पनौती नगरपालिका साविक वडा नं. १० मा २०२२ जेष्ठ १० गते रामशरण भण्डारीको जन्म भएको हो । २०४२ साल पञ्चायत काल देखि नै नेपाली कांग्रेसका आदर्श व्यक्तित्व समाज रुपान्तरणका प्रतिविम्व विश्वस्वर प्रसाद कोइरालाबाट प्रेरित भई राजनीतिमा होमिनु भएको रामशरण भण्डारी नेपाली कांग्रेस काभ्रे जिल्ला समिति सदस्य हुँदै, पनौती नगरसमिति सभापति हुनुभई जिम्मेवारी सम्माल्नु भयो । २०७९ बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा १४ हजार ५० मत प्राप्त गरी पनौती नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभयो । प्रतिस्पर्धी भिम न्यौपानेले ११ हजार ७ सय ८३ मत प्राप्त गर्नुभयो । पनौती नगरपालिकाको ११ औँ अधिवेशनबाट पास भएका नीति कार्यक्रम बजेटको प्राथमिकता के के छन् । नगरपालिकाको समग्र विकास गरी समृद्ध पनौतीको संकल्प के के छन् भन्ने सन्दर्भमा रेडियो एविसीमा गरिएको कुरा कानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
पनौती नगरपालिकाले ११ औँ नगर सभाले नीति कार्यक्रम बजेट प्रस्तुत गरेको छ । बजेटका प्राथमिकीकरण चाँहि के के हुन ?
जनताहरुको जनविश्वासले हामी जनप्रतिनिधिहरु भएर कार्य गर्ने छौँ । धेरै सपना देखेका अवसर जुटेको छ । सपनाहरु देखे जति सबै एकै पटक पुरा हुन सक्दो रहेन छ । हामीले नगर सभाबाट एक खालको मार्ग चित्र बनाउने गरेका छौँ । विगतमा सम्पन्न हुन नसकेका पूर्वाधार विकासका कार्यहरु पुरा गर्ने छौँ । त्यस्तै गरी आगामी वर्ष आ.व. ०७९÷०८० को बजेटका प्राथमिकताहरु पनौती नगर कृषि नगरी पनि हो । यसको व्यवसायिकरण गरी कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँने छौँ । पर्यटन क्षेत्रका विकास, भौतिक पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यको गुणस्तरीय विकास गरी समृद्ध पनौती निर्माण गर्ने हाम्रो मुल लक्ष्य हो र संकल्प पनि हो ।
आन्तरिक आयबाट ४३ करोड ५० लाख ३९ हजार प्रक्षेपण गरिएको छ । राजश्व बाँडफाँडबाट २४ करोड ९५ लाख ४६ हजार छ । प्रमुख राजश्वका श्रोतहरु के के हुन ?
एकीकृत सम्पती कर, घर वहाल कर, सवारी साधन कर, सम्पती कर, रजिष्टे«शन दस्तुर, रोयल्टी लगायतबाट नै आन्तरिक राजश्वबाट आय प्रक्षेपण गरिएको हो ।
स्थानीय पालिकाहरुको प्रमुख आयश्रोत निकासी गरेर पनि रकम आर्जन गरेको छ तर उक्त रकम सन्दर्भमा नीति कार्यक्रममा भने उल्लेख गरेको पाइँदैन, पनौती नगरपालिकामा कति ढुङ्गा र गिटी खानीहरु सञ्चालन भएका छन् ?
कम्पनी रजिष्ट्रारको कार्यालयबाट निश्चित मापदण्ड पुरा गरेकाहरुलाई स्वीकृत दिई सञ्चालन गरिने हुँदा त्यसको छुट्टै कार्य विधि छ । त्यसको स्वीकृत गर्ने अधिकार पालिकालाई छैन । पनौती नगरमा मेरो जानकारीमा भए अनुसार ११ वटा ढुङ्गा खानी सञ्चालनमा छन् । कतिपय बन्द भएका छन् । हामीले सामाग्री निकासी गर्दा प्रतिवर्ग फिट ढुङ्गाको रु ६ लिइएको छ । खानी नगरपालिका आफैले सञ्चालन गरेको छैन ।
कुल बजेटको १५ प्रतिशत बजेट कृषि क्षेत्रको विकासमा खर्च गर्ने भन्ने बजेट निर्देशीकामा छ तर स्थानीय पालिकाले त्यसको परिपालना गरेको देखिदैँन । उक्त मापदण्ड अनुसार पनौती नगरको बजेट २४ करोड १ लाख ९५ हजार हुन्छ तर कृषिमा विनियोजीत बजेट भने १ करोड ५० लाख छ नी ?
मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउन र ग्रामीण अर्थतन्त्र बलियो बनाउन उत्पादनमा आत्मनिर्भर हुनै पर्छ । कृषि प्रधान देशमा कृषि उपज उत्पादन गरी निर्यात गर्न सक्नु पर्छ । स्थानीय पालिकाहरुको भौगोलिक अवस्था उत्पादन हुने सम्भाव्यताको अध्ययन गरी सोही अनुसारको कृषि उपज उत्पादन गर्न प्रोत्साहित गर्नु पर्छ । परम्परागत कृषि प्रणाली अँगालेर उत्पादनमा आत्मनिर्भर हुन सकिंदैन् । व्यवसायिक खेति प्रणाली उपयुक्त बजारीकरण कृषकहरुले उत्पादन गरेका बस्तुहरुको उचित मुल्य प्राप्त गर्न सक्ने अवस्थाको श्रृजना गर्न आवश्यक छ । बजेट निर्देशीका अनुसार कृषिमा कुल बजेटको १५% विनियोजन गर्नुपर्ने नै हो । हामीले अहिले कृषि विकासमा १ करोड ५० लाख, पशुपालन ३ करोड विनियोजन गरेका छौँ । केन्द्र र प्रदेशको बजेट समायोजन गर्दा करिव कुल बजेटको १५% पुग्छ । हामी हरेक क्षेत्रमा परिणाम मुखि नतिजा ल्याउने गरी नगरपालिकाका जनप्रतिनिधिहरु एक जुट भइ कार्य गछौँ ।
युवा उद्यमीहरुको लागि २५÷२५ र ५० को सहुलियत पूर्ण वित्तीय कार्यक्रम ल्याउने । त्यस्तै गरी स्वास्थ्य क्षेत्रको बजेटलाई कम्तीमा १०% पु¥याउने भनेर चुनावको बखत घोषणा पत्रमा उल्लेख गरेको छ । उक्त रकम युवा तथा खेलकुदमा ५० लाख र स्वास्थ्य क्षेत्रको विकासमा ३ करोड ५० लाख विनियोजन गरेको छ । मापदण्ड अनुसार खेलकुदमा हुनुपर्ने पनि भएन र स्वास्थ्य क्षेत्रको विकासमा समेत १६ करोड १ लाख ३० हजार हुनुपर्छ तर कही कतै बजेटको तारतम्य मिल्दैन नि ?
युवा वर्गलाई विदेश पलायन रोक्न, स्वरोजगारीको श्रृजना गर्न उद्यमशिलताको विकास गर्न युवा जनशक्तिलाई जनु जनु क्षेत्रमा उपयोग गर्न सकिन्छ सोही ठाउँमा उपयोग गर्नुपर्छ भन्ने हिसावले निर्वाचनको वखत घोषणा गरेको एकै वर्ष पुरा हुन नसके पनि ५ वर्ष भित्र जनताका बीचमा प्रतिवद्धता पुरा गर्दै जान्छाँै । युवा जनशक्ति भरपुर प्रयोग गर्न कार्यक्रम तर्जुमा र अनुसन्धानको लागि युवा तथा खेलकुदमा ५० लाख बजेट विनियोजन गरेको हो । परिणाममुखि परिमाण ल्याउन कृषिलाई व्यवसायीकरण गर्ने पर्यटनक्षेत्रको विकासमा युवा वर्गलाई कहाँ कति समायोजन गर्न सकिन्छ । त्यसलाई ध्यान केन्द्रीत गर्ने कार्यमा हामी लागेका छाँै । स्वास्थ्य क्षेत्रको पहुँच घर घरमा पु¥याउने उद्देश्यका साथ हाम्रो नगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु परिचालन भई सकेका छन् । जेष्ठ नागरिक असाहयहरुलाई स्वास्थ्य सेवा प्रवाह घरमै गई गर्ने अभियान शुरु गरी सकेका छौँ । स्वास्थ्य संस्थाबाट प्रदान गर्ने सेवाहरुलाई चुस्त दुरस्त प्रभावकारी सेवा दिनु छ यहि कार्यमा हामी लागेका छौँ ।
स्थानीय पालिकाहरुले विज्ञहरुको समूह गठन गरेर दिगो लक्ष्य प्राप्तिका योजनाहरु अघि बढाउन सकेको भए विकास र समृद्धिको ढोका चाँडै खोल्ने आधार तय हुन्थ्यो । त्यसो नगर्दा हरेक वर्ष पूर्वाधार क्षेत्रमा करोडांै बजेट बाटो विस्तार र मर्मत गर्दा नै सकिन्छ । व्यवस्थित हुन सकेको छैन । विकासको मोडेललाई नै पविर्तन गर्नुपर्छ भन्ने यहाँलाई लाग्दैन ?
