प्रधानाध्यापक, पार्वती माध्यामिक विद्यालय, बेथानचोक गाउँपालिका, ढुंखर्क
पाँचथर जिल्ला फिदिम नगरपालिका १० याङताममा जन्मनु भएका गोविन्द प्रसाद शर्माले विगत २२ वर्ष देखि शिक्षण सेवामा लागि शिक्षाको ज्योति फैलाउने कर्ममा काभ्रे जिल्लालाई रोज्नुभयो । अंग्रेजी विषयमा स्नातकोत्तर शैक्षिक योग्यता हाँसिल गर्नुभएका शर्मा १२ वर्ष देखि पार्वती माध्यमिक विद्यालय बेथानचोक गाउँपालिका ढुंखर्कको प्रधानाध्यापकको जिम्मेवारी समाल्नु भएको छ । सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारले सम्पन्नता, व्यवस्थापन र शिक्षक वर्गको निरन्तर लगनशिलता बिना शैक्षिक स्तर सुधारको परिकल्पना गर्न नसकिने धारणा राख्नुहुन्छ । विकट क्षेत्रमा विषयगत शिक्षक दरबन्दी पूर्वाधार विकासको अभावका कारण शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति हुन नसकेको सन्दर्भमा संघ प्रदेश र स्थानीय सरकारको ध्यान केन्द्रित हुन जरुरी रहेको उहाँको तर्क छ । पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्मासँग विद्यालयको शैक्षिक स्तरीयताको उपलब्धि सामुदायिक विद्यालयको चुनौतीको सवालमा रेडियो एबिसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
पार्वती माध्यमिक विद्यालयको शैक्षिक आरोह अवरोहको बारेमा बताइदिनुसन ?
पार्वती माध्यमिक विद्यालयको स्थापना २०१६ साल माघ १७ गते भएको हो । २०२९ मा निमावि, २०३२ मा मावि र २०६३ सालमा उच्च मावि बनेको हो । बेथानचोक गाउँकै शैक्षिक धरोहर हो भने शैक्षिक क्षेत्रको विकासमा इटाँ थप्न सकेकै कारण सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न भूमिका निर्वाह गरेको र थप प्रभावकारी बनाउन नेपाल सरकारले नमुना शिक्षा विकास कार्यक्रम सञ्चालनको लागि छनौट भएको छ । देशमा संघीय सरकार गठन भएपछि प्राविधिक र व्यवसायिक शिक्षाले मात्र गरि खाने, जीवनलाई आत्मनिर्भरको बाटोमा अघि बढाउने उद्देश्यका साथ राज्यले सोही नीति लिएकोले हाम्रो विद्यालयलाई व्यवसायिकधार सिभिल इन्जीनियरिङ सञ्चालन गर्न उच्च शिक्षा बोर्डबाट सम्बन्धन प्राप्त भएको हो । प्रविधिमैत्री र बालमैत्री शिक्षा प्रदान गर्न हाम्रो शिक्षक वर्ग र व्यवस्थापन टिम सक्रिय रुपमा लागि परेको छ ।
सामुदायिक विद्यालयका मुख्य चुनौती चाहिं के हुन् ?
भौतिक पूर्वाधार, शिक्षक दरबन्दी अभाव र विषयगत शिक्षकहरुको अभाव हुनुले सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार आउन सकेको छैन । समय सापेक्ष २१ औ शताब्दीसँग मेल खाने आधुनिक शिक्षा प्रदान गर्न उत्पादनसँग जोड्ने सिप सहितको शिक्षाको खाचो छ । शैक्षिक बेरोजगार बढ्दो छ धेरै चुनौती छन् ती चुनौतीका चाङलाई चिर्र्दै शिक्षामा अहिले कुल बजेटको १० प्रतिशत लगानी छ २० देखि २५ प्रतिशत शिक्षामा लगानी बढाएर उद्यमशिलताको विकास सहितको शिक्षा प्रदान गर्न सक्ने शिक्षा नीतिको खाँचो छ । अभिभावकहरुले आफ्ना बालबालिका विद्यालयमा भर्ना गरिदिएपछि केहि गर्न पर्दैन भनेर सोच्नु भएन् । अभिभावक शिक्षा , शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँगाउँमा शिक्षा समिति गठन गरी अनुगमनको दायरा फराकिलो पार्न नसक्नु पनि सामुदायिक विद्यालयका चुनौती हुन् ।
शैक्षिक सुधार कार्यक्रम अन्र्तगत विद्यालयले हाँसिल गरेका उपलब्धिहरु?
