IMG-LOGO

सडकहरुको दिगो विकास नै ग्रामिण बस्तीको मुल ढोका हो

 मंगल, असार २८, २०७९  भगवान अधिकारी

 

अध्यक्ष, बेथानचोक गाउँपालिका

      बेथानचोक गाउँपालिका वडा नं ३ ढुङखर्कमा २०३६ साल चैत्र १७ गते भगवान अधिकारीको जन्म भएको हो । २०४६ साल विद्यार्थी कालबाट नै राजनीतिक यात्रा शुरु गर्नु भएका अधिकारी २०६१ र २०६९ गरी दुई पटक नेपाल विद्यार्थी संघ काभ्रेको अध्यक्ष भई विद्यार्थीहरुको हक हितका मुद्दा उठाई राजनीतिमा स्थापित हुनु भयो । २०६८ मा विद्यार्थी संघको केन्द्रीय सदस्य त्यस्तै गरी काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ ’ख’ को कांग्रेसको महाधिवेशनमा प्रदेश सभापतिमा झिनो मतले पराजीत हुनुभयो । २०७९ बैशाख ३० गते  भएको स्थानीय सरकारको चुनावमा बेथानचोक गउँपालिकाको अध्यक्ष पदमा ६ हजार १९ मत प्राप्त गरी विजयी हुनुभयो । प्रतिस्पर्धि नेकपा एमालेका कमल तिमल्सिनालाई २ हजार ८ सय १९ मतान्तरले पछिपारेर भगवान अधिकारीले चुनाव जित्नु भयो । कमल तिमल्सिनाले ३ हजार ६१ मत प्राप्त गर्नु भएको थियो । उर्जावान, समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने क्षमताका भगवान अधिकारीसँग बेथानचोक गाउँपालिकाको आ.व ०७९÷०८० को नीति कार्यक्रम र बजेटका प्राथमिकता के के छन् । दिगो लक्ष्य प्राप्तिका लागि कस्ता खालका योजना निर्माण गरी अघि बढेको छ भन्ने सन्दर्भमा गाउँपालिका अध्यक्ष अधिकारीसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

      संवैधानिक व्यवस्थ अनुरुप बेथानचोक गाउँपालिका स्थानीय सरकारले गत असार १० गते भित्र नीति कार्यक्रम, बजेट ल्याउनै पर्ने प्रवन्ध गरेको छ । बेथानचोक गाउँपालिकाको नीति कार्यक्रम बजेटको प्राथमिकरण बारेमा बताइदिनुसन् ?

      ग्रामीन भेग बस्तीको विकासको पहिलो ढोका भनेको पूर्वाधार तर्फ ग्रामीण सडक व्यस्थित गरी बाह्रै महिना सहज हुने अवस्था श्रृजना गर्न हामीले दिगो लक्ष्य प्राप्तिका योजना अघि बढाएका छौँ । हरेक वर्ष ५ किमी सडक कालो पत्रे गर्ने नीति अनुरुप ५ करोड बजेट विनियोजन गरेका छौँ । कृषि क्षेत्रको व्यवसायिक विकास गरी उद्यमसँग जोड्ने र कृषि औजार वितरण गर्ने, हरेक किसानको जमिनको माटोको स्वास्थ्य परीक्षण गर्ने प्रवन्ध गर्ने, कृषि उद्यम सिलतालाई अभिबृद्धि गर्ने गरी कृषि विकास बैँक स्थापना गर्ने नीति अघि सारेको छ । उत्कृष्ट कृषकलाई सम्मान गर्ने, धुन चिस्यान केन्द्रको स्थापना गर्ने, एग्रो टुरिजमको विकास गर्ने कृषि क्षेत्रको विविधिकरणका लागि चिया, कफी, सुन्तला, कागती, आलु पखडा, पकेट एरियाको रुपमा विकास गरिने छ । सुशासन प्रवर्धन तथा संस्थागत विकास संवन्धि नीति डिजिटल गाउँपालिकाको रुपमा विकास गरिने छ  । झरना, रतनखोला, छ्याङछ्याङ खोला, हर्क भन्ज्याङ, थलिडाडाँ, गजराराम, थुम्को, गुम्बाडाडाँ, तिप्चोक, शिव गुफा, शान्ति महाँकाल, भुग्देउ महाकाल, कालिदेवी मन्दिर लगायत गाउँपालिकका ऐतिहासिक सम्पदा मठ मन्दिरहरुको संरक्षण सम्बद्र्धन गरी धार्मिक पर्यटनको विकास गरिने छ । आर्थिक विकास तर्फ एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरिने छ । सामुदायिक, करार खेती, व्यवसायिक खेतीको रुपमा विकास गर्ने, कृषि योग्य जमिन बाँझो नराख्ने नीति लिएको छ । गाउँपालिकाका गाउँवासीहरुलाई शुद्ध पिउने पानी उपलब्ध गराउने गरी एक घर एक धारा जडान गरिने छ । बेथानचोक नारायणथान मन्दिरमा केवलकार सम्भाव्यता अध्ययन गरी कार्य अघि बढाइने छ । आन्तरिक तथा बाहिय पर्यटकहरुको आकर्षण केन्द्रको रुपमा विकास गर्ने । च्यालटी खोला, लघुजलविद्युत आयोजना सञ्चालन गरिने छ । च्यामङराङ बेसी सडक खण्डमा सुरुङ मार्ग निर्माण कार्यको सम्भाव्यता अघि बढाईने  छ । 

