकतान्त्रीक वाम गठबन्धनका साझा उमेदवार नेपाली कांगे्रसका कुन्साङ लामासँग प्रतिस्पर्धामा उत्रीनुभएका राजन भुर्तेल विजयी हुन सक्नुभएन । नमोबुद्धको प्रमुखमा कुन्साँङ लामा विजयी हुनुभयो । नेकपा एमाले काभे्रको सांगठनिक अवस्था, पार्टी सुद्घिकरण अभियान, पार्टीलाई अग्र दिशाामा अघि बढाउने कार्य दिशाा के हुन भन्ने सवालमा रेडियो एवीसीमा एमाले काभे्र सचिव भुर्तेलसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
नेकपा एमाले काभे्र सागठनिक रुपमा कसरी अघि बढेको छ ?
२०७८ पुषमा नेकपा एमाले काभे्रको १० औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व छनौट गर्यो । जनताको बहुदलीय जनवाद, देशको आर्थिक, सामाजिक रुपान्तरणको पक्षमा दरिविलो खम्बाको रुपमा उभिएको सशक्त पार्टी एमाले हो भन्ने कुराको प्रमाणित गर्न मंसिरमा सम्पन्न निर्वाचनमा समानुपातिक तर्फ जिल्ला र देशमै पहिलो पार्टी बनेकोबाट प्रस्ट हुन्छ । त्यस्तै २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा लोकतान्त्रीक वाम गठबन्धनको घेराबन्धीमा पनि काभे्रको १३ स्थानीय तहमा एक नगर प्रमुख, ३ नगरपलिकामा उप नगर प्रमुख, ४३ वटा वडा अध्यक्ष सहित २ सय ६० वडा सदस्य निर्वाचित भए । गत मंसिरमा भएको प्रतिनिधि सभा, प्रदेश सभाको निर्वाचनमा काभे्रका प्रतिनिधि सभामा क्षेत्र नं २ मा गोकुल बाँसकोटा निर्वाचित हुनुभयो । काभे्र जिल्लामा संगठन विस्तार विभिन्न भातृ संगठन गठन गरिएको छ । जिल्ला अधिवेशन पछि प्रतिनिधि परिषदको भेला सम्पन्न गरियो । सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत भयो । पार्टीलाई सशक्त बनाउन सुझाव प्राप्त भएको छ ।
१० औं जिल्ला अधिवेशन पछिको पहिलो प्रतिनिधिहरुको परिषद सम्पन्न गर्यो पार्टीलाई अग्र दिशामा लग्न कस्तो सुझाव प्राप्त भयो ?
नेकपा एमालेको १० औं जिल्ला अधिवेशनपछि बसेको पहिलो प्रतिनिधि परिषदमा १३ वटा पालिका कमिटीबाट अहिले सम्मको सांगठनिक अवस्था आगामी निर्वाचनमा पार्टीलाई एक नम्बर पार्टी बनाउने योजनाका सवालमा बृहत छलफल भयो । संगठनलाई थप मजबुत बनाइ देश कै पहिलो पार्टी बनाउँछौं । ८ औं जिल्ला अधिवेशनमा समग्र काभे्रको विकास गरी समृद्घ काभे्र सुखी काभे्रली निर्माणको लागी अघि बढेको योजनालाई कार्यन्वयन गरी जनताको विकासको आकांक्षालाई सम्बोधन नगर्न नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु लागि परेका छन् ।
काभ्रे जिल्ला कम्युनिष्टहरुको लाल किल्ला थियो गत निर्वाचनमा त्यो भत्कीयो नि समिक्षा गर्ने वेला भएको छैन ?
२०४६ सालको परिवर्तन सँगै काभ्रेली जनताले राष्ट्रिय स्वाभिमानमा अडिक, लोकतान्त्रीक गणतन्त्रको संस्थागत विकासमा, जनउत्तरदायि कार्यको खम्बा बनेर नेकपा एमालेलाई विस्वास आशा र भरोसाको केन्द्र मानेर कम्युन्स्टि किल्ला बनाएको हो । बामपन्थीहरुको बर्चस्वको जिल्लामा हुनु स्वभाविक हो । नेकपा एमालेको सरकार हुँदा भौतिक पूवाधार, सडक सञ्जाल विस्तार, पर्यटन क्षेत्रको विकास, सडक पिच गर्ने देखि लिएर जनताका जन जिविकाका सवालमा सम्बोधन गरी योजनावद्ध विकासका परीयोजना कार्यान्वयन गरेको छ । काभ्रेको समग्र नमुना विकास गरी “समृद्ध काभ्रे सुखी काभ्रेली” बनाउने कार्य नेकपा एमालेको सरकारले मात्र गर्न सक्छ ।
जहाँ सम्म कम्युनिस्टको लाल किल्ला भत्कीयो भन्ने सवाल छ गत निर्वाचनमा संघ, प्रदेश र स्थानीय निर्वाचनमा कांग्रेस सहितको बामलोकतान्त्रीक गठबन्धनको चुनौतीलाई नेकपा एमालेले चिरदै एक्लै लडेर प्रतिनिधि सभा क्षेत्र नं. २ मा १ सिट र स्थानीय निर्वाचनमा १ सय ३५ वडामा ४३ वडा अध्यक्ष सहित २ सय ६० जनप्रतिनिधि निर्वाचित भए । बाँकी दल सबै एकातिर एमाले एकातिर भएर चुनावी प्रतिस्पर्धा गरेको वास्तविकता हो । २०७४ मा नेकपा हुदाँ बहुमतको सरकार थियो । २०७९ को निर्वाचनमा अलि कमजोर भएको हो । पार्टीलाई अग्रगतिमा लग्न नेकपा एमाले काभ्रेको सिङ्गो टिम एकताबद्ध भएर लागेको छ । आगामी निर्वाचनमा १ नम्बर पार्टी बन्न संगठन विस्तार, संगठीत सदस्य नविकरण नयाँ सदस्य विस्तार, कार्यकर्तालाई प्रशिक्षण जस्ता कार्यक्रमहरु सञ्चालन गरेर पार्टी सदृढीकरणमा लागेको छ ।
नीति प्रधान नभईं नेता प्रधान संगठन गतिशिल ढङ्गबाट सञ्चालन हुन सकेन निर्वाचित जनप्रतिनिधि र पार्टी संगठन बीच कनेक्सन टुट्यो त्यसैले पार्टी कमजोर भयो भन्ने कार्यकर्ताहरुको भनाइप्रति तपाई के भन्नु हुन्छ ?
नेकपा एमाले नीति विधी, पद्धतीलाई अंगालेर प्रक्रियागत ढङ्गबाट अघि बढेर जन विस्वास प्राप्त गरेको पार्टी हो । नेता प्रधान हुन सक्दैन । २०७४ को निर्वाचनमा नेकपा भएको बखत संघ, प्रदेश र स्थानीय सरकार बीच समन्वयकारी भूमिका नहुँदा जनताका समस्या, जनताले प्राप्त गर्नुपर्ने सेवा प्रवाहमा केहि कमजोरी महसुस गरेर नै संघ, प्रदेश र स्थानीय संयन्त्र गठन गरेको थियो । २०७९ को निर्वाचनपछि नेकपा एमालेले बेलाबेलामा जनप्रतिनिधि र पार्टी संगठन बीच समन्वयतात्मक भूमिका रहोस, जनताका मुलमुद्दाहरु ओझेलमा नपरुन चरणबद्ध विकासका कार्यहरु अधि बढुन् भन्ने हिसाबले हामी प्रतिबद्ध भइ कार्य गरेका छौं । कार्यकर्ताहरुको सुझावलाई अमृत समान गरेर स्वीकारदै कार्यान्वन गर्ने छौं ।
सुद्धिकरण र सदृढीकरण गर्नु गरी पार्टीलाई गतिशिल ढङ्गबाट अघिबदाउनु पर्छ भनि गाउँ देखि जिल्ला नेतृत्वको आलोचना गर्ने सच्चा कार्यकर्ताहरुलाई ठेगान लगाई हाल्ने प्रवृति हावि भयो भनिन्छ नी ?
