‘सर, यो हप्ता कोभिड डेडिकेटेड सेन्टरमा कसको ड्युटी ?’ ‘मेरो, किन ?’ ‘भोली सिजेरियनको लागि भनेर भर्ना गरेको केसको पीसीआर रिपोर्ट पोजिटिभ निस्क्यो ।’ ‘ठिक छ, होल्डिङ एरियाबाट त्यो केसलाई तल कोभिड डेडिकेटेड सेन्टरमा शिफ्ट गराउनु, र भोली अपरेशनको लागि सबै चाँजोपाँजो मिलाउनु ।’ ‘हस् सर’ (कोभिड १९ को दोश्रो लहरसँगै अधिकतर शंकास्पदको पीसीआर रिपोर्ट पोजिटिभ आउन थालेबाट केही दिन अगावै देखि हामीले जुनसुकै उद्धेश्यले अस्पतालमा भर्ना गरेको विरामीको पीसीआर रिपोर्ट नआएसम्म होल्डिङ एरियामा राख्ने गरेका थियौं । त्यसो त कोभिड १९ को दोश्रो लहरलाई नियन्त्रणमा राख्न सकियोस् भनेर परीक्षण शुल्क ५०० मात्र कायम गर्नुका साथै आर्थिक रुपमा आपूm विपन्न भएको स्वघोषणा गर्ने व्यक्तिलाई निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएका थियौं ।) अन्य समयमा गर्भवती महिलालाई प्राथमिकतामा राखी तिनीहरुको अपरेशन शुरुवातीमा गथ्र्यौं । तर अपरेशन टिममा सहभागी हुने एनेस्थेटिस्ट एवं उनका सहयोगीहरुका लागि पीपीई लगायतका सामाग्री किफायती होस् भन्ने उद्धेश्यले आईसीयूमा राउण्ड सके लगत्तै अपरेशन थाल्ने निणर्य भयो । ठिकै हो जस्तो लाग्यो । यस अघि सिजेरियनबाटै बच्चा पाएकी महिला यो पटक ३७ हप्ता पूरा गरिसक्ने क्रममा गर्भ भित्रको शिशु कम चलेको तथा शिशु वरिपरि पानीको मात्रा सामान्यतः भन्दा घटेको कारण अनिष्ट नहोस् भनेर सिजेरियन अपरेशन दोहोर्याउनु पर्ने बाध्यता आईलागेको थियो । कोभिड १९ को पहिलो लहरमा पनि कोभिड पोजिटिभ केस स ुत्केरी हुने तथा सिजेरियनबाट बच्चा पाउने गरेको थियो । तर यो पटकको समस्या अलि चर्को छ । चीनको वुहानमा देखिएको भाईरस भन्दा यो पटकको भाईरस (?म्युटेन्ट) का कारण रोग सर्ने दर बढी छ । करिब ११ बजे (बिहान) तिर मेरा पोष्टग्राजुएट सहकर्मी डा. नविन पाण्डेले ‘सर, अबको १५ मिनेटमा एनेस्थेटिस्ट आईपुग्ने जानकारी छ, हामी पनि पुग्ने हो कि ?’ ‘हुन्छ, म आउँदैछु ।’ म कार्यरत धुलिखेल अस्पतालको हाम्रो आफ्नै भवन छुट्टै रहेका कारण त्यसैलाई कोभिड डेडिकेटेड सेन्टरका रुपमा परिणत गरिएको थियो । केवल एक हप्ताको अन्तरालमै त्यो भवन भित्र पस्दाको अनुभूति अन्य बेलामा भन्दा नितान्त फरक पाएँ । जोखिम छ, थाहा छ । मनमा आपैंm संक्रमित भईएला कि भन्ने डर छ । तर पनि जोखिम र डर भन्दा आफ्नो जिम्मेवारी, मानवियता एवं मेडिकल ईथिक्सलाई प्राथमिकता राखें । आफ्नो धर्म निभाउन गएँ । डनिङ एरिया (पीपीई लगायतका पोशाक लगाउने क्षेत्र) मा पुगेपछि मेरो लागि पनि ओटी ड्रेस, पीपीई सेट, त्यसमाथि थप प्लाष्टिक कभर, बुट ठिक्क पारेर राखेको थियो । त्यहाँ डयुटीमा रहेका नर्सबाट आवश्यक निर्देशनहरु पाएँ । संक्रमण नियन्त्रणका सम्पूणर् सिद्धान्त पालना गरी अपरेशनका लागि तयार भएँ । मनमा कुत्कुती लाग्यो, म कस्तो देखिएँ होला, यो पूरा पोशाकमा ? त्यहाँ रहेका सिस्टर ईन्चार्जलाई उनकै मोबाइलबाट एक दुई वटा फोटो खिच्न लगाएँ । अनि आपूmले लगाएर गएको लुगा, जुत्ता, अपरेशन सकेपछि नुहाउनको लागि आवश्यक स्याम्पु र टावेल एउटा झोलामा राखी, झोलाको बाहिरपट्टि आफ्नो नाम लेखेर झोला लिई अपरेशन थियटर तर्पm लागें । अपरेशन थियटर पुग्नु अगावै प्यासेज, भर्याङमै झोला छाडी लिफ्ट मार्पmत् अपरेशन थियटर भएको फ्लोरमा आएँ । सिजेरियन अपरेशन गर्नुपर्ने विरामीलाई ढाड मुनि लट्ठयाउन ठिक पारेको रहेछ । स्क्रब गर्ने (हात धुने) एरियामा गई अल्कोहल झोलले हात धोई अपरेशन कोठामा छिरें । एसिस्टिङ नर्सले ओटी ड्रेस लगाई दिईन् । यसरी मेरो शरीरमा चार पत्र कपडा भयो । अपरशेन कोठा भित्र एसी चलाउन वर्जित थियो । चिसो बनाउने विकल्प थिएन । बिस्तारै शरीरमा पसिना निक्लिन थाल्यो । ओहो ऽ एन९५ मास्क माथि एउटा अर्को मास्क लगाई टेपले टाँसेको थिएँ । त्यसमाथि गगल्स अनि भाईजर लगाएको थिएँ । एन९५ मास्कको कसिलो डोरीले नाकको डाँडीमा अचाक्ली पीडा हुन थाल्यो । सबै पीडा बिर्सी अपरेशन थालें । अन्य बेला एउटा सिजेरियन अपरेशन गर्न २५ देखि ३५ मिनेट लगाउँथें । तर संक्रमण नियन्त्रणका अधिकतम उपाय अपनाउँदै, पटक पटकको बाफिएको भाईजर एवं गगल्सको सामना गर्दै करिब ५५ मिनेटमा अपरेशन सिध्याई ओटी गाउन त्यहीँ फुकाली ओटीबाट बाहिर निस्कें । आमा र नवजात शिशु स्वस्थ रहेको जानकारी पाएँ, एनेस्थेटिस्ट एवं पेडियाट्रिसियनबाट । सुत्केरी आमाले सुत्केरी हुने समयसम्मको पीडा बिर्से जस्तै मैले पनि अघि न को सबथोक पीडा बिर्सें । लिफ्टबाट माथिल्लो फ्लोरमा आई डफिङ एरिया (लुगा फुकाल्ने क्षेत्र) मा आई सबैभन्दा भित्रको ओटी ड्रेस र अण्डरवेयर बाहेक पीपीई लगायतका बाहिरी कपडा, बुट, गगल्स, क्याप, भाईजर पटक पटक स्यानिटाईजर लगाउँदै फुकालें र स्नान कक्षमा पस्नुपूर्व ओटी ड्रेस फुकालें र, ती कपडाहरु लण्ड्री पठाउने ठाउँमा होशियारीपूर्वक राखी नुहाएँ । त्यसपछि आफ्नै लुगा लगाई घर फर्कें । घरमा आई फेरि एकपटक नुहाएँ । साँझ आमा र बच्चाको स्वास्थ्य अवस्था फोनबाट बुभेंm । सबै ठिक छ भन्ने अपडेट पाएँ । कोरोना जस्तो महामारी पैmलिरहेको बेला पर्ख, भोली गरुँला, पछि गरौंला भन्न नमिल्ने कुरामा प्रसुती सेवा पनि पर्दछ । विश्वभरिका प्रसुती रोग विशेषज्ञ, मिडवाईफ, अन्य चिकित्सक, नर्स, सफाईकर्मीको पनि आ-आफ्नै अनुभूति होला । तर मैले यो पटकको कोभिड १९ यसरी अनुभूति गरें । भोलीपल्ट सिस्टर ईन्चार्जले फोटो पठाई दिईन् । केही वाक्य सहित फेसबुक र ट्विटरमा दुईटा फोटो अपलोड गरेको क्षणभरमै थुप्रै कमेन्ट सहितको लाईक पाएँ । ट्विटरमा यस अघि ८,१० लाईक बाहेक पाउँदिन थिएँ, तर यो पटकको मेरो कर्मले धेरैको मन छोयो क्यार झण्डै ४०० लाईक पाएँ, कतिपयले रिट्विट गरे, कतिपयले यसै बहानामा मलाई फलो गरे । कोरोना भाईरसका कारण सामाजिक सञ्जालमा म पनि छोटोमोटो भाईरलै हुन पुगें । कर्मको फल मिठो हुँदो रहेछ । मेरो यो कमिटमेन्टका कारण सारा स्वास्थ्यकर्मीहरुले नै जस पाउने कमेन्ट पाएँ । धन्य भएँ । सबैको जय होस् ।
