रमिला (नाम फेरिएको) सुत्केरी भएको दश दिनपछि रगत मिश्रित गन्हाउने योनीश्राव एवं तल्लो पेट दुख्ने समस्या लिई प्रसुती रोग ओपिडीमा आईपुगिन् । आवश्यक चेकजाँच पछि रगत, पिसाब र अल्ट्रासाउण्डको परीक्षणपछि पाठेघरभित्र सालको केही टुक्रा (तन्तु) अड्किएको पाईयो । एन्टीबायोटिक दिएको केही समयपश्चात् सामान्य क्युरेट (पाठेघर सफा गर्ने विधि) बाट पाठेघर सफा गरिदिएपछि तङ्ग्रिएर घर फर्किईन् । यसकारण सुत्केरी पश्चात्को अवधी पनि आमा तथा नवजात शिशु दुवैको लागि महत्वपूर्ण छ । यस अवधीमा बढी जसो हुने समस्या पाठेघर भित्रको संक्रमण र दोहोरिएर हुने रक्तश्राव हुन् । यसको अलावा स्तन, ज्वरो आउने, रक्तनली, फोक्सो, पिसाब नली, स्त्री जननेन्द्रिय सम्बन्धीका साथै मानसिक स्वास्थ्यको समस्या देखिन सक्छ । सुत्केरी पश्चात् पाठेघरको संक्रमणको समस्या प्रसव पश्चात् सुत्केरीकै कारणले हुने संक्रमणका साथै बाह्य संक्रमणपनि स्त्री जननेन्द्रियको तल्लो भागबाट माथिल्लो भागमा सरेको हुनसक्छ । प्रसव लगतै पाठेघरको मुख खुल्ला हुने, योनीद्वारमा घाउ चोट पुग्ने तथा गर्भावस्थाको कुनै तन्तु बाँकी रहने कारण पनि संक्रमण हुने सम्भावना बढी हुन्छ । प्रसवको २४ घण्टाभित्र ज्वरो आउनुका साथै नाडीको चाल बढ्छ । पाठेघर खुम्चिएको भएपनि तल्लो पेटमा थिच्दा दुुख्छ । गन्ध आउने योनीश्राव बग्छ । योनीद्वारको घाउ वा सिजेरियन अपरेशन गरेको भए पेटको घाउमा दुख्छ । घाउ पनि सुन्निएको देखिन्छ । टाउको दुख्ने, निद्रा नलाग्ने तथा खान मन नलाग्ने हुन सक्छ । पाठेघर पछाडी पिप जम्यो भने वा डिम्बवाहिनी नलीको संक्रमण भयो भने निरन्तर रुपमा तल्लो पेट कडा तवरले दुख्ने, तापक्रम बढ्ने एवं नाडीको चाल बढ्ने हुन्छ । प्रसव व्यथाको शुरुवात देखि वा सानो सुतक भए देखि प्रसवसम्मको अवधी तथा सुत्केरी पश्चात्को शुरुवाती तिर योनीद्वारमा बनाइएको वा स्त्री जननेन्द्रियमा बनेको घाउ निको नभएर पनि पाठेघरको संक्रमण हुन सक्छ । यसका साथै पाठेघर भित्र साल टाँसिएको ठाउँको घाउका कारण पनि संक्रमण हुन सक्छ । ज्वरो आउने, गन्धयुक्त श्राव बगने हुन सक्छ । सुत्केरी पश्चात् हुने संक्रमण योनीद्वार, पाठेघरको मुख वा पाठेघर वरिपरि मात्र केन्द्रित हुन्छ । तर संक्रामक किटाणु निकै कडा खालको वा सुत्केरी महिलाको रोग सँग लड्ने क्षमता कमी छ भने संक्रमण भित्री पेटको अन्य भाग तिर चाँडै पैmलिन सक्छ । यसको व्यवस्थापनको हकमा योनीद्वारको भित्ता वा पाठेघरको मुखमा चोट छ कि राम्ररी जाँच्नु पर्दछ । संक्रमणको कडापन थाहा पाउन रगतको परीक्षणका साथै रगतमा हेमोग्लोबिनको मात्रा थाहा पाउन पर्दछ । अल्ट्रासाउण्डबाट