IMG-LOGO

गर्भवती बेला उल्टी आउने समस्या

 मंगल, फागुन २२, २०८०  – प्रा.डा. सुमनराज ताम्राकार

       नेपाली समाजमा आफ्ना छोरीचेली वा बुहारी गर्भवती भईन् कि भनेर शंका गर्ने एउटा लक्षण मध्ये पटकपटकको वाकवाकी वा उल्टी आउने समस्या पनि हो । त्यसमाथि नियमित रुपमा भैरहेको महिनावारी रोकिएको छ भने त गर्भ रहेको आशंका शतप्रतिशत नै हुनजान्छ । गर्भावस्थाको शुरुवाती १२ हप्तासम्म गर्भवती महिला अस्पताल भर्ना हुनु पर्नाको प्रमुख कारण अत्याधिक उल्टी आउनु हो । त्यसो त गर्भावस्थाको पहिलो तीन महिनामा अस्पतालमा भर्नारत हुनु पर्नाको अन्य कारणहरुमा योनीद्वारबाट रगत बग्नु, तल्लो पेट दुुख्नु, गर्भ तुहिनु, सेतो वा खैरो पानी बग्नु हुन् ।        धेरै नै वाकवाकी लागेकी र उल्टी भएकीमा गर्भवती महिलाको पिसाबमा किटोन भन्ने विकार देखा परिसकेको छ, छैन भन्ने आधारमा अस्पतालमा भर्ना राखी उपचार गर्ने, नगर्ने निर्णय गरिन्छ । यदि पिसाबमा किटोन पोजिटिभ पाइए मुखबाट केही पनि खान नदिई भर्ना राखेर सलाईन चलाउनु पर्ने हुन्छ ।        त्यसो वाकवाकी लाग्ने वा उल्टी आउने समस्या कुनै रोगको लक्षण मात्र हुनसक्छ । गर्भावस्थामा उल्टी हुने समस्या गर्भावस्थासँग प्रत्यक्ष सम्बन्धित पनि हुनसक्छ । वा, ती महिलामा अन्य कुनै मेडिकल, सर्जिकल एवं गाइनेकोलोजिकल समस्याका कारण वाकवाकी वा उल्टीको समस्या देखिन सक्छ । गर्भावस्थामा उल्टी आउनेका कारण १. गर्भावस्थासँग सम्बन्धित        गर्भ रहनुको एउटा संकेतका रुपमा आउने उल्टी (साधारण उल्टी) वा निकै बढी आउने उल्टी (कडा खालको उल्टी) २. गर्भावस्थासँग असम्बन्धित तर गर्भवती महिलामा हुनसक्ने उल्टीका अन्य कारण मेडिकल कारण – जुकाको संक्रमण, विभिन्न खाले पिसाब नलीको संक्रमण, हेपाटाइटिस, मधुमेहको कारण उत्पन्न हुने जटिलता, शरीरमा अधिक युरियाको मात्रा सर्जिकल कारण – एपेन्डिक्सको सुजन, आमाशयको अल्सर, पूर्ण वा आंशिक रुपमा आन्द्रा थुनिँदा, पित्तथैलीको सुजन गाइनेकोलोजिकल कारण – डिम्बाशयको ट्युमर बटारिँदा, पाठेघरमा मासु पलाएको बिग्रँदा, कुहिँदा गर्भावस्थाको अन्त्यतिर देखा पर्ने उल्टी १. गर्भावस्थामा हुने उल्टीकै निरन्तरता वा फेरि देखा पर्नु २. गर्भावस्थामा देखापर्ने उच्च रक्तचापको जटिलता        माथि उल्लेख गरे भैंm गर्भावस्थाका शुरुवाती लक्षणहरुमध्ये वाकवाकी लाग्ने वा उल्टी आउने पनि हो । तर यही उल्टीको बढ्दै गएको खण्डमा समस्याका रुपमा लिइन्छ । र, उल्टीको मात्रा कति धेरै भएको छ र यसले पु¥याएको गर्भवती महिलामा कति को नकारात्मक असर पु¥याएको छ भन्ने आधारमा गर्भावस्थामा हुने उल्टीलाई साधारण वा गम्भिर खालको मानिन्छ । साधारण खालको उल्टी        गर्भवती महिलालाई बिहानीपख वाकवाकी लाग्ने, उल्टी आउने हुन्छ । त्यसैकारण पनि गाउँघरतिर सासु वा अग्रज महिलाले आप्mनी बुहारी गर्भवती भएको शंका गरिन्छ । धेरैजसो महिलाले गर्भावस्थाको शुरु (पहिलो त्रैमासिक) तिर उल्टीको अनुभव सँगालेकै हुन्छ । उल्टीमा पानी वा पित्त मिसिएको एवं थोरै मात्रामा हुन्छ । यसले गर्भवती महिलाको दैनिक क्रियाकलापमा अर्थात् उनको स्वास्थ्यमा खासै नराम्रो असर पु¥याएको हुँदैन ।        