IMG-LOGO

कोरोना अनुभव - कोभिडमा लिट्मस भूमिका

 मंगल, सावन १९, २०७८  - प्रा.डा. सुमनराज ताम्राकार

      खेलकूद क्षेत्रमा सबैभन्दा एक्लो महशुश गर्ने खेलाडी को हो थाहा छ, तपाईंलाई ? पेनाल्टी किक सामना गर्न लागेको गोलरक्षक । त्यो क्षण उर्पm पेनाल्टीका बेला आफ्ना सहकर्मीहरुले चाहेर पनि सघाउन सक्दैनन् । कोरोना त पेनाल्टी भन्दा डेन्जर रहेछ । एक्लै, एक्लै बिताएँ एचडीयू सारेदेखिका दिनहरु । राउण्डमा आउने डाक्टरहरु, औषधि बाँड्न वा सूई दिन आउने नर्सहरु, अभ्यास सिकाउन आउने फिजियोका स्टाफहरु बाहेक अन्य कोही भेटघाट गर्न आउने स्थिति थिएन । त्यसो त मेरा आफन्तहरु, शुभचिन्तकहरु, सामाजिक सञ्जालमा लाईक ठोक्नेहरुको खासै कमी थिएन, तर कोभिड संक्रमित हुँदा यसको केही अर्थ नलाग्ने रहेछ । अस्पताल बसाईका फुर्सदिला क्षणहरु, वाक्किउका पलहरु कहिले सिलिङ पंखा हेरेर, सलाईनका थोपा थोपा गरेर, मनिटरमा अक्सिजन अनि मुटुको चाल, रक्तचाप हेरेर, अस्पतालको भ्mयाल बाहिर रोपाईंको अनि चराका क्रियाकलाप हेरेर, सफाईकर्मी अनि अक्सिजन सिलिण्डर डेलिभरी गर्न आउने व्यक्तिहरुको खटाई हेरेर ।       चीनको वुहानबाट शुरु यो महाव्याधी नेपालमा आईपुगेको करिब ५०० दिन पछि कोरोना भाईरसले (कतिचोटी काँचुली फेरिसकेको) संक्रमित भइयो । कसरी सर्‍यो, कहाँबाट सर्‍यो केही भेउ पाईएन । कोरोना संक्रमणले शिथिल भई बेडमा पल्टिरहँदा आफ्नो मथिंगलमा आपूmलाई कहाँबाट संक्रमण सर्‍यो होला भन्ने कुराको सम्भावित ठाउँहरु, आफ्नै सम्भावित व्यवहारहरु रिवाईन्ड एण्ड प्ले गर्न खोजें, तर वी पी कोइरालाको शत्रु कथा जस्तो साबित भएपछि हैट ... भनेर सोच्नै छोडें ।       एकातिर आफ्नो कर्म स्वास्थ्यसेवा, कर्मथलो अस्पताल अनि कोभिड व्यवस्थापनको सिलसिलामा अनगिन्ती मानिसहरुसँग जनसम्पर्कमा रहिरहनुपर्ने कारण यो दोश्रो लहरमा त के पहिलो लहरमै संक्रमित हुनसक्ने सम्भावना निकै थियो । पहिलो लहर पार गरियाथ्यो भनौं या संक्रमण लागेर पनि पहिचान नभएको हो, दैव जानुन् । अर्कोतिर, यो पटक कोरोना विरुद्धको खोप वितरणको शुरुवाती चरणमै कोभिशिल्ड खोप लगाईसकेकाले संक्रमण नहोला भन्नेमा ढुक्कै थिएँ । मेरो यो आत्मविश्वास या दृढता पानीको फोका साबित भयो । दुई डोज कोभिशिल्ड खोप लगाएको भन्दैमा कोरोना संक्रमणका विरुद्धको एसएमएस (स्यानिटाईजर/साबुन, मास्क, सामाजिक दूरी) अभियानलाई नजरअन्दाज गरेको थिईनँ । तर यसो त्यसो कोभिडबाट संक्रमित भइयो ।       म मात्रै होइन, परिवारका चारै जना संक्रमित भयौं । हामी चारजनाका लक्षण चिन्हहरु फरक फरक थियो, त्यसैले पनि कोभिड नै होला भन्नेमा शंकै थियो । तर पनि शंकास्पद लक्षण चिन्हहरु देखिएको केही दिनमै पीसीआर टेष्टिङ गर्न गयौं । स्वाब दिईवरी नतिजा आउने समय हुनै लाग्दा मुटुको धड्कन चितुवाको गतिमा बढ्दै जाने रहेछ, उ बेला रेडियो नेपालबाट एसएलसीको नतिजा प्रकाशन भयो भन्ने बिहानको समाचार सुनेदेखि गोरखापत्र हातमा नपरेसम्मको नियति हुने रहेछ । आखिरमा कोभिड परीक्षणमा पोजिटिभ देखियो, एसएलसी भाकामा ब्याक लाग्यो । मानवीय जीवनमा हरेक कुरामा पोजिटिभ हुनु राम्रो कुरा होइन रहेछ, कोभिड पोजिटिभ भएपछि यही कुरा मनन गरें, मैले ।       