महाभारत गाउँपालिका वडा नं. ४ बुढाखानीमा २०३६ जेठ–१७ गते जन्मन्नु भएको दिनेश लामा हाल रोशी गाउँपालिका वडा नं. १० वाल्टिङमा बस्नु हुन्छ । समाज शास्त्रमा एमफिलको शैक्षिक योग्यता हाँसिल गर्नु भएको शालिन स्वभावका बौद्धिक व्यक्तिको रुपमा परिचित दिनेश लामा २५ वर्ष अघि नेपाल विद्यार्थी संघ पञ्चकन्या मावि विद्यार्थीकालबाट राजनीति शुरु गर्नुभयो । नेपाली कांग्रेस काभ्रेको सचिव समेत भएर कार्य गर्नु भएका लामा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ को कांग्रेस पार्टीको क्षेत्रीय सभापति पदमा रहेर पार्टीको एक सिपाहीको रुपमा कार्य गर्नु भएको छ । २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय पालिकाको निर्वाचनमा दिनेश लामाले रोशी गाउँपालिकाको अध्यक्ष पदमा ७ हजार ५ सय ३४ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका देवसागर लामाले ६ हजार ३ सय ५८ मत प्राप्त गर्नुभयो । १ हजार १ सय ७६ मतान्तरको फरकमा यूवा नेता दिनेश लामाले चुनावमा बाजी मार्नु भयो । समग्र विकास गरी रोशी गाउँपालिकालाई समृद्ध बनाउने नयाँ योजना के छन् भन्ने सवालमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
युवा पिढीको प्रतिनिधित्व गर्दै रोशी गाउँपालिकाको अध्यक्ष बन्नु भयो कस्तो अनुभूति गर्नु भएको छ ?
रोशी गाउँपालिकाको जनताहरुले नेपाली कांग्रेस पार्टीको एक सच्चा इमान्दार कार्यकर्ता जनसेवामा क्रियाशिल भएको मुल्यांकन गर्दै गाउँपालिकाको अध्यक्षमा निर्वाचित गर्नुभयो । थप जिम्मेवारी प्राप्त भएको महशुस भएको छ । यो जीत यहाँका सम्पूर्ण जनताहरुको जीत हो । जनताका दौनिकी रुपमा प्राप्त गर्नुपर्ने सेवा प्रवाह चुस्त दुरुस्त ढङ्गबाट प्रदान गर्न म दत्तचित्त भएर लाग्ने छु ।
गठवन्धनबाट कांग्रेसलाई ठूलो लाभ मिल्यो नि ? २०७४ को स्थानीय पालिकाको निर्वाचनमा एक नगरपालिका र ३ गाउँपालिकामा खुम्चनुपरेको थियो । अहिले काभ्रेमा कांग्रेसको बहुमत भयो ?
संघीय संरचना पछिको देश्रो निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भयो । जनताहरुको घर दैलोको सरकार जनताका जनजीवीकाका सवाल देखि प्रशासकीय रुपमा प्राप्त गर्नुपर्ने सेवा सुविधा स्थानीय सरकारबाट प्राप्त हुन्छ । नेकपाको एकलौटी केन्द्रीय सरकारको नेतृत्व गरेको केपी ओलीले असंवैधानिक ढङ्गबाट २÷२ पटक प्रतिनिधि सभा भंग गरेपछि नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने अवसर आएको हो । जनताको जनप्रतिनिधिले बनाएको संविधानको रक्षा लोकतन्त्रको रक्षाको लागि गठवन्धन सरकार गठन भएको हो । जनताहरुले कांग्रेस पार्टीलाई विश्वास गरेर मतदान गर्नु भएको छ । त्यसैको फलस्वरुप विगतमा काभ्रे जिल्लाको १३ पालिकामा ४ पालिकामा हाम्रो सरकार थियो अहिले ७ वटामा कांग्रेसको स्थानीय सरकार छ । गठवन्धनकै नेकपा एकीकृत समाजवादीको १ र माओवादी केन्द्रको ४ पालिकामा सरकारको नेतृत्व गर्ने अवसर जनताले दिनु भएको हो ।
लोकतान्त्रिक खम्बा कांग्रेस एक्लै चुनाव लड्ने ल्यागत र तागत राख्न सकेन् नि किन ?
२००७ सालको क्रान्ति २०३६÷२०४६ सालमा पञ्चायती शासन अन्त्य र २०६२÷०६३ को जनआन्दोलनबाट राजतन्त्रको अन्त्य गर्ने पार्टी कांग्रेस हो । ७० वर्ष अघिदेखि नेपाली जनताहरुको मुक्ति र उत्थानको लागि कार्य गर्दै आएको पार्टी हो । एक्लै चुनाव लड्ने आँट ल्यागत तागत सबै छ । नेकपा एमालेका पार्टी अध्यक्ष एवं पूर्व प्रम केपी ओलीको दम्भको कारण मुलुकलाई अधोगतिमा धकेल्ने कार्य भयो । संविधान र लोकतन्त्र नै धरापमा पार्ने कार्य भएकाले देशभक्ति र राष्ट्रको अग्रगमन, शान्ति, विकास र समृद्धि स्थापना गर्न दिलो ज्यान लगाएका नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, लोसपा, जसपा र जनमोर्चा चित्र बहादुर केसीको सहित पार्टीहरुको गठवन्धनबाट लोकतन्त्र र संविधानको संस्थागत विकासको लागि देश निर्माणको लागि गठवन्धन गरिएको हो । विकास र समृद्धिको लागि हो ।
रोशी गाउँपालिकाको समग्र विकास गरी समृद्धिको यात्रा तय गर्ने नयाँ योजनाहरु के के छन् ?
