भनिन्छ, विश्वमा एक अर्काको अनुहारसँग मिल्ने मानिस सातजना हुन्छन् रे । एकपटक प्रख्यात हाँस्य कलाकार चार्ली चाप्लिन जस्तै देखिने मानिसहरुको प्रतियोगिता हुँदा सक्कली चार्ली चाप्लिन तेश्रो भएका थिए रे । यहाँ उठान गर्न लागेको विषय के उस्तै वा दुरुस्तै देखिने मानिस, जनावर वा वनस्पति बनाउन सम्भव छ ? उस्तै वा दुरुस्तै भन्नाले फोटोकपी गरे जस्तो वा ऐनामा हेरे जस्तो । मानिसकै कुरा गर्ने हो भने हाम्रो नाक, रुपरङ्ग अनि जीउडाल के कस्तो हुनेछ भन्ने कुरा हाम्रो कोषमा अन्तरनिहित वंशाणुअंश (डीएनए) ले निर्देशित गर्दछ । यस अर्थमा डीएनएलाई ईटा बनाउने साँचो जस्तै मान्दा हुन्छ । प्राकृतिक तवरमा कतिपय वनस्पति, ढुसी एवं व्याक्टेरियाको क्लोनिङका माध्यमबाट वृद्धि विकास हुने गरेकोमा हाल विज्ञानमा चमत्कारिक प्रगतिले पनि कृत्रिम रुपमा क्लोनिङ प्रविधिबाट उस्तै खालको अन्य जीव वा वनस्पति विकास गर्न सम्भव भएको छ । क्लोनिङ प्रविधिमा उस्तै खालको डीएनएको टुक्रा बनाउने क्रममा पुरानो खालको डीएनएलाई टुक्रा गरी छुट्याईन्छ र त्यसमा आशातित (बनाउन चाहेको) डीएनएको टुक्रा जोडिन्छ । यसरी बनाइएको नयाँ डीएनएलाई कोषमा छिराइन्छ र आशातित डीएनए रहेको कोष सफलतापूर्वक बने, नबनेको छानिन्छ । र, सफलतापूर्वक बनेको डीएनए सहितको कोष जति छुट्याइन्छ । क्लोनिङ प्रविधि व्याक्टेरिया, ढुसी जस्ता एककोषिय जीवको हकमा सहज भएपनि प्राणी वा वनस्पति जस्ता बहुकोषिय जीवको लागि जटिल छ । त्यसो त यही प्रविधि अपनाएर स्टेम सेलबाट भ्रुण तयार गरी मानव विकास एवं कतिपय रोगव्याधी निवारण गर्न सकिन्छ कि भनेर अनुसन्धानरत छ । क्लोनिङ प्रविधि अपनाई संकटापन्न वा अस्तित्वमा नरहेका पशुपंक्षीको विकास, संरक्षण एवं सम्वद्र्धन गर्न सकिने आशा पलाएको छ । सन् १९९६ मा पहिलो पटक डली नामक भेडा क्लोनिङ प्रविधिबाट विकसित गरिएको थियो भने हालसम्म चेपागाँडा, माछा, गाई, मुसा, बिरालो, सुँगुर, बाँदर आदि गरि अनेकथरिका जनावरहरु उत्पादन गरिसकेको छ । पशुपन्छी एवं मानिसको हकमा यस अघि प्राकृतिक रुपमा यौनसम्पर्क बिना र कृत्तिम गर्भाधान प्रक्रियामा डिम्ब र शुक्रकीटको मिलन नगरिकन सन्तान वृद्धि सम्भव थिएन । तर क्लोनिङ भनेको प्राकृतिक गर्भधारण वा जुम्ल्याहा बच्चाबच्ची पाउने प्रविधि भनेर गलत अर्थ लाग्न सक्छ । तर वास्तविकता त्यो होइन । क्लोनिङ प्रविधिबाट नयाँ वा आशातित डीएनए विकसित गर्न सकिने भएपछि जुनसुकै जीवजन्तु विकास गर्न सकिने भयो । वनस्पति जगतमा सदियौंदेखि क्लोनिङ प्रविधिको उपयोग भैरहेको भएपनि प्राणी विकास (विशेषतः मानिससँग सम्बन्धित) प्रसङ्गमा निकै विवाद छ । कतै विश्वभर हाल वितण्डा मच्चाइरहेको कोरोना भाइरस कुनै उद्धेश्यका लागि कृत्तिम रुपमा तयार गर्दागर्दै ल्याबबाट चुहिएको त होइन भनेर चीनलाई आक्षेप लगाइरहेको बेला यो क्लोनिङ प्रविधि पनि दुईधारे तरबार