स्त्री रोग ओपिडीमा असामान्य महिनावारीको गुनासो लिई महिलाहरुको संख्या बढ्दो छ । पछिल्लो समय विभिन्न प्रयोजनका लागि महिनावारी पर सार्ने उद्धेश्यले पिल्स चक्कीको गलत प्रयोगका कारण पनि यो समस्या बढ्दो छ । त्यसैगरी परिवार नियोजनको साधनको समुचित प्रयोगमा ध्यान नदिने तथा सुरक्षित सेक्सको अभ्यासको अभावमा रहन गएको अनिच्छित गर्भको रोकथामको लागि आकस्मिक गर्भ निरोधका साधनको अन्धाधुन्ध प्रयोगका कारण पनि महिनावारी गडबडी आउने हुन्छ । अधिकतर महिलामा महिनावारी नियमित हुनको लागि महिलाको शरीरमा हर्मोनहरुको उत्पादन एवं यिनीहरु बीचको सामञ्जस्यता आवश्यक हुन्छ । यस क्रममा पछिल्लो महिनावारीको शुरुवाती दिनदेखि पाठेघरको भित्री तहको बाक्लोपनामा नियमसंगत परिवर्तन आउन आवश्यक हुन्छ । कथंकदाचित पिल्स चक्कीको गलत प्रयोग वा आकस्मिक गर्भ निरोधका साधनको प्रयोगले पाठेघरको भित्री तहमा एक्कासी व्यापक उथलपुथल ल्याउँछ । जसले गर्दा महिनावारीलाई सामान्य अवस्थामा फर्काउन समय लाग्छ । यसको अलावा नेपाली महिलाहरुको जीवनशैली, खानपानमा आएको परिवर्तनसँगै पाठेघरमा मासु पलाउने समस्या, इन्डोमेट्रिओसिस, विभिन्न खाले स्त्रीरोगजन्य क्यान्सरका कारण पनि महिनावारी गडबडी हुन थाल्छ । आउनुहोस् यस्तै कतिपय महिनावारी गडबडीका कारणहरुबारे चर्चा गरौं । युवती एवं किशोरीहरुमा प्रजनन् क्षमता प्राप्त भएको चिनो स्वरुप नियमित रुपमा महिनावारी शुरु हुन थाल्छ । प्रायसः सामान्य खालको महिनावारी प्रत्येक २१ देखि ३५ दिनमा तीन देखि सात दिन सम्म र बढीमा ८० देखि १०० मिलिलिटर सम्म मात्र रगत प्रवाह हुने गर्दछ । यसरी पाठेघरबाट हुने नियमित तथा सामान्य प्रकारको महिनावारी भन्दा तल माथि (फरक) हुनासाथ असामान्य मानिन्छ । किशोरी वा महिलाको उमेर समूह अनुसार महिनावारी असामान्य हुनाका कारक तत्वहरु भने फरक फरक हुन सक्छ । मेनोरेजिया असामान्य महिनावारी विभिन्न प्रकारको हुन्छ । नियमित अन्तरालमा हुने तर महिनावारी हुँदा बढ्ता रगत जाने वा धेरै दिन सम्म रगत जाने वा दुवै स्थितिलाई मेनोरेजिया भनिन्छ । स्त्री जननेन्द्रियका कारणहरुमा पाठेघरमा मासु पलाउने, पाठेघरको मध्य तह वा वरिपरि इन्डोमेट्रिओसिस हुनाले, कपर टी प्रयोगले, डिम्बबाहिनी नली वा डिम्बाशयमा डल्लो (पानी वा रगत भरिएको) बन्नाले तथा पाठेघर मलद्वारतिर फर्किनाले महिनावारी हुँदा रगत बढी जाने वा धेरै दिन सम्म जान सक्छ । कलेजो, मुटुमा खराबी उत्पन्न भई, उच्च रक्तचाप, थाइरोइड ग्रन्थिको काम घटबढ हुनाले एवं रगत नजम्ने समस्या तथा रगतको क्यान्सरले पनि मेनोरेजिया हुनसक्छ । यसको अलावा महिनावारी हुनको लागि टाउको भित्रको हाइपोथालामस, पिट्युटरी ग्रन्थि