IMG-LOGO

टोपी र फरियाका घेरा फाट्ने गरी कार्य गर्ने किसानहरुको मुहारमा मुस्कान ल्याउनु छ

 मंगल, असार ७, २०७९  दिपककुमार गौतम

प्रमुख – जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोक

      चौरीदेउराली गाउँपालिका वडा नं ४, २०४३ सालमा जन्मनु भएका दिपक कुमार गौतम विद्यार्थी काल कक्षा–८ देखि अध्ययन गर्दैको बखत अनेरास्वियुको प्रारम्भीक कमिटी अध्यक्ष, अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष समेत हुनुभयो । एमाले पार्टीमा हुँदा ३ कार्यकाल जिल्ला कमिटी सदस्य भएर कार्य गर्नुभयो । पार्टी फुटपछि नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी काभ्रेको सचिव, प्रचार विभाग प्रमुख भई कार्य गरिसक्नु भएको छ । २०६२÷०६३ को जनआन्दोलनमा विद्यार्थीहरुको तर्फबाट अग्रपंक्तिमा रहेर सशक्त भूमिका खेल्नु भएका युवा वर्गको प्रतिनिधित्व गर्ने उार्जाशिल युवा २०७९ बैशाख ३० गते भएको स्थानीय पालिका चुनावमा चौरीदेउराली गाउँपालिका वडा नं. ४ सदस्य पदमा निर्वाचित हुनु भएको दिपक कुमार गौतमले ६ सय ५६ मत प्राप्त गरी विजयी हुनु भएको हो । गठवन्धनको तर्फबाट जिल्ला समन्वय समिति काभ्रे जिल्लाको १३ वटा पालिकामा शुसासन पारदर्शीता र जवाफदेहिता कायम गरी समृद्ध काभ्रे बनाउने नयाँ योजना के छन् भन्ने सवालमा रेडियो एविसी एफ.एम. ८९.८ मेगाहर्जमा गरिउको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

      ३७ वार्षको युवा उमेर मै जिल्ला समन्वय समिति काभ्रेको प्रमुखमा निर्वाचित हुनुभयो कस्तो अनुभूति गर्नुभयो ?

      म जिल्ला समन्वय समिति काभ्रेको प्रमुखमा निर्वाचन हुन पाउँदा हर्षित भएको छु । नयाँ खालको अनुभूति भएको छ । जनताहरुको सुख दुःखमा निरन्तर लागेको, विद्यार्थी आन्दोलनमा स्थापित एक युवक हुँ । लोकतान्त्रीक गणतन्त्र स्थापनाको लागि २०६२÷०६३ को जनआन्दोलनमा होमिएर पटक पटक मृत्युको मुखबाट बचेर आएको व्यक्ति आज यो ठाउँमा आई पुगेको छु । म हिजो सम्बन्धित निकायमा आफ्ना माग तेर्साउनेमा थिएँ । आज म जवाफ दिने ठाउँमा छु ।

      कांग्रेस, माओवादी दुवै मिल्दा बहुमत थियो । नेकपा एसमा तपाई अल्पमतमा हुँदा पनि प्रमुख पदमा विजयी हुने वातावरण कसरी बन्यो ।

      काभ्रे जिल्लाका १३ वटै पालिकाका कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) बीच गठवन्धन भयो तर वडा वडा सम्म भने गठवन्धन भएको थिएन । एकाध वडामा मात्र कार्यगत एकता भएको थियो । पार्टीहरु बीच बागमती प्रदेशमा सहमती भएको थियो । काभ्रे जिल्लाको जिल्ला समन्वयको प्रमुख नेकपा (एकीकृत समाजवादी) लाई दिने भन्ने सहमती कार्यान्वयन भएको छ । विद्यार्थी आन्दोलमा लागेको योगदानका कदर भएको छ । हाम्रा जिल्लाका अग्रज नेतागण नेकपा (एकीकृत समाजवादी) काभ्रेको सिङ्गो टिम, नेता, कार्यकर्ता, चौरीदेउराली गाउँपालिकाका जनताहरु, कांग्रेस, माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु प्रति म आभार व्यक्त गर्न चाहन्छु ।

      स्थानीय सरकारले गरेका कार्यहरुको समन्वय गर्ने अनुगमन गर्ने कार्य जिल्ला समन्वय समितिले गर्ने सम्बैधानिक व्यवस्था छ। थप व्यवस्थित र प्रभावकारी बनाउने यहाँका योजना के छन् ?

