अंग्रेजी महिना अप्रिलको ११ तारिख अर्थात् अघिल्लो शनिबार विश्व पार्किन्सन्स दिवसको रुपमा मनाइन्छ । ईंगलिश सर्जन, औषधि आविष्कारक, भूगर्भ शास्त्री, जीवाश्म अध्येता, राजनैतिक अभियन्ता जेम्स पार्किन्सनले सन् १८१७ मा ‘सेकिङ पाल्सी’ नामक निबन्ध प्रकाशित गरेका थिए । जुन निकै चर्चित भयो । पछि उनकै सम्मानमा यस रोगको नामाकरण गरियो । नेपालका चर्चित हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ जस्तै विश्व परिवेशमा महान मुक्केबाज मोहम्मद अली, एडोल्फ हिटलर पनि यस रोगबाट प्रभावित थिए । मानिस सजीव प्राणी हो । सजीव भन्ने बित्तिकै चलायमान हुनुपर्छ । चलायमान हुनको लागि हाम्रो मस्तिष्कको निर्देशनमा मांसपेशी एवं अस्थिपञ्जरबीचको समन्वयले निर्धारित क्रियाकलाप गरिन्छ । यस्ता शारीरिक क्रियाकलाप उमेर अनुसारको अपेक्षा गरिन्छ तर कुनैपनि व्यक्तिमा (विशेषतः बुढ्यौलीमा) यदि असामान्य प्रकारको चालढाल हुन गयो भनेदेखि कतै यो पार्किन्सन पो भयो कि भनेर आशंका गरिन्छ । पार्किन्सन रोगमा शरीरको पोस्चर (आसन), बसाई र हिँडाई पनि अलि फरक खालको हुन जान्छ । यसरी पार्किन्सन रोगमा शारीरिक क्रियाकलापमा त असर हुन्छ नै, त्यसको अलावा मानवीय संवेदना र ज्ञानेन्द्रियहरुको काम गराईमा पनि असर हुन जान्छ । पार्किन्सन रोग मुख्यत केन्द्रीय स्नायु प्रणालीका स्नायुहरु क्षयले गर्दा हुन्छ । मध्य मस्तिष्कको सबस्टेन्सिया नायग्रा भन्ने भागमा विशिष्ट प्रकारका स्नायु कोषहरु हुन्छन् । यहीँबाट मस्तिष्कको बेसल ग्याङ्गलियालाई डोपामिन नामक हर्मोन निरन्तर आपूर्ति गर्दछ । यो डोपामिन हर्मोनले मानिसलाई उत्प्रेरणा जगाउने, सन्तुष्ट र खुसी भाव जगाउने हर्मोन उत्पादन गर्छ । यस भागमा पनि लाखौं संख्यामा स्नायुकोषिका हुन्छ भने जसले शरीरका सुक्ष्म खालका क्रियाकलाप गर्दछ । उमेर अनुसार हिँड्ने, बस्ने, खाने, बोल्ने, हाँस्ने वा कुनैपनि कुरामा स्वभाविक प्रतिक्रिया जनाउने कार्य कम हुँदै जान्छ । उमेरका कारण वा अन्य कारणले मस्तिष्कको बेसल ग्याङ्गलियाको क्षयीकरण वा नष्टीकरण हुँदै गएपछि मानिस क्रमशः प्रतिक्रियाविहिन हुँदै जान्छ । पार्किन्सन रोगको ठ्याक्कै कारण अहिलेसम्म पत्ता लागेको छैन । भलै यसको कारणबारे अध्ययन–अनुसन्धान निरन्तर नै भइरहेको छ । यी कोषहरुमा बडीज भन्ने एक प्रकारको असामान्य प्रोटिनको थेग्रिन गई क्षयीकरण वा नष्टिकरण हुन जान्छ भन्ने अनुमान गरिएको छ । पार्किन्सन रोग ६० बर्ष उमेर कटेकामा धेरै हुन्छ । तर, अचेल युवाहरुमा पनि यो समस्या देखिन थालेको छ । सन् २०२४ को तथ्याङ्क अनुसार विश्वका करिब ०.