देखि डिम्बाशय एवं पाठेघरको भित्री तह बीच सामन्जस्य हुनुपर्नेमा कतै खराबी उत्पन्न भयो भने पनि मेनोरेजियाको समस्या उब्जिन सक्छ । धेरै दिन सम्म रगत बग्ने, धेरै प्याड तथा कपडा फेर्नुपर्ने, रगतको चोक्टा चोक्टा पनि जाने, रक्तअल्पता हुने तथा शरीरमा हेमोग्लोबिनको मात्रामा कमी हुने भयो भने मेनोरेजियाको शंका गर्नुपर्दछ । कारक तत्व अनुसार नै उपयुक्त उपचार पनि गर्नुपर्दछ । पोलीमेनोरिया अर्को थरी असामान्य महिनावारीमा नियमित अन्तरालमा हुने तर छिटो छिटो हुने (२१ दिनको अन्तराल भन्दा कम) लाई पोलीमेनोरिया भनिन्छ । प्रायसः कुनै कारण बिना हुने यस्तो समस्यामा किशोरीवस्था, ढल्कँदो उमेर सँगै महिनावारी सुक्नु अगाडि तथा सुत्केरी वा गर्भपतन पछि पोलीमेनोरियाको समस्या देखा पर्दछ । पिट्युटरी ग्रन्थिको बढ्ता काम गराईले बढ्ता हर्मोन उत्पादन भएर यस्तो समस्या उत्पन्न हुन्छ । तर स्त्री जनेन्द्रियको माथिल्लो भागको संक्रमण एवं डिम्बाशयमा हुने इन्डोमेट्रिओसिसले पनि यस्तो हुन सक्छ । बिना कारण हुने पोलीमेनोरिया हर्मोनयुक्त औषधिले निको पार्न सकिन्छ भने संक्रमण र इन्डोमेट्रिओसिसको लागि क्रमशः प्रतिजैविक औषधिहरु त्था शल्यक्रियाको जरुरत पर्न सक्दछ । ओलिगोमेनोरिया यदि नियमित अन्तरालमा हुने महिनावारी ३५ दिन भन्दा बढ्ता अन्तरालमा (ढिलो ढिलो) हुने परिस्थितिलाई ओलिगोमेनोरिया भनिन्छ । किशोरीवस्थामा, महिनावारी सुक्नु अगाडि, अत्याधिक मोटोपना, मानसिक तनाव, अत्याधिक अभ्यास (जस्तै खेलकूदमा लागेका), इन्डोक्राइन ग्रन्थिमा गडबडी (मसिना तर धेरै डिम्ब परिपक्व हुने समस्या, शरीरमा प्रोल्याक्टिनको मात्रा बढ्ता हुने समस्या, थाइरोइड ग्रन्थिले बढ्ता काम गर्ने अवस्था), एन्ड्रोजेन उत्पादन गर्ने खालको डिम्बाशय वा एड्रिनल ग्रन्थिको ट्युमर वा पाठेघरको भित्री तहको क्षयरोग आदि कारणले ओलिगोमेनोरिया हुन सक्छ । हाइपोमेनोरिया असामान्य महिनावारी कै सिलसिलामा यदि हल्का (थोरै) मात्रामा रगत जाने एवं दुई दिन भन्दा कम समय सम्म मात्र जाने अवस्थालाई हाइपोमेनोरिया भनिन्छ । पाठेघरको भित्री तह एक आपसमा टाँसिने, भित्री पाठेघरको क्षयरोग, पिल्स चक्कीको प्रयोग, थाइरोइड ग्रन्थिको गडबडी, महिनावारी सुक्नु अगाडि एवं कुपोषणको कारणले यस्तो हाइपोमेनोरियाको अवस्था सिर्जिन सक्दछ । माथि उल्लेखित अवस्थाहरु असामान्य नै भएपनि नियमित अन्तरालमा हुन्छ तर एक अर्को बीचको मासिक श्रावको अन्तराल पनि अनियमित हुने परिस्थितिलाई मेट्रोरेजिया भनिन्छ । यस समस्यामा महिनावारी हुँदाको रगतको मात्रा पनि फरक फरक हुन सक्छ । यसको अलावा पाठेघरको मुख छुना साथ एवं महिनावारीको बीच बीचमा हुने रक्तश्रावलाई पनि