IMG-LOGO

पानीको मात्रा बढी हुने समस्या (पोली हाइड्राम्निओस)

 मंगल, फागुन २०, २०८१  – प्रा.डा. सुमनराज ताम्राकार

      अघिल्लो अंकमा गर्भे शिशु वरिपरि हुनुपर्ने पानीको उत्पादन, यसको काम तथा यसको कम उत्पादनले हुने स्थिती ओलिगोहाहाइड्रानिओस बारे समेटिसकेका छौं । कोभिड महामारीपछि कतिपय गर्भवती महिलामा पानीको मात्रा कम हुने यही ओलिगोहाहाइड्रानिओस र सुत्केरी व्यथाको क्रममा शिशुले गर्भभित्रै दिसा गरिसकेको चिन्ह पाइन थालेको छ । कारण ठ्याक्कै खुट्टिन नसकेपनि शायद शिशुको साथी साल विरामी भएर त्यसो भएको हुनसक्छ । दुखद कुरा यी दुवै अवस्थामा सिजेरियनबाट बच्चा जन्माउनुपर्ने बाध्यता आईलाग्छ ।       यस्तोमा पेट गर्भावधी भन्दा ठूलो देखिन्छ । गर्भवती महिला मध्ये करिब २ प्रतिशतमा यस्तो समस्या हुनसक्छ । पाठेघरलाई चार खण्डमा विभाजित गरी हिसाब गर्दा २० भन्दा बढी वा एकै पकेटमा ८ भन्दा बढी वा समग्रमा २००० मिलि भन्दा बढी पानी भेटियो भने पोली हाइड्राम्निओस भनिन्छ । पोली हाइड्राम्निओस हुनेको दुई तिहाईमा कुनै कारण नै भेटिँदैन ।       गर्भे शिशुमा जन्मजात विकलाङ्ग, गर्भवती महिलामा मधुमेह, जुम्ल्याहा बच्चा छ, दम्पत्ति बीच रगत समूह मिलेन भनेपनि पोली हाइड्राम्निओस हुनसक्छ । त्यसैगरी गर्भे शिशुले बढी पिसाब गरेमा, गर्भे शिशुको मुटुको समस्या भएमा, आंशिक रुपमा पिसाब नली थुनिँदा, जुम्ल्याहा बच्चा बीच रगत आदानप्रदान भएमा, गर्भे शिशुको फोक्सोमा बढी पानी भएमा, गर्भेशिशुले कम निलेमा, गर्भे शिशुको टाउकोमा खप्पड नभएमा, खाद्यनलीमा बाधा पुग्ने गरी घाँटीमा डल्लो आएमा, सालमा समस्या आएमा पनि यस्तो समस्या देखिन्छ । पोली हाइड्राम्निओस हुनाको अन्य कारणहरुमा हड्डी सम्बन्धी समस्या, गर्भे शिशुको ट्युमर, वंशाणुकोषमा खराबी, दम्पत्ति बीच रगत समूह नमिलेर एवं गर्भवती महिलामा मुटु तथा मिर्गौलामा समस्या हुन् ।       पोली हाइड्राम्निओसको समस्या दोश्रो त्रैमासिकमा हुनसक्ने भएपनि बढी जसो तेश्रो त्रैमासिकमा देखा पर्दछ । गर्भावस्थाको दोश्रो त्रैमासिक तिर एक्कासी उत्पन्न देखापर्ने पोली हाइड्राम्निओसमा शिशु मृत्युदर बढी हुन्छ । गर्भवती महिलामा कडा लक्षण चिन्हहरु देखिन सक्छ । गर्भवती महिलामा स्याँ स्याँ बढ्ने, खुट्टा पैताला सुन्निने, कसैकसैमा पिसाब कम्ती हुने, पेट गर्भावधी भन्दा निकै ठूलो हुने, गर्भे शिशुका हातगोडा छाम्न गाह्रो हुने एवं गर्भे शिशुको धड्कन सुन्न गाह्रो हुने हुन्छ । साथै महिना नपुग्दै व्यथा लाग्न सक्छ । जीर्ण खालको पोली हाइड्राम्निओसमा पानी बिस्तारै वृद्धि हुन्छ, त्यसैले गर्भवती महिलाले खप्न सक्छ ।       पोली हाइड्राम्निओस हुनाको कारण खुट्याउने क्रममा गर्भवती महिलाको सुगर जाँच्नुका साथै अल्ट्रासाउण्डमा गर्भे शिशुको शारीरिक बनावट कस्तो छ, मुटुको गति निल्छ निल्दैन हेरिन्छ । कतिपयमा भाइरल तथा व्याक्टेरियल संक्रमण (त्इच्ऋज्) सम्बन्धी रगत परीक्षण गर्नुपर्ने हुन्छ । कुनै कुनै समयमा पानी निकालेर जाँच्ने, सालको बायोप्सी गर्नुपर्ने पनि हुन्छ ।       यदि पोली हाइड्राम्निओसको कारण जन्मजात विकलाङ्ग हो, गर्भे शिशुको वंशाणु कोषमा खराबी छ, आमामा मधुमेह, रगत समूह नमिल्ने भएमा, महिना नपुग्दै व्यथा लागेमा नवजात शिशुको मृत्यु हुनसक्छ । शिशु वरिपरि पानीको मात्रा बढी भएको अवस्थामा सानो सुतक भैहाल्यो भने नाल बाहिर स्वाट्टै आउन सक्ने र साल छुट्टिन सक्ने कारण पनि शिशुको मृत्युदर बढ्छ भने पानी धेरै भएको कारण गर्भे शिशु उल्टो वा गलत तरिकाले बस्न सक्ने हुनाले सिजेरियन अपरेशनको जरुरत पर्ने र सुत्केरी पछि अधिक रक्तश्राव हुने हुनसक्छ । साधारण खाल पानी बढ्ने समस्यामा बिना कुनै औषधि सुत्केरी व्यथासम्म व्यवस्थापन गर्न सकिन्छ भने समस्या निकै बढी भएमा अस्पतालमा भर्ना राखी सुगर नियन्त्रण, पानी निकाल्ने उपचार, फोक्सोबाट पानी बन्ने क्रिया घटाउने तथा सोस्ने बढाउने औषधि चाहिन सक्छ । सारांश       गर्भावस्थामा शिशु वरिपरि पानी बढी वा कम भएको शंका लागेपछि पनि निर्क्यौलाका लागि अल्ट्रासाउण्ड नगराउनु गम्भीर त्रुटि हो । पानी बढी वा कम हुनाको आप्‌mनै खराबी तथा जटिलता छ । दुवै परिस्थितिमा शिशुमा रहेको विकलाङ्ग समस्या अनुसार गर्भको व्यवस्थापन निर्धारण गर्नुपर्दछ । विश्वका कतिपय मुलुकमा गर्भमा छँदैपनि अत्याधुनिक उपचार प्रविधी अपनाएर राम्रो नतिजा निकाल्न सफल भएपनि नेपालको हकमा यस्ता खाले उपचारबाट निम्तिन सक्ने जटिलताका कारण घनिभूत तवरले सल्लाह परामर्शको आवश्यक छ । कुनैपनि बेला सिजेरियन अपरेशनको आवश्यक पर्नसक्छ । नभएको ठाउँमा समयमै अपरेशनको सुविधा भएको अस्पतालमा रेफर गर्नुपर्दछ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्