२ प्रतिशतमा यो समस्या रहेको आँकलन गरिएपनि नेपालमा यो समस्या कति गम्भिर छ ठ्याक्कै तथ्याङ्क छैन । हाल स्नायुसँग सम्बन्धित रोगहरुमध्ये यो दोस्रो मुख्य रोग हो । यो समस्या तीव्र गतिमा बढिरहेको छ । यही गतिमा बढिरहेमा सन् २०४० सम्ममा १ करोड २० लाख प्रभावित हुने प्रक्षेपण गरिएको छ । कारक तत्व र लक्षण चिन्ह अधिकतरमा कारण नै कोट्याउन नसकिने भएपनि पारिवारिक इतिहास, खान अपच, अपरेशनको क्रममा पूर्ण बेहोश पार्ने औषधि, कीटनाशक औषधिको सामीप्यता, टाउकोको चोट आदि जोखिम तत्व हुनसक्छ । मानिसका क्रियाकलापलाई मोटर र ननमोटर गरी वर्गीकरण गरिएको हुन्छ । मोटर भन्नाले शारीरिक क्रियाकलाप भन्ने बुझिन्छ । ननमोटर चाहिँ मानवीय संवेदना, स्पर्शसँग सम्बन्धित छ । पार्किन्सन रोगका मोटर लक्षणहरुमा शारीरिक कम्पन छुट्ने, आफूले चाहेको चालको शुरुवात धीमा हुने, मांसपेशीमा कडापन आउने र आफ्नो बसाई (आसन) को असन्तुलन वा अस्थीर हुने हुन्छ । त्यसो त यी चार लक्षण एचआइभी संक्रमण र लागू पदार्थको दुव्र्र्यसनीमा पनि देखिन सक्छ । समयक्रमसँगै शरीर कुप्रो पर्दै जाने, शारीरिक गतिविधिमा अचानक सुस्त हुन थाल्ने, फटाफट हिँड्न नसक्ने, हिँड्ने बेलामा हात र खुट्टाको चालमा सामञ्जस्यता नहुने, उठबस गर्न गाह्रो हुँदै जाने हुन्छ । हात र खुट्टामा बढी प्रभावित हुन्छ । प्रभावित व्यक्तिको हातको बुढी औंला र चोर औंलाको चाल कपास (धुप बाटेको) जस्तो हुन्छ । त्यसैगरी प्रभावित व्यक्तिलाई हाँस्न, सहज रुपमा बोल्न, खानेकुरा राम्ररी चपाउन गाह्रो, थकान महसुस हुने हुन्छ । शरीरका बाह्य भागका स्नायुहरुमा असर पर्न जान्छ । ननमोटर अर्थात् सेन्सरी डेफिसिट (संवेदनात्मक दुर्बलता) मा अन्तर्गत व्यवहारिक परिवर्तन एवं मनोगत समस्या देखापर्दछ । यस क्रममा निद्रामा गडबडी, अवसाद, असामान्य पीडा, अस्वभाविक पीडा, दृष्टिमा गडबडी, गन्धमा असामान्यता हुन जान्छ । प्रभावित व्यक्तिको जैविक घडीमै असर पर्नै जान्छ । छालाजन्य समस्याहरु देखा पर्न थाल्छ । प्रभावितहरुमध्ये ९० प्रतिशतमा र प्रारम्भिक चरणमै यस्ता सेन्सरी लक्षणहरु देखा पर्दछ । यसरी प्रभावित व्यक्तिको खाने, बस्ने, सुत्ने, उठ्ने, हिँड्ने, खेल्ने, काम गर्ने सबै काममा दखल हुन्छ । यसरी हिँडाई नै असामान्य हुने बाहेक भकभकाउने, स्वर सानो हुने नरम वा कमजोर हुने, बोली लर्बराउने (¥याल चुहिन लागेको बेलामा बोलेजस्तो हुने), बोली छिटो छिटो र अस्पष्ट हुने, बसेर उभिँदा रक्तचाप स्वाट्टै घट्ने, टाउको हल्का महशुश हुने, चक्कर लागे जस्तो हुने, कब्जियत हुने, अपच हुने, वाकवाकी लाग्ने, ¥याल बढी आउने, निल्न गाह्रो हुने, पिसाब फेर्न गाह्रो हुने, यौन दुर्बलता हुने, शरीरको तापक्रम नियन्त्रण गर्न गाह्रो हुने हुन्छ । पार्किन्सनका कारण शारीरिक असन्तुलनका कारण लड्न सक्ने वा चोटपटक लाग्न सक्ने जोखिम हुनुका साथै डिमेन्सिया हुने, सर्केर छातीको निमोनिया हुनसक्ने जटिलता हुन्छ । यो रोग लेवीज बडीजयुक्त डिमेन्सिया, सुप्रान्युक्लियर