विगत १० वर्ष बाट प्राथमिक तह देखि आधारभूत तहसम्म नेपाली र अग्रंजी माध्यमबाट विद्यार्थीहरुलाई अध्यापन गराइएको छ यसको शैक्षिक सुधारमा राम्रै प्रगति भएको छ । समय सापेक्ष बालमैत्री प्रविधिमैत्री शिक्षा प्रदान गर्न सकेका छौं । शिक्षकहरु शैक्षिक योजना सहित अध्यापन गराउन कक्षाकोठामा जानुहुन्छ । कुन विद्यार्थीको शिक्षाको अवस्था के छ सोको अभिलेखीकरण गरिने गरिन्छ । आइसीटीको प्रयोग, स्मार्ट टेलिभिजन सहितको कक्षाकोठा, उपयुक्त ल्याबको प्रबन्ध गरिएको छ । शैक्षिक गुणस्तर सुधार गुरुयोजना सहित टोल टोलमा शैक्षिक सुधार समिती गठन गरि शैक्षिक अभिवृद्धि कार्यक्रम लागु गरेका छांै । व्यवसायिकधार प्राविधिक शिक्षा सिभिल इन्जीनियरिङको अध्यापन गरिन्छ । जिल्लामा सामुदायिक विद्यालय मध्ये उत्कृष्ट विद्यार्थी संख्या भएको विद्यालयमा पार्वती माध्यमिक विद्यालय हो । अहिले ८ सय ७५ विद्यार्थी अध्ययनरत छन् ।
अधिकांश सामुदायिक विद्यालयहरुको गुणस्तर खस्कदो अवस्था हुनु, संस्थागत विद्यालयप्रति आकर्षण बढ्नु सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरु नै विद्यालयमा आफ्ना छोराछोरी अध्यापन गराउनु भनेकै आफै प्रति विश्वास हुन नसकेको अवस्थालाई कुन रुपमा हेर्नु भएको छ ?
सामुदायिक विद्यालयहरुले शैक्षिक गुणस्तर वृद्धि गर्ने सवालमा स्तरउन्नती गर्दै लगेको छ । केहिमा समस्या छ । शिक्षाका सरोकारवालाहरुसँग विशेष छलफल गरी शैक्षिक योजना योजनाबद्ध ढंगबाट निर्माण गर्दै अघि बढ्नुको विकल्प छैन । सरकारले शिक्षामा लगानी बढाउनुपर्छ । भौतिक पूर्वाधार विकास, व्यवस्थापन पक्ष, शिक्षकहरुलाई समय सापेक्ष समायअनुकुल प्रविधिसँग मेल खाने उचित तालिमको प्रबन्ध गरिन नसक्दा शिक्षाको गुणस्तर विकासमा समस्या छ यसलाई सरकार र व्यवस्थापन पक्ष र शिक्षकहरुको लगनशिलताले पुरा हुन सक्छ । जहाँसम्म सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका छोराछोरीहरु संस्थागत विद्यालयमा अध्यापन गराउनु ठिक होइन सरकारी नुन खाएपछि सामुदायिक विद्यालयमा छोराछोरी पढाउनुपर्छ । संस्थागत विद्यालयमा आकर्षण बढ्नु कारण छ । शैक्षिक गुणस्तर वृद्धि हुनुमा अभिभावकहरुको लगानी हुने हुँदा आफ्ना बालबालिकाहरुको शैक्षिक गतिविधि के भयो खोजि नीति गर्ने सुधार गर्न अभिभावक लागि परेको देखिन्छ । माध्यमिक तहसम्म सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा हुँदा अलि अभिभावकले हेल चेत्र्रmयाइँ गरेको पाइन्छ । यस्तो गर्नु भएन । शिक्षासेवी, राजनीतिकर्मी, अभिभावकहरु सबैले आफ्नो गाउँ शहरमा स्थापना भएका सामुदायिक विद्यालयको शिक्षाको अवस्थालाई नियाँलेर आवश्यक पर्ने सक्रिय सहयोग गर्दै जानुपर्छ । स्थानीय सरकारले पनि शैक्षिक सुधार कार्यक्रम योजना निर्माण गरी लागि पर्नुपर्यो । काभ्रे जिल्लाकै सवालमा हाम्रो विद्यालय, त्यस्तै गरी सञ्जीवनी नमुना मावि धुलिखेल, भालेश्वर मावि पनौती, महाकाली मावि मण्डनदेउपुरका विद्यालयमा अध्यन गरेका विद्यार्थीहरु संस्थागत विद्यालयमा अध्यन गरेका विद्यार्थीहरुभन्दा बढी अब्बल रहेको कुरा प्रष्ट छ कारण ती विद्यार्थीहरुले विश्व विद्यालयमा अग्रेणी स्थानमा नाम निकाल्न सकेको र लोकसेवाको परीक्षामा सफलता हासिँल गरेर सरकारी उच्चतहमा पुग्नुका साथै, मेडिकल क्षेत्र र प्राविधिक क्षेत्रमा समेत उतकृष्टता हाँसिल गरेर कार्य गरेको पाइन्छ । देशै भरिका अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरु गुणस्तरीय शिक्षा प्राप्त गर्न सकेका छन् । यतिले मात्र पुग्दैन अब उद्यमशिलताको विकास सहितको शिक्षा आवश्यक छ ।
स्थानीय सरकारले शैक्षिक विकासमा कस्तो सहयोग पुर्याएको छ ?
