IMG-LOGO

कसले लगाउने एचपीभी खोप ?

 मंगल, फागुन ६, २०८१  – प्रा.डा. सुमनराज ताम्राकार

    यौन क्रियामा लाग्नुअघिका किशोरीले खोप लगाए पूर्ण लाभदायक हुन्छ । पहिले नै एचपीभी १६, १८ बाट संक्रमण भइसकेको भए खोपबाट सुरक्षा प्राप्त हुँदैछ । गर्भवतीले लगाउनु हुँदैन, बच्चा पाइसकेपछि भने हुन्छ ।     सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिन थालेको छ । यो खोप ९ देखि १४ वर्षसम्मका उमेर समूहकालाई दुई मात्रा दिनुपर्छ । पछिल्लो जनगणना अनुसार नेपालमा ९ देखि १४ वर्षका बालिका एवं किशोरीको संख्या करिब साढे १६ लाख छ ।     विश्वव्यापी तवरमा मृत्युको चौथो प्रमुख कारणमा पाठेघरको मुखको क्यान्सर पर्छ । सन् २०२० को तथ्यांक अनुसार विश्वमा बर्सेनि करिब ६ लाख महिलामा पाठेघरको मुखको क्यान्सर लागेको र यसै कारण साढे ३ लाखको मृत्यु भएको देखिन्छ । उक्त क्यान्सरबाट प्रभावितमध्ये ८४ प्रतिशत र मृत्यु हुनेमध्ये ८८ प्रतिशत निम्न आय भएका मुलुकका छनछ। नेपालमा बर्सेनि करिब २२ सय महिलालाई पाठेघरको मुखको क्यान्सर लागेको देखिन्छ भने करिब १५ सय जतिको मृत्यु यसै कारण भएको पाइएको छ ।     विश्व स्वास्थ्य संगठनले विश्वभरिबाट पाठेघरको मुखको क्यान्सर निवारण गर्नका लागि सन् २०२१ देखि २०३० सम्मका लागि ९०–७०–९० लक्ष्यसहितको रणनीति अपनाएको छ । ९०–७०–९० रणनीति अन्तर्गत सन् २०३० सम्ममा ९० प्रतिशत बालिका वा किशोरीलाई पूर्ण खोप (एचपीभी) दिइसक्ने, ७० प्रतिशत महिलालाई उच्चस्तरको स्क्रिनिङ विधिबाट ३५ वर्षसम्ममा पहिलो पटक र ४५ वर्षमा फेरि पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ (शीघ्र पहिचान) गर्ने र पाठेघरको मुखको क्यान्सरबाट प्रभावित ९० प्रतिशत महिलाको यथोचित एवं यथाशीघ्र उपचार गर्ने लक्ष्य छ । ९०–७०–९० को रणनीति अन्तर्गतको एचपीभी खोप, स्क्रिनिङ (शीघ्र पहिचान) र उपचार लगायतका तीनखम्बे नीति प्रभावकारी तवरले अपनाएर अस्ट्रेलिया सन् २०२८ देखि २०३५ सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्ने पहिलो मुलुक बन्ने अभियानमा छ ।     हाल विभिन्न देश अस्ट्रेलियालाई मोडल राष्ट्रका रुपमा मानेर यस्तै खाले प्रभावकारी कार्यक्रम सञ्चालन गर्न लागिपरेका छन् । पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप, अर्थात् एचपीभी भ्याक्सिन ४१ भन्दा बढी विकसित देशहरुमा खोप तालिकामा नै समावेश गरेर राखिएको छ । जसको कारण पाठेघरको मुखको क्यान्सरबाट पीडित हुनेको संख्या दिन प्रतिदिन घटिरहेको छ ।     के कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ भनेर किटान गर्न नसकिने भए पनि करिब ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचभीपीसँग सम्बन्धित रहेको पाइएको छ । पाठेघरको मुखको कोषिकाको प्रोटिनसँग एचभीपीको प्रोटिनबीच रासायानिक प्रक्रिया हुँदा ती कोषिकाहरुमा परिवर्तन ल्याउँछ र जुन कालान्तरमा क्यान्सरमा परिणत हुन जान्छ ।     