अघिल्लो अंकमा उल्लेख प्रसङ्गसँगै यहाँ उठाउन लागिएको अर्को विषय हो, हेमोडायलाइसिसका लागि प्रयोग हुने फिस्टुला असफल हुँदै गएमा प्रभावित व्यक्तिको फिस्टुला पुनः मर्मत गरि कसरी आशा जगाउने त ? त्यसैपनि दीर्घ खालको मिर्गौला रोग अनि तारन्तारको डायलाइसिसले शारीरिक, मानसिक एवं आर्थिक रुपमा थिलथिलो भैसकेको बेला एभी फिस्टुला पनि फेल खान जानाले प्रभावित व्यक्ति झन् समस्यामा पर्न जान्छ । हाल नियमित रुपमा हेमोडायलाइसिस गराइरहेका बिरामीहरुले अब बिग्रिन लागेको एभी फिस्टुला बचाउने शल्यक्रिया (अर्थात् एभी साल्भेज सर्जरी) सेवा नेपालमै उपलब्ध भएको छ । यो विशेष सेवा धुलिखेल अस्पतालमा उपलब्ध छ । यस अघि वा अधिकतर ठाउँमा विद्यमान एभी फिस्टुलामा कुनै गम्भीर समस्या आएको खण्डमा वा फिस्टुलाले काम गर्न छोडेको खण्डमा नयाँ भास्कुलर एक्सेस बनाउने गरिन्थ्यो । एभी फिस्टुला बचाउने शल्यक्रिया सेवाको मुख्य उद्धेश्य सम्भव भएसम्म बिरामीको विद्यमान फिस्टुलालाई जोगाउनु हो । समस्या देखिने बित्तिकै फिस्टुलालाई त्यागेर नयाँ फिस्टुला (पहुँच) बनाउनुको सट्टा भास्कुलर सर्जनहरुले समस्याको मूल कारण पहिचान गरी फिस्टुला मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन सकिन्छ कि सकिँदैन भन्ने निक्र्यौल गर्दछ । विद्यमान फिस्टुला किन असफल भइरहेको छ भन्ने आधारमा एभी फिस्टुला बचाउने शल्यक्रियाको क्रममा विभिन्न शल्य प्रविधि अपनाइन्छ । जस्तै फिस्टुलामा जमेको वा थेग्रिएको रगतको ढिक्का हटाउने, साँघुरिएको रक्तनली –फिस्टुला) को भाग सुधार गर्ने, फिस्टुलाको पुनःनिर्माण गर्ने वा फिस्टुलासँग सम्बन्धित एन्युरिज्म लगायतका अन्य जटिलताको शल्यक्रियामार्फत् सुधार गर्ने जस्ता उपचार विधि गरिन्छ । बिरामीको चिकित्सकीय मूल्यांकको क्रममा आवश्यकता अनुसार रक्तनलीको इमेजिङ (अल्ट्रासाउण्ड वा एमआरआई) गरि उपयुक्त उपचार विधि निर्धारण गरिन्छ । एभी फिस्टुला बचाउने शल्यक्रिया सेवामा संलग्न अनुभवी एक डायलाइसिस नर्सका अनुसार ‘बिरामीको विद्यमान रक्तनलीको पहुँच (भास्कुलर एक्सेस) लाई जोगाउनु अत्यन्त महत्वपूर्ण हो । किनकि राम्रोसँग काम गरिरहेको फिस्टुलामा समस्या आएको खण्डमा यसलाई पुनःनिर्माण गर्न सकेको खण्डमा फेरि लामो समयसम्म भरपर्दो डायलाइसिस एक्सेस (पहुँच) प्रदान गर्न सक्छ । र, नयाँ एक्सेस (पहुँच) बनाउनुपर्ने पटक–पटकको झन्झट प्रक्रियाबाट पनि बचाउन सक्छ ।’ डायलाइसिस गराइरहेका बिरामीका लागि समयमै उपचार गर्नु विशेष रुपमा महत्वपूर्ण हुन्छ । फिस्टुला असफल हुँदै गएको अवस्थामा डायलाइसिसका क्रममा रक्तप्रवाह कम हुनु, पर्याप्त डायलाइसिस हुन नसक्नु, सुई निकालेपछि लामो समयसम्म रगत बगिरहनु, हात सुन्निनु वा फिस्टुलामाथि सामान्य रुपमा महसुस हुने थ्रिल (रक्तप्रवाहका कारण महसुस हुने कम्पन) मा परिवर्तन आउनुजस्ता लक्षण देखिन सक्छ । सम्बन्धित शल्यचिकित्सकहरुका अनुसार यस्ता परिवर्तन देखिएमा फिस्टुलाले पूर्ण रुपमा काम गर्न छोडुन्जेल पर्खनु हुँदैन । समयमै चिकित्सकीय चेकजाँच गराउँदा विद्यमान फिस्टुलालाई बचाउन सकिने सम्भावना बढ्छ । यो नयाँ एवं विशेष सेवा डायलाइसिस उपचारमा रक्तनलीको पहुँच (भास्कुलर एक्सेस) संरक्षण गर्ने व्यापक अवधारणा अन्तर्गतको महत्वपूर्ण कदम पनि हो । बिरामीको आफ्नै रक्तनलीबाट बनेको पहुँचलाई सुरक्षित राख्न सक्दा अस्थायी डायलाइसिस क्याथेटर (विशेष पाईप) मा निर्भरता कम गर्न सकिन्छ । पटक–पटक नयाँ रक्तनलीको पहुँच (भास्कुलर एक्सेस) बनाउनुपर्ने तथा त्यससँग सम्बन्धित जटिलताबाट पनि बिरामीलाई जोगाउन सकिन्छ । धुलिखेल अस्पतालका भास्कुलर सर्जनहरुका अनुसार यस सेवामा शल्यचिकित्सा दक्षता, डायलाइसिस टोली तथा आवश्यक निदानात्मक (डायग्नोस्टिक) परीक्षण कार्यलाई एकीकृत गरी फिस्टुला जोखिममा परेका वा पहिले नै असफल भएका बिरामीलाई समन्वयात्मक उपचार प्रदान गरिन्छ । दीर्घकालीन मिर्गौला रोगका कारण लामो समयसम्म हेमोडायलाइसिस गराउनुपर्ने बिरामीका लागि एभी फिस्टुला बचाउने शल्यक्रिया केवल अर्को एउटा शल्य उपचारको विकल्प मात्र होइन । यसले डायलाइसिसका लागि पहिले नै स्थापित महत्वपूर्ण रक्तनलीको पहुँचलाई जोगाउने र शिघ्र उपचारलाई निरन्तरता दिन सक्ने अवसर प्रदान गर्न सक्छ । सम्बन्धित अस्पतालले यस विशेष सेवाको विस्तार गर्दै जाँदा चिकित्सकहरुले बिरामी तथा स्वास्थ्यकर्मीमा फिस्टुला असफल हुँदै गएको संकेतबारे पर्याप्त जानकारी बढ्ने र समयमै विशेषज्ञकहाँ रेफर गर्ने प्रवृत्ति बढ्ने आशा गरेको छ । किनकि फिस्टुला पूर्ण रुपमा बन्द हुनुअघि नै उपचारका लागि ल्याउन सकिएमा त्यसलाई बचाउने सम्भावना अझ बढी हुन सक्छ ।
