केही समय अगाडिसम्म गर्भावस्थामा देखिने मेडिकल समस्याहरुमा मधुमेहको समस्या खासै देखिँदैनथ्यो । विश्वको अन्यत्र भैंm दक्षिण एशियामा पनि मधुमेह समस्याको ग्राफ उकालो लाग्ने क्रममा छ । जङ्क खानपान, बढ्दो शहरीकरण, बदलिँदो जीवनशैलीका कारण गर्भवती महिलामा पनि मधुमेहको समस्या अछुतो रहन सक्दैन । अहिले प्रसुती रोगको वार्डमा एक न एकजना गर्भवती महिलामा मधुमेहको समस्या भई भर्नारत भईरहेको देखिन्छ भने बहिरङ्ग विभागमा पनि दैनिक दुई, तीन जनाको संख्यामा आउने गरेको पाईन्छ । अर्थात् मधुमेहको घण्टी बज्ने क्रममा छ । मानिसलले खाएको खाना पाचन भएपछि ग्लुकोजमा परिणत हुन्छ । ती ग्लुकोजलाई कोषमा पुर्याउन प्यान्क्रियाजबाट उत्पादित हुने इन्सुलिनले सहयोग गर्दछ । कोषले ग्लुकोजलाई शक्तिमा परिणत गर्दछ र आश्यकता अनुसार खर्चिन्छ । तुलनात्मक रुपमा इन्सुलिनको कमी हुँदा वा ठ्याप्पै उत्पादन नहुँदा वा कोष तहमा इन्सुलिनको काममा अवरोध हुँदा यसको परिणाम स्वरुप रगतमा चिनीको मात्रा बढ्ने समस्यालाई नै मधुमेह भनिन्छ । त्यसैले मधुमेहको समस्याले प्रभावित हुँदा कोषले रगतमा रहेको ग्लुकोज लिन सक्दैन । यसले गर्दा कोषले पर्याप्त शक्ति प्राप्त गर्दैन भने रगतमा पनि चिनीको मात्रा बढ्न जान्छ । रगतमा निश्चित मात्रामा चिनी हुन्छ । यदि यो मात्रा नाघ्यो भने पिसाबमा पनि ग्लुकोज देखिन थाल्छ । लामो समय देखिको अनियन्त्रित मधुमेहको समस्याले आँखालाई बढ्ता असर गर्दछ । मोतिबिन्दु चाँडै हुनु, आँखाको पर्दा (रेटिना) मा समस्या आउनु र अन्धोपना हुनु यस्तै केही उदाहरण हुन् । यसले मुटु र रक्तनलीमा असर गरी हृदयाघात, रक्तचाप, मृगौला र मुटु दुख्ने समस्या निम्त्याउन सक्छ । यसको अलावा मधुमेहले गर्भावस्थामा आमा र गर्भे शिशु दुवैको स्वास्थ्यमा समस्या ल्याउन सक्छ । देश अनुसार गर्भवती महिलाहरु मध्ये करिब १ देखि १० प्रतिशतमा मधुमेहको समस्या देखिएको छ । नेपालमा खासै अध्ययन भएको छैन । तर औसतमा अस्पतालमा गर्भवती जाँच गराउन आउने महिलाहरुमध्ये ४ देखि ५ प्रतिशतमा यो समस्या देखिएको छ । गर्भवती महिलामा देखिने मधुमेह मध्ये ९० प्रतिशत गर्भावस्थाको कारणले हुन्छ । अर्थात् गर्भवतीपूर्व नै महिलामा मधुमेह हुनेको संख्या कम छ । यसरी गर्भावस्थामा मधुमेह हुने समस्या गर्भवतीका कारणले वा पहिले देखि मधुमेह भइरहेको (तर पत्ता नलागेको) कारणले हुनसक्छ । यी दुई भिन्नाभिन्नै कारण अनुसार गर्भावस्थामा यसको व्यवस्थापन पनि फरक फरक तरिकाले गरिन्छ । गर्भवती बेलामा पहिलोपटक कार्बोहाइड्रेट पचाउन सक्ने क्षमतामा गडबडी देखिन्छ । फलतः रगतमा चिनीको मात्रा सामान्य भन्दा