पाठेघरमा कुनै तन्तु बाँकी रहेको थाहा पाउनु पर्दछ । ज्वरो ठिक नहुन्जेलसम्म दुई तीन थरि एन्टीबायोटिक औषधी चाहिन सक्छ । औषधीबाट आशातीत सुधार भएन, रक्तश्राव भैरहे वा पाठेघरमा कुनै तन्तु बाँकी छ भने सफा (क्युरेट) सफा गराउनु पर्दछ । संक्रमण घटाउन व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्दछ । व्यथा लाग्नुपूर्व सानो सुतक भएको भए शिशु वरिपरिको झिल्लीको संक्रमण नहोस् भन्नका लागि उपयुक्त एन्टीबायोटिक चलाउनु पर्दछ । रक्तश्राव दोहोरिने समस्या प्रसवको ६ घण्टादेखि ६ हप्ताभित्र हुने रक्तश्रावलाई दोहोरिएर हुने रक्तश्रावका रुपमा लिइन्छ । गर्भावस्थाका कुनै तन्तु बाँकी भई संक्रमण भएमा, पाठेघर राम्ररी नखुम्चिएमा, रगतजन्य गडबडी भएमा, मोलार गर्भ (सग्लो गर्भको ठाउँमा अंगुरको दाना जस्तै हुने गर्भ) भएमा, सुत्केरी महिलामा पाठेघरको मुखको क्यान्सर (अत्यन्त विरलै) पाठेघरको भित्री तहमा मासु पलाएमा प्रसव पछि दोहोरिएर रक्तश्राव हुनसक्छ । यसको व्यवस्थापनको क्रममा विरामीको रक्तचाप एवं नाडीको चाल परीक्षण गर्ने, खेर गएको रगतको मात्रा आँकलन गर्ने, रगत जाँच गर्ने, पाठेघरको आकार एवं राम्ररी खुम्चिएको नखुम्चिएको थाहा पाउने, पाठेघरको मुख खुल्ला छ छैन जचाउनु पर्दछ । उपचारको हकमा आरामका साथै उपयुक्त एन्टीबायोटिक औषधी चाहिन्छ । अल्ट्रासाउण्ड गरी पाठेघरमा मासुका टुक्रा बाँकी भएर प्रसव पछि पनि दोहोरिएर अधिक रक्तश्राव भईरहेको भए क्युरेट गराउनु पर्ने हुन्छ । सुत्केरी पश्चात् स्तनको समस्या प्रसवोत्तर समयमा दुध गान्निने समस्या प्रायः प्रसवको दोश्रो वा तेश्रो दिनमा देखिन्छ । पहिलो पटकको सुत्केरीमा बढी देखिने यस समस्यामा दुध सुन्निने, स्तन दुख्ने, स्तन तातो हुने, ज्वरो बढी आउने (साधारण मात्र ३९ डिग्री भन्दा कम) हुन्छ । काखीको ग्रन्थी पनि बढ्न सक्छ । स्टेफाइलोकोकस नामको व्याक्टेरियाले गर्दा हुन्छ । उपचारको हकमा स्तनपानलाई निरन्तरता दिने वा नदिने भन्नेमा भर पर्दछ । यदि स्तनपान गराउने हो भने बढी भएको दुध निखार्ने, कसिलो ब्रा (थुनचोली) लगाउने तथा पिडा कम हुने औषधी खाने गर्नु पर्दछ । दुधको मुन्टामा चिरा परेको भए एन्टीबायोटिक क्रिम लगाउनु पर्ने हुन्छ । स्तनपान नगराउने भए दुध वा मुन्टा ननिचार्ने, दुध सुकाउने औषधी खाने तथा छात्तीमा कसिलो कपडा लगाउने गर्नु पर्दछ । प्रसवोत्तर समयमा स्तन सम्बन्धी समस्याको उपचार गरेन भने स्तन झन् सुन्निने, उच्च ज्वरो आउने हुन्छ । स्तनमा पिप जमिसकेको वा पिलो आइसकेको भए प्रायः प्रसवको तेश्रो देखि चौथो हप्तामा काम छुट्ने गरी ज्वरो आउने, पिप भरिएको भागमा धेरै