विगत केही वर्षदेखि नेपाली सञ्चार माध्यममा आङ खस्ने समस्या सम्बन्धी समाचारहरु कम आउन थालेको छ । शायद अब त्यति धेरै संख्यामा आङ खस्ने समस्याबाट प्रताडित हुने महिलाहरु छैनन् वा दूरदराजका महिलाहरु आजित भैसकेको सुलभ र सहज उपचारको खोजीमा । त्यसो त अहिले ४०, ४५ उमेर समूहका महिलाहरु वैंश छँदै नेपालमा पनि थोरै बच्चा पाउने, अस्पताल वा स्वास्थ्यसंस्थामै बच्चा पाउने चलन चलिसकेका कारण पनि आङ खस्ने समस्याका विरामीहरुको संख्यामा कमी आएको हुनसक्छ । र, पछिल्लो छिमलका स्त्री रोग विशेषज्ञहरु पनि आङ खस्ने समस्याको उपचारमा पाठेघर निकालिहाल्न हतारिनु भन्दा अङ्ग बचावट गर्न सकिने वैकल्पिक उपायमा लागेका कारण पनि यो समस्या त्यति ठूलो सुनिएको छैन । तर पनि आङ खस्ने समस्याबारे जानकारी पाईराख्नु रामै्र हुन्छ । स्त्री रोग विभागको बहिरङ्गमा आउने सेवाग्रहीहरुमा आङ खस्ने समस्याको गुनासो लिएर आउनेहरुको संख्या मनग्गे नै छ । त्यसो त पाठेघर स्थिर अङ्ग होइन केही मात्रामा चलायमान छ । तर पनि पाठेघरलाई यथास्थानमा राखि राख्न विभिन्न प्रकारका बाक्लो तन्तु (लिगामेन्ट) हरुले टेवा दिई राखेको हुन्छ । कथंकदाचित ती भरथेग गर्ने लिगामेन्टहरुको भूमिका तल माथि भई पाठेघर वा योनीको माथिल्लो भागले ठाउँ छाडी तल सर्ने÷खस्ने समस्यालाई बोलीचालीको भाषामा आङ खस्ने भनेर चिनिन्छ । आङ खस्ने समस्याका प्रकारहरु आङ खस्ने समस्यालाई चार प्रकारमा बाँडिएको छ । पहिलो प्रकार – पाठेघर तल झर्ने क्रममा पाठेघरको बाह्य मुख इस्चियम (पुठ्ठाका हड्डीहरु मध्ये एक) को एउटा चुच्चो सम्म आइपुग्छ । दोश्रो प्रकार – पाठेघरको बाह्य मुख योनीद्वारसम्म आइपुग्छ । तेश्रो प्रकार – पाठेघर योनीद्वार भन्दा बाहिर निस्किन्छ । चौथो प्रकार – पाठेघर पूर्णरुपमा बाहिर निस्किनुका साथै योनीद्वारको माथिल्लो भाग पनि उल्टिएर बाहिरिन्छ । आङ किन खस्छ ? खासमा पाठेघरलाई टेवा दिने बाक्ला तन्तु (लिगामेन्ट) हरुमै कमजोरीपना आई आङ खस्छ । सुत्केरी व्यथामा पाठेघरको मुख पूर्ण रुपमा खुल्नु अगावै व्यथा लागेकी महिलालाई कन्न (बल गर्न) लगाएमा, पेटमा थिच्ने गरेमा, पहिलो पटक बच्चा पाउनेलाई योनीद्वार ठूलो पार्ने घाउ (इपिजिओटोमी) नबनाएमा, सुत्केरी व्यथाको क्रममा च्यातिएको घाउ राम्ररी नसिलाएमा, सुत्केरी पश्चात् यथेष्ट आराम नगरेमा, गह्रुँगो काम वा भारी उठाउन थालेमा, एक अर्को बच्चा बीच यथेष्ट जन्मान्तर नराखेमा, लामो र कष्टपूर्ण व्यथा लागेमा आङ खस्ने