पीसीआर रिपोर्ट पोजिटिभ आएको एकाध दिन घरमै आईसोलेनमै रह्यौं । तर घरभित्रको माहौल बेहाल थियो । पटक पटक एकले अर्कोलाई कस्तो छ, गाह्रो भैरहेको छ भनेर सोध्दा खासै छैन भनेर झुठै सही आश्वस्त पाथ्र्यौं । पल्स अक्सिमिटर मेशिनले शरीरमा अक्सिजनको मात्रा नाप्ने क्रममा ९४ भन्दा कम देखिएमा हाम्रो अनुहार निचोरिएको कागती जस्तो हुन्थ्यो । शरीरमा अक्सिजनको मात्रा ठिकै देखिएपनि तीन दिन पछि खप्न सकिएन । जे गरेपनि, जुनसुकै औषधि खाएपनि छटपटी उस्तै भएपछि एम्बुलेन्स बोलाएर इमर्जेन्सीमा गएँ, घरका अन्य सदस्यलाई त्यत्तिकै छोडेर । आफ्नो पीडा खपेरै भएपनि ठूलो छोराले ईमर्जेन्सीसम्म पुर्‍याउन आयो । अस्पतालमा नाडीको धमनीबाट रगत निकालेर रगतमा रहेको अक्सिजनको मात्राको विश्लेषण, छातीको सीटी स्क्यानका फोटाहरु उपचाररत मेडिसिनका रेजिडेन्ट डाक्टरले कति पनि नसोची सिधै आईसीयूमा भर्ना राख्ने निणर्य सुनाइयो । मैले एमबीबीएस पढाएका विद्यार्थीहरु नै अहिले रेजिडेन्ट डाक्टरको रुपमा, फिजिसियनको रुपमा मेरो उपचारमा खटेको देख्दा गौरान्वित भएँ ।       अनि शुरु अनवरत टिंक टिंक मोनिटरको ध्वनि, नाक मुख ढाक्ने गरि अक्सिजन मास्क, सलाईन एवं एन्टीबायोटिकको लागि नशामा क्यानुला सूई, पटक पटक मासुमा सूई । पीडा त मलाई पनि थियो तर आईसीयू भित्र म भन्दा अगाडि उपचाररत विरामीहरुको छटपटी, निस्लोट, शिथिलताको अगाडि मेरो समस्या अलिक कम हो कि जस्तो लाग्यो । यो सापेक्षिकताको सिद्धान्त पनि गजबको हुँदोरहेछ ।       कोभिडको दोश्रो लहरको क्रममा संक्रमित हुने एकाध कर्मचारीहरुमा म पनि एक थिएँ । अस्पतालको लागि म लिट्मस साबित भएँ । लिट्मस थाहा छ नि तपाईंहरुलाई, कुनै पनि रसायन क्षार हो कि अम्ल हो भनेर छुट्याउने । म आपैंmलाई किन लिट्मसको रुपमा लिएको भने पहिलो लहरको बेलादेखि यो काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछापको लागि म कार्यरत अस्पताल लेभल थ्री को कोभिड अस्पताल वा रेफरल अस्पतालको रुपमा सेवारत थियो । यस बीच यस अस्पतालको सेवालाई लिएर हुने गरेको सकारात्मक कमेन्ट, नकारात्मक कमेन्टको प्रत्यक्ष अनुभव गर्ने स्थितिमा थिएँ । एकताका कोभिड विरुद्धको रामवाण साबित रामडेसिभिरको हाहाकारसँगै शुरु भएको दोश्रो लहरकै उत्कर्ष तिरको अक्सिजन अनि सिलिण्डरको हाहाकार मत्थर हुन नपाउँदैमा आईसीयू, एचडीयूमा भर्ना हुनुपर्दा मनको कुना चिसो भने पसेको थियो ।       कुनैपनि व्यक्ति अस्पतालमा भर्ना हुनु भनेको ती व्यक्ति मात्र नभई परिवारजनको दैनिकीमा व्यापक उथलपुथल आउनु हो । औषधि किन्नै पर्‍यो, विभिन्न खाले परीक्षणहरु गराउनै पर्‍यो, भर्नारत विरामीलाई कुरुवा बस्नै पर्‍यो, आलोपालो गर्नैैपर्‍यो, खाना पुर्‍याउनै पर्‍यो । यावत कुरा माथि लकडाउनका कारण सार्वजनिक यातायात नचल्नाले पुर्‍याएको थप कठिनाई छँदैछ । बेलैमा स्वास्थ्यबीमा गरिराखेको कारण तथा दोश्रो लहरमा भर्नारत संक्रमितको उपचार राज्य पक्षबाट व्यहोरेका कारण निकै सहज भयो ।       