IMG-LOGO

विश्व हेपाटाइटिस दिवस २०२६ विशेष, हेपाटाइटिसबारे भ्रम चिरौं

 मंगल, सावन १२, २०८३  प्रा.डा. सुमनराज ताम्राकार

    प्रत्येक वर्ष जुलाई २८ का दिन अर्थात् आज विश्वभर विश्व हेपाटाइटिस दिवस मनाइन्छ । परीक्षणका चुनौतीहरु हटाएर, परीक्षण सहज बनाएर र सामाजिक विभेद रोकेर ‘हेपाटाइटिसविरुद्धको भ्रम चिरौं’ भन्ने नाराका साथ विश्व स्वास्थ्य संगठनले सन् २०२६ मा उक्त दिवस मनाईंदैछ । नेपालजस्ता विकासोन्मुख देशका लागि यो नारा अझ बढी सान्दर्भिक छ, जहाँ जनचेतनाको कमी, परीक्षणमा सीमित पहुँच र सामाजिक कलंक मान्ने कारण धेरै बिरामी ढिलो गरी मात्र स्वास्थ्य संस्थामा पुग्छन् । यो केवल एउटा औपचारिक स्वास्थ्य दिवस मात्र होइन, लाखौँ मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने गम्भीर रोगविरुद्धको विश्वव्यापी अभियान पनि हो । कलेजोमा हुने सुजन अर्थात् हेपाटाइटिस समयमै पहिचान र उपचार नभएमा सिरोसिस, कलेजो फेल हुने अवस्था र कलेजोको क्यान्सरसम्म पु¥याउन सक्छ । अझ चिन्ताजनक कुरा त, अधिकतर संक्रमित व्यक्तिलाई आफू संक्रमित भएको थाहा नै हुँदैन, अलि गम्भीर खालका लक्षण चिन्ह नदेखिएसम्म । यही सुषुप्त स्वभावका कारण हेपाटाइटिसलाई साईलेन्ट किलर पनि भनिन्छ । हेपाटाइटिस के हो ?     हेपाटाइटिस भन्नाले कलेजोमा हुने सुजनलाई जनाउँछ । यसको प्रमुख कारण भाइरल संक्रमण हो । हेपाटाइटिस ए, बी, सी, डी र ई गरि भाइरल हेपाटाइटिसका पाँच प्रमुख प्रकार छन् । यी सबैको प्रभाव कलेजोमा पर्छ, तर सर्ने तरिका, रोगको गम्भीरता र दीर्घकालीन असर फरक फरक हुन्छन् । हेपाटाइटिस ए र ई प्रायः दूषित पानी र खानाबाट सर्छन् । कमजोर सरसफाई भएका क्षेत्रमा यी संक्रमण बढी देखिन्छन् । हेपाटाइटिस बी र सी भने अन्य यौनरोग जस्तै संक्रमित रगत, असुरक्षित सुई, असुरक्षित यौन सम्पर्क तथा संक्रमित आमाबाट बच्चामा सर्न सक्छन् । दीर्घकालीन रुपमा कलेजोलाई क्षति पु¥याउने मुख्य कारण यही बी र सी प्रकारका हुन् ।     हेपाटाइटिसलाई सुषुप्त महामारीका रुपमा लिइन्छ । किनकि अधिकतर मानिसमा संक्रमण भएपछि वर्षौँसम्म कुनै स्पष्ट लक्षण देखिँदैन । बिरामी सामान्य जीवन बिताइरहेको हुन्छ, तर कलेजो भित्रभित्रै क्षतिग्रस्त भइरहेको हुन्छ । थकान, भोक नलाग्ने, वाकवाकी, पेट दुख्ने, आँखा पहेँलो हुने, गाढा पिसाब आउने जस्ता लक्षण देखिँदासम्म रोग धेरै अगाडि बढिसकेको हुन सक्छ । यही कारण समयमै परीक्षण अत्यन्त महत्वपूर्ण हुन्छ । विश्व परिवेशमा नेपाल      विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका करोडौँ मानिस हेपाटाइटिस बी र सी  सँग बाँचिरहेका छन् । यसैको जटिलता स्वरुप सिरोसिस वा कलेजोको क्यान्सर भएर प्रत्येक वर्ष लाखौँ मानिसको मृत्यु भईरहेको छ । किनकि हेपाटाइटिस बी र सी दीर्घकालीन प्रकारको हेपाटाइटिस संक्रमण हो । सबैभन्दा ठूलो समस्या भनेको समयमै धेरै संक्रमित व्यक्तिको पहिचान नै नहुनु हो । परीक्षण नभएसम्म संक्रमण पत्ता लाग्दैन, र पत्ता नलागेसम्म उपचार सुरु हुँदैन । नेपालमा हेपाटाइटिस बी र ई विशेष महत्वका जनस्वास्थ्य समस्या हुन् । सुरक्षित खानेपानीको अभाव, स्वास्थ्य सेवामा असमान पहुँच, परीक्षण सुविधाको कमी र जनचेतनाको न्यूनताले समस्या जटिल बनाएको छ । यति भन्दै गर्दा नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटाइटिस बी विरुद्धको खोप प्रदान गर्दै आएको छ । शिशुलाई जन्मेको डेढ महिनादेखि एक महिनाको फरकमा ३ मात्रा मात्रा दिनु संक्रमण रोकथामको अत्यन्त प्रभावकारी उपाय हो । परीक्षण र उपचार     माथि उल्लेख गरे भैंm संक्रमित व्यक्ति शुरुमा लक्षण रहित हुने भएकोले त्यतिकै बस्दा हेपाटाइटिसका सन्दर्भमा खतरनाक हुन सक्छ । विशेष गरी निम्न समूहले नियमित रगत परीक्षण गर्नुपर्छ । स्वास्थ्यकर्मी, पटक पटक रगत लिने बिरामी, डायलाइसिस गराइरहेका विरामी, साझा सुई प्रयोग गर्ने व्यक्ति –जस्तै लागू पदार्थको दुव्र्यसनी), हेपाटाइटिस संक्रमित व्यक्तिको परिवार, गर्भवती महिला एवं एभआईभी संक्रमित व्यक्ति । सामान्य रगत परीक्षणबाट हेपाटाइटिस बी र सी को प्रारम्भिक पहिचान सम्भव हुन्छ । आज धेरै स्वास्थ्य संस्थामा यी परीक्षण उपलब्ध छन् ।     पहिले हेपाटाइटिस सी लाई निको पार्न गाह्रो रोग मानिन्थ्यो । अहिले प्रभावकारी औषधि (एन्टी भाइरल) को प्रयोगले अधिकांश बिरामी पूर्ण रुपमा निको हुन सक्छन् । हेपाटाइटिस बी का लागि पनि उच्चकोटीको एन्टीभाइरल औषधिले भाइरसलाई प्रभावकारी रुपमा नियन्त्रण गर्छन् । यद्यपि धेरै बिरामीलाई लामो समयसम्म औषधि सेवन आवश्यक पर्न सक्छ । उपचारको उद्धेश्य कलेजोको थप क्षति रोक्नु, सिरोसिस र क्यान्सरको जोखिम घटाउनु तथा बिरामीलाई स्वस्थ जीवन दिनु हो । तर रोकथामको लागि खोप नै सबैभन्दा बलियो अस्त्र हो । हेपाटाइटिस बी विरुद्धको खोप आधुनिक चिकित्साको ठूलो उपलब्धि हो । यो सुरक्षित, प्रभावकारी र दीर्घकालीन सुरक्षा दिने खोप हो । शिशुदेखि वयस्कसम्म जोखिम समूहका सबैले खोप लगाउनुपर्छ । स्वास्थ्यकर्मी, मेडिकल विद्यार्थी, प्रयोगशालामा काम गर्ने व्यक्ति र संक्रमित व्यक्तिको परिवारका सदस्यले विशेष रुपमा खोप लगाएको सुनिश्चित गर्नुपर्छ । त्यसैगरी हेपाटाइटिस बी संक्रमित आमाबाट बच्चामा संक्रमण सर्ने जोखिम उच्च हुन्छ । त्यसैले प्रत्येक गर्भवती महिलाको ज्द्यकब्न परीक्षण अनिवार्य हुनुपर्छ । यदि भाइरल लोड धेरै छ भने गर्भावस्थामा औषधि दिन सकिन्छ । आवश्यक अनुसार नवजात शिशुलाई जन्मेको २४ घण्टाभित्र हेपाटाइटिस बी खोप र आवश्यक परे इम्युनोग्लोबिन दिँदा संक्रमणको जोखिम अत्यन्त कम हुन्छ ।  यसले भविष्यमा दीर्घकालीन हेपाटाइटिसबाट बचाउन ठूलो भूमिका खेल्छ ।     हेपाटाइटिस रोकथामसँगै कलेजो स्वस्थ राख्न बानी व्यहोरा महत्वपूर्ण हुन्छ । स्वच्छ खानेपानी प्रयोग गर्ने, साबुनपानीले नियमित हात धुने, अनावश्यक सुई वा इन्जेक्सन प्रयोग नगर्ने, रेजर, नेल कटर जस्ता व्यक्तिगत सामग्री साझा नगर्ने, ट्याटु गर्ने बेला सजगता अपनाउने, मदिराको अत्यधिक सेवन नगर्ने, चिकित्सकको सल्लाहबिना जथाभावी औषधि सेवन नगर्ने र नियमित स्वास्थ्य जाँच गराउने गर्नुपर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्