विकासोन्मुख देशहरुमा विवाह गरेको ९ महिनामै बच्चा पाउनेहरुको संख्या करीब ३० प्रतिशतको हाराहारीमा छ । विवाहको केही समयमै गर्भवती हुन लागेकी महिलालाई गर्भ सम्बन्धी केही टिप्सहरु यस प्रका छन् । नियमित रुपमा (प्रत्येक २८ देखि ३० दिनमा) महिनावारी हुने महिलामा महिनावारीको दशौं दिन देखि अठारौं दिनमा यौन सम्पर्क रहे गर्भ रहन सक्दछ । कलिलो उमेरमा गर्भधारण गरेमा व्यथा लामो हुने, बच्चा पाउन गाह्रो हुने, बच्चा पनि कम तौलको हुने एवं महिना नपुगी व्यथा लाग्ने हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्छ । गर्भाधानको क्रममा बच्चा, सालनाल, बच्चा वरिपरिको पानी, पाठेघरको बृद्धि र शरीरको विभिन्न भागमा प्रोटिन एवं बोसो जम्मा हुनाले गर्भ अवधिमा करीब १० देखि १२ किलोसम्म तौल बढ्न सक्छ । गर्भवतीका लक्षण चिन्हहरु विभिन्न हुने भएपनि नियमित रुपमा भईराख्ने महिनावारी रोकिनु चाहिँ गर्भ रहेको शंका गर्ने मुख्य लक्षण हो । गर्भ रहेको निश्चित गर्ने तरिका विभिन्न (पिसाब जाँच, योनीद्वारबाट आन्तरिक परीक्षण) भएपनि अल्ट्रासाउण्ड (भिडियो एक्सरे) को आफ्नै विशेष महत्व छ । आर्थिक विपन्नता वा सेवाको अभावले पटक पटक अल्ट्रासाउण्ड गराउन नसकेपनि गर्भमा रहेको बच्चामा कुनै किसिमको शारीरिक विकलाङ्क छ छैन थाहा पाउन गर्भावस्थाको करीब १६ देखि २२ हप्ता भित्र कम्तीमा एकपटक चाहिँ अल्ट्रासाउण्ड गराउनु पर्दछ । मानिसको ४० हप्ता लामो गर्भ अवधिलाई पहिलो, दोश्रो र तेश्रो त्रैमासिक गरि तीन चरणमा बाँडिएको छ । प्रत्येक त्रैमासिक अनुसार गर्भवतीका लक्षण चिन्हहरु पनि फरक फरक हुन्छन् । गर्भावस्थाको करीब १८ हप्ता पछि बच्चा चलेको महशुश हुन्छ । गर्भ रहेको करीब ३६ हप्ता पछि बच्चा तल सर्ने (पुट्ठाको हड्डी भित्र जाने) हुनाले सास फेर्न अलि हलुका महशुश हुन्छ । गर्भावस्थाको अन्त्य तिर वेथा लाग्नु पूर्वका लक्षण चिन्हहरु (तल्लो पेट दुख्ने, छोड्ने, हल्का रगत मिसिएको सिंगान जस्तो देखा पर्ने, पिसाब जस्तै पानी बग्ने आदि) देखा पर्न सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवती महिलाले कम्तीमा आठ पटक गर्भवती जाँच वा परीक्षण गराउनु पर्दछ । यस क्रममा स्वास्थ्य परीक्षणको अलावा खोप, स्वास्थ्य शिक्षा, पोषण शिक्षा पनि प्राप्त हुन्छ । पहिलो पटकको गर्भवती जाँच महिनावारी रोकिएको थाहा हुनासाथ वा करीब ६ हप्ताको वरिपरि गराउनु पर्दछ । प्रत्येक गर्भवती महिलाले हेमोग्लोबिन, रक्त समूह, यौन रोग (भीडीआरएल), एचआईभी एवं हेपाटाइटिस बी, ब्लड सुगर सम्बन्धी रगत जाँच, पिसाब जाँच एवं भिडियो एक्सरे गराउनु पर्दछ । यसको अलावा कुनै कुनै गर्भवती महिलामा रहेको र गर्भावस्थामा देखापरेको स्वास्थ्य समस्या अनुसार थप जाँचहरु गराउनु पर्दछ । पहिलो गर्भावस्थामा दुईपटक टी डी खोप लिनु पर्दछ भने फोलिक एसिड र आइरन एवं क्याल्सियम क्रमशः पहिलो र दोस्रो त्रैमासिकहरुबाट खानु पर्दछ । यसका साथै शक्ति प्राप्त हुने थप कार्बाेहाईड्रे«ट तथा प्रोटिनयुक्त खानाहरु खानुपर्दछ ।. नियमित गर्भवती जाँच गर्नुको उद्देश्य गर्भावस्था, सुत्केरी वेथा लाग्दा तथा सुत्केरी वेथा