अभावका बीच पनि अनवरत रुपमा रामडेसिभिरका साथै इनोक्सापारिन, डेक्सामेथासोन, आवश्यक एन्टीबायोटिक अनि अक्सिजन पाउन कुनै समस्या भएन । म कार्यरत अस्पतालको शुरु देखि नियम नै थियो, भर्नारत विरामीलाई दैनिक चार खेप खाना, खाजा पुर्‍याउने कार्य । कोभिड संक्रमण सर्ला कि भन्ने डरमरलाई कतिपनि चिन्ता नगरि खाना, खाजा पुर्‍याउने कार्य जारी नै राखेका थिए किचनका स्टाफहरु । आफ्नो भोक प्यास, दिसा पिसाबलाई वास्तै नगरि पीपीई लगाएर दैनिक राउण्ड अनि औषधि वितरण, ब्लड प्रेसर, स्याचुरेशन नाप्नका लागि आउँथे डाक्टर, नर्सहरु । अघिपछि डाक्टरको रुपमा आपूmले उपचार दिइरहेको विरामीहरुको राउण्ड लिन जाँदाको दृश्य र आपैंm विरामी भएर बेड पल्टिरहँदा राउण्डमा आउने डाक्टर, नर्सहरुको परिदृश्य १८० डिग्रीले फरक देखिँदो रहेछ । अनुभवी नर्सले ढाडसयुक्त परामर्श दिन आउँदा, फिजियोथेरापिस्टले अभ्यास सिकाउन आउँदा, डाक्टर नर्सले उपचार सम्बन्धी आवश्यक सल्लाह दिन आउँदा म आपैंm डाक्टर हो नि भन्ने छु मन्तर हुँदोरहेछ ।       नढाँटिकन भन्नुपर्दा कोरोना सेवा केन्द्र भनेर छुट्याइराखेको अलग्गै भवनमा यस अघि संक्रमित व्यक्तिको सिजेरियन अपरेशन गर्न आउँदा, भर्नारत संक्रमित विरामीहरुको राउण्ड लिन आउँदा, संचारकर्मीहरुलाई हामीले पुर्‍याईरहेको सेवाको दृश्यांकन गर्न ल्याउँदा मनमा सिक सिक लागेको थियो । तर मेरो ५ दिन आईसीयू अनि एचडीयूको बसाईमा त्यहाँ ड्युटीमा आउने डाक्टर, नर्स, सफाईकर्मी, किचन स्टाफ, फिजियोथेरापिस्टको व्यस्तता देख्दा म गलत रहेछु भन्ने आत्मसात गरें । यस अघि दैनिकजसो बिहान ड्युटीमा आउँदै गरेका तथा साँझ घर फिर्दै गरेका स्टाफहरु बोकेको स्टाफबसको दृश्यलाई निकै सामान्य लिने गरेको थिएँ तर यो सही रहेनछ । बिहानको स्टाफबसमा कोरोनारुपी शत्रुसँग भिड्नका लागि आउने लडाकूहरुको जमात रहेछ भने साँझ दिनभरको ड्युटीबाट लखतरान भई घर फिर्नेहरुको जमात रहेछ । दोश्रो लहरमा किन हो सबैजसो अस्पतालकर्मीहरु आत्मविश्वास देखिएका थिए । शायद अलिकति बाध्यता, अलिकति अनुभव, अलिकति सेवाभावले काम गरेको हुनुपर्छ । तर यति भन्दाभन्दै यो दोश्रो लहरमा अथक प्रयास गर्दागर्दै, अक्सिजन सीपीआर (कार्डियोपल्मनरी रिससिटेशन) दिँदादिँदै विरामीहरु सिकिस्त हुँदै गरेको, आफ्नै आँखा अगाडि पुकुपुकु मर्दै गरेको दृश्यहरु मनमा, मुटुमा, आँखामा साँच्दै ड्युटी सिध्याएर स्टाफबसमा घर फर्किंदै गरेका स्वास्थ्यकर्मीहरुको मानसपटलमा के कस्तो कुरा डेरा जमाएको होला, अनुमान मात्र लगाउन सक्छौं । यस्तो मनोदशामा राती कसरी आनन्दले सुत्न सकिन्थ्यो र ? अर्धनिद्रामै, अधमरो अवस्थामै भोलीपल्ट ड्युटीमा आउने बेला भईसक्थ्यो ।       कोभिशिल्ड दुई दोज लगाईसकेको कारण शायद मलाई पनि डेल्टा भेरिएन्टले संक्रमण गरेको हुनुपर्छ । तर आफ्नो वा अन्यको हेलचmयाईंले म आपूm संक्रमित हुन पुगेकोमा कति पनि ग्लानी यसकारण छैन कि मैले म कार्यरत अस्पतालको, अस्पतालकर्मीको अनि मेरो आफ्नै सोचको टेष्ट गर्ने लिट्मसको भूमिका निभाउन पाएँ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्