साबित भएको छ । प्राणी, वनस्पतिको के कुरा वंशानुगत रुपमा दुरुस्तै मानव कोष, तन्तु वा अर्को मानव तयार गर्न सकिने भएपछि के कस्तो बित्यास आउन पनि सक्ला त ? क्लोनिङ प्रविधिबाट निम्तिन सक्ने खतरालाई मध्यनजर गरी विश्वका धेरै देशलाई क्लोनिङ कडा, मध्यम खालको ऐन, कानुन नै तर्जुमा गरेका छन् । समग्रमा अहिलको परिप्रेक्ष्यमा क्लोनिङबाट मानिस नै उत्पादन गर्ने वा बनाउने नियत छैन । मानव जीवनको हकमा क्लोनिङका दुईटा उपयोग मध्ये उपचारात्मक क्लोनिङ अन्तर्गत चिकित्सा क्षेत्रमा क्लोनिङ प्रविधिबाट विकसित कोष, तन्तुमा औषधिको प्रभावकारिता परीक्षण गर्न तथा मानव अङ्ग प्रत्यारोपणमा पनि फाईदा पुग्छ कि भनेर अनुसन्धान प्रक्रियामा रहेपनि मेडिकल प्राक्टिसमा भने आईसकेको छैन । र, प्रजनन् क्लोनिङ अन्तर्गत वास्तवमै पूर्णरुपमै अर्को मानिस बनाउने प्रक्रिया प्रतिबन्धित सरह छ । तर, पशुपालन क्षेत्रमा भने क्लोनिङ प्रविधिको व्यापक प्रयोग भैरहेको छ । मानव क्लोनिङका पक्षपातीहरुले उपचारात्मक क्लोनिङ अन्तर्गत कतिपय विरामी वा मानिसलाई मानव कोष वा अङ्ग आवश्यक भएपनि दाता नभेट्टाइरहेका बेला, कतिपयको मानव अङ्ग प्रत्यारोपणपछि स्टेरोइड लगायतका औषधि सेवन गरिरहनु पर्ने बाध्यता हटाउन, बुढ्यौलीको प्रक्रिया ढिला पार्न वा रोक्न, निःसन्तान दम्पत्तिले आफ्नै शारीरिक कोषबाट सन्तान उत्पादन गर्न किन नपाउने भन्ने दाबी गरिरहेका छन् भने यस प्रविधिका विपक्षीहरुले मानव क्लोनिङ प्रविधि विभिन्न कारण मानव जगत्को लागि अभैm सुरक्षित भैनसकेको र यसको गलत प्रयोग हुनसक्ने चिन्ता प्रकट गरेका छन् । तिनीहरुले क्लोनिङ प्रविधिबाट जन्मिएका मानिसहरु परिवार, समाजमा कसरी घुलमिल हुन सक्ला आशंका नै रहेको बताउँछन् । जापानी अनुसन्धानकर्ताहरुले ८ वर्ष लगाएर गरिएको एक अनुसन्धानबाट क्लोनिङट विकसित जनावर बढी स्वस्थ्य र प्राकृतिक तवरबाट जन्मिए भन्दा कति पनि फरक नरहेको निष्कर्ष निकाले पनि, अमेरिकी खाद्य प्रविधिले भलै क्लोनिङ प्रविधिबाट उत्पादित पशुपंक्षीजन्य खाद्यवस्तु सेवन गर्न स्विकृति दिएपनि क्लोनिङ प्रविधिका विरोधीहरुले ती उत्पादनहरु मानव स्वास्थ्यको लागि हानीकारक रहेको दाबी गरिरहेका छन् । के तपाईंले जुरासिक पार्क नामक हलिउड चलचित्र हेर्नु भएको छ ? त्यस चलचित्रमा देखाइए जस्तैसंसारबाट लोप भैसकेको डाइनोसार, म्यामोथ भनिने भीमकाय जीवजन्तुहरु क्लोनिङ प्रविधिबाट भटाभट उत्पादन गर्न थालिए भने यसको फाईदा वा हानीलाई सोच्नै पर्ने हुन्छ । संकटापन्न वा लोप हुन लागेका पशुपंछीको उत्पादनको मामिलासम्म नरम विचार हुन सकिएला कि ? कहिलेकाहीँ चिडियाखाना वा जंगलबाट गल्ती शहर छिरेको बाघ, भालु वा गैंडाबाट त्राहीमाम हुनुपरेको अवस्थामा डाइनोसार, म्यामोथ वा हलिउड चलचित्र अवतारमा देखाइए जस्तो उड्ने पंक्षी विकसित गरि तिनीहरुलाई स्वतन्त्र छाडिदिने हो भने जे पनि वितण्डा निम्तिन सक्छ । हाल क्लोनिङ प्रविधिको सफलता दर ९.