पश्चात आमा र नवजात शिशुको पूर्ण स्वस्थ्यता नै हो । गर्भवती जाँचको दौरान प्रत्येक पटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवं रक्तअल्पता र खुट्टाको सुजन छ, छैन जाँच्नुपर्दछ । मधुमेह, उच्च रक्तचाप, मुटु एवं मृर्गौलाको रोगी, निगेटिभ रगत समूह भएकी, पेट भित्रको शिशु सानो शंका गरिएकी, जुम्ल्याहा बच्चा बोकेकी, पहिला पटक पटक गर्भ तुहिएकी गर्भवती महिलालाई विशेष निगरानीमा राख्नु पर्दछ । गर्भावस्थाको १२ हप्तापछि मात्र बाहिरी पेट जाँच गरी पाठेघर छाम्न सकिन्छ । गर्भावस्थाको १२ हप्तामा पुठ्ठाको हड्डी अघिल्लो भागसम्म, २० हप्तामा नाइटोको तल्लो भागमा, २४ हप्तामा नाइटोको माथिल्लो भागमा र ३६ हप्तामा मध्य छातीको हड्डी मुनिसम्म पाठेघरको (पेट) को उचाइ बढ्छ । गर्भ रहेको ५ देखि ८ हप्तामा मानव शरीरका मुख्य मुख्य अङ्ग हरु तथा स्नायु प्रणालीको विकास हुन भने ६ हप्ताबाट मुटुको धड्कन शुरु हुन्छ । गर्भावस्थाको ८ हप्तासम्ममा अनुहार (मुख) को आकार आउँछ भने ९ देखि १२ हप्तामा शरीरका भित्री अङ्गहरु फोक्सो, मृर्गौला कलेजो, अस्थिपञ्जर बन्न थाल्दछन् । गर्भावस्थामा हुन सक्ने साधारण समस्याहरुमा बिहानीपख वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने र छाती पोल्ने, पिसाब छिटो छिटो लाग्ने, योनीश्राव (सेतो पानी) अलि बढ्ता बग्ने, पिँडौला एवं जनेन्द्रिय वरिपरिको नशाहरु फुल्ने, कब्जियत हुने, खुट्टा सुन्निने, कम्मर दुख्ने, पिडौला बाँउडिने हुन् । गर्भाधानको क्रममा शुक्रकिट र डिम्बको मिलन डिम्बवाहिनी नलीमा भई निषेचित भएर पाठेघरमा बस्ने क्रममा हल्का रातोपन जस्तो रक्तश्राव देखिनु बाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु राम्रो लक्षण मानिंदैन । बच्चाको टाउको टेढिनु, बच्चा उल्टो वा तेर्सो बस्नु, पाठेघरभित्र बच्चाको बसाई परिवर्तन भइरहनु वा अस्थिर रहनु, बच्चाको मुख वा निधार पहिला बाहिर आउन खोज्नु, बच्चाको मुख आमाका ढाडतिर फर्केर रहनु पर्नेमा अन्यथा हुनु गर्भवती तथा सुत्केरी व्यथाका बेला असामान्य परिस्थिति हुन् । यसको अलावा जुम्ल्याहा बच्चा हुँदा, गर्भवती महिलाको उमेर बढी (३५ वर्ष भन्दा माथि) हुँदा, पटक पटक गर्भ खेर जाँदा, गर्भावस्था लम्बिदा, गर्भवती महिलाको रक्तसमूह निगेटिभ हुँदा राम्रो हेरचाह पु¥याउनु पर्दछ । सामान्यतया मानिसको गर्भ अवधि ४० हप्ता (२८० दिन) को हुन्छ । गर्भ ४२ हप्ता (२९४ दिन) भन्दा पछाडि गयो भने राम्रो मानिँदैन । औसतमा १० प्रतिशत गर्भवती महिलाहरुमा ४२ हप्ता नाघ्छ । उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या, मृर्गौलाको खराबी, मुत्रनली संक्रमण, थाइरोइड ग्रन्थीको काममा घटीबढी, छारेरोग, रक्तअल्पता, हेपाटाइटिस, यौन रोग, एचआईभी एड्स, क्षयरोग, दम, संक्रामक तथा परजीवीजन्य रोग, औंलो र शल्यक्रियाको आवश्यकता पर्ने कतिपय पेट दुखाइ आदि गर्भावस्था सँगै हुनसक्ने अन्य केहि स्वास्थ्य समस्याहरु हुन् । पेट भित्रै बच्चा मर्ने, सुत्केरी व्यथापूर्व पानी फुट्ने (सानो सुतक हुने), महिना नपुग्दै व्यथा लाग्ने आदि गर्भावस्थामा आईपर्ने केही विशेष समस्याहरु हुन् ।