मेट्रोरेजियामा समेटिएको छ । विविध कारण महिनावारी गडबडी हुने कारणहरुमा किशोरीवस्थामा अपरिपक्व हर्मोनको मात्रा, सुत्केरी तथा गर्भपतनको केही समय, महिनावारी सुक्नु अगाडि विना कारण हुने गडबडी, पाठेघरको भित्री तहमा मासु पलाउनाले एवं पाठेघरको मुख वा पाठेघरको क्यान्सर पर्दछन् । त्यसैगरी पाठेघरको मुखको क्यान्सर, पाठेघरको मुखमा मासु पलाउनाले, गर्भावस्थाको पाठेघरको मुख, पिल्स चक्कीको प्रयोगका कारण पाठेघरको मुखमा रक्तप्रवाह बढ्नाले, पाठेघरको मुखमा क्लाइमाइडिया संक्रमण वा क्षयरोग लाग्नाले तथा पाठेघरको मुखमा इन्डोमेट्रिओसिस हुनाले पाठेघरको मुख छुनासाथ हुने रक्तश्राव भई महिनावारी असामान्य हुन जान्छ । महिनावारीको बीच बीचमा रगत देखिने कारणहरुमा भने पिसाब खुल्ने प्वालमा मासु पलाउनाले, कपर टी तथा पिल्स चक्कीको प्रयोग गर्नाले, महिनावारीको मध्यतिर डिम्ब निष्काशन हुने बेला तिर, आङ खस्ने समस्या, पाठेघरको मुखमा वा मुखको वरिपरि घाउ (अल्सर) पर्दछन् । आखिरमा, त्यसो त विना कारण पनि पाठेघरबाट हुने अधिक रक्तश्राव (डीयुबी ) हुनसक्छ । माथि उल्लेखित स्त्री जनेन्द्रिय वा यसका वरिपरि कुनै प्रष्ट कारणले बाहेक विना कारण पनि महिनावारीको गडबडी हुने अवस्थालाई मेडिकल भाषामा विना कारण पाठेघरबाट हुने अधिक रक्तश्राव (डीयुबी अर्थात् डिस्फङ्क्शनल युटेराइन ब्लिडिड्ड) भनिन्छ । विना कारण पाठेघरबाट हुने अधिक रक्तश्राव (डीयुबी) पनि एक प्रकारको असामान्य महिनावारी हो । यस अवस्थामा स्त्री जननेन्द्रियको माथिल्लो भाग वा तल्लो भागमा सुजन, संक्रमण, क्यान्सर, मासु पलाउने (ट्युमर) तथा गर्भवती सम्बन्धी कुनै खराबी हुँदैन । तर महिनावारी सुकीसकेकी महिलामा असामान्य रगत देखा पर्नुको कारण भने फरक खालको हुन्छ । अधिकांश महिलामा आफ्नो जीवनकाल भरि नियमित रुपमा भइरहेको महिनावारी (मासिक श्राव) निश्चित उमेर पुगेपछि (नेपालको परिप्रेक्ष्यमा प्रायसः ४५ वर्ष नाघेपछि) डिम्बाशयमा डिम्ब निख्रिनाले तथा टाउको भित्रको हाइपोथालामस देखि पाठेघरको भित्री तहको आ–आफ्नो काममा शिथिलता आउनाले महिनावारी सुक्दछ । पाठेघरको भित्री तह चाउरिनाले, पाठेघरको मुख, डिम्बवाहिनी नलीको क्यान्सर हुनाले, पाठेघरमा मासु पलाउनाले, आङ खसी पाठेघरको मुखमा अल्सर हुनाले, कपर टी पाठेघरमा लामो समय राख्नाले वा बिर्सनाले तथा बिना कारण पनि पाठेघरबाट रक्तश्राव हुन सक्छ । यसरी महिनावारी गडबडी हुने कारण अवगत भएपछि सोही अनुसारको चेकजाँच एवं ल्याब परीक्षणका लागि सम्बन्धित चिकित्सकको सल्लाह, सुझावमा यथोचित उपचार गराउनु पर्ने हुन्छ । र, सुखद कुरा आधुनिक चिकित्सा विज्ञानमा यी मध्ये अधिकतर समस्याको सही उपचार सम्भव छ ।