४ प्रतिशत (बढीमा २५ प्रतिशतसम्म) छ । त्यो पनि मुसा जस्ता परिचित खालको जनावरको हकमा । जंगली जनावरको हकमा क्लोनिङको सफलता एक प्रतिशत पनि छैन । वर्तमान परिस्थिति जे जस्तो भएपनि भविष्यमा काम लाग्ला कि कुनै अर्को चमत्कार प्रविधि विकसित होला कि भन्ने आशाले अमेरिका तथा विश्वका अन्य देशहरुमा विश्वबाट लोप भैसकेका, लोप प्रायः भैसकेका वा संकटापन्न जीवजन्तुहरुको कोष चिस्याएर भण्डारण गरिराखेको छ । स्टेम सेल मानौं तपाईसँग भएको ठिक्कको काठको मुढा छ । उक्त मुढालाई सिकर्मीलाई देखाउनु भयो भने कुनै मेच, टेबुल बनाउने सोच्ला । गृहिणीले उक्त मुढा चिरेर दाउरा बनाएर खाना पकाउने, काष्ठकलाकारले कुनै उत्कृष्ट मूर्ति बनाउने सोच राख्ला, रेष्टँुरावालाले आकर्षक बस्ने सिट बनाउने सोच्ला । आखिर मुढा त मुढा नै हो नि, विकल्प कति धेरै रहेछन् त ? हो, स्टेम सेललाई ठ्याक्कै बुझाउने नेपाली शब्द नभएपनि स्टेम सेल बीउ कोष जस्तै हो तर यसबाट जुनस ुकै खालको कोष निर्माण गर्न सक्षम खालको हुन्छ । स्टेम सेल थेरापीबाट चिकित्सा विज्ञानमा कुनै रोग विशेष वा स्वास्थ्य समस्या निको पार्ने वा रोकथाम गर्न सकिएला भन्ने कुरामा अनुसन्धानकर्मीहरु लागिपरेका छन् । खासगरी हड्डी भित्रको रक्तमासी वा बोसोबाट निकालिएका यस्ता खालका स्टेम सेलहरु बढी प्रयोगमा आईरहेपनि विगत केही समयदेखि भर्खरै जन्मेका शिशुको नाभीबाट संकलित रगत पनि यसको लागि उपयोग गर्न सकिने भएको छ । स्वास्थ्य बीमा जस्तै पछिल्लो समय नाभीको रगत भविष्यको लागि संचय गरिराख्ने बैंकको अवधारणा ल्याई विकसित देशहरुका साथै भारतमै पनि राम्रो व्यापार गरिरहेको छ । हालसम्म रक्तजन्य क्यान्सरमा रगतजन्य स्टेम सेल प्रत्यारोपण गरि सफलता हात लागिरहेको छ । यसको अलावा स्नायु सम्बन्धी, मधुमेह, मुटुको रोग, निःसन्तान, एचआईभी÷एड्स, अन्धोपन, बहिरोपना, तालुको समस्या, मस्तिष्काघात, सुषुम्ना नलीको चोट, बाथको समस्या, क्यान्सर, अल्जाईमर्स (बिर्सिने रोग), पार्किन्सन्स आदि क्षेत्रमा पनि स्टेम सेल थेरापीको प्रभावकारिता सम्बन्धी व्यापक अनुसन्धान भैरहेको छ । माथि दाउराको उदाहरण दिए जस्तै मेजेन्काइम स्टेम सेलबाट हाडजोर्नी र मांसपेशी सम्बन्धी हड्डी, कुरकुरे हड्डी, हड्डी र मासु जोड्ने बाक्लो तन्तु (लिगामेन्ट र टेन्डन), मांसपेशी, स्नायु बनाउन सकिने रहेछ । स्टेम सेल थेरापीमा समस्याग्रस्त कोष (अङ्ग) मा को उपयुक्त स्टेम सेल प्रत्यारोपित गरिन्छ र समस्याग्रस्त कोषको पुननिर्माण हुँदै जान्छ । क्लोनिङ प्रविधि विवादास्पद भए जस्तै कृत्तिम गर्भाधान प्रविधि अपनाएर तयार गरिएको भ्रुणका स्टेम सेलको पनि चिकित्सकीय उपयोगिता भएपनि विवादरहित भने छैन । त्यसैले स्टेम सेल थेरापी र क्लोनिङ प्रविधिलाई गर्भपतनकै स्तरमा राखेर आलोचना गर्नेको कमी छैन ।