      प्रदेश र स्थानीय सरकार बीच भएका कार्यहरुको समन्वय गर्ने जनप्रतिनिधिहरुले गरेको समग्र विकासको अवस्थालाई नियाल्ने राम्रो गरेकालाई प्रोत्साहित गर्ने नराम्रो गर्नेहरुलाई कमी कमजोरी भएका छन् भने सच्चाउने जे भएको छ, त्यसको सार्वजनिक गर्ने कार्य गरिन्छ । अबको ५ वर्षमा परिवर्तन सम्भव छ । जनताका जनजीविकाका सवालहरुलाई सम्बोधन गर्ने शिक्षा स्वास्थ्यको गुणस्तरीयता सहितको विकास र भौतिक पूर्वाधारको विकासलाई दिगोपन दिन ध्यान केन्द्रीत गर्ने छौँ ।

      स्थानीय पालिकाहरुले कनिका छरे जसरी बजेट छर्ने दिगो लक्ष्य प्राप्तिका योजनाहरु अघि नबढ्ने भएपछि पालिकाको विकासले गति लिने अवस्था त देखिदैन नि ?

      स्थानीय सरकार जनताहरुको घर दैलोको सरकार हो । जनतालाई धनि बनाउने व्यवस्था नै गणतन्त्र हो । शिहदरवारको अधिकार गाउँगाउँमा भने पनि स्थानीय सरकारहरुले मालपोतको कार्य र नागरिकताको कार्य अझै गर्न सकेको छैन । जहाँ सम्म स्थानीयहरुले योजना, छनौट गर्दा बजेट विनियोजन गर्दा निक्कै ध्यान पुञ्याउनु पर्छ । बजेट कनिका छरे जसरी छर्नु हुँदैन । जनताका जीवनमा हाँसो र खुसी ल्याउने गरी स्वरोजगार श्रृजना गर्ने, गाउँ पहाडका सडकहरु १२ महिना सहज रुपले चल्न सक्ने अवस्थाको श्रृजना गर्नुपर्छ । सबैमा समान पहुँच पुग्ने हुनुपर्छ । जिल्ला समन्वयले स्थानीय सरकारले गरेका कार्यहरुलाई नियमित रुपमा जे जे भएको छ । त्यो पनि सार्वजनिक गर्ने छ । जनताहरुलाई सुसूचित गराउने छु भन्ने स्थानीय सरकारहरुले जनताहरुलाई दिनुपर्ने दैनिक प्रशासनिक सेवा छिटो छरितो विना झन्झट तुरुन्त सेवा दिनुपर्छ ।

      दैनिक जसो करिब २ हजारको हाराहारीमा युवा जनशक्ति विदेश पलायन भइरहेका छन् । देशमा नै रोजगारको अवसर श्रृजना गर्ने अवस्था छैन, राजसत्ताको बागडोर सम्माल्ने पार्टीका शिर्षनेतृत्व नै एक अर्कोमा उछित्तो काट्न मात्र व्यस्त छन् नि ? यसलाई यहाँले कुन रुपमा हेर्नु भएको छ ?

      म अहिले काभ्रेका जिल्ला समन्वय समितिको प्रमुख भएको छु । यहाँले उठाउनु भएको सवाल निक्कै जटिल तर सान्दर्भिक छ । पासपोर्ट बनायो उर्जाशिल समय खाँडि मुलुक गई आफ्नो शक्ति खर्च गरेर विदेश बनाउनु पर्ने अवस्था राम्रो होइन अब देशमा नै कृषिमा व्यवसायिकरण, उत्पादनशिल क्षेत्रमा लगानी बढाउने उद्योगधन्दा सञ्चालन  गर्न प्रोत्साहित गर्नुपर्छ । युवाहरुलाई स्वदेशमा नै आशाका किरण छर्ने अवस्थाको श्रृजना गर्नु आवश्यक सिमित श्रोत साधानको अधिकतम प्रयोग गरी जनताहहरुको जीवनमा साँच्चै आर्थिक परिवर्तन गर्ने उत्पादनमा आत्म निर्भर गरीे विदेशी आयत घटाउने कार्यमा स्थानीय सरकारले त्यस्तो पहल कदमी दिन जरुरी छ, अब ढिला गर्नु हुन्न ।

      देशमा गणतन्त्र आएको १५ वार्ष वितिसक्यो । समाजका तल्लो वर्ग, अल्प संख्यक, पिछडीएका बर्गहरुको जीवनमा खासै परिवर्तन हुन सकेको छैन । राजनीति पेशाको रुपमा अघि बढेको छ । सेवाको रुपमा हैन तपाईँ यसमा के भन्नु हुन्छ ?

