प्रमुख प्रशासकीय अधिकृत, बनेपा नगरपालिका
कास्की जिल्ला पोखरा-११ मा जन्मनु भएका प्रकाश आचार्य खरदारबाट सेवा सुरु गरी २०६६ सालमा शाखा अधिकृत हुनुभयो । २०७२ सालमा उपसचिव भई सेवा गर्नु भएका प्रकाश आचार्य २०७९ चैत्र २५ गतेबाट बनेपा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी समाल्नु भएको छ । विगत २२ वार्ष देखि प्रशासनिक क्षेत्रमा कार्य अनुभव बटुल्नु भएका आचार्य विश्वको जुन सुकै देशमा पनि कर्मचारी र जनप्रतिनिधिहरुको समझदारी, ऐन नियम कानुन विधि र पद्धतीलाई पालना गरी देशको समग्र विकास गुणस्तरीय सहितको दिगो विकास सम्भव भएको तर्क गर्र्नु हुन्छ । नेपालमा गणतन्त्र स्थापना भएपछि स्थानीय सरकार थप बलियो भएको छ र विकास निर्माणले गति लिएको बताउनुहुन्छ । बनेपा नगरको समग्र विकास आगामी वर्षका नीति कार्यक्रम बजेटका प्राथमिकताहरुको सावलमा रेडियो एविसी एफ.एम.मा प्रमुख प्रशासकीय अधिकृत आचार्यसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
बनेपा नगरपालिकाको नीति कार्यक्रम बजेटको प्रथमिकताहरु के के हुन ?
बनेपा नगरको १४ वटै वडाको समग्र विकास नै प्रमुख हो । फोहोर मैलाको उचित व्यवस्थापन, समृद्ध बनेपा सुखी बनेपाली बनाउने अभियान हो । फोहोरको दिगो व्यवासथापन, सबै नागरिकलाई गुणस्तरीय खानेपानीको प्रवन्ध, शिक्षा र स्वास्थ्यको पहुँच विस्तार गर्ने र भौतिक पूर्वाधारको समग्र विकास गर्ने नै नीति कार्यक्रम र बजेटका प्राथमिकता हुन् । बनेपा नगरलाई व्यवस्थित सुन्दर, धुलो र हिलो रहित बनाउने हो । नगरको फोहोर मैला व्यवस्थापनका लागि काठमाण्डौ महानगरबाट सिसडोल र बञ्चरे डाँडामा लानेक्रम भएको छ । यो मात्र दिगो प्रवन्ध हैन । फोहोरलाई तीन तहमा विभाजन गरी कुहिने, नकुहिने र ठोस बस्तुलाई छुट्टाछुट्टै राखि त्यसको उचित व्यवस्थापन गर्ने अभियानमा बनेपा नगरले चेतना सहितको कार्यक्रम अघि सारेको छ ।
गणतन्त्र स्थापना भई सकेपछि पनि विकासले किन तिव्रता दिन सकेन ? देशको कुल बजेटको अवस्थालाई नियाल्ने हो भने कुल बजेटको २० प्रतिशत मात्र देखिन्छ नि सोहीलाई एक सय प्रतिशत मानेर विकास गरिन्छ । त्यसमा पनि ७० प्रतिशत पनि खर्च हुन नसकेको अवस्था छ नि किन ?