बढी देखिन्छ । यस्तो समस्या गर्भावस्थाको दोश्रो वा तेश्रो त्रैमासिकमा देखा पर्दछ जुन सुत्केरीपछि सामान्य अवस्थामा फर्किन्छ । गर्भवतीको कारणले महिलामो मधुमेह हुनसक्ने जोखिम समूहमा माइतीतिर कसैलाई मधुमेह भएको, अघिल्ला गर्भमा बढी तौलको बच्चा पाएको, बिना कारण महिना पुगेको बच्चा खेर गएको, गर्भावस्थामा शिशु वरिपरि पानीको मात्रा निकै बढी भएको, गर्भावस्थामा पटक पटक सेतो पानी बग्ने र पिसाबको संक्रमण हुने गरेको, गर्भवती महिलाको ३० वर्ष माथिको र मोटोपना भएको पर्दछन् । गर्भवतीको कारणले हुने मधुमेहले पुर्याउन सक्ने खतराहरु यस प्रकार छन् । महिना पुग्नै लाग्दा अकस्मात् गर्भे शिशुको मृत्यु हुनसक्छ । गर्भे शिशु निकै ठूलो हुनसक्छ । गर्भेशिशु वरिपरिको पानी बढी हुनसक्छ । सुत्केरी दौरान स्त्री जननेन्द्रिय (बच्चा आउने बाटो) मा चोट पुग्न सक्छ । करीब ५० प्रतिशत महिलामा पछि पछिको गर्भमा पनि यस्तो समस्या दोहोरिन सक्छ । गर्भवतीका कारणले हुने मधुमेहको व्यवस्थापन गर्दा पटक पटक गर्भ जाँच गर्नुका साथै खाना परहेज र शारीरिक व्यायाममा पनि ध्यान दिइनु जरुरी छ । नियमित अभ्यास, हल्का हिँडडुलले रगतमा ग्लुकोजको मात्रा घटाउन मद्धत गर्दछ । गर्भवतीको कारणले हुने मधुमेह भएकी महिलामा यदि ग्लुकोज राम्रोसँग नियन्त्रणमा छ भने बच्चा पाउने मिति सम्म कुर्न मिल्छ । तर बच्चा ठूलो छ वा गर्भेशिशुमा कुनै जटिलता छ भने गर्भावस्थाको ३८ हप्ता तिरै सुत्केरी गराउनु पर्दछ । यस्ता खाले महिलामा केहि वर्षको अन्तरालमा पूणर् रुपमा मधुमेह देखापर्न सक्ने हुनाले निरन्तर रुपमा फलोअप चाहिन्छ । गर्भवतीको कारणले हुने मधुमेह भएकी महिला मध्ये खाली पेटमा चिनीको मात्रा धेरै भएकामा पछि दोश्रो प्रकारको मधुमेह हुने तथा मुटु एवं रक्तनली सम्बन्धी समस्या उत्पन्न हुनसक्छ । पहिल्यै नै मधुमेह प्रभावित व्यक्तिले गर्भपूर्व नै चिकित्सको सल्लाह परामर्श लिन आवश्यक छ । यस्ता महिलाले नियमित रुपमा रगतमा चिनी, बोसो (कोलेस्टेरोल), मृगौलाको काम गराई बारे रगत परीक्षण गराउनु पर्दछ । समय समयमा रक्तचाप, आँखा तथा मुटुको परीक्षण गराउनु पर्दछ । मधुमेहले नशामा असर गरेको खण्डमा पैतालामा घाउ चोट लागेको थाहा नै हुँदैन यसको हेक्का राख्नुपर्दछ । लामो समय भोकै बस्ने वा ब्रत बस्ने क्रममा कहिलेकाहीँ शरीरमा रगतको मात्रा स्वाट्टै घटेर जटिल स्थिति (हाइपोग्लाइसेमिया) आउन सक्छ । त्यसैले चिकित्सकको निगरानीमा रहेर नियमित औषधि वा इन्सुलिन लिनुपर्ने हुन्छ । पुणर्तः मधुमेह भएकी गर्भवती महिलामा भोक तिर्खा बढी लाग्नु, रातिको समयमा समेत पटक पटक पिसाब लाग्नु, जिउ चिलाउनु, आँखा धमिलो देखिनु, थकाई लाग्नु, कमजोरी महशुश हुनु, हात खुट्टा झमझमाउनु आदि मधुमेहका लक्षण चिन्ह हुन् । यसैगरी घाउचोट लाग्दा निको हुन समय लाग्नु, शारीरिक तौलमा कमी आउनु, विवाहित दम्पत्तिमा निसन्तानको समस्या हुनु पनि मधुमेहका लक्षण चिन्ह हुन सक्छ । यस्ता खाले महिलाको रगतमा चिनीको मात्रा नियन्त्रणमा भएन भने गर्भे शिशुको मृत्यु हुने, गर्भे शिशु राम्ररी बढ्न नसक्ने, गर्भवती महिलामा कम्पन छुट्ने समस्या हुनसक्ने, रगतमा किटोन नामक हानीकारक पदार्थ बढ्न सक्ने हुनसक्छ । मधुमेहमा गर्भावस्थाको असर ह्युम्यान प्लासेन्टल ल्याक्टोजेन, इस्ट्रोजेन, प्रोजेस्टेरोन, कर्टिसोल नामका रासायानिक तत्वको सामूहिक प्रभावले इन्सुलिनको काममा अवरोध खडा गरी चिनी नियन्त्रणमा राख्न गाह्रो हुन्छ । गर्भेशिशुको साथी सालले इन्सुलिन बढ्ता टुक्राइदिन्छ । गर्भावस्थाको अवधीसँगै इन्सुलिनको आवश्यकता पनि बढ्दै जान्छ । पिसाबबाट बढ्ता चिनी खेर जान सक्ने हुनाले रगतको जाँचबाट मात्र चिनीको वास्तविक मात्रा थाहा हुन्छ । वाकवाकी, संक्रमण तथा सुत्केरी व्यथाले रगतमा अधिक चिनीका कारण हुनसक्ने जटिलता हुन सक्ने हुन्छ । रक्तनलीमा असर पुर्याई आँखाको पर्दा, मिर्गौला, मुटुको रक्तनली तथा नशामा पनि बढ्ता खराब निम्त्याउँछ । मधुमेहले गर्भावस्थामा पुर्याउने असर मधुमेहले गर्भावस्थाका तीनै चरणमा असर गर्न सक्दछ । गर्भावस्थामा गर्भ तुहिने, महिना नपुग्दै व्यथा लाग्ने, गर्भवती महिलामा कम्पन छुट्न सक्ने, गर्भे शिशु वरिपरि पानी बढी हुने, गर्भवती महिलामा छटपटी बढ्ने, आँखाको पर्दा र मिर्गौलामा असर पुग्ने हुन्छ । सुत्केरी व्यथाको दौरान व्यथा लामो हुने, शिशुको टाउको जन्मेपनि काँध अड्किन सक्ने, फोरसेप वा भ्याकुम उपकरणको मद्धतले सुत्केरी गराउनु पर्ने, स्त्री जननेन्द्रियमा बच्चा आउने बाटोमा चोट पुग्न सक्ने, सुत्केरी पछि अधिक रक्तश्राव हुनसक्ने हुन्छ । सुत्केरी पश्चात् संक्रमण बढ्ने तथा स्तनपानमा समस्या आउन सक्ने हुन्छ । नवजात शिशुमा पर्ने असर गर्भवती महिलामा भएको मधुमेहको कारण नवजात शिशुमा पनि नकारात्मक असर पर्न सक्छ । गर्भमा छँदै आकार ठूलो हुने, स्नायु प्रणाली, मुटु, मिर्गौला, खाद्यनली सम्बन्धी जन्मजात विकलाङ्ग हुन सक्ने, बिना कारण मृत्यु हुने हुनसक्छ । जन्म पश्चात् शिशुको रगतमा चिनीको मात्रा घट्ने, क्याल्सियम र म्याग्नेसियमको मात्रा पनि घटने, श्वास प्रश्वास समस्या आउने, रगत बाक्लो हुने, जन्डिसको मात्रा बढी हुने, मुटुको आकार बढ्ने हुन्छ । नवजात शिशुको रगतमा चिनी नपुगेर, श्वास प्रश्वासको समस्या भएर, रगत बाक्लो भएर अनि