IMG-LOGO

जोर्नी खिइने समस्या (ओस्टियोआथ्र्राइटिस)

 मंगल, भदौ १७, २०८२  – प्रा.डा. सुमनराज ताम्राकार

    शरीर जति बुढो हुँदै जान्छ । त्यति नै बिस्तारै शरीर कमजोर हुँदै जान्छ । यस्तोमा खानपान तथा जीवनशैलीमा ध्यान दिएन भने विभिन्न स्वास्थ्य समस्याले गाँज्दै लान्छ । उमेर ढल्किँदै गएपछि बढीजसो सताउने यस्तै समस्याहरुमध्ये जोर्नी खिइने समस्या पनि एक हो । जोर्नी खिइएमा शरीरलाई चुस्त ढंगले चलायमान राख्ने र हड्डीको संरक्षण गर्ने जोर्नीको कार्यमा बाधा पुग्छ । र, कालान्तरमा जोर्नीले काम गर्न सक्दैन । शरीरको गतिविधी नै प्रभावित हुन्छ । के हो जोर्नी खिइने समस्या ?     मानव शरीरको जोर्नी प्रायसः दुईवटा हड्डीको सामीप्यताले बनेको हुन्छ । यसरी एक आपसमा सम्मुख हड्डी शरीर चलायमान बनाउने क्रममा रगडिएर नखिइयोस् भन्नका लागि ती हड्डी कार्टिलेज नामक कुरकुरे हड्डीे ढाकेको हुन्छ र जोर्नीको बीच निश्चित मात्रा ल्युब्रिकेन्ट (चिप्लो बनाउने) श्राव पनि हुन्छ । जोर्नीलाई वरिपरिबाट मांसपेशी टेवा दिइराखेको हुन्छ । कुनै कारणवश जोर्नीको तन्तुहरु, त्यहाँको मांसपेशी र कुरकुरे हड्डी पातलिँदै जाने अवस्थालाई बोलीचालीको भाषामा जोर्नी खिइएको भनिन्छ भने मेडिकल भाषामा यसलाई ‘ओस्टिओआथ्र्राइटिस’ भनिन्छ ।      जोर्नी खिइने समस्या विश्वभरि नै छ । हाल विश्वका ५५ वर्ष वा सोभन्दा माथिका ८० प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको जोर्नी खिइने समस्याबाट पीडित छन् । र, द ल्यान्सेट रुमाटोलोजी जर्नलमा प्रकाशित एक अध्ययनको निष्कर्ष अनुसार सन् २०५० सम्ममा विश्वभर करिब एक अर्ब मानिस जोर्नी दुख्ने समस्या (ओस्टियोआथ्र्राइटिस) बाट प्रताडित हुने अनुमान गरिएको छ । उक्त निष्कर्ष विश्वका करिब २०० देशमा गरिएको ३० वर्षसम्म जोर्नी खिइने समस्याको अध्ययनको थियो । सन् १९९० मा २५ करोड मात्र यस समस्याबाट पीडित थिए भने सन् २०२० मा यो संख्या १३२ प्रतिशतले बढेर साढे ५९ करोड मानिसमा यो समस्या देखियो । बढ्दो आयु, जनसंख्या वृद्धि र मोटोपनाको कारण विगत तीन दशकमा केसहरु तीव्र रुपमा बढेको उल्लेख छ । कसरी खिइन्छ जोर्नी ?     