चाहे मानिस होस् वा अन्य स्तनधारी प्राणी, गर्भ भित्रको प्रत्येक भ्रुण वा शिशु जहिले पनि पानीको सुरक्षित कवचमा हुन्छ । अर्थात् पानीमै तैरिरहेको हुन्छ । गर्भे शिशु वरिपरि हुने पानी गर्भावस्थाको शुरु तिर गर्भवती महिलाको रगतबाट छानिएर बनेपनि गर्भावस्थाको दोश्रो त्रैमासिक (१२ हप्ता) बाट गर्भे शिशुकै बाह्य कोषबाट निर्माण हुन्छ । गर्भावस्थाको १२ हप्ता तिरबाटै गर्भे शिशुको मिर्गौलाले पिसाब उत्पादन गर्न थाल्ने हुँदा २० हप्तापछि भने वरिपरिको पानीको धेरै मात्रा शिशुकै पिसाब हुन्छ । शिशुको फोक्सो एवं सालबाट पनि थोरै मात्रामा यस्तो पानी बन्दछ । यसरी निर्माण भएको गर्भे शिशुले निल्ने र त्यसैबाट पिसाबको रुपमा फाल्ने कार्य शुरु देखि हुन्छ । गर्भावस्थाको दोश्रो त्रैमासिकमा करिब ५ प्रतिशत यस्तो पानी निल्छन् भने तेश्रो त्रैमासिकमा प्रतिदिन ५०० देखि १००० मि लि निल्छन् । गर्भे शिशु वरिपरिको पानी बन्ने, निल्ने र पिसाब बन्ने प्रक्रियामा आउने भिन्नतासँगै पानीको मात्रा र यसमा रहने तत्वहरुको गर्भावस्थाको अवस्था अनुसार फरक फरक हुनसक्छ । आजकल अल्ट्रासाउण्डबाट शिशु वरिपरि पानी कति मात्रामा छ थाहा पाउन सकिन्छ । पाठेघरलाई चार खण्डमा विभाजित गरि प्रत्येक खण्डमा रहेको मोटामोटी पानी नापेर वा यस्तै एउटा पकेटमा सबभन्दा बढी कति पानी छ हिसाब गरेर निकालिन्छ । गर्भावस्थाको १६ हप्तामा २० मिलि मात्र हुने पानी २८ हप्तामा १००० मिलि र ९ महिना पूरा भएपछि ८०० मिलिमा झर्छ । अल्ट्रासाउण्डको व्यापक प्रयोग नआईसकेको समयमा यस्तो पानीमा रहने शिशुको कोष तथा अन्य तत्व परीक्षणबाट महत्वपूर्ण सुचना लिइन्थ्यो । गर्भे शिशु वरिपरिको पानीले शिशुलाई बाह्य चोटपटक (आमाको पेटमा लाग्ने ठेसका कारण) बाट बचाउनुका साथै शिशुको मांसपेशी विकसित हुन, तापक्रम निर्धारण गर्न, थोरै मात्रामा भएपनि पोषण प्रदान गर्न र विभिन्न खाले संक्रमणबाट बचाउन मद्धत गर्दछ । गर्भे शिशुले यस्तो पानी निल्ने कार्यले गर्भे शिशुको अपरिपक्व खाद्यनली तथा श्वासप्रश्वास प्रणालीका तन्तुको विकास हुन तथा यसको विविधीकरणमा सहयोग पुग्छ । उदाहरणको लागि गर्भ भित्र छँदै शिशुले यस्तो पानी निल्न नसक्दा, नखाँदा फोक्सोमा जन्मजात खराबी भएको पाइयो । कहिलेकाहीँ गर्भावस्था अनुसार गर्भे शिशु वरिपरि हुनुपर्ने पानीको मात्रा बढी वा कम हुनसक्छ । पानीको मात्रा बढी हुने अवस्थालाई मेडिकल भाषामा पोली हाइड्राम्निओस भनिन्छ भने कम हुने अवस्थालाई ओलिगो हाइड्राम्निओस