पाल्सी (पक्षघात), कारण नखोटिएको कम्पन, एन्टिसाकोटिक औषधिको प्रयोग, फ्रजाइल एक्स सिण्ड्रोमसँग सम्बन्धित बेढंगका कम्पन, हण्टिङ्टन डिजिज, डोपामिन रेस्पोन्सिभ डिस्टोनिया, विल्सन्स डिजिजका साथै एगोनिस्टडिजिजका साथै छारेरोग, डिप्रेसन, अब्सेसिभ कम्पल्सिभ डिजिज (ओसिडी) सँग झुक्किन सक्छ । निदान प्रभावितमध्ये २५ प्रतिशतसम्ममा गलत डायग्नोसिस हुन सक्छ । निदानको क्रममा प्रभावितसंगको विस्तृत सोधपुछका साथै स्नायुजन्य प्रणाली लक्षित शारीरिक वा मानसिक परीक्षण महत्वपूर्ण हुन्छ । कतिपयमा विशेष खालको सिटी स्क्यान वा एमआरआई जस्ता रेडियोइमेजिङ चाहिन्छ । पिसाबमा डोपामिनको मात्रा परिक्षण गर्न सकिन्छ । कतिपय अवस्थामा औषधि दिएर लक्षण चिन्हमा कतिको सुधार हुन्छ हेरेर पनि निदान गरिन्छ । अधिकतरमा मृत्युपछि पोस्टमार्टमबाट मात्रै ठ्याक्कै निदान हुन्छ । उपचार प्रभावित व्यक्तिको दिनचर्या नराम्ररी प्रभावित हुँदै जान्छ । र, उपचार नगरेको खण्डमा समस्या बिस्तारै गम्भिर बन्दै जान्छ । उपचारको हकमा ढाडस दिने खालको, लक्षण चिन्हको नियन्त्रण गर्ने खालको हुनुपर्छ । लेभोडोपा, क्याटेकोल ओ मिथाइल ट्रान्सफेरेज ईन्हिबिटर्स, डोपामिन एगोनिस्ट, एरोमिक एल एमिनो एसिडस डिकार्बोक्सिलेज ईन्हिबिटर्स जस्ता औषधिहरु दिइन्छ । पार्किन्सनको लागि औषधि दिएर पाँच बर्षसम्म अनुगमनमा राखिन्छ । कतिपय पार्किन्सनका विरामीमा औषधिले आशातित सुधार नदेखाउन सक्छ । नियमित औषधि सेवनले प्रभावितको जीवन अवधि सामान्य मानिसको जत्तिकै हुन्छ तर रोग चाँडै सुरुवाट भएको छ भने जीवन छोटो हुन सक्छ । पार्किन्सन रोगको उपचारमा औषधिको उपयोग सहित केही प्रभावकारी नयाँ प्रविधि आएको छ । ती हुन् – डिप ब्रेन स्टिमुलेसन र भेगल नर्भ स्टिमुलेसन । स्टिमुलेसन भन्नाले एक प्रकारको स्नायु उत्प्रेरक उपचार हो । यसले सुस्त स्नायुकोषलाई उत्तेजित पार्ने वा सक्रिय बनाउने भन्ने बुझिन्छ । डिप ब्रेन स्टिमुलेसनको क्रममा सामान्य शल्यक्रिया गरेर टाउकोमा सानो प्वाल पारेर प्रभावित भागमा सानो तार (ईलेक्ट्रोड) राखिन्छ । उक्त तारलाई ब्याट्रीको माध्यमबाट उत्तेजित पारेपछि प्रभावित भागलाई सक्रिय बनाईन्छ । भेगल नर्भ (भेगस नामक स्नायु) स्टिमुलेसनमा अघिल्लो छात्तीको माथिपट्टि रहेको हड्डी भित्र उपकरण जडान गरि भेगल स्नायुमा तार जडान गरिन्छ । उपकरण चालु गरेपछि भेगल स्नायु मार्पmत् मस्तिष्कमा सिग्नल पुग्दछ । यसरी मस्तिष्कको सक्रियता बढ्छ । छोटकरीमा, यी दुवै उपचार प्रविधीमा मस्तिष्कको प्रभावित भागमा विद्युतिय तरङ्ग मार्पmत् मानिसको शारीरिक एवं भावनात्मक गतिविधिको सक्रियता बढाईन्छ । यी प्रविधीबाट पार्किन्सनका साथै छारेरोग, डिप्रेसन, डिस्टोनिया, ओसिडी, शारीरिक कम्पन जस्तो समस्याको पनि उपचार गरिन्छ ।