      स्रोत साधन कमी छ । भएको स्रोत साधनहरुलाई उपयोग गरी समग्र विकास र आर्थिक समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउनु पर्छ । “राजनीतिक दलका शिर्ष नेतृत्व पार्टी भन्दा माथि देश र जनताहरुको समस्याहरुलाई बुझेर कार्य गर्नु पर्नेमा एकले अर्कालाई घेराबन्दी गर्ने खुइल्याउने कार्यको राजनीति गर्नाले देशमा समस्या बल्झेको बल्झै छ । देश र जनताहरुलाई शिरमा राखेर देशको पछाडि परेका,पारिएका र मध्यम वर्गीय समाजलाई उच्च आर्थिक अवस्था भएको बनाउने जनताहरुको ओठमा मुस्कान ल्याइ सुख, शान्ति र समृद्धि ल्याउने कार्य गर्नु अपरिहार्य छ । अब यो वा त्यो बहाना बाजी गरेर देशलाई अग्रगतिमा लग्नबाट रोक्नु राज्य माथिको अपराध हो भन्न चाहन्छु । ”

      कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने भन्छ सरकार किसानलाई समयमा मल विउविजन उपलब्ध गराउँदैन । अनि कृषि योग्य जमिन बाँझो राखे १ लाख जरिवाना भन्छ । यो कस्तो सरकार हो आँखा नदेख्ने, कान नसुन्ने नै होकी ?

      जनताह।रुले लडेर ल्याएको हो गणतन्त्र, राजतन्त्रको अवसेश नै नरहने गरी जरोकिलो ओखलेर फल्ने कार्य त भयो । शिंहदरबार र बालुवाटारमा मात्र परिवर्तन आएर भएन । टोपीको घेरा फाटेका किसानहरुको जीवनमा साच्चै परिवर्तन आउनु प¥यो । व्यवस्था परिवर्तन भयो जनताहरुको अवस्था परिवर्तन हुन सकेन् । फरियाका घेरा फाटेका महिलाहरुको जीवनमा आर्थिक समृद्धि आउनु प¥यो । जनताहरुका समस्याहरु जहाँका त्यहा राख्ने छुट अब कसैलाई छैन । मस्तिकमा समझदारी, काँधमा जिम्मेवारी हृदयमा इमान्दारी कायम गरी सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्दै अघि बढौँ परिवर्तन सम्भव छ । जनताहरुलाई धनि बनाउन सकिन्छ ।

      गरिबीको रेखामुनि रहेका जनता, शैक्षिक वेरोजगार र विदेश पलायन भएका जनशक्ति कति छन् भन्ने तथ्याङ्कीय अभिलेखिकरण लेखाजोखा कुनै पालिकामा पनि छैन । यसलाई व्यवस्थित गर्ने तीर तपाईँको ध्यान केन्द्रीत हुन्छ त ?

      तथ्याङ्क विनाको कार्यमा सत्यता छ भनेर भन्न कठीन छ । देशको समग्र विकास गर्न हरेक क्षेत्रमा अभिलेखीकरण गरी चुस्त दुरुस्त राख्नु पर्छ । स्थानीय पालिकामा विकासको समग्र अवस्था, शैक्षिक बेरोजगार, गरिवकिो रेखा मुनि रहेका व्यक्तिहरु र विदेश भएका जनशक्तिको अभिलेखिकरण  व्यवस्थित गरी राखेको हुनुपर्छ  ।पालिकाहरुको अवस्थालाई नियाल्ने आवश्यक परेको सूचना जोकोहिले तुरुन्त पाउन सक्ने गरी पारदर्शी ढङ्गबाट तथ्याङ्कीय अभिलेखीकरण हुनु जरुरी छ । हामी जिल्ला समन्वयको टिम नै यसमा सडक छ । आगामी दिनमा तथ्याङ्क तुरुन्त प्राप्त गर्न सक्ने अवस्था हुन्छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्