देश विकासको नायक, जनताको बहुदलीय जनवादलाई अंगिकार गरी अघि बढेको पार्टी हो एमाले । पार्टी सुसंगठीत गरी सुद्धिकरण र सुदृढिकरण गर्नु नितान्त आवश्यक छ । मुल्याङ्कन गर्दा बस्तुपरक ढङ्गबाट गर्नुपर्छ कोहि कसैलाई आरोप प्रत्यारोप लगाउनु हुँदैन । जिल्लामा १३ वटा स्थानीय तहमा पालिका कमिटी गठन गरिएको छ । १ सय ३५ वटा वडामा वडा कमीटी गठन गरको छ । कोहि कसैलाई आरोप प्रत्यारोप लगाउनु हुँदैन । नीति विधिमा अनुशासनमा पार्टी चलेको हुन्छ । पार्टी भित्र हजारौं फुल फुल्न पाउनुपर्छ । कार्यकर्ताहरुले पार्टीलाई अग्रदिशामा गतिशिलढङ्गबाट अघि बढाउन दिएको सुझावलाई आत्मसात गरेर अघि बढ्छौं । नेतृत्वको आलोचना गरे कै भरमा कोहि कसैलाई कारवाही गरेको छैन । गम्भीर अनुशासन उलङ्घन गरेकालाई मात्र कारवाही गरिएको छ । कमीकमजोरीलाई सच्चाउँदै हामी अघि बढ्छौं । बाहिर आएका विषयहरु निराधार हल्ला मात्र हो ।
गणतन्त्र प्राप्ति भएको १६ वर्ष वित्यो व्यवस्था बढालियो, जनताको अवस्थाबद लिएन, संघीयता भारी भयो, शुसासन कायम भएन भ्रस्टाचार बढ्यो पार्टी भित्रका युवा पुस्ता किन मौन बस्यो ?
राजनीतिक दलहरुको नेतृत्वमा जनताहरुको जनवलमा क्रान्तिबाट व्यवस्था परिवर्तन हुन्छ । व्यवस्था परिवर्तन भएको जसरी जनताहरुको जीवनमा जन आंकाक्षा अनुसार विकास र समृद्धिको आसा गर्नु अस्वभाविक भने हैन । देशको स्रोत साधनले कति सम्म भ्यायो भन्ने हो । जनताहरुको जनजीवीका सवालहरु, धनि र गरिव बीचको खाडल पुरीनु पर्छ नै समाजका लल्लो वर्ग, दलित जनजाति पछाडि परेका, पारिएका वर्गको उथ्र्थानको लागि ०६२/०६३ को जन आन्दोलनबाट प्राप्त उपलब्धीले नयाँ जारी भएको संविधानले सम्बोधन गरेको छ । महिला, दलित जनजातिहरुको सहभागीता भएको छ । संघीय लोकतान्त्रीक गणतन्त्र विश्वमा उत्कृष्ट व्यवस्था हो । जहानीय राणा शासकले १ सय ३ वर्ष साशन गर्यो पञ्चायतले ३० वर्ष साशन गर्यो, बहुदलीय व्यवस्था परिवर्तन सँगै २०६३ को जन आन्दोेलनले जनतको व्यवस्था आएको हो । देशमा आर्थिक र सामाजिक स्पान्तरण सहित देशको मुहार फेर्ने आर्थिक समृद्धि हाँसिल गर्न नेकपा एमालेको नेतृत्वमा सरकार गठन हुनुपर्छ अनिमात्र देशमा आर्थिक समृद्धि सम्भव छ । संघीयता भारी हैन संघीयता कार्यान्वयन हुँदै गएको छ । संघ, प्रदेश र स्थानीय सरकारले जनपक्षीय कार्य गर्नुको विकल्प छैन । जनताहरुको अवस्था साच्चै बदलिन आगामी २०८४ को निर्वाचन काभ्रे जिल्लामा मात्र नभइ देशमा नै लाल किल्लाको झण्डा फहराएर देशको विकास र समृद्धि गर्नु छ । जनताहरुको जन विस्वास प्राप्त गरी नेकपा एमाले पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैन ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
