IMG-LOGO

क्षयरोगको समस्या

 मंगल, चैत १७, २०८२  – प्रा.डा. सुमनराज ताम्राकार

       क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्षको अंग्रेजी महिनाको मार्च २४ तारिख विश्व क्षयरोग दिवस मनाउने क्रममा अघिल्लो हप्ता मंगलबार नेपालमा पनि ’हामी क्षयरोग अन्त्य गर्छौँ, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइयो । सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य छ । यसै परिप्रेक्ष्यमा राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई उजागर गर्न पनि यस वर्षका नारा तय गरिएको हो । क्षयरोगको समस्या नेपालको प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहिआएको कारण क्षयरोगको पहिचान गरी निदान गर्ने र जनचेतना फैलाउने कार्य आवश्यक छ ।        विश्व स्वास्थ्य संगठनका अनुसार हरेक बर्ष संसारभर ८० लाख नयाँ क्षयरोगी थपिन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । औषधिको नियमित सेवनले क्षयरोग निको हुन्छ । यो रोग लाग्नुभन्दा लाग्न नदिन विशेष सचेतना अपनाउनुपर्छ । हाल १४९ स्थानीय तहमा क्षयरोगमुक्त नेपाल अभियान विस्तार गरी सक्रिय बनाइएपनि नेपालमा क्षयरोग नियन्त्रणमा अझै पनि चुनौति रहेको छ। किनकि अझै पनि ४२ प्रतिशत विरामी उपचारको पहुँचमा आउन सकेका छैनन् भने ५१ प्रतिशत विरामी र तिनका परिवारले आर्थिक भार व्यहोनुपरेको छ । सामाजिक भेदभाव र लाञ्छनाले पनि रोग नियन्त्रणमा समस्या रहेको छ । के हो क्षयरोग ?        क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणुको कारणले लाग्ने एक प्रकारको संक्रामक रोग हो । पmोक्सोमा लाग्ने क्षयरोग नै मुलुकको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । यसका साथै घाँटीको गिर्खा (ग्लेन्ड), पेट, मस्तिष्कको झिल्ली, ढाडको हड्डी, गर्भाशय, शुक्रवाहिनी नली एवं मुटुको झिल्लीमा पनि यो रोग लाग्न सक्छ । रोगीको खकार संक्रामक वस्तु हो । रोगीले खुल्ला रुपमा खोक्दा, हाच्छ्युँ गर्दा, थुक्दा तथा नजिकै बसेर कुरा गर्दा श्वासप्रश्वासको माध्यमबाट यो रोग अर्को व्यक्तिमा सर्दछ । त्यसपछि विस्तारै क्षयरोगका चिन्हहरु देखा पर्दै जान्छन् । कुपोषण, निम्नस्तरको जीवनस्तर तथा बासस्थान, अत्याधिक घुँइचो वातावरण तथा अशिक्षा क्षयरोग बढाउने सामाजिक तत्वहरू हुन् । क्षयरोग लाग्दा साँझपख मन्द ज्वरो आउने, पसिना आउने, खान मन नलाग्ने एवं दुब्लाउँदै जाने हुन्छ । त्यसैगरी क्षयरोगले असर पारेको शारीरिक अङ्ग अनुसार थप लक्षण देखा पर्न सक्छ ।        फोक्सोमा क्षयरोग लाग्दा लामो समयदेखि खोकी लाग्ने, खकारमा रगत देखा पर्ने, छाती दुख्ने हुन्छ । घाँटीको ग्लेन्डमा क्षयरोग लाग्दा गिर्खाहरु सुनिन्छन्, एक आपसमा टाँसिन्छन् तर पीडा हुँदैन । लामो समयसम्म संक्रमण रहिरह्यो भने फुटेर पीप बग्न सक्छ । त्यसैगरी मस्तिष्कको झिल्लीमा क्षयरोग लाग्दा टाउको दुख्ने, गर्दन कडा हुने, बच्चा ज्वरोले निस्लोट भई कम्पन छुट्ने स्थितिमा पुग्नसक्छ ।        बालबालिकाहरुमा चाहिँ पेटको क्षयरोग तुलनात्मकरुपमा बढ्ता पाइएको छ । पेटको क्षयरोग लाग्दा पेट दुख्ने, दिसा सधंैभरि एकनासको नहुने, पेटमा पानी जम्मा हुने, पेट फुल्ने, पेटमा पिठो मुछिएको जस्तो डल्लो भेटिने हुन्छ । खकार, रगत, छालाको जाँच तथा छातीको एक्सरेबाट छातीको क्षयरोग पत्ता लगाउन सकिन्छ । ढाड, पेटबाट पानी निकालेर वा ग्लेण्डबाट सियोले थोरै मासु निकाली जाँचेका खण्डमा फोक्सो भन्दा बाहिर लागेको क्षयरोग पत्ता लाग्छ । अल्ट्रासाउन्ड र सिटी स्क्यानको जरुरत बिरलै हुन्छ । तर क्षयरोग निदानका लागि निरन्तर ३ पटक खकारको जाँच गर्नुपर्दछ ।        क्षयरोग उपचारका लागि डट्स कार्यक्रम अन्र्तगत बहुऔषधि न्युनतम ६ महिनासम्म खुवाउनु पर्ने हुन्छ । डट्स (डाइरेक्टली अब्जभ्र्ड ट्रिटमेन्ट सर्टकोर्स) भन्नाले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्षयरोगीलाई ख्वाइने बहुऔषधि उपचार बुभ्mनुपर्छ । डट्स कार्यक्रम अन्तर्गत क्षयरोग विरुद्धको बहुऔषधि नजिकको उपस्वास्थ्यचौकी, स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र वा अस्पतालबाट पनि निःशुल्क पाइन्छ । सरकारी अस्पताल देखि ईलाका हेल्थपोष्ट डट्स केन्द्रहरु हुन् भने सब–हेल्थपोष्टहरु चाहिँ डट्सका लागि सब सेन्टर (उप–केन्द्र) हरु हुन् । डट्स केन्द्रमा निःशुल्क खकार परीक्षण सेवा र निःशुल्क औषधि उपलब्ध हुन्छ भने उप–केन्द्रहरुमा चाहिँ डट्समा आधारित निःशुल्क औषधि उपलब्ध हुन्छ । क्षयरोगबाट बचाउन बच्चा जन्मेदेखि एक वर्षभित्र दायाँ पाखुरामा पाक्ने गरी एक मात्रा बिसिजी खोप दिनुपर्दछ । खोप लगाएको दिन हल्का ज्वरो आउने एवं सानो रातो फोका आउने हुनसक्छ । खोप लगाएको ठाउँमा माड्ने, कुनै औषधी हाल्ने गर्नुहुँदैन ।        तर एचआईभी संक्रमणका कारण क्षयरोगीको संख्यामा वृद्धि तथा थप जटिलता उत्पन्न हुन्छ । एचआईभी संक्रमित व्यक्तिलाई क्षयरोगको जीवाणुले संक्रमित भएपछि क्षयरोग हुने खतरा ६ गुणाले बढी हुन्छ । हालैका दिनमा बहुऔषधि प्रतिरोधी (मेडिकल भाषामा मल्टि ड्रग रेसिस्टेन्ट भनिने) क्षयरोगीको संख्यामा पनि बढोत्तरी भएको पाइन्छ । क्षयरोगीले नियमित रुपमा औषधिको सेवन गरेन भने वा निश्चित समय सम्म क्षयरोगी विरुद्धको औषधि नखाएमा बहुऔषधि विरुद्ध प्रतिरोध विकसित हुन सक्छ । यस्ता क्षयरोगको उपचारमा दिइने औषधिहरु थप जटिलतायुक्त, अत्यन्त खर्चालु भईकन पनि त्यति प्रभावकारी नहुन सक्छ । यस्तो उपचारको अवधि पनि दुई वर्ष भन्दा माथि जान सक्छ । यसकारण पनि क्षयरोगको प्रभावकारी रोकथाम तथा उपचारका लागि अभैm चुनौतीपूर्ण छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्