५ वर्ष अघि स्थानीय सरकार सञ्चालन भइसकेको छ । ऐन नियम, कानुन, निर्माण भएका छन् । तिव्ररुपमा विकास हुन नसके पनि भौतिक पूर्वाधार क्षेत्र शिक्षामा केहि सुधार भएका छन् । सो ताका बनेका राम्रा योजना रणनीतिक योजनालाई कार्यान्वयन गर्ने तिर पनि हाम्रो ध्यान जानेछ । भौतिक हिसावले काभ्रेको सबैभन्दा ठूलो गाउँपालिका रोशी हो । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि क्षेत्रको गुणस्तरीय विकास हुन जरुरी छ । सडक सञ्जालको विस्तार भएको छ । त्यस्ता मोटर बाटोहरु ग्राबेलिङ, ढल निकास, बाटो कालो पत्रे गर्ने, यहाँ रहेको संस्थागत र सामुदायिक विद्यालयहरु ७२ वटा छन् । शैक्षिक विकासको लागि आवश्यक पर्ने पूर्वाधार विकास, सिपमुलक शिक्षा, कृषि विज्ञान, वन विज्ञान, प्राविधिक शिक्षा, प्रदान गर्ने अवस्थाको श्रृजना गर्ने छौँ । ५ वटा वडाहरु विपी राजमार्ग जोडिएका छन् । बाँकी ५ वटा वडाहरुका जनताहरुको दैनिकी जीवन निक्कै कष्टकरनै छ । १२ महिना सडक यातायात चल्ने अवस्था निर्माण गर्नु छ । कृषि क्षेत्रमा आधुनिक र व्यवसायीक खेती प्रणाली, व्यवसायिक पशुपालन, पर्यटन क्षेत्रको विकास गरी समृद्धि गउँपालिका, खुसी र सुखी गाउँबासी रहने अवस्था हामी श्रृजना गछौँ ।
तल्लो रोशी क्षेत्रभन्दा पनि माथिल्लो रोशी क्षेत्रका जनताहरुको दैनिकी जीवन यापनमा कठीनाइ छ । विरामी पर्दा अस्पताल सम्म आउँन र प्रशासनिक सेवा लिन संघर्ष झेल्नुपर्ने अवस्था छ नि ?
तल्लो रोशी क्षेत्रमा १० शैयाको अस्पताल निर्माण भएको छ । त्यसलाई व्यवस्थित गरेर सबै नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउने छौँ । माथिल्लो रोशी क्षेत्रका जनताहरुको जीवन यापनमा सहजता दिन मोटर बाटो विस्तार, ग्रावेलीङ गर्ने, चरण बद्धरुपमा सडक कालोपत्रे गर्ने, अर्को १० शैयाको अस्पताल निर्माण गरी स्वास्थ्य पहुँचको विस्तार गर्ने, गाउँपालिकामा ३ हजार ७ सय ६० जेष्ठ नागरिकहरु हुनुहुन्छ । यहाँहरुको स्वास्थ्य बीमा गर्ने, स्वास्थ्य सेवा घरघरमा पु¥याउने प्रवन्ध गर्ने छाँै ।
निर्वाचनको वेला मिठा गुलिया घोषणा पत्र जारी गर्दै गाउँको मुहार फेर्ने भनेर जनताका बीचमा सपना बाँड्ने गरीवी जहाँको त्यही हुने, व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था भने जहाँको त्यही भयो । नेता र केही कार्यकर्ता धनी भए जनता धनी हुने अवस्था कहिले आउँने त ?
देशमा राजनीतिक परिवर्तन चाँडो चाँडो भएको हो । त्यस्ता परिवर्तन कांग्रेस कै नेतृत्वमा भएका छन् । संविधान जारी पनि कांग्रेस नेतृत्वको सरकारले ग¥यो । जनताका जनजीविकामा सुधार, गरीवी निवारण, उद्यमशिलताको विकास, स्वरोजगारीको श्रृजना, दिगो विकासका लक्ष्य प्राप्त गर्ने रणनीतिक योजनाबद्ध रुपमा विकास गर्नु नै केन्द्र, प्रदेश र स्थानीय सरकारको परिकल्पना गरेर संघीय लोकतान्त्रीक गणतन्त्र ल्याएको विश्वकै उत्कृष्ट व्यवस्था पनि यहि हो । हाम्रो प्रमुख निशाना लक्ष्य भनेको गरिवलाई धनी बनाउने, जनताहरुलाई समृद्ध, सुखी र खुसी बनाउने हो । आर्थिक र सामाजिक विकास गरी समाज रुपान्तरण गर्ने हो । यो गर्न कांग्रेस नेतृत्वको सरकार आवश्यक छ । सबै खालका विकास निर्माण, कृषि उपज उत्पादन, दुध, माछा, मासु सबैमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नु छ ।