गणतन्त्र स्थापना पछि स्थानीय तहमा समग्र विकासमा क्रमिक रुपमा सुधार भई अघि बढेको छ । हिजो र आजको अवस्थालाई नियालेर तुलना गर्यो भने पनि थाहा पाउन सकिन्छ । जनताहरुको विकासको असिमित आवश्यकता छन् । हाम्रो स्रोत साधन सिमित छ । सिमित स्रोत साधनलाई अधिकतम प्रयोग गरी जनप्रतिनिधिहरु, कर्मचारीतन्त्र, आमनागरिक कुनै पनि पक्ष विपक्ष नभई साझा अवधारणाका साथ सबै मिलेर जनताहरुको इच्छा आकांक्षा, आवश्यकता र औचित्यको आधार हुनुपर्छ । विकास सबैको साझा हो । बनेपा नगरपालिकामा आ.व. २०७९/०८० को विकास बजेट ५० प्रतिशत र पूँजीगत खर्च पनि ५० प्रतिशत नै छ । २०७२ मा महाभूकम्पको प्रभाव त्यस्तै गएका २ वार्ष पनि कोभिड-१९ का कारण विकासको तिव्रता रुपमा केही असर गर्यो । आगामी वर्ष यो अवस्था हुँदैन शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको गुणस्तरीय सहितको विकास हुन्छ, गर्नुपर्छ । बनेपा नगरपालिकाको सवालमा कुरा गर्नुपर्दा १४ वटै वडामा बाँकी रहेका सडक सञ्जालमा कालो पत्रे गर्ने, ढल निकायको प्रवन्ध गर्ने, ४ वटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने हरेक वडामा नगरस्तरीय १ करोड ५० लाख र वडा गत रुपमा ५० लाख गरी बजेट विनियोजीत गरी सकेको छ । उपभोक्ता समितिबाट नै पूर्वाधार विकास कार्यलाई अघि बढाइने नीति अघि सारेको छ ।
विकास निर्माणमा ढिला सुस्ती असारे प्रवृत्ति पुरानै रोग अझै सम्म कायम हुनुको कारण चाँहि के हो ?
गणतन्त्र स्थापनापछि स्थानीय सरकारले गर्ने क्रियाकलाप जनताहरुलाई प्रवाह गर्नु पर्ने सेवा सुविधा छिटो छरितो स्तरीय दिनुपर्ने हुन्छ । त्यस्तो दिने कार्यमा बनेपा नगरपालिकाले गरेको छ । समय सापेक्ष प्रविधिको उच्चतम विकास सँगै सोही अनुरुपको समय सापेक्ष कर्मचारीलाई तालिमको प्रवन्ध हुनु आवश्यक छ । केही कमीकमजोरी छन् सुधार गर्दै जानु पर्छ । सार्वजनिक खरिद ऐनको जटिलता हुनु, हरेक वर्ष जिल्लाको सामाग्री खरिद दररेट कायम गर्ने प्राविधिक र कार्य गर्ने कर्मी र मजदुरको ज्याला निर्धारण लगायतका विषयहरु समयमा नहुनु । उपभोक्ता समिति भन्दा बाहेकका योजनामा ३५ दिनको समय राखेर टेण्डर आव्हान गर्नु पर्ने, त्यस्तै गरी संघ प्रदेश र स्थानीय सरकारले प्रयोग गर्ने साझा अधिकारको कानुन अझै बनि नसक्नु । त्यस्तै गरी संघ र प्रदेशबाट आउने बजेट स्थानीय तहमा समयमा नआउने; आवश्यक टेण्डर प्रक्रिया गर्न समय लाग्ने, वर्षातका समयमा विकास निर्माण गर्नु पर्ने अवस्थालाई निस्तेज पार्नु पर्छ । यसमा केन्द्रीय सरकारले वुद्धीमता पूर्व देशको समग्र विकासको खाका कोर्दा देशको भोगोलिक जनसांख्यिक अवस्था, आर्थिक वर्षको अन्तयमा वर्षातको समयमा विकास गर्ने परम्परालाई तोड्नु पर्छ । सार्वजनिक खरिद ऐनमा परिमार्जन गर्ने गर्नु पर्छ । फागुण र चैत्र महिनामा कुनै टेण्डर आव्हान नगर्ने हुनु पर्छ । त्यस भन्दा अघि मंसिर पुष र माघ महिना भित्र नै टेण्डरको कार्य सकिसक्नु पर्छ । माघ देखि विकासका तिव्र कार्य भई सक्नु पर्छ ।
कर्मचारी तन्त्रको विकास निर्माणमा ढिला सुस्ति जन सेवामा निरन्तर अनेक खालका वहाना बाजी गरेर जनतालाई झुलाउने परम्परा अझै कायम छ कर्मचारको मनोवृति परिवर्तन हुन सकेको छैन भनेर बुझ्छन् साँच्चै त्यस्तै हो त ?