यौनिक रुपमा सक्रिय भएको केही समयमै एचपीभीबाट संक्रमित भइन्छ । त्यसैले एचपीभी संक्रमण यौनजन्य संक्रमणमध्ये प्रमुख हो । तर जनमानसमा यौनसम्पर्ककै कारण मात्र एचपीभी सर्छ भन्ने भ्रम छ । सत्यता के हो भने प्रत्यक्ष यौनसम्पर्कका क्रममा जननेन्द्रियको छाला, पातलो झिल्ली तथा संक्रमित व्यक्तिको शरीरको श्रावबाट सर्ने भएकाले योनि–लिङ्ग मैथुन, मुख मैथुन वा गुदद्वार मैथुनका बेला पनि एचपीभी सर्न सक्छ। त्यसैले एचआईभी तथा अन्य यौनजन्य संक्रमणमा जस्तै कण्डमको प्रयोगले मात्र पनि यी सूक्ष्म जीवाणुबाट बच्न सकिँदैछ ।     यौनिक रुपमा सक्रिय करिब ५० देखि ८० प्रतिशत महिला वा पुरुषको जीवनमा एक न एक पटक एचपीभी संक्रमण भएकै हुन्छ । तर एचपीभीबाट संक्रमित सबैमा जननेन्द्रियको क्यान्सर हुन्छ भन्ने छैछ। खासमा धेरैजसो महिलामा यो संक्रमण आफैं निवारण भएर जान्छ भने ३ देखि १० प्रतिशत महिलामा पाठेघरको मुखको क्यान्सर गराउन सक्छ । गम्भीर खालकै एचपीभीबाट संक्रमित भएको भए पनि बिना उपचार पनि आफैं निको हुन्छ । एचपीभी २ सयभन्दा बढी प्रकारका भए पनि १३ प्रकारको भाइरसले मात्र पाठेघरको मुखको क्यान्सर निम्त्याउँछ । एसियामा ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभी १६ तथा १८ को संक्रमणले भएको पाइएको छ ।     एचपीभीलाई पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व मानिए पनि कम उमेरमा विवाह हुनु, कम उमेरमै यौनसम्पर्क स्थापित हुनु, एकभन्दा बढीसँग यौनसम्पर्क राख्नु, कम उमेरमा अनि धेरै बच्चा पाउनु, आफ्नो गोप्य अंगको उचित सरसफाइ नगर्नु, सुर्तीजन्य पदार्थ सेवन गर्नु, यौनरोग एवं गुप्ताङ्ग सम्बन्धी दीर्घरोगी हुनु पाठेघरको मुखको क्यान्सरका अन्य जोखिम तत्व हुन् ।     धूमपान गर्नेमा भने एचपीभी संक्रमण लामो समयसम्म रहिरहन्छ । धूमपानकै कारण पनि पाठेघरको मुखको क्यान्सर र यौनाङ्ग वरिपरि क्यान्सर हुने सम्भावना बढी हुन्छ । एचपीभीबाट संक्रमित मानिसले थाहै नपाई आफ्नो पार्टनरलाई एचपीभी सारिरहेका हुन्छन् किनकि तिनीहरु आफैंलाई आफू एचपीभीबाट संक्रमित छु भन्ने हेक्का हुँदैछ ।     पाठेघरको मुखको क्यान्सरको सुरुआती अवस्थामा कुनै लक्षण नहुन सक्छ । प्रभावित महिलामा असामान्य रगत तथा रगत मिसिएको गन्हाउने योनिश्राव देखा पर्न सक्छ। त्यसै गरी यौनसम्पर्क पश्चात् रगत देखा पर्ने शिकायत हुन सक्छ । महिनावारी पनि धेरै दिनसम्म हुने वा बढी मात्रामा रगत बग्न सक्ने हुन सक्छ । प्रारम्भिक अवस्थामा कुनै पीडा नभए पनि क्यान्सर फैलिसकेपछि भने पीडा हुन थाल्छ। पछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि पनि हुन्छ ।     नियमित स्वास्थ्य जाँचका क्रममा प्याप स्मियर नामक स्क्रिनिङ विधिबाट पाठेघरको मुखको श्राव निकाली क्यान्सर छ, छैन थाहा पाउन सकिन्छ । एसिटिक एसिड वा ल्युगोल आयोडिनको प्रयोगबाट पनि थाहा पाउन सकिन्छ । विवाह गरेको २, ३ वर्ष देखि नै नियमित रुपमा स्क्रिनिङ गराउनु बुद्धिमानी हुन्छ। एचपीभीविरुद्धको खोपले विशेषतः १६ र १८ का एचपीभी संक्रमणविरुद्ध लड्न सक्ने क्षमता दिलाउँछ । यो खोप लिए पनि समयसमयमा स्क्रिनिङ गराउनुपर्छ ।     