यसका लागि खासै उपचार चाहिँदैन भने यस्ता खाले उल्टी गर्भावस्थाको १२ देखि १४ हप्तामा हराएर जान्छ । गर्भावस्थामा अधिक मात्रामा उत्पादन हुने एचसीजी (ह्युमन कोरिओनिक गोनाडोट्रोफिन), इस्ट्रोजेन लगायतका हर्मोनका कारण यस्तो उल्टी आउँछ । गर्भवती महिलालाई ढाडस दिने, सुख्खा खानेकुरा खाने, चिल्लो पिरो कम खाने गरेमा यो समस्या कम हुँदै जान्छ । आवश्यक परेमा उल्टी नआउने औषधि खान सकिन्छ । प्रशस्त मात्रामा झोलिलो खानेकुरा एवं फलपूmलको रस पिउनु पर्दछ । कडा खालको उल्टी        गर्भावस्थामा उल्टीको मात्रामा निकै बढ्न गई गर्भवती महिलाको स्वास्थ्य एवं उनको दैनिक क्रियाकलापमै नकारात्मक असर पुग्न गयो भने त्यसलाई कडा खालको मान्नु पर्दछ । त्यसो त परिवार नियोजनका साधनको उपयोग, गर्भवस्थाको शुरुतिरै गर्भ जाँच गराउन जाने चलन एवं राम्रो खालको उल्टी रोक्ने औषधिको विकासका कारण विगत केहि समयदेखि गर्भावस्थामा देखापर्ने उल्टीको समस्या घट्दो क्रममा छ ।        तर पनि पहिलो पटकको गर्भ, जुम्ल्याहा गर्भ, मोलार गर्भ (सग्लो भ्रुणको ठाउँमा अंगुरको दाना जस्तो हुने बिग्रेको गर्भ), अनिच्छित गर्भ, नयाँ पार्टनरबाट रहेको गर्भ तथा पहिल्यै माइतीतिर कसैलाई गर्भावस्थामा उल्टी आउने समस्या थियो भने पनि उल्टी आउने समस्या हुन्छ । गर्भावस्थामा अधिक मात्रामा उत्पादन हुने एचसीजी (ह्युमन कोरिओनिक गोनाडोट्रोफिन), प्रोजेस्टेरोनका कारण खाद्यनली अन्तर्गतको आमाशयको माथिल्लो द्वार खुकुलो हुन गई तथा खाद्यनलीको चालमा गडबडी उत्पन्न भई उल्टी आउँछ ।        कतिपय गर्भवती महिलमा मानसिक समस्याले पनि उल्टी आउँछ । यस्तो परिस्थितिमा घरायसी वातावरणबाट टाढा राख्दा पनि उल्टीको समस्या कम भएर जान्छ । खानेकुरामा कार्बोहाइड्रेटको कम संचितिले पनि उल्टी आउन सक्छ । जुनसुकै कारणले उल्टी शुुरु भएको भएपनि उल्टीका कारण जलवियोजन एवं शरीरमा कार्बोहाइड्रेटको कमी भयो भने यसैले फेरि उल्टी गराउँछ । उल्टीका कारण लामो समयसम्म खानाको अभाव एवं कुपोषणले गर्दा कलेजो, मृगौला, नशा, मुटु, गिदीमा प्रतिकुल असर पर्दछ । यसका साथै आमाशयमा अल्सर हुने, खकारमा रगत देखा पर्ने, जण्डिस देखा पर्ने हुनसक्छ ।        कडा खाले उल्टीको समस्यामा शुरुतिर कुनै नकारात्मक असर नदेखिएपनि लामो समयसम्मको उल्टीले गर्दा जलवियोजन र कार्बोहाइड्रेटको अभाव देखिन्छ । पिसाब, रगत र ईसीजीको जाँचबाट यी कुरा पत्ता लाग्छ । मुखबाट राम्ररी खान नसकेका कारण ग्लुकोजको अभावमा शरीरको बोसो पग्लिने क्रममा निक्लिने विकार तत्व (किटोन) पिसाबमा भेटिन सक्छ । कहिलेकाहीँ आँखाको पर्दा र अल्ट्रासाउण्डको पनि जरुरत पर्दछ ।        उपचारको हकमा उल्टी रोक्ने, जलवियोजन ठिक पार्ने, उल्टीको कारण उत्पन्न हुने जटिलताको रोकथाम गर्ने, उपचार गर्ने गर्नुपर्दछ । मुखबाट कति पनि खानै सकिएन र यसैकारण शरीरमा परेको प्रतिकूल असर रगत एवं पिसाब परीक्षणमा पनि देखिन थाल्यो भने बिरामीलाई अस्पतालमा भर्ना राखी उपचार गर्नुपर्ने हुन्छ । यसका साथै भिटामिन बी कम्प्लेक्स र सी, बिरामीलार्य ढाडस, बिरामीको श्रीमान तथा परिवारजनलाई परामर्श दिनु पर्दछ । उल्टी रोकिनु, बिरामी लाई भोक लागेको अनुभव हुनु, अनुहारमा चमक आउनु, पिसाबमा एसीटोन (अत्याधिक उल्टीका कारण देखिने खराब तत्व) हराउँदै जानु, बिरामीको नाडी रक्तचाप पिसाबको मात्रा सामान्य हुनु बिरामी सुधार हँुदै जानुको प्रमाण हो । उल्टी रोकिएपछि शुरुमा बिस्कुट, टोस्ट लगायतका सुख्खा चीज खान दिनु पर्दछ । बिस्तारै सामान्य खानेकुरा ख्वाउन थाल्नु पर्दछ । यस क्रममा थोरथोरै तर धेरै पटक ख्वाउनको लागि भन्नु पर्दछ ।        अन्त्यमा, गर्भावस्थासँग असम्बन्धित अथवा अन्य कुनै मेडिकल, सर्जिकल एवं गाइनेकोलोजिकल समस्याका कारण गर्भवती महिलामा उल्टी भइरहेको भए त्यसको कारक तत्व अनुसार नै उपचार गराउनु पर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्