भनिन्छ । यसरी पानीको मात्रा बढी वा घटी हुनाको कारक तत्व खुट्याउनु आवश्यक छ । किनकि कुनै कुनै कारक तत्वले गर्भे शिशुलाई नकारात्मक प्रभाव पार्न सक्छ भने कतिपयको समयमै उपचार सम्भव छ । पानीको मात्रा कम हुने समस्या (ओलिगो हाइड्राम्निओस) मध्य त्रैमासिक पछि बच्चा वरिपरिको पानीको मात्रा ३०० वा ५०० मिलि भन्दा कम अर्थात् एउटै पकेटमा बढीमा २ सेमी भन्दा कम समग्रमा बच्चा वरिपरि पानीको मात्रा ५ भन्दा कम हुने अवस्थालाई ओलिगो हाइड्राम्निओस भनिन्छ । यो समस्या भएका गर्भवती महिलाका १५ देखि २५ प्रतिशत बच्चामा विकलाङ्गको समस्या हुन्छ । महिना नाघेपछि, थाहा नपाई पानी बगिरह्यो, गम्भीर प्रकारको गर्भे शिशु नबढ्ने समस्या, गर्भेशिशुको मिर्गौला, पिसाब नली, वंशाणु अंशमा गडबडी, गर्भवती महिलामा थाइरोइड ग्रन्थीको समस्या, मुटुमा खराबी एवं कतिपय औषधि सेवनको कारणले शिशु वरिपरि पानीको मात्रा कम हुनसक्छ । ओलिगो हाइड्राम्निओसको समस्या हुँदा पेट गर्भावधी भन्दा सानो देखिने, पेट छाम्दा पूरै बच्चा तथा हात खुट्टा मात्र छामिने, गर्भवती महिलालाई बच्चा कम चलेको अनुभूति हुने हुन्छ । पानी कम भएको वा गर्भे शिशुको कम वृद्धि विकास, विकलाङ्ग, मिर्गौलामा खराबी भएको अल्ट्रासाउण्डबाट थाहा पाउन सकिन्छ । शिशु जन्मेपछि नवजात शिशुको विस्तृत रुपमा जाँच पड्ताल गराउनु पर्दछ । यस क्रममा वंशाणु अंश, जन्मजात संक्रमण, पिसाब मुत्र प्रणाली एवं खाद्य प्रणालीका लागि अल्ट्रासाउण्ड, ईसीजी, इको गराउनु पर्दछ । गर्भावधी अनुसार शिशुलाई पर्ने असर पनि फरक फरक हुन्छ । गर्भावस्थाको मध्य ताका यस्तो समस्या देखिएमा गर्भ तुहिने, विकलाङ्ग शिशु जन्मिने, शारीरिक अङ्ग थिचिन सक्ने हुनाले फोक्सो र हातखुट्टामा समस्या देखिने, शिशु वरिपरिको झिल्ली हातखुट्टामा टाँसिने, महिना नपुग्दै बच्चा पाउने, गर्भ भित्रै शिशुको मृत्यु हुने हुनसक्छ । यस्तो समस्याले गर्भावस्थाको मध्यपछि भने शिशु वृद्धि विकास कम हुने, पानी निकै कम हुँदा सुत्केरी व्यथाका क्रममा सालनाल थिचिने, च्यापिने हुँदा शिशुको मृत्यु पनि हुनसक्छ । ओलिगो हाइड्राम्निओसको व्यवस्थापनको क्रममा खासै उपचार चाहिँदैन बच्चा स्वस्थ्यता एवं गर्भावस्था पूरा गराउन निगरानी राख्नु पर्दछ । बेडमा नै प्रशस्त आराम गर्ने, झोलिलो पदार्थ बढी (दिनमा २ लिटर भन्दा बढी) पिउने गर्नु पर्दछ । कतिपय अवस्थामा पेटमा सलाईन पानी चढाउनु पर्ने हुन्छ । पानी निकै कम छ भने सिजेरियन अपरेशनको जरुरत पर्दछ ।