दुख्ने, तापक्रम बढ्ने, नाडी चाल बढ्ने, रातो देखिने हुन्छ । उपचारको लागि दुधको कल्चर जाँच गर्नुका साथै अल्ट्रासाउण्ड गर्न सकिन्छ । स्तन सुन्निएको भए राम्रो खालको एन्टीबायोटिक औषधी खानु पर्दछ भने पिलो बनिसकेको भए चिर्ने, कसिलो थुनचोली लगाउने गर्नु पर्दछ । सामान्य स्तनबाट स्तनपान गराइराख्ने एवं पिलोबाट प्रभावित स्तनको दुध चाहिँ निखार्ने गर्नु पर्दछ । प्रसवोत्तर समयमा ज्वरो आउने समस्या प्रसवको पहिलो २४ घण्टापछि देखि पहिलो दश दिनमा ३८ डिग्री भन्दा बढी ज्वरो आउन सक्छ । सुत्केरी महिलामा निमोनिया, स्तन समस्या, पिसाब नली संक्रमण, सिजेरियन वा इपिजियोटोमी घाउको संक्रमणका कारण उच्च ज्वरो आउन सक्छ । उपचार चाहिँ कारण अनुसार उपयुक्त एन्टीबायोटिक औषधी चलाउनु पर्दछ । रक्तनलीमा रगत जम्ने समस्या सामान्य अवस्थामा भन्दा सुत्केरी पश्चात्को समयमा बढी जसो रगत जम्ने समय हो । प्रसवोत्तर समयमा रगत जम्ने पदार्थ बढ्नुका साथै पिसाब बढी लागी रगतको मात्रा पनि घट्ने कारण रगत च्याप च्यापी लागी रगत जम्ने प्रक्रिया बढ्छ । यसरी पिँडौंलामा जमेको रगतको ढिक्का फोक्सोमा गएर अड्किन पनि सक्छ । सुत्केरी पश्चात् यताउती हिँडडुल नगर्ने तथा हात गोडा नचलाउने महिलाका साथै मोटोपना भएकी, मधुमेह एवं उच्च रक्तचापबाट ग्रसित महिलामा यो समस्या बढ्ता हुन्छ । लामो समय चलमलाएन भने पिँडौलाको रक्तनली थिचिएर रक्तनलीमा चोट लाग्न सक्छ । तसर्थ रोकथामको लागि यथाशक्ब्य चाँडो शारीरिक अभ्यास (फिजियोथेरापी) मा जोड दिनु पर्दछ । आवश्यकता अनुसार छोटो समयका लागि रगत पातलिने औषधी चाहिन सक्छ । प्रसवोत्तर पिसाब नली संक्रमणको समस्या करिब २ देखि ४ प्रतिशत सुत्केरी महिलामा पिसाब नलीको संक्रमण देखिन सक्छ । सुत्केरी पश्चात् मुत्रथैलीमा पिसाब भरिएको कुरा कम चाल पाउने, बच्चा जन्मिने योनीद्वार तथा योनीमार्गमा कतै चोटपटक लाग्ने, बच्चा जन्मिने कार्य सहज बनाउन योनीमार्ग ठूलो पार्ने इसिजियोटोमी घाउको कारण, दुखाई कम गर्ने औषधिको प्रयोग तथा पिसाब निख्राउनका लागि हालिएको पाईप आपैंmले पनि पिसाबको संक्रमण बढाउँछ । सुत्केरी पश्चात् पनि पिसाबमा व्याक्टेरिया देखियो भने जीर्ण प्रकारको संक्रमण, पिसाब नलीमा कतै अवरोध तथा जन्मजात कुनै खराबी शंका गर्नुपर्दछ । सुत्केरी पश्चात् मानसिक समस्या बच्चालाई जन्म दिएको दुई महिनाभित्र केही महिलालाई विभिन्न मानसिक स्वास्थ्य समस्या देखिने हुन्छ । सुत्केरी महिलामा देखिने मानसिक स्वास्थ्य समस्याहरुमा उदासीपन, अवसाद र मानसिक असन्तुलन प्रमुख हुन् । यस सम्बन्धी विस्तृतमा साधना मासिक (फागुन २०७७ अंक) मा समेटिईसकेको छ ।