समस्या बढ्ता हुन्छ । तर कसैकसैमा पाठेघरलाई टेवा दिने तन्तुहरु जन्मजात रुपमै कमजोर हुन्छन् । बच्चा नपाएको महिला वा सहजै सुत्केरी व्यथा भएका महिलामा पनि आङ अस्नुको कारण यहि हो । उमेर ढल्केपछि अर्थात् महिनावारी सुकिसकेपछि इस्ट्रोजेन नामक हर्मोनको अभावमा पाठेघर वरिपरिका तन्तुहरु कमजोर भएमा, पाठेघरमा ठूलो मासु पलाएमा, लामो समयदेखिको धुम्रपानबाट दम खोकी लागेमा तथा कब्जियतका विरामीमा पेटभित्र पटक पटक बढ्ता बल पर्नाले पनि आङ खस्ने समस्या हुनसक्छ । नेपाली महिलाहरुमा धुम्रपान गर्ने, ग्रामीण भेग अभैm पनि धुँवारहित चुल्हो प्रयोग नगर्ने चलन, भौगोलिक विषमता (घाँस दाउरा पानी पँधेराको लागि उकाली ओराली गर्नुपर्ने), महिलाको दयनिय पोषण स्थिति तथा रक्तअल्पता, बुहारीले (सुत्केरी नै भएपनि) घरायसी कामकाज गर्नुपर्ने तथा छोटो छोटो अन्तरालमै धेरै बच्चा पाउने गर्नाले पनि आङ खस्ने समस्या हुन्छ । आङ (पाठेघर) खस्ने समस्या सँगै अगाडि पट्टिको पिसाब थैली र पछाडि पट्टि आन्द्रा तथा मलद्वार पनि झोलिन सक्छ । लक्षण चिन्हहरु प्रभावित महिलाले योनीद्वारबाट केही बाहिर निस्केको अनुभव गर्नुका साथै ढाड दुख्ने, अत्याधिक सेतो पानी बग्ने, हल्का रगत मिसिएको योनीश्राव बग्ने, पिसाब थैली झोलिएको छ भने पिसाब फेर्न गाह्रो हुने, पिसाब पुरै ननिख्रने, पिसाब छिटो छिटो फेर्न मन लाग्ने, पिसाब छुट्ने, पिसाब पोल्ने तथा मलद्वार झोलिएको छ भने दिसा गर्न गाह्रो हुने हुनसक्छ । तिनीहरुको शारीरिक जाँचको क्रममा पिसाब थैली तथा मलद्वार झोलिएको प्रष्टै देखिन्छ भने दोश्रो प्रकारको आङ खस्ने समस्या आन्तरिक परीक्षणबाट पत्ता लगाउन सकिन्छ । रोकथाम तथा उपचार आङ खस्ने समस्याको प्रमुख कारण पटक पटकको गर्भसँग सम्बन्धित भएकोले गर्भावस्थामा पोषण, सरसफाई तथा शारीरिक अभ्यास, सुत्केरी व्यथाका बेलामा चाँडै कन्न नलगाउने, लामो र कष्टपूर्ण व्यथा हुन नदिने तथा आवश्यकता अनुसार योनीद्वार यथेष्ट बनाउने (इपिजियोटोमी) वा सिजेरियन शल्यक्रिया गर्ने एवं सुत्केरी पश्चात् आराम गराउने तथा योनीद्वार र मलद्वार वरिपरको मासु कसिलो बनाउने अभ्यासहरु गरेमा आङ खस्ने समस्या बाट बच्न सकिन्छ । दोश्रो प्रकारको आङ खस्ने समस्याको उपचार शल्यक्रिया बिना नै गर्न सकिन्छ । यसका अलावा अवस्था हेरि चुरा (रिङ्ग पेसरी) लगाउन सकिन्छ । प्रभावित महिलालाई पोसिलो खाना खान तथा योनीद्वार एवं मलद्वार वरिपरिको मासु कसिलो बनाउने अभ्यास गर्न सल्लाह दिनुपर्दछ । गर्भवती तथा सुत्केरी महिला, शल्यक्रिया गर्न योग्य नभएका महिला, शल्यक्रिया पर्खिन्जेल तथा प्रभावित महिलाको चाहना बमोजिम चुरा लगाइ दिन सकिन्छ । बच्चा पुगिसकेका, महिनावारी सुकिसकेकामा योनीद्वारबाट पाठेघर निकाल्ने शल्यक्रिया गर्न सकिन्छ । कतिपय अवस्थामा पेटमा घाउ बनाई पाठेघर निकाल्ने शल्यक्रियाको विकल्प स्वरुप योनीद्वारबाटै पाठेघर निकाल्न सकिन्छ । जन्मजात मांसपेशी कमजोर भई आङ खसेका, बच्चा नपाएका, बच्चा पुगि नसकेका, अविवाहित महिलाहरुमा आङ खस्ने समस्या भएको वा पहिले पाठेघर निकालिसकेका महिलामा योनीको माथिल्लो भाग सिलाएको ठाउँ (भल्ट) तल झरेका महिलाहरुमा पाठेघर वा योनीको माथिल्लो भाग माथि सार्ने उद्धेश्यले पेटमा घाउ बनाई फित्ता सहितको शल्यक्रिया गरिन्छ । यस शल्यक्रियाको दौरान फित्ता (डोरी) पाठेघरको मुख माथिल्लो भागमा अड्काइन्छ । र त्यसको दुई चोसो पुठ्ठाको हड्डी दायाँ बायाँ वा पछाडि पट्टि सेक्रम भन्ने हड्डीमा टँसाइन्छ । कतिपय अवस्थामा पेटको मांसपेशीका त्यान्द्रो डोरीको रुपमा भित्र पट्टि ल्याई पाठेघरको मुखको माथिल्लो भाग वा पहिले अपरेशन गरी बाँकी रहेको भागमा जोडिन्छ । यस्तो शल्यक्रिया पश्चात् विरामी उभिने÷उठ्ने क्रममा पेटको मासुमा बल पर्न गई पाठेघर माथि तिर तानिन्छ । त्यसैले उमेर नपुगेका महिलाहरुमा आङ खस्ने समस्या भएपनि पाठेघर निकाल्ने शल्यक्रिया नै गर्नुपर्दछ भन्ने जरुरी छ । पाठेघर निकाल्ने अपरेशनको क्रममा रक्तश्राव हुने, पिसाब थैली आन्द्रा मुत्रनलीमा चोट पुग्ने र अपरेशन पश्चात् पिसाब रोकिने, संक्रमण हुने तथा कालान्तरमा यौन सम्पर्क राख्दा पिडा हुने, पुनः आङ खस्ने समस्या बल्झिने तथा योनी वा मलद्वारमा पिसाब चुहुने जस्ता जटिलता उत्पन्न हुनसक्छ । आङ खस्ने समस्याका लागि योनीद्वारबाट पाठेघर निकाल्ने उपयुक्त शल्यक्रियाका दौरान पाठेघरको दुवै पट्टिको डिम्बाशय ननिकालेपनि अपरेशनको केही वर्षमै यी डिम्बाशयहरुले सार्थक तवरले काम गर्न सक्दैन । डिम्बाशयले काम गर्न छोडेपछि हात खुट्टा पोल्ने, गर्मी महशुुश हुने, पसिना आउने, मुटु हान्ने, पिसाब पोल्ने, पिसाब छिटो छिटो लाग्ने, निद्रा नलाग्ने, पिसाब चुहुने, पटक पटक मुत्र नलीको संक्रमण हुने, यौन सम्पर्क राख्दा बढ्ता दुख्ने, चिन्ता बढ्ने, मन उदास हुने, टाउको दुख्ने, भिंmजो लाग्ने समस्या हुनसक्छ । कालान्तरमा हड्डी कमजोर हुने, हड्डी भाँचिने मुटु तथा रक्तनलीमा असर पुग्ने जटिलताहरु उत्पन्न हुन सक्छ ।