यौन क्रियामा लाग्नुअघिका किशोरीले खोप लगाए पूर्ण लाभदायक हुन्छ । त्यसो भएर ९ देखि १४ वर्षसम्मका स्कुले छात्राले खोप लगाउनुपर्छ । तर ९ वर्षभन्दा कम र २६ वर्षभन्दा बढी उमेरकाले लगाउनु त्यति उपयुक्त हुँदैछ । पहिले नै एचपीभी १६, १८ बाट संक्रमण भइसकेको भए खोपबाट सुरक्षा प्राप्त हुँदैछ । गर्भवतीले लगाउनु हुँदैन, बच्चा पाइसकेपछि भने हुन्छ । नेपालमा एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनएनसिटिआर) को पहलमा २००८ मा काभ्रेका सीमित स्कुले बालिकालाई यो खोप दिइएको थियो । सन् २०१५ मा चितवन र कास्कीमा पाइलट प्रोजेक्टका रुपमा एचपीभी खोप दिइएको भए पनि निरन्तरता पाउन सकेन । नेपाल सरकारले हालै मात्र यस कार्यक्रमलाई प्राथमिकता दिएको छ ।     नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरको वर्षमा एक पटक निःशुल्क परीक्षण गर्ने व्यवस्था गर्ने र तीन प्रदेशका नौ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्घ खोप कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । मधेश प्रदेश, दुई नम्बर प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाबाट शुरु गर्ने योजना छ । विगतमा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि दिइने दुईथरी भ्याक्सिन नेपालमा प्रयोग भएको विज्ञहरुको भनाइ छ । कास्की र चितवनमा दिइएको खोप सर्भारिक्स थियो भने अष्ट्रेलियन सरकारको सहयोगमा एनएनसिटिआरले गार्डाशिल भ्याक्सिन दिएको थियो । अब सरकारले ल्याउन खोजेको भ्याक्सिन भने सर्भारिक्स हो । छ महिनाको अन्तरमा दुई डोज लगाउनुपर्ने हुन्छ । त्यसो त उपत्यकाका केही निजी अस्पतालहरुले सर्भारिक्स खोप सःशुल्क दिइरहेको पाइन्छ ।     यो खोप ९ देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरिएको छ । यसरी निश्चित उमेर तोकिनुको कारण यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने भएकाले उमेर समूह तोकिएको हो । किनकि यो भाइरस यौन क्रियाकलापबाट सर्छ । तर यौन क्रियाकलाप शुरु नगर्दैको अवस्था वा विवाह गरेको (यौन क्रियाकलापमा सक्रिय हुन थालेको) केही समय अवधि भित्र यो  खोप लगाउनु राम्रो हुन्छ । विकसित देशहरुमा छिट्टै यौन क्रियाकलापमा सहभागी हुने सम्भावना भएकाले खोप लगाउने उमेर समूह ९ देखि १४ वर्ष तोकिएको छ ।     नेपाली महिलामा अधिकतर हुने क्यान्सरमध्ये एक पाठेघरको मुखको क्यान्सर प्रमुख हो । त्यसैले पनि नेपाल सरकारले एचपीभी खोपबारे जनचेतना फैलाउनुका साथै सर्वसुलभ रुपमा उपलब्ध गराउनुपर्ने अवस्था छ । क्यान्सर रोग सम्बन्धी सचेतना फैलाउने काम केही संस्थाहरुका पहल, सामाजिक सञ्जालमा सेवाग्रहीहरुको पहुँचका कारण खोपको बारेमा केही जानकारी पाउनेको संख्या बढिरहेको पाइएको छ । तर अभैmपनि यो खोपबारे शिक्षितहरुमा जनचेतना कम भएको विशेषज्ञहरुको भनाइ छ । खोपको प्रभावकारीताबारे गरिएका अनुसन्धान तथ्यहरु, क्यान्सर सम्बन्धी हुने छलफल, गोष्ठीहरुमा चर्चा हुन थालेकाले सचेतना विस्तारै फैलिरहेको पनि छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्