      युवा नेतृत्वको प्रतिनिधित्व गर्दै गाउँपालिकाको अध्यक्ष समाल्ने अवसर प्राप्त गर्नु भएको छ । बेथानचोक गाउँपालिकाको मुहार फेर्ने गरी कस्ता खालका नयाँ योजना अघि बढाउनु भएको छ ?

      ६ वटै वडाका सडक सञ्जाल व्यवस्थित गरी सडक  कालोपत्रे गर्ने, एग्रोटुरिजमको विकास, युवा वर्गहरुलाई आकर्षीत गर्ने गरी उद्यमशिलताको विकास गरी कृषि क्षेत्रको व्यवसायिक विकास, सामुदायिक खेती, करार खेती गर्ने प्रवन्ध मिलाइने छ । कृषि विकास बैँक स्थापनाको लागि गाउँपालिकाले फाइल अघि बढाइएको छ । जसले गर्दा कृषि क्षेत्रमा आत्मनिर्भर गर्न यसले सहयोग पु¥याउने छ । कारण कृषकहरुले सहुलियतदरमा ऋण प्राप्त गर्न सक्छन् । जनताहरुले साँच्चै विकासको अनुभूति गर्ने गरी दिगो विकास लक्ष्य प्राप्तिका लागि हरेक वर्ष ५ किमी सडक कालोपत्रे गर्ने नीति अघि बढाएका छौँ । शिक्षा क्षेत्रमा धेरै पछि परेको छ । प्राविधिक तथा व्यवसायिक शिक्षा ग्रहणको प्रवन्ध गरिने छ । गरिब तथा जेहन्दार विद्यार्थीहरु जसले मेडिकल र इन्जीनियर अध्ययन गर्न कठीन छ । उनीहरुको लागि जो उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई गाउँपालिकाले मेडिकल क्षेत्र अध्ययन गर्नेहरुलाई २ लाख, इन्जीनीयर अध्ययन गर्नेलाई १ लाख र अन्य विषय अध्ययन गर्नेलाई ५० हजार प्रदान गर्ने नीति अघि सारेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरुको शैक्षिक स्तर सुधारका लागि विज्ञान, गणित र अंग्रेजी विषयका घुम्ती शिक्षकको प्रवन्ध गर्ने नीति लिइएको छ । भवनको लागि जग्गा व्यवस्था र भवन निर्माण गर्ने, बागमती प्रदेश सरकारको सहयोगमा ५० लाख लागतमा गाउँ सभाहल निर्माण गरिने छ ।

      नगरपालिका होस् या गाउँपालिकाका सरकार प्रमुखहरु हिजोका तथ्याङ्कीय आधार भन्दा बाहिर गएर ससाना टुक्रे योजना बनाउने कनिका छरे जसरी बजेट छर्ने परम्परा भन्दा माथि जान नसक्ने प्रवृतिबाट दिगो लक्ष्य प्राप्ति कसरी सम्भव हुन्छ ?

