IMG-LOGO

लोकतन्त्रको रक्षा र समृद्धि, विकास हामी गछौं

 मंगल, कार्तिक २९, २०७९  कञ्चनचन्द्र बादे काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ ख प्रदेश सदस्य उम्मेदवार

       बनेपा नगरपालिका वडा नं. ९ मा पिता गोपालदास बादे, माता चिनीमाया बादेका कान्छा छोरा कन्चनचन्द्र बादेको जन्म २०२४ साल बैशाख ८ गते भएको हो । २०३६ सालको जनमत संग्रहकै क्रममा, राजनीति सुरु गर्नु भएका बादे २०४४ सालमा नेपाल विद्यार्थी संघ काभ्रेको सभापति बनेर राजनीतिमा क्रियाशिल रहनु भयो । २०५८ मा नेपाल तरुण तद काभ्रेको सभापति, २०६० मा तरुण दलको केन्द्रीय सदस्य, २०६४ सालमा नेपाली कांग्रेस काभ्रेको कोषाध्यक्ष, त्यस्तै गरी २०५७ सालमा पार्टीको १० औँ जिल्ला अधिवेशन र ११ औँ महाधिवेशनमा उहाँ महासमिति सदस्य, १३ औँ महाधिवेशनमा बागमती प्रदेश महामन्त्री बनि पार्टीमा निष्ठाको राजनीति गरी अघि बढ्नु भयो । २०५४ को स्थानीय निर्वाचनामा बनेपा नगरको उपप्रमुख र २०७० सालमा दोश्रो संविधान सभा सदस्य निर्वाचनमा, नेकपा एमाले काभ्रेका अध्यक्ष गोकुल बास्कोटालाई पराजीत गरी संविधान सभा सदस्यमा निर्वाचित हुनुभयो । आगामी मंसिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक बाम गठवन्धनको साझा उम्मेदवारको रुपमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ ख को प्रदेश सभा सदस्यमा एमालेका कुमार थापासँग चुनावी मैदानमा उत्रनु भएको छ । कन्चन चन्द्र बादे सँग आफ्नो क्षेत्रको तिब्र विकास गर्न, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन क्षेत्रको व्यवसायिक विकास, नीतिगत सुधार गर्ने र जनताका जनजीविकाको सवालमा साच्चै परिवर्तन ल्याउन सक्ने योजना छन त ? कसरी अघि बढ्नु हुन्छ भन्ने सन्दर्भमा  उहाँसँग रेडियो एवीसीमा गरिएको कुरा कानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ  ।

       प्रजातन्त्र प्राप्ति पछि कांग्रेसले २३ पटक सरकारको नेतृत्व गर्यो । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प् प्रदेश सभा सदस्यको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनबाट साझा उम्मेदवार बन्नु भएको छ । अब फेरी यहाँलाई र यहाँको पार्टीलाई जनताले मत किन दिने ?

       यहाँले अलि अफ्ठ्यारै प्रश्न उठाउनुभयो । प्रजातन्त्र प्राप्ति पछि निश्चित रूपमा नेपाली कांग्रेस पार्टीले नै बेसी सत्ता सञ्चालन गर्यो । यो अवधिमा नेपाली जनताहरुको जीवनमा सकारात्मक आर्थिक विकास सामाजिक रूपान्तरणमा धेरै सुधार भएका छन् । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास, सडक सञ्जाल विस्तार गर्ने कार्य गरेको छ । समाजमा पछाडि परेका वर्ग, अल्प संख्यक , दलित, जनजातिहरूको जीवनस्तर माथि उकास्न, महिलाहरूको शसक्तिकरण , नेतृत्व विकास, महिलाहरूको ३३ प्रतिशत अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेसले भूमिका खेलेको छ। देश विकास संवहाक कांग्रेस पार्टी नै हो । पञ्चायती व्यवस्थाको अन्त्य नेपालमा सामन्ति राजतन्त्रको अन्त्य, कांग्रेस पार्टीकै नेतृत्वमा जनआन्दोलन भई गन्तव्यमा पुगेको उदाहरण छन् ।