जन्डिसको समस्याले मृत्यु हुने दर २ - ३ गुणाले बढ्छ । गर्भवती महिलामा मधुमेहको व्यवस्थापन गर्भावस्थाको दौरान दैनिक क्यालोरी ३० देखि ३५ किलो क्यालोरी प्रति किलोग्राम शारीरिक तौल आवश्यकता पर्दछ । सामान्य तौल भएकी गर्भवती महिलालाई २००० देखि २५०० किलो क्यालोरी प्रतिदिन र मोटोपना भएकीलाई १२०० देखि १८०० किलो क्यालोरी प्रतिदिन आवश्यकता पर्दछ । जसमध्ये कार्बोहाइड्रेट ५० प्रतिशत, प्रोटिन २० प्रतिशत र चिल्लो पदार्थ २५ देखि ३० प्रतिशत हुनु पर्दछ । खानामा रेशादार बढी हुनु पर्दछ । आवश्यक खानाको २५ प्रतिशत बिहानको खानामा हुनु पर्दछ भने दिउँसो र रातीको खानामा ३० - ३० प्रतिशत हुनु पर्दछ । नियमित अन्तरालमा चिनीको मात्रा जाँच्नुपर्दछ । चिकित्सकको सल्लाह बमोजिम आवश्यक मात्रामा इन्सुलिनको सूई लिनु पर्दछ । गर्भे शिशुको अवस्था थाहा पाउन अन्य समयमा भन्दा बढी पटक अल्ट्रासाउण्ड गराउनु पर्दछ । मधुमेह भएकी गर्भवती महिलाको गर्भेशिशुको तुलनात्मक रुपमा फोक्सो पाको (बलियो) भएको हुँदैन । मधुमेहले प्रभावित गर्भवती महिलामा उच्च रक्तचाप वा गर्भे शिशुमा कुनै जटिलता देखिन थालेमा सुत्केरी गराउन तर्पm लाग्नु पर्दछ । मधुमेहले प्रभावित गर्भवती महिलाको उमेर बढी भएमा, धेरै बच्चा पाइसकेको भएमा, पहिलोको गर्भ बिग्रेको भएमा, मधुमेह नियन्त्रणमा राख्न गाह्रो भएमा, कुनै जटिलता आएमा, कम्पन छुटेमा, गर्भे शिशुको वरिपरि पानी बढी भएमा, बच्चाको बसाई उल्टो भएमा, बच्चा निकै ठूलो (४ किलो भन्दा बढीको) भएमा सिजेरियन अपरेशनको जरुरत पर्न सक्दछ । समग्रमा करिब ५० प्रतिशत मधुमेहले प्रभावित गर्भवती महिलालाई सुत्केरी बेलामा सिजेरियन अपरेशनको आवश्यकता पर्दछ । सुत्केरी व्यथाको बेलामा आमा र बच्चाको स्वास्थ्यमा निगरानी राख्नु पर्दछ किनकि कुनै पनि बेला जटिलता उत्पन्न हुन सक्छ । मधुमेह भएकी गर्भवती महिलाबाट जन्मेका शिशुको स्याहार राम्ररी गर्नु पर्दछ । किनकि मधुमेह भएकी गर्भवती महिला सुत्केरी हुँदा शिशु निस्सासिन सक्छ । सुत्केरी पछि कुनै विकलाङ्ग छ,छैन राम्ररी जाँच गर्नु पर्दछ । जन्मेको २ घण्टा भित्र नवजात शिशुको रगतमा चिनीको मात्रा जाँच्नु पर्दछ । यथाशिघ्र स्तनपान गराउनु पर्दछ । यस्तो बच्चालाई भिटामिन ‘के’ दिनु पर्दछ । गर्भावस्थामा मधुमेह देखा परेकी महिलालाई परिवार नियोजनको हकमा जन्मान्तरको लागि कण्डम वा फेमिडोम जस्ता अस्थायी साधन अपनाउनु पर्दछ । पाठेघरमा राखिने कपर टी ले पाठेघरको संक्रमण बढाउन सक्छ । तर प्रोजेस्टरोन मात्र भएको चक्की पनि दिन सकिन्छ । सन्तानको रहर पुगिसकेको भए स्थायी बन्ध्याकरण गराउन सल्लाह दिनु पर्दछ ।