म विगत २० वर्ष देखि सहकारी संस्थाहरुमा लागेर योजना निर्माण गर्दै कार्यान्वयन गरेर आफ्नो जीवनलाई सकारात्मक मार्गमा लागेको व्यक्ति हुँ । दिगो लक्ष्य प्राप्तिका योजनाहरु अघि बढाएर १ वर्ष, २ वर्ष,३ वर्ष, ५ वर्ष, १५ वर्ष दिगो लक्ष्य प्राप्तिको योजनाहरु निर्माण गरी दुरदृष्टीका साथ अघि बढ्नै पर्छ । समृद्ध नगर सुखी नगरवासी बनाउनु छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा गुणस्तरीय विकास गरी पनौती नगरवासीको जीवनमा आर्थिक समृद्धि ल्याउनु छ । युवा लक्षीत कार्यक्रम अघि बढाउनु छ । पूर्वाधार, शिक्षा, वातावरण, स्वास्थ्य र सामाजिक क्षेत्रका विज्ञता हासिल गरेका व्यक्तित्वहरु सँग परामर्श गरी विज्ञ टोलीहरु समेत सहभागी गरेर समृद्ध नगर बनाउने अभियानमा हामी लाग्छौ । नगरवासीको जीवनमा हाँसो र खुसी ल्याउन आय आर्जनको क्षेत्रमा हिजोको अवस्था भन्दा आजको अवस्था परिवर्तन भइृ आर्थिक पक्ष सक्षम र सवल हुने वातावरण तय गर्नुपर्छ । हाम्रो जनप्रतिनिधिहरु सोही कार्यमा दत्तचित्त भएर लाग्छाँै । विज्ञहरुको सुझाव अनुसार समग्र विकास गर्न हामी लाग्छौँ ।
पनौती नगरपालिकाले नयाँ नगर प्रमुख प्राप्त गरेका छन् । जनताको जीवनको अवस्था बदल्ने नयाँ योजनाहरु के के छन् ?
जनताहरुसँग अन्तर सम्वन्ध छ । कृषि, पर्यटन, धार्मिक पर्यटनको स्तर उन्नती सहितको विकास गर्नु छ । पुण्यमाता, रोशी खोला क्षेत्र सरसफाई गरी वातावरण प्रदुषण रोक्नु छ । पनौती देखि बनेपा करीडोर निर्माण गर्नु पर्ने छ । “आधुनिक व्यवस्थित बसपार्क निर्माण गर्ने, यस अघि बन्न बाँकी रहेका रङ्गशालाको पूर्वाधार निर्माणलाई पूर्णता दिने आन्तरिक पर्यटन व्यवसायलाई व्यवस्थित गर्न होमस्टे निर्माण कृषि क्षेत्र र पशुपालन व्यवसायलाई व्यवसायिकरण गर्न नगरपालिकाले रकम अनुदान दिने छ । कृषकहरुबाट उत्पादन भएका कृषि उपज विक्रीको लागि बजारीकरण गर्ने १२ वडामा हाट बजारको प्रवन्ध गर्ने,” दुध जन्य पदार्थमा आत्मनिर्भर भई सकेको छ । दुध जन्य पदार्थमा समेत अनुदान दिइ कृषकहरुलाई धनि बनाउने कार्य हार्मी गछौ । प्राविधिक शिक्षाको लागि महाविद्यालय निर्माण गरी सिप सहितको शिक्षा प्रदान गर्ने छौँ ।
अपाङ्गता भएका व्यक्तिहरुको लागि सिप विकास सहितको उद्यमशिलताको विकास अझै गर्न सकेको छैन नी ?
युवा वर्ग होस या अपाङ्गता भएका व्यक्तिहरुको सिपको विकास गरी उद्यमी व्यवसायी बनाउने कार्य हामी गर्छै । फरक क्षमता भएका व्यक्तिहरुको सूचिकृत गरी उचित शिक्षा दिक्षा सहित सिपको विकास गरी घरेलु उद्योग सञ्चालन गरेर आय आर्जन वृद्धि गर्ने तीर हाम्रो ध्यान केन्द्रीत छ ।
यस अघिका नगर प्रमुख भिम न्यौपानेले कृषकहरुको हितको लागि र पशुपालन गर्ने व्यक्ति तथा व्यवसायीहरुको हितको लागि कार्यक्रम लागु गरी अघि बढेकोमा नमुना कार्य गरेको अरु नगरले समेत अनुशरण गरेको थियो । उक्त कार्यलाई थप प्रभावकारी बनाउने योजना के छ ?
पनौती नगरपालिकामा विगतका जनप्रतिनिधिहरुले गरेको जनप्रिय किसानहरुको वृहत्तर हित गर्ने कार्यहरु भंैसी पालका कृषकहरुलाई भौंसीलाई सुत्केरी भत्ता दिने कृषि क्षेत्रमा आधुनिक प्रणालीबाट व्यवसायिक ढङ्गबाट कार्य गर्नेहरुलाई प्रोत्साहित गरी रकम अनुदान दिने छौँ । कृषिमा राम्रो उत्पादन गरेर उत्कृष्ट कार्य गर्नेहरुलाई पुरस्कृत गर्ने छौँ । भूमिहिन दलित , भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जमिन उपलब्ध गराउने अति विपन्न गरिव परिवारलाई आवास, जीवीको पार्जन कार्यक्रम सञ्चालन गर्ने छौँ । विपन्न सबै परिवारको जीवन विमा कार्यक्रम अघिसारी कार्यान्वयन गर्ने छौँ । विगतमा गरेका नराम्रा कार्यहरुलाई निरुत्साहित गरी सुधार गर्दै अघि बढ्छौँ ।
