असार, साउनको महिनामा भन्दा चैत, वैशाखतिरको मौसम नितान्त फरक छ । चैत, वैशाखमा खासगरि भयानक हावाहुरीसहित चट्याङ पर्नसक्छ तर पानी भने कम अर्थात् दिनभरि वा दुई, तीनदिनसम्म लगातार पानी पर्ने खालको हुँदैन । तर हावाहुरी र चट्याङ चाहिँ डरमर खालको नै हुनसक्छ । चट्याङ प्रकृतिको अत्यन्त शक्तिशाली र पृथक प्रक्रिया हो । बादलयुक्त आकाशमा देखिने क्षणिक परिदृश्यले मानिसलाई आकर्षित मात्र गर्दैन, त्यस्तैपरे गम्भीर खतरा पनि पु¥याउन सक्छ । विश्वभर हरेक वर्ष हजारौं मानिस चट्याङबाट प्रभावित हुन्छन्, जसका कारण साधारण चोटपटकदेखि मृत्यु सम्मका घटनाहरु देखिन्छन् । नेपालजस्तो देशमा, जहाँ कृषि, बाहिरी कामकाज र पहाडी भू–भागका कारण मानिसहरु बढी खुला वातावरणमा रहन्छन् । चैत वैशाखको समयमा चट्याङको जोखिम अझ बढी हुन्छ । चट्याङ के हो ? चट्याङ भनेको बादलहरुबीच वा बादल र जमिनबीच हुने अचानक विद्युतीय तकराव हो । यो बादलभित्र विद्युतीय चार्जमा असन्तुलन हुँदा प्रकट हुन्छ । जब यी विद्युतीय तकराव अत्यधिक हुन्छ, तब एक्कासी विद्युत प्रवाह भएर उज्यालो चमक (चट्याङ) र त्यसको केही समयपछि भयानक आवाज (गर्जन) उत्पन्न हुन्छ । किनकि पृथ्वीतर्पm ध्वनी भन्दा प्रकाशको गति छिटो हुन्छ । एउटा चट्याङमा करिब १० करोड भोल्टसम्म विद्युत शक्ति हुन सक्छ र यसको तापक्रम सूर्यको सतहभन्दा पनि बढी (३०,००० डिग्री सेन्टिग्रेड जति) को हुन सक्छ । यही कारणले चट्याङले मानव शरीरका लागि अत्यन्त खतरा पु¥याउन सक्छ । जब चट्याङले मानिसलाई प्रहार गर्छ, त्यसको विद्युत ऊर्जा क्षणभरमै शरीरभर फैलिन्छ । यसको असर कति गम्भीर हुन्छ भन्ने कुरा प्रहारको प्रकार, समय र व्यक्तिको अवस्थामाथि निर्भर हुन्छ । चट्याङ प्रहारका सन्दर्भमा यसले प्रत्यक्ष, साइड (परोक्ष), सतहिय प्रकारहरु, समिपीय वा उत्सर्जन खालको असर पु¥याउन सक्छ । प्रत्यक्ष पकारको चट्याङको प्रहार सीधै मानिसलाई लाग्छ । यो सबैभन्दा खतरनाक प्रकार हो । त्यसैगरी साइड फ्ल्यास (वा परोक्ष असर) मा चट्याङ कुनै वस्तु (जस्तैः रुख) मा लागेर नजिकको मानिसमा सर्छ । सतहिय प्रकारमा चट्याङ जमिनमा लागेर यसको करेन्ट चारैतिर फैलिने क्रममा मानिसलाई पनि असर पु¥याउँछ । यो अधिकतर हुने खालको हो । समिपीय चोटमा मानिसले छोइरहेको वस्तुमा एक्कासी चट्याङ लाग्दा हुन्छ । जस्तै भ्mयालको फलामे चौकोस, बार्दलीको फलामे रेलिङ, गाडी चलाइरहेको वा फलाम (धातु) को वस्तु छोइरहेको बेलामा पनि चट्याङको असर पुग्न सक्छ । चट्याङ लागिसकेपछिको करेन्ट फर्किने वा जमिनबाट माथि जाने बेलाको करेन्ट उत्सर्जनले चोट पु¥याउन सक्छ । चट्याङबाट स्वास्थ्यमा पर्ने प्रभावहरुमा यसले मुटु एवं रक्तसंचार प्रणालीमा, स्नायु प्रणालीमा, छाला, मांसपेशी एवं हड्डी, श्वासप्रश्वास, नाक कान तथा मानसिक असर पु¥याउन सक्छ । चट्याङले मुटुको धड्कन रोक्न तथा मुटुको चाल बिगार्न सक्छ । चट्याङ लाग्दा मानिसको मृत्यु हुनुको मुख्य कारण यही हो । यसैगरी चट्याङले बेहोश हुने, आघात