जनताहरुले छिटो छरितो स्तरीय सेवा प्रवाह चाहनु नितान्त ठिक छ । कर्मचारीहरु भनेका जनताका सेवक नै हुन् । संविधान कानुन ऐनको कार्यान्वयन गराउने कार्य कर्मचारी तन्त्रले गर्ने हो । मनोमानी ढङ्गले आफ्नो मन गणन्ते ढङ्गबाट कार्य गर्न पाइँदैन । कतिपय विषयहरु आजका आजै कार्य नहुने हुन्छन् । त्यस्ता विषयहरुको सवालमा जनताहरुलाई जनप्रतिनिधि र कर्मचारी वर्गहरुले बुझाउन सक्नु पर्छ । कर्मचारी भनेका “राज्यका विकासका संवाहक हुन् । जनप्रतिनिधि र कर्मचारी वर्गको साझा प्रतिवद्धता सहित विधि विधान कानुनको परीपालना गरी जनहित सहित देशको समग्र विकास गर्नुको अरु विकल्पै छैन् । आफ्ना कमजोरी ढाक छोप गर्न अरुलाई आरोपको लागि आरोप लगाउने प्रचलन छ । त्यसको अन्तय हुनु पर्छ ।”
बनेपाको अर्को समस्या भनेको वर्षातको समयमा पुलबजार क्षेत्र सहित बनेपाको बजार क्षेत्र डुवानमा पर्ने त्यस्तै पार्कीङ क्षेत्रको अव्यवस्थितले गर्दा नगरको स्वरुप नै विग्रेको छ नि ?
हरेक वर्ष वर्षातको समयमा बनेपा पुलबजार क्षेत्र डुवान हुन्छ । त्यस्तै अरनिको राजमार्गमा केही वेर पानी पर्ने वित्तीकै जलमग्न हुन्छ । व्यवस्थित, हरियाली सहितको सुन्दर बनेपा चिटिक्कको बनेपा बनाउन बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा सहित १४ वटै वडामा वडा अध्यक्षहरु निर्वाचित भई आउनु भएको छ । आ.व ०७९/०८० को नीति कार्यक्रम बजेट पास भई सकेको अवस्था छ । २०३० सम्ममा सरकारले दिगो लक्ष्य प्राप्तिका योजनाहरु सञ्चालन गरी उद्देश्य प्राप्तिको लागि निरन्तर लागेकै छ । शिक्षा, स्वास्थ्यको गुणस्तरीय पहुँच, महिला नेतृत्व विकास महिला सशक्तिकरण, स्वारोजगारको श्रृजना, उद्यमशिलताको विकास सहित गरिवी निवारण र भौतिक पूर्वाधारको क्षेत्रको पनि दिगो विकास आवश्यकता छ । त्यो गर्ने कार्य अघि बढि सकेको छ । जहाँ सम्म पुलबजारको पुन्यमाता खोलामा भएको पुल खोला वरपर क्षेत्र सहित बनेपा बजार जलमग्न हुने समस्यालाई हल गर्न नगरपालिका सडक विभाग सहित मिलेर पुल अग्लो निर्माण गर्ने खोलाको साइज गहिराउने दुबै तर्फवाललाई व्यवस्थित बनाउनै पर्छ । यस्तो ठूलो खालको योजना संघीय सरकार र सडक डिभिजन विभागले गर्छ नै हामी समन्वय गर्छौ । त्यस्तै गरी बनेपालाई व्यवस्थित बनाउने अभियान थालिसकेको छ । फुटपाथमा व्यवसाय गर्नेहरुलाई हटाउने कार्य भएको छ । पार्कीङलाई व्यवस्ति गरिने छ । सडक दायाँ बायाँ ग्रिन वेल्डमा वृक्षारोपण भई सकेको छ । त्यसलाई थप व्यवस्थित पारीने छ । एकाङ्गी विकासले मात्र समृद्ध बनेपा सुुखि बनेपाली बन्न सक्दैन । शिक्षा, स्वास्थ्य, रोजगारको गुणस्तरीय श्रृजनात्मक कार्यको थालनी भई सकेको छ । समग्र क्षेत्रको विकासको गतिलाई गन्तव्यमा पुर्याउन कर्मचारी वर्गर जनप्रतिनिधि र नागरिक सबै मिलेर नगरको समग्र विकास गर्नुपर्छ ।
