ॅहोली पर्वको आफ्नै सांस्कृतिक महत्व छ । त्यसो त यसलाई मित्रताको पर्व पनि मानिन्छ । कसैको ईच्छा विपरित रंग दल्ने, बेलुनले हान्ने कार्यले शत्रुता निम्त्याउनु हुँदैन । यस अवसरमा जाँड रक्सी सेवन एवं भाङ मिसाइएको खाद्यवस्तुको सेवनले होश गुम्ने, उत्तेजित बढ्ने कारण दुर्घटना निम्तिने बढ्ता सम्भावना हुन्छ ।’ नेपालमा प्रत्येक जसो महिनामा कुनै न कुनै चाड मनाइन्छ । यस्तैमा पर्सी बिहीबार पहाडी जिल्लामा र निको पर्सी तराईमा रंगको पर्व होली मनाईंदैछ । होली पूर्णिमामा प्रयोग गरिने रंग तथा बेलुनको कारण होली पछि विशेषतः छालाको समस्या लिइ आउनेको संख्या ह्वाट्टै बढ्छ । यसको अलावा आँखा, कान, चोटपटकको समस्या लिइ आउनेहरुको संख्या पनि उल्लेख्य हुन्छ । रसायनयुक्त रंग फोक्सो एवं कपालका लागि पनि हानीकारक छ । आजकल पहिले जस्तो प्राकृतिक प्रकारको र शुद्ध रंग पाईंदैन । आजकलको रंगमा माटो, चुन, सिसा, अभ्रख, केमिकल, विषाक्त पदार्थ मिसावट गरिएको हुन्छ । होली पर्व मनाउने तौरतरिकामा पनि विचलन आएको देखिन्छ । थप मनोरञ्जन लिने बहानामा अधिक मद्यपान एवं भाङयुक्त खाद्यपदार्थको सेवनले थप विपत्ति निम्त्याएको देखिन्छ । रंगमा मिसाइएका अन्य पदार्थको दाँजोमा यसलाई विभिन्न रंग प्रदान गर्ने क्रममा मिसाइएका विभिन्न रसायनले गम्भीर खालको स्वास्थ्य समस्या गराउँछ । उदाहरणको लागि कालो रंगमा हुने लिड अक्साइडले मृर्गौलालाई, हरियो रंगमा हुने कपर सल्फेटले आँखालाई, बैजनीमा हुने क्रोमियम आयेडाइडले श्वास प्रश्वास प्रणालीलाई, सिल्भरमा हुने अल्मुनियम ब्रोमाइडले क्यान्सरको खतरा गराउँछ भने रातो रंगमा हुने मर्करी सल्फेटले छालाको क्यान्सर गराउने सम्भावना हुन्छ । त्यसैगरी धेरैजसो रंगमा जिन्क क्लोराइड मिसाइएको हुन्छ जुन छालाको स्वास्थ्यको लागि निकै हानीकारक छ । कतिपय रंगमा हुने सिलिका वा एस्बेस्टसले क्यान्सर गराउन सक्छ । यी त भए रंगका प्रत्यक्ष असर । बलजफ्ती रंग दल्ने क्रममा छालाको विभिन्न समस्या आउने, आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, दम तथा जीर्ण खालको ब्रोङ्काइटिस बल्झिने हुन्छ । रंग सर्किएको खण्डमा रसायनयुक्त रंगले खाद्यनली, मुटु र मृर्गौलालाई पनि नकारात्मक असर पुर्याउँछ । रंगमा भएका रसायनका कारण छाला सुक्खा हुने, डाबर आउने, छाला जलन हुने, रातो हुने, चिलाउने, छालाको रंग परिवर्तन हुने हुनसक्छ । रंग दल्ने क्रममा नाक, कान, मुख, आँखामा रंग पस्ने सम्भावना हुन्छ । जीर्ण खालको छालाको समस्या भएका, एलर्जीका रोगीमा रंगले राम्रो गर्दैन । त्यसैगरी मिसावटयुक्त रंगले कपालमा चायाको समस्या बढाउँछ । कहिलेकाहीँ रंग दल्ने क्रममा सिधै फोक्सो भित्र पनि छिर्न सक्छ । रसायनयुक्त रंगले आँखालाई सिधै असर गरी आँखा पाक्ने समस्या गराउन सक्छ । आँखामा रंग छिरेपछि आँखा माड्ने क्रममा आँखाको निकै संवेदनशील भाग नानीमा चोट पुग्न सक्छ । यसले गर्दा दृष्टिका गुम्ने खतरा हुन्छ । रंगका कारण आँखा रातो हुने, दुख्ने कम देख्ने समस्या लामो समयसम्म रहेमा सम्बन्धित विशेषज्ञको सल्लाह लिनु पर्दछ । पानी भरिएको बेलुनले लागेर पनि आँखामा चोट लाग्न सक्छ । नाकबाट रगत आउने, कानको जाली फुट्ने तथा जिउमा पीडा हुने हुनसक्छ । त्यसमाथि कतिपयले तेजाब लगायतका घातक रसायन मिसाएको पानी हाली बेलुनले हान्ने गरिन्छ । होलीमा जाँड रक्सी सेवन एवं भाङ मिसाइएको विभिन्न झोल पदार्थ वा मिठाई खाने चलन छ । यी वस्तुको सेवनले होश गुम्ने, उत्तेजित बढ्ने कारण दुर्घटना निम्तिने बढ्ता सम्भावना हुन्छ । एकाध घटनामा छट, कौसी, गाडीबाट खसेको दुखद घटना पनि छ । होलीमा प्रयोग गरिने रंगका कारण मात्र नभई दिनभरि जसो घाममा बसी होली खेल्नाले सन बर्न (घामको पोलाई) को कारणले जिउ, अनुहार, घाँटी, हात गोडामा जलन हुने पनि हुन्छ । त्यसैले सूर्यको किरणले असर गर्ने हुनाले होली खेल्नु अगाडि सन ब्लक क्रिम लगाउने, घाम छेक्ने क्याप लगाएर मात्र होली खेल्ने, शरीरको अधिक भाग ढाक्ने लुगा लगाउने गर्नु पर्दछ । हात गोडा तथा खुल्ला भागमा छाला कमलो बनाउने क्रिम, टाउकोमा तेल लगाउनु पर्दछ भने नङ पनि छोटो पार्नु राम्रो हुन्छ । शरीरमा तेल घसेर होली खेल्नु बुद्धिमानी हुन्छ । होली खेल्न पुगेपछि तुरुन्तै हात गोडा सफा गर्नु पर्दछ । पटक पटक साबुन दल्नु भन्दा कपासले नरिवल तेलको सहयोगमा जिउ शरीररमा लागेका बढी भन्दा बढी रंग हटाएपछि नरम खालको साबुनले नुहाउनु राम्रो हुन्छ । आँखा पाक्ने समस्याबाट बच्न सफा पानीले आँखा पखाल्ने गर्नु पर्दछ । स्वस्थ्यकर होलीका लागि – प्राकृतिक रंग छान्नु बुद्धिमानी हुन्छ । – पानीमा घुल्ने खालका रंग छनौट गर्नु पर्दछ । – राम्रो गुणस्तरको रंग प्रयोग गर्नु गराउनु पर्दछ । – रंग छान्दा दानेदार भन्दा पनि मिहिन खालको अबिर छान्नु पर्दछ । – सकेसम्म टल्किने एवं सिल्भर रंगको प्रयोग गर्नु हुँदैन । – जलेको मोबिल, रसायनयुक्त रंग भन्दा सादा पानीको प्रयोग बढी श्रेयस्कर हुन्छ । – क्याप, टाइट फिटिङ भएका चश्मा, शरीरको अधिक भाग ढाक्ने कपडा लगाएर मात्र होली खेल्नु पर्दछ । – सवारी साधन चलाइरहेका चालकलाई भुलेर पनि रंगले छ्याप्ने तथा बेलुनले हान्नु हुँदैन । – कसैको ईच्छा विपरित रंग दल्ने, बेलुनले हान्ने गर्नु हुँदैन । – छाला पटक पटक धुँदा अधिक जलन हुनसक्छ । त्यसैले छाला तथा अनुहारमा लागेको रंग हटाएपछि छाला मुलायम बनाउने खालका क्रिम वा भ्यासेलिन लगाउने गर्नु पर्दछ, ।