एवं छटपटी हुने, स्मरणशक्ति कमजोर हुने, पक्षाघात हुने जस्तै स्नायु प्रणालीका असर हुनसक्छ । दीर्घकालीन तवरमा यसले मानसिक समस्या, निद्राको समस्या र डिप्रेसन गराउन सक्छ । चट्याङले छाला डढाउने, घाउ पार्ने, दाग बसाल्ने जस्ता छालाजन्य असर पु¥याउन सक्छ । चट्याङले मांसपेशी संकुचित पार्ने, अररो बनाउने, हड्डी भाँचिने, जोर्नी फुस्किने, मांसपेशी बिग्रिएर, कुहिएर मिर्गौला बिग्रिने हुनसक्छ । यसले श्वासप्रश्वासमा सास फेर्ने प्रक्रिया नै रोकेर प्रभावित मानिसको मृत्यु गराउन सक्छ । चट्याङकै कारणले आँखामा मोतिबिन्दु हुने, दृष्टि गुम्ने तथा कानको जाली फुट्ने, श्रवण शक्ति हराउने, कमजोर हुने हुनसक्छ । चट्याङले आघात पु¥याउने, चिन्ता वा डिप्रेसन गराउने, ध्यान एकाग्र बनाउन गाह्रो हुने हुनसक्छ । प्राथमिक उपचार चट्याङ लागेको व्यक्ति सुरक्षित हुन्छ, उनलाई छुन मिल्छ । तत्कालै प्रभावितलाई सुरक्षित ठाउँमा ल्याउनुपर्छ । श्वास र मुटुको अवस्था जाँच गर्नुपर्छ । यदि श्वासप्रक्रिया ठिक छैन भने कृत्तिम श्वास प्रक्रिया शुरु गर्नुपर्छ । साथसाथै अनुभवी स्वास्थ्यकर्मीलाई खबर गर्ने तथा एम्बुलेन्स बोलाउनुपर्छ । चट्याङले पु¥याएको चोटको प्रकृति अनुसार ब्याण्डेज बाँध्ने, काम्रो बाँध्ने, ड्रेसिङ गर्ने जस्ता कार्य गरिकन अस्पतालमा पठाउनै पर्छ । किनकि चट्याङको असरको कारण मुटु एवं अन्य भित्री अङ्गमा पु¥याएको असर निक्र्यौल गर्नका लागि ईसीजी लगायतका परीक्षण अनिवार्य गराउनुपर्छ । विशेषतः चट्याङ पर्नसक्ने मौसम वा यसको प्रक्षेपण (अचेल त मोबाइलमा पनि मौसमसम्बन्धी जानकारी दिने एपबाट) अनुसार कतिपय जोखिमपूर्ण कार्यबाट टाढा रहनुपर्छ । पानीमा रहने (माछा मार्ने, पौडी खेल्ने), कौसी वा बार्दलीमा अनावश्यक तवरमा बस्नु हुँदैन । खुल्ला ठाउँ (मैदान), पहाडको टुप्पोमा ओत तथा कतिपय रुखमुनि पनि लाग्नु हुँदैन । विशेषतः खेतबारीमा काम गरिरहेका किसान एवं मेशिनरी काम गरिरहेका मजदुर, ट्रेकिङ र पर्वतारोहणमा रहेका व्यक्तिहरु सजग रहनुपर्छ । चट्याङबाट बच्नकै लागि घरमा, छटमा अर्थिङको लागि रड एवं तारयुक्त प्रविधी अपनाउन सकिन्छ । यसका लागि तालीमा प्राप्तको प्राविधिकको सहयोग लिई आवश्यक कार्य गर्नुपर्छ । चट्याङको सवालमा ३०–३० नियम पालना गर्नका लागि भनिन्छ । चट्याङ र मेघ गर्जनबीच ३० सेकेन्डभन्दा कम समयमा सम्भव भएसम्म सुरक्षित ठाउँमा जानुपर्छ । लामो यात्रा वा कुनै काम सुचारु गर्ने सोच छ भने अन्तिम पटकको मेघगर्जनपछि ३० मिनेट कुर्नु राम्रो हुन्छ । सुरक्षित स्थान भन्नाले पक्की घर, बन्द गाडी (चलायमान होइन) बुभ्mनुपर्छ । घरभित्रै पनि बिजुलीका सामान (विद्युतीय चुल्हो, माइक्रोवोभेन, टिभी आदि) नचलाउने, पानी नखेलाउने, झ्यालढोकाबाट टाढा बस्नुपर्छ । घर बाहिर हो भने धातुजन्य वस्तुबाट टाढा बस्ने, भूइँमा थचक्क नबस्ने, नजिकै तारन्तार चट्याङ परिरहेको भए खुट्टा एक आपसमा जोडेर झुकेको अवस्थामा बस्ने, समूहमा नबसी सबै अलग–अलग बस्ने गर्नुपर्छ ।
