IMG-LOGO

नेपालको परिप्रेक्ष्यमा गर्भावस्थामा जलवायु परिवर्तनको असर (भाग १)

 मंगल, जेठ २६, २०८३  प्रा.डा. सुमनराज ताम्राकार

    शारीरिक प्रतिरोधात्मक क्षमताको दृष्टिले जोखिम समूहमा बालबालिका, वृद्ध, दीर्घरोगी, एचआइभी संक्रमित, स्टेरोइड सेवन गरिरहेका साथै गर्भवती महिलाहरु पनि हुन् भन्नेमा दुई मत छैन । साथै जलवायु परिवर्तनका असर भन्ने बित्तिकै हामी निकै ठूल्ठूला कुरा होला भन्ने सम्झिन्छौ । र, जलवायु परिर्वतनको मामिलामा यसले मलाई बाहेक अन्यलाई, हाम्रो देशका लागि बाह्य देशका नागरिकलाई असर हुने हो भन्ने गलत मानसिकता छ । यत्ति भन्दै गर्दा नेपालको परिप्रेक्ष्यमा गर्भवती महिलालाई के कस्तो असर पर्न सक्छ त जलवायु परिवर्तनको भन्ने हामी विचार विमर्श गर्ने छौं ।     वर्तमान समयमा जलवायु परिवर्तन विश्वव्यापी चिन्ताको विषय बनेको छ । एकातिर पृथ्वीको तापक्रममा भइरहेको वृद्धि भएसँगै मौसमीय अनियमितता, बाढी–पहिरो, खडेरी, र वायु प्रदूषण जस्ता समस्याहरुले मानव स्वास्थ्यमा गहिरो प्रभाव पारिरहेका छन् । यस सन्दर्भमा गर्भवती महिला पनि सबैभन्दा संवेदनशील समूहहरुमध्ये एक हुन् । त्यसो त गर्भावस्था आफैंमा शारीरिक, मानसिक र हार्मोनल परिवर्तनको जटिल अवस्था हो, जसमा परिवर्तित वातावरणीय असरहरुले थप जोखिम सिर्जना गर्न सक्छन् ।      नेपाल विश्वमै अद्वितीय भौगोलिक विविधता भएको देश हो । दक्षिणको समथर तराईदेखि मध्य पहाडी क्षेत्र हुँदै उत्तरतिर उच्च हिमाली भू–भागसम्म फैलिएको नेपालको भौगोलिक संरचना अत्यन्त विषम छ । पछिल्लो समय जलवायुमा पनि ठूलो विविधता आएको छ । बढ्दो विश्वव्यापी उष्णता र जलवायु परिवर्तनका कारण यी विविधताहरु अझ जटिल र जोखिमपूर्ण बन्दै गइरहेको बेला भौगोलिक विविधता भएको नेपालमा जलवायु परिवर्तनको प्रभाव अझ बढी जटिल र गहिरो देखिन्छ । नेपाल विश्वका जलवायु परिवर्तनबाट सबैभन्दा प्रभावित देशहरुमध्ये एक हो । जलवायु परिवर्तनसम्बन्धी अन्तर्देशीय प्यानलहरुका प्रतिवेदनहरु अनुसार हिमाली क्षेत्रहरुमा तापक्रम वृद्धि विश्व औसतभन्दा छिटो भइरहेको छ । नेपालमा हिमनदी पग्लिनु, अनियमित मनसुन र कल्पनीय मौसमीय घटनाहरुको वृद्धि स्पष्ट रुपमा देखिएको छ । यसले प्रत्यक्ष रुपमा जनस्वास्थ्य प्रणालीमा जोखिम सिर्जना गरेको छ, विशेष गरी मातृ तथा शिशु स्वास्थ्य क्षेत्रमा ।     नेपाललाई भौगोलिक हिसाबले हिमाली क्षेत्र, पहाडी क्षेत्र र तराई क्षेत्र गरि मुख्यतयाः तीन भागमा विभाजन गरिएको छ । यी तीनै क्षेत्रको मौसम, तापक्रम, वर्षा, र वातावरणीय अवस्था फरक–फरक छन् । हिमाली क्षेत्रमा अत्यधिक चिसो, हिमपात, र हिमनदी पग्लिने समस्या छ भने पहाडी क्षेत्रमा अनियमित वर्षा, पहिरो र तराई क्षेत्रमा अत्यधिक गर्मी, बाढी र खडेरीको समस्या छ । हिमाल, पहाड र तराईमा फरक–फरक प्रकारका जलवायु जोखिमहरु छन्, जसले गर्भवती महिलाको स्वास्थ्यमा विभिन्न प्रकारका असर पु¥याउँछन् । किनकि गर्भावस्था एक संवेदनशील जैविक अवस्था भएकाले वातावरणीय परिवर्तनहरुको प्रभाव गर्भवती महिला र गर्भेशिशु दुवैमा गहिरो रुपमा देखिन्छ । नेपालमा भौगोलिक विविधताका कारण एउटै देशभित्र फरक–फरक क्षेत्रमा गर्भावस्थामा जलवायु परिवर्तनका असरहरु फरक ढंगले प्रकट भइरहेका छन् ।     हाल जलवायु परिवर्तनबाट सबैभन्दा छिटो प्रभावित हिमाली क्षेत्रमा देखिन्छ । हिमनदी पग्लिनु, तापक्रम वृद्धि, र जलस्रोतमा परिवर्तनले यहाँको जीवनशैलीमा गहिरो असर पारिरहेको छ । यसले प्रत्यक्ष एवं अप्रत्यक्ष तवरमा गर्भावस्थामा प्रभाव परिरहेको छ । अत्यधिक चिसो र अक्सिजनको कमी, पोषणको अभाव एवं स्वास्थ्य सेवा पहुँचमा कठिनाईका कारण उच्च भू–भागमा बसोबास गरिरहेका गर्भवती महिलाहरुमा अक्सिजनको कमीका कारण भ्रुणको विकासमा समस्या आउन सक्छ, जसले गर्भेशिशुको शारीरिक वृद्धि विकासमा गम्भीर असर निम्त्याउन सक्छ । त्यसैगरी, दुर्गम हिमाली क्षेत्रमा अस्पताल र दक्ष स्वास्थ्यकर्मीको अभावले गर्भवती महिलालाई समयमै सेवा प्राप्त गर्न कठिन हुन्छ । रेफर नै गर्नुपर्ने अवस्थामा तथा ठूला अस्पतालमा जानुपर्ने आवश्यकतामा व्यापक हिमपातको बेला यातायात (हवाई सेवा) मा पनि थप कठिनाई उत्पन्न हुनसक्छ ।      नेपालको ठूलो जनसंख्या पहाडी क्षेत्रमा बसोबास गर्छ । यहाँको भौगोलिक संरचनाको दृष्टिले उकालो–ओरालो, कमजोर माटो, र पहिरोको जोखिमका कारण पहाडी क्षेत्रमा पनि जटिलता छ । यस क्षेत्रमा जलवायु परिवर्तनका असरहरुमा अनियमित वर्षा, पहिरो र भू–स्खलन, सफा पानीको अभाव आदि छन् । जसले गर्दा स्वास्थ्य संस्थामा पुग्न कठिनाई, आपतकालीन अवस्थामा ढिलाई तथा पोषणमा कमी भई गर्भावस्थामा नकारात्मक प्रभाव पर्न सक्छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा सुत्केरी गराउन अस्पताल लैजान नसकिने अवस्था आउँछ । यसले नवजात एवं मातृ मृत्युदर बढाउन सक्छ ।     तराई क्षेत्र नेपालकै सबैभन्दा गर्मी क्षेत्र हो, जहाँ पछिल्ला वर्षहरुमा तापक्रम अत्यधिक रुपमा बढिरहेको देखिन्छ । यस क्षेत्रमा अत्यधिक गर्मी, बाढी एवं खडेरी जस्ता जलवायु परिवर्तनका असरहरु हुनसक्छ । यसैकारण गर्भावस्थामा जल वियोजनको समस्या हुनसक्छ । अत्यधिक गर्मीले गर्भवती महिलामा पाठेघर संकुचन वृद्धि हुन गई समयपूर्व प्रसव (सुत्केरी) व्यथा शुरु हुनसक्छ । तराई क्षेत्रमा भईरहेको तापक्रम वृद्धिका कारण सिर्जित अधिक तापजन्य प्रताडनाका कारण समयपूर्व प्रसव व्यथा लाग्न सक्ने कारण कम तौलको शिशु जन्मिने, मृत शिशु जन्मिने जस्ता समस्या सिर्जना हुनसक्छ ।      जलवाय परिवर्तनकै सवालमा काठमाण्डौ लगायत विशेषतः शहरी क्षेत्र वायु प्रदूषण हुनसक्ने ठाउँहरु हुन् । यहाँ अधिक सवारी साधन, धूलो, इँटा उद्योग, र दोहन प्रक्रियाबाट निस्कने कणहरुले गर्भवती महिलामा गम्भीर असर पार्छ । वायु प्रदूषणकै कारण गर्भपतन हुनसक्ने, गर्भे शिशुको वृद्धि कम हुने, जन्मजात विकृति देखापर्ने तथा न्यून तौलका शिशु जन्मिने जोखिम हुन्छ । किनकि पीएम २.५ जस्ता साना कणहरु रगतमार्फत् साल हुँदै भ्रुणसम्म पुग्न सक्छन् । जसले गर्दा भ्रुणको वृद्धि विकासमा अवरोध पु¥याउँछ । यसैगरी जलवायु परिवर्तनका कारण नेपालमा बाढी, पहिरो र प्राकृतिक विपत्ति बढ्ता हुने गरेको छ । यसको तीव्रता र आवृत्ति बढेको छ । नेपालमा मनसुनको समयमा बाढी र पहिरो सामान्य समस्या जस्तै भएका छन् । यस्ता विपत्तिहरुले स्वास्थ्य सेवा पहुँचमा अवरोध, प्रसूति सेवामा ढिलाई र आपतकालीन अवस्थामा जोखिम वृद्धिका कारण गर्भवती महिला जोखिममा पर्न सक्छन् । उदाहरणका लागि, दुर्गम पहाडी क्षेत्रमा सडक अवरुद्ध हुँदा सुत्केरी गराउन अस्पताल पु¥याउन नसकिने अवस्था आउँछ । यसले आमा र गर्भेशिशुको स्वास्थ्यमा जोखिमका साथै मृत्युदर पनि बढाउन सक्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्