२०२८ सालको शिक्षा ऐन अन्र्तगतको नियमावलीमा रहेर कार्य भइरहेको छ । गणतन्त्र स्थापना भएको १५ वर्ष बितिसकेको छ । अझ सम्म संघीय शिक्षा ऐन आउन सकेको छैन । गन्तव्यमुखि शिक्षा, प्राविधिक, व्यवसायिक र आत्मनिर्भरको शिक्षा आवश्यक छ । प्रदेश र स्थानीय सरकारले शैक्षिक सुधार गुरुयोजना तयार गरेर स्तरवृद्धि गर्न लागि पर्नुपर्छ । विद्यार्थीहरुको चौतर्फी विकास हुने शैक्षिक नीति आवश्यक छ त्यसो हुन सकेको छैन । जुन खालको शिक्षा क्षेत्रमा लगानी बढाउनु पर्ने त्यसो गरेको पाइदैन । शैक्षिक गुणस्तरीयता कायम राखी योजनाबद्ध ढंगबाट अघि बढ्नुपर्छ । शिक्षामा अन्यौलता छ । प्रदेश र स्थानीय सरकारले शैक्षिक विकासमा के गर्ने भन्ने ऐन नियम निर्माण गरे सकेका छैनन् । विद्यालयमा पूर्वाधारको उचित विकास, विषयगत शिक्षकहरुको दरबन्दी मिलान, प्राविधिक शिक्षा प्रदान गर्न आवश्यक प्रबन्ध मिलाउने गरिनुपर्छ । बेथानचोक गाउँपालिकाले गाउँशिक्षा समिती गठन गरेको छ । सामुदायिक विद्यालयको भौतिक शैक्षिक अवस्था के छ त्यसको स्थलगत निरीक्षण गरेर प्रतिवेदन तयार गरेर सो अनुसार शैक्षिक योजना निर्माण गरेर अघि बढ्नुपर्छ । भन्ने सुझाव हामीले दिएका छौ । आशा गर्दछौ आगामी दिनमा शैक्षिक सुधारका लागि स्थानीय सरकारले शैक्षिक योजनाका साथ शैक्षिक सुधारका लागि शैक्षिक परियोजनाका साथ शैक्षिक सुधारका राम्रो नीति अवलम्बन गर्ने छ भन्ने विश्वास लिएका छौं । गाउँपालिकाबाट शैक्षिक विकासको लागि केहि सहयोग त पाएका छौ । त्यतिले मात्र पुग्दैन ।
अन्त्यमा केहि भन्नु छ की ?
शैक्षिक गुणस्तर विकास गर्न हाम्रो शिक्षक वर्ग, व्यवस्थापन टिम अभिभावकहरुको सक्रिय सहयोग पाएका छौ । यसको निरन्तरताको अपेक्षा गर्दछौ । विद्यार्थीहरुको चौतर्फी विकास सहितको शिक्षा दिइरहेका छौ । यो गुणस्तरीयता कायम गरेर देशैकै नमुना विद्यालय निर्माण गर्ने गरी हाम्रो शैक्षिक गुणस्तरीय विकास योजना योजनावद्ध ढंगबाट अघि बढेका छौ । व्यवसायिक धारका कक्षा सञ्चालन गरेका छौ । आगामी दिनमा बहुप्राविधिक शिक्षालयको अवधारणालाई परिपूर्ति गर्ने लक्ष्यका साथ अघि बढेका छौ हामी उक्त लक्ष्य प्राप्त गर्न प्रतिवद्ध भएर लाग्छौ ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने
