IMG-LOGO

नेपालको परिप्रेक्ष्यमा गर्भावस्थामा जलवायु परिवर्तनको असर (भाग २)

 मंगल, असार २, २०८३  प्रा.डा. सुमनराज ताम्राकार

    भौगोलिक विषमताले संक्रामक रोगहरुको भौगोलिक वितरणमा पनि प्रभाव पार्छ । तापक्रम र आद्र्रता परिवर्तनले कीटजन्य रोगहरुको प्रसार बढाउँछ । त्यसैले पनि तराईमा डेंगु, औलो जस्ता रोगहरु बढिरहेका छन् । गर्भवती महिलामा यस्ता संक्रमणले गर्भपतन, भ्रुणको विकासमा अवरोध तथा गर्भवती महिलामा जटिलता निम्त्याउन सक्छ । विशेष गरी डेंगु संक्रमणले प्लेटलेट कमी र रक्तस्रावको जोखिम बढाउँछ, जुन प्रसूति अवस्थामा खतरनाक हुन सक्छ । त्यस्तै तराई क्षेत्र र पहाडी क्षेत्रमा पानीजन्य रोग र हिमाली क्षेत्रमा श्वासप्रश्वास सम्बन्धी समस्या बढ्ता हुनसक्छ । गर्भवती महिलामा यी रोगहरुले गम्भीर जटिलता निम्त्याउन सक्छन् । भौगोलिक संरचनाकै कारण नेपालको खाद्य उत्पादन फरक हुनसक्छ । भलै तराई क्षेत्र नेपालको मुख्य उत्पादन क्षेत्र भएपनि हिमाली क्षेत्रमा सीमित कृषि, पहाडी क्षेत्रमा वर्षामा निर्भर खेती हुन्छ । नेपालको ठूलो जनसंख्या कृषि आधारित छ । जलवायु परिवर्तनका कारण उत्पादनमा कमी आउँदा गर्भवती महिलामा कुपोषणको समस्या बढ्छ । जस्तै तराईमा खडेरी र पहाडमा बाढी–पहिरोले खाद्यान्न उत्पादनमा असर पार्दा गर्भवती महिलाले आवश्यक पोषण पाउन सक्दैनन् । यसले गर्दा रक्त अल्पता, भ्रुण विकासमा कमी, कम तौलको शिशु जन्मिने जस्ता समस्या निम्त्याउँछ ।      भौगोलिक विषमताका कारण पानीको उपलब्धता फरक–फरक छ । हिमाली क्षेत्र हिमनदीमा निर्भर छ भने पहाडी क्षेत्र मुहान र झरना एवं तराई क्षेत्र भू–जल आधारित छ । जलवायु परिवर्तनले पानीका यी स्रोतहरुमा असर पार्दा पानीजन्य रोगहरु बढ्छन्, जसले गर्भवती महिलामा निर्जलीकरण र संक्रमणको जोखिम बढाउँछ । वर्षात् मौसममा बाढीका कारण खानेपानी दूषित हुन्छ, जसले गर्दा झाडापखाला, हैजा जस्ता पानीजन्य संक्रामक रोग र पानी प्रदूषणसम्बन्धी समस्या बढाउँछ । यी रोगहरुले गर्भवती महिलामा जलवियोजनका साथै लवण पदार्थको असन्तुलन गराउँछन्, जसले गर्भेशिशुलाई जोखिममा पार्छ । प्राकृतिक विपत्ति, आर्थिक अस्थिरता, र स्वास्थ्य जोखिमले गर्भवती महिलामा मानसिक तनाव बढाउँछ । यो डिप्रेसन (अवसाद), चिन्ता, आघात पश्चात्का तनाव जुनस ुकै हुनसक्छ । यी मानसिक समस्याहरुले गर्भावस्थामा प्रतिकूल असर पार्छन् । तनावले गर्भवती महिलाको शरीरमा कर्टिसोलको स्तर बढाउँछ, जसले गर्भेशिशुको विकासमा नकारात्मक असर पु¥याउन सक्छ ।      भौगोलिक असमानताकै कारण नेपालमा स्वास्थ्य सेवा पहुँचमा पनि असमानता छ । हिमाली क्षेत्रमा स्वास्थ्य पहुँच अत्यन्त न्यून छ भने पहाडमा मध्यम र तराईमा तुलनात्मक रुपमा राम्रो छ । यसको अलावा जलवायु परिवर्तनकै कारण यातायात सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा पहुँच थप कठिन हुन्छ । नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य स्तर उकास्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि भौगोलिक चुनौतीका कारण पूर्ण प्रभावकारिता हुन सकेको छैन । त्यसैपनि नेपालको शहरी र ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवामा ठूलो अन्तर छ । त्यसमाथि दुर्गम क्षेत्रमा अस्पतालको अभाव, दक्ष स्वास्थ्य जनशक्तिको कमी, यातायात समस्याका साथै जलवायु परिवर्तनले यी समस्याहरुलाई अझ गम्भीर बनाएको छ । नेपालका गर्भवती महिलाहरुमध्ये पनि जलवायु परिवर्तनको दृष्टिले विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रका महिलाहरु, गरिब तथा कुपोषित महिलाहरु, किशोरी गर्भवती, जीर्ण स्वास्थ्य समस्या भएका गर्भवती महिलाहरु थप जोखिममा छन् ।      यस सम्बन्धि भविष्यका चुनौतीहरुमा जलवायु परिवर्तनको तीव्रता अझ बढ्ने (तापक्रम अझ बढ्ने, हिमनदी पग्लिने दर वृद्धि हुने) सम्भावना हुनाले नेपालको स्वास्थ्य प्रणालीमा दवाब पर्नेछ । यसका साथै खाद्य सुरक्षामा संकट, नयाँ स्वास्थ्य समस्याहरुको उदय पनि हुनसक्छ । यदि समयमै उचित कदम चालिएन भने विशेषतः मातृ तथा शिशु स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।     जलवायु परिवर्तनका कारण गर्भवती महिलामा भइरहेको नकारात्मक असरको व्यवस्थापन, न्यूनीकरण एवं रोकथामका लागि व्यक्तिगत, सामुदायिक, प्रणालीगत तथा सरकारी रणनीतिमा पहल हुन आवश्यक छ । व्यक्तिगत स्तरमा अत्यधिक गर्मीबाट जोगिने, पर्याप्त पानी सेवन गर्ने, पोषिलो आहार खाने, नियमित गर्भ जाँच गराउने, मौसमअनुसार सावधानी अपनाउने गर्नुपर्दछ । त्यसैगरी सामुदायिक स्तरमा स्वास्थ्य सचेतना कार्यक्रम संचालन गर्ने, सुरक्षित खानेपानी व्यवस्था गर्ने, महिला स्वास्थ्य समूह सक्रियता बढाउने कार्य हुनुपर्दछ । स्वास्थ्य प्रणाली स्तरमा जलवायु–मैत्री स्वास्थ्य सेवा प्रदान गर्ने, टेलिमेडिसिन सेवा दिने, आपतकालीन प्रसूति सेवा सुदृढीकरण गर्ने एवं मोबाइल स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्दछ । सरकारी रणनीति अन्तर्गत नेपाल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् मातृ तथा शिशु स्वास्थ्य सुधारका कार्यक्रम अझ बढी प्रभावकारी बनाउनु पर्दछ । पेरिस सम्झौता अन्तर्गत नेपाल सरकारकाले जलवायु परिवर्तन नियन्त्रणका प्रयासमा प्रतिबद्ध हुनुपर्दछ ।     निष्कर्षमा, नेपालको परिप्रेक्ष्यमा जलवायु परिवर्तन गर्भावस्थाका लागि गम्भीर स्वास्थ्य चुनौती बनेको छ । हिमाल, पहाड र तराई क्षेत्रमा फरक–फरक जोखिमहरु रहेका छन्, जसले गर्भवती महिलामा असमान तर गम्भीर प्रभाव पारिरहेका छन् । तापक्रम वृद्धि, वायु प्रदूषण, बाढी–पहिरो, संक्रामक रोग, र पोषण अभावले गर्भवती महिला र गर्भेशिशु दुवैलाई जोखिममा पारिरहेका छन् । यस समस्याको समाधानका लागि बहुआयामिक पहलकदमी आवश्यक छ । व्यक्तिगत सावधानी, सामुदायिक सहभागिता, स्वास्थ्य प्रणाली सुदृढीकरण र सरकारी नीति सबैको समन्वय अनिवार्य छ । यस समस्याको समाधानका लागि भौगोलिक सन्दर्भअनुसार नीति र कार्यक्रम आवश्यक छन् । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार, जनचेतना, र जलवायु अनुकूलन रणनीति अत्यावश्यक छन् । समयमै सचेत भएर काम गरिएमा मात्र भविष्यमा मातृ तथा शिशु स्वास्थ्यलाई सुरक्षित राख्न सकिन्छ । अन्यथा, जलवायु परिवर्तनले नेपालमा जनस्वास्थ्य संकटलाई अझ गहिरो बनाउने निश्चित छ । त्यसैले, जलवायु परिवर्तन र भौगोलिक विषमताको संयुक्त प्रभावलाई बुझ्दै दीर्घकालीन समाधान खोज्नु आजको प्रमुख आवश्यकता हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्