जोर्नीको वरपर मांसपेशीहरु हुन्छन् । जसको काम जोर्नीहरुलाई आड दिएर सन्तुलनमा राख्नु हो । जब मांसपेशी कमजोर हुँदै जान्छ तब जोर्नी बसेको ठाँउको सन्तुलन बिग्रिन्छ । र, कुरकुरे हड्डी क्रमशः पातलिँदै जान्छ । सम्मुखका दुई हड्डीलाई मुलायम तवरले अड्याएर राखेको कुरकुरे हड्डी पातलिएपछि हड्डीबीच घर्षण हुन थाल्छ । घर्षण हुँदै गएपछि हड्डीको छेउछेउमा नयाँ हड्डी पलाउँछ । र, जोर्नीभित्र रहेको एक प्रकारको चिप्लो तरल पदार्थ (साइनोभियल फ्लुईड) हड्डीहरुमा पसेर सिस्ट (फोका) बन्न थाल्छ । र, हड्डीबीच हुनुुपर्ने अन्तर (ग्याप) हराएर हड्डीहरु जोडिएको जस्तो देन्छि । यो नै जोर्नी खिइने प्रक्रिया हो । मानव शरीरका कुनै पनि जोर्नी खिइन सक्छ । तर सबैभन्दा बढी शरीरका भार थेग्ने भागको जोर्नीहरु जस्तै घुँडा, मेरुदण्ड र कम्मरको जोर्नी बढ्ता खिइन्छ । धेरैलाई सताउने समस्या पनि यी नै हुन् । कारण     महिलामा यो समस्या प्रायः रजनोवृत्तिपछि (महिनावारी सुकेपछि) हुनसक्छ । पुरुषमा ६०–७० वर्षको उमेरपछि जोर्नी कमजोर हुन थाल्छ । अर्थात् उमेर ढल्किँदै गएपछि यो समस्याले सताउन थाल्छ । मानिसको उमेर बढेसँगै शरीरका अङ्गहरुको कार्य क्षमता घट्दै जान्छ । दाँतको जराले ठाँउ छाडेर दाँत झर्न थाले जस्तै, हाड तथा जोर्नी र शरीरको मांसपेशी पनि बिस्तारै कमजोर हुँदै जान्छन् । यी अङ्गमा क्षति हुँदै गएमा बिस्तारै जोर्नी खिइन थाल्छ । यस्तोमा सामान्य चोटपटक लाग्दा पनि जोर्नी खिइन सक्छ । यसको मुख्य कारण बुढयौली भए पनि शतप्रतिशत सबैमा हुन्छ भन्ने हुँदैन । त्यसैगरी धेरै उकालो–ओरालो हिँड्ने, लामो समयसम्म निहुरिएर काम गर्ने, अत्यधिक तौल उठाउने र भारी बोक्ने व्यक्तिमा यो समस्या उमेरअगावै पनि देखिन सक्छ । एउटै जोर्नी आवश्यकभन्दा बढी बारम्बार प्रयोग भएमा पनि छिटो खिइन सक्छ । जोर्नीमा क्षयरोग जस्ता संक्रमण भई कुरकुरे हड्डीमा असर गरेमा, बाथ तथा युरिक एसिड बढेर जोर्नीको झिल्ली (कार्टिलेज) मा असर गरेमा, चोटपटकका कारण रक्तप्रवाहमा अवरोध पुगेमा पनि जोर्नी खिइन थाल्छ । अत्याधिक धुम्रपान तथा मदिरापान गर्नेहरुका जोर्नी पनि छिटो खिइने गरेको छ । जोर्नी खिइएपछि देखिने समस्या     जोर्नी खिइने प्रक्रिया शुरुवात भएसँगै हल्का दुखाइ शुरु हुन्छ । बिस्तारै जोर्नी खिइएको भाग अररिई जोर्नी चलायमान राख्न कठिन हुन्छ । जसकारण दैनिक रुपमा गर्ने काम गर्न पनि नसक्ने हुन्छ । जस्तै, पलेँटी कसेर बस्दा, हिँडडुल गर्दा, बसेपछि उठ्नै नसक्ने, काम गर्दा, भ¥याङ चढ्दा वा ओर्लिंदा असहज हुन्छ । जोर्नी दुख्ने क्रम यथावत रहेमा त्यो दुखाइ बढ्दै जान्छ र सहनै नसक्ने अवस्था आउँछ । जोर