       लोकतन्त्रको रक्षा, संविधानको रक्षा गर्न लोकतान्त्रिक बाम गठबन्धन गरी चुनावी प्रतिस्पर्धामा गइएको हो । ५ दलिय गठवन्धन जो परिवर्तनकामी शक्ति  जसले हिजो संविधान जारी गर्दा सँग सँगै थियौं । आगामी ५ वर्ष सम्म सँगै देशको समग्र विकास गर्ने लक्ष्यका साथ हामी अघि बढेका छौं । जनताहरू पनि उत्साहित हुनुहुन्छ । संविधान च्यात्ने कार्य हुँदैन । प्रतिनिधिसभा विघटन हुँदैन । शुसासन शान्ति अमन चयनका लागि गठबन्धन हो । प्रतिपक्ष नेकपा एमालेले जनतालाई पटक पटक धोका दिएको छ । कहिले आधा प्रतिगमन साचियो भनेर सरकारमा जाने, अहिले गणतन्त्र विरोधी शक्ति संग साँठगाँठ गरेर जाने, २०७४ को निर्वाचनमा कम्युनिष्टहरूलाई दुई तिहाइ नजिक मत पुग्ने गरी जनताहरूले मत दिएकै थिए । जोगाउन सकेन देशलाई कुशासन र भष्टाचारको दलदलमा फसायो । नेकपाको सरकारमा केपी ओलीको नेतृत्वको देशलाई अग्रगतिमा लग्न नसकेको प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था छैन गर्‍यो । वेथितिको चाङ भएकै कारण पार्टी भित्रका असन्तुस्ट पक्ष माधन नेपाल, झलनाथ खनाल लगायत पार्टीबाट अलग भइ नेकपा एकीकृत समाजवादी गठन भयो । त्यस्तै प्रचण्ड दाहाल माओबादी केन्द्र मै फर्के यो परिस्थिति बाट गठबन्धन बनेको हो । जनताले गठबन्धनलाई मत दिन्छन र जिताउँछन ।

       कांग्रेसी जन, सचेत जनताहरू कांग्रेस पार्टी एक्लै चुनावमा जानुपर्दथ्यो । नीति विचार सिद्धान्तको छेउ टुप्पो कहिँ कतै नमिल्ने शक्ति संग गठबन्धन किन गरेको भन्नेहरूको लागि तपाँईको जवाफ के हुन्छ ?

       “जब जब देशमा ठूलो संकट आउँछ संकट टार्ने देशको नेतृत्व गर्ने पार्टी कांग्रेस हुन्छ । २००७ साल, २०३६ , २०४६ सालको परिवर्तन होस या २०६२/०६३ को जन आन्दोलन जनताको पक्षमा हुने आन्दोलनको नायकको भूमिका कांग्रेसले गरेको छ । लोकतान्त्रिक व्यवस्थाको रक्षा विधिको शासन, सुशासन, शान्ति अमनचयन देश विकासलाई तिव्रता दिन, जनताहरूको जीवनमा आर्थिक समृद्धि ल्याउन हाम्रो पार्टीले लोकतान्त्रिक बम गठबन्धन गरेको हो। देशको सम्मुनतिको लागि गठबन्धन हो । शिक्षा , स्वास्थ्यको पहुँच विस्तार, उद्योगधन्दा सञ्चालन, कृषि पर्यटन क्षेत्रको तिव्र आधुनिक विकास गर्न परिवर्तनलाई आत्मासात गर्ने शक्तिहरूसँग गठवन्धन गर्नु जायज छ ।

       यहाँ बिजयी हुनु भयो भने जनताले के आशा र भरोसा गर्ने ?

       शिक्षा र स्वास्थ्य हाम्रो देशमा निक्कै महंगो भएको छ । यसको ज्ञरेन्टी हुनुपर्छ । यसलाई उचित व्यवस्थापन गरी जनतालाई सम्बोधन गरी त्यही अनुसार नीति बनाएर कार्यान्वयन गर्नुपर्छ । कोभिड - १९ को बखत मानवीय स्वास्थ्यको अवस्था, थिलथिलिएको अर्थतन्त्रबाट हाम्रो देशले सिक्नुपर्छ । त्यति वेलाको केपी ओली सरकारले ७ सय ५३ नै पालिकामा मास्क सेनीटाइजर पुर्‍याउनै मुस्कील भयो । औषधी उपचारको त परैको कुरो, खरिद सामग्रीमा समेत ओम्नी काण्ड भ्रष्टाचार गरेर कुम्ल्यायो। हाम्रो पार्टीको गगन थापा स्वास्थ्य मन्त्री हुँदा दिर्घरोगी, कडा रोगीलाई दिएको स्वास्थ्य सुविधा, स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ । यसलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार र केन्द्र सरकार लाग्नुपर्छ । शैक्षिक विकासमा बजेट बढाउने सबैलाई गुणस्तरीय, सिप सहितको शिक्षा, विश्व बजारमा विवने शिक्षा आवश्यक छ । शिक्षित भएको क्षेत्रमा तिव्र विकासले गति लिन सक्छ । वैज्ञानिक र प्राविधिक शैक्षिक विकासले देशमा दक्ष जनशक्तिको विकास हुन्छ । त्यहि जनशक्तिको प्रयोग देशमै गर्नुपर्छ । हाम्रो आफ्नो क्षेत्रको शिक्षा स्वास्थ्यको पहुँच विस्तार जनताका जनजीविकाका सवाललाई पुरा गर्ने आधारभूत आवश्यकता परिपूर्ति गर्ने कृषि क्षेत्रमा आत्मा निर्भर बनाउन र पशुपालन व्यवसायमा व्यवसायिकरण, वजारिकरण प्रबन्ध गर्नुपर्छ । सरकारले किसानलाई प्रत्यक्ष प्राप्त गर्ने गरी अनुदान दिलाउनु पर्छ। त्यो गर्न म लाग्ने छु । जनताको आर्थिक सामाजिक रुपान्तरण सबै खालका सामाजिक विभेदको अन्त्य गर्न मेरो ध्यान केन्द्रित हुन्छ । सामाजिक न्यायको आधारमा समग्र विकास गर्न म लाग्छु ।

       कांग्रेसको घोषणा पत्रले ६८ वर्ष उमेरकालाई भत्ता दिनु भनेको भत्तामा अडेको छ सत्ता भन्ने कुरा प्रष्ट हुन्छ नि ? एमालेले ७० वर्ष उमेर पुगेकालाई दिने कांग्रसले यस्तो प्रतिस्पर्धा गरेको, गरिव तथा असाहयलाई पो भत्ता, शहरका ठूला ठूला महलमा बसेका जेष्ठ नागरिकलाई भत्ता किन आवश्यक पर्यो ?

       जेष्ठ नागरिक, गरिब र असाहयलाई सम्मान गर्नुपर्छ । हाम्रो देश धार्मिक आस्था बोकेका धेरै हुनुहुन्छ । लोककल्याणकारी राज्य व्यवस्थामा यो उपयुक्त छ नै । जहाँ सम्म उमेर घटाउँदा राज्यलाई थप व्यायभार पर्छ भन्ने तपाईको जिज्ञासा हो । गरिव अपाङ्ग र असायलाई निः शुल्क स्वास्थ्य सेवा कांग्रेसको घोषणा पत्रमा छ सरकार आए पछि कांग्रेसले जे भन्छ त्यो गर्छ । प्रति पक्ष जस्तो हावाबाट बिजुली, घरघरमा ग्याँस भन्ने हामी गर्दैनौं झुटको खेति गरेर हुँदैन । एमाले सरकारले भत्ता एक सयबाट ४ हजार पुर्‍यायो । अब हामी ५ हजार पुर्याउछौ । हुने खानेलाई भत्ता दिनु आवश्यक छैन । त्यसमा हामी विचार गछौं ।

       अन्त्यमा केहि भन्नु छ की ?

समग्र काभ्रेको नमुना विकास गर्न लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका सबैलाई मत दिन काभ्रेबासी लाई आह्वान गर्दछु । देश विकास गर्न राष्ट्रिय स्वाधिनताको लागि, गणतन्त्रको रक्षाका लागि गठवन्धन गरिएको हो। यहाँहरूले मत दिएर जिताउनु होस यहाँहरूको मतलाई खेर जान दिने छैनौं । जनतालाई शिरमा राखेर सेवकको रूपमा  कार्य गछौं ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्