      ग्रामीण क्षेत्रको विकास गर्न निक्कै कठीन छ । हरेक वडाहरुबाट वडा अध्यक्षलाई ससाना टुक्रे योजना निर्माणमा दवाब दिने गरिने रहेछ । हामीले हरेक वडाहरुमा सहजीकरण गरी विकासका योजना संकलन गर्दा जागरण ल्याउने कार्य गरिएको छ । जनताहरुलाई बुझाउन सक्नुपर्छ । हरेक वडाको विकासलाई ध्यान दिइ बजेटको सिलिङ, तोकिदिएको छ । हरेक वडालाई ६० लाख बजेट विनियोजन गरिएको छ । १० लाख भन्दा माथिको योजना गाउँपालिका, प्रदेश र संघीय योजना अनुरुप चल्ने प्रवन्ध गरिएको छ । ५ लाख सम्मका वडा स्तरीय योजना छन् ।

      भौतिक पूर्वाधारको विकास होस् या शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकासका योजना निर्माण गर्दा विषयगत विज्ञहरुको सुझाव विना बनाउने गरेका कारण परिणाममुखी विकास नभएको कार्यकर्ता मुखि विकास हावि भएको भनिन्छ ? तपाई यसमा सहमत हुनु हुन्छ ?

      विगत वर्षहरुमा स्थानीय निकायहरुले बजेट निर्माण गर्दा केही कमी कमजोरी भएका छन् । ती कमजोरीहरुलाई सुधार गरी अघि बढ्नु पर्छ । यहाँले उठाउनु भएको मुद्दामा सबै सजग सतर्क हुनै पर्छ । “शिक्षा, स्वास्थ्य, कषि, पर्यटन क्षेत्र होस या भौतिक पूर्वधार विकासमा विषयगत विज्ञहरुको सुझाव अनुसार योजना निर्माण गर्नु पर्छ । हामीले नीति कार्यक्रम र बजेट निर्माण गर्नु अघि प्रमुख प्रतिपक्ष नेकपा एमालेका बेथानचोकका नेता कमल तिमल्सिना, गठवन्धनको तर्फबाट माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीका प्रतिनिधिहरु र विषयगत विज्ञहरुको राय सुझाव अनुसार नीति कार्यक्रम र बजेट निर्माण गरेका छौँ । सबैको साझा विचार निर्माण गरी बेथानचोक गाउँपालिकाको मुहार फेर्ने गरी विकास गर्नु छ ।” आगामी वर्ष २०७९÷०८० को लागि ५९ करोड ११ लाख ३९ हजारको बजेट निर्माण गरेका छौँ ।

      अधिकांश स्थानीय सरकारले गरेको काम कारवाहिमा अख्तीयार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी परिरहेको छ । सुशासन, पारदर्शिता र जवाफदेहीता कायम गर्ने तिर बेथानचोक गाउँपालिकाको हकमा यहाँको ध्यान कतिको केन्द्रीत हुन्छ ?

      सिंहदरवारको अधिकार गाँउतिर भनिए पनि केन्द्र र प्रदेश सरकारले साझा अधिकारका कानुन बनाउन सकेका छैनन् । नागरिता र मालपोत कार्यालयको काम हुन सकेको छैन । स्थानीय सरकारलाई अझ बलियो बनाउन अधिकार केन्द्रीकृत गर्ने हैन विकेन्द्रीकृत गर्नु पर्छ । जनताहरुलाई दिने दैनिक सेवा प्रवाह छिटो छरितो हुनुपर्छ । शान्ति, अमन चयन कायम हुनुपर्छ । सरकारले गरेका सबै कामहरु पारदर्शी, सुशासन र जवाफदेहीता सहितको हुनुपर्छ । सरकार भनेको जनताहरुको अभिभावक हो । त्यहि अनुसार कार्र्य गर्नुपर्छ । जनप्रतिनिधिहरु, कर्मचारी वर्ग, पक्ष, प्रतिपक्ष सबै मिलेर एकता वद्ध भई विकासमा साझेदारी गरेर अघि बढ्नुको विकल्प छैन । सबैले अपनत्व अनुभूत गर्ने गरी विकास निर्माण हुन जरुरी छ । हामी त्यो गछौँ, अख्तीयार दुरुपयोग अनुसन्धानमा एउटा पनि उजुरी नपर्ने गरी हाम्रा जनप्रतिनिधि, कर्मचारी बर्ग सबैले कार्य गर्नु हुनेछ । मेरो ध्यान पनि जनताहरुको जन जीवीकाको सवाल, जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान, बालवालिकाहरुको बृद्धि विकास र महिला दिदीवहिनीहरुको नेतृत्व विकास, सिप विकास त्यस्तै गरी अपाङ्ग, असहायहरुको लागि उद्यमशिलताको विकास गरी आत्मनिर्भरको बाटोमा अघि बढ्ने योजनावद्ध विकासको खाका सहित हाम्रो टिम लागि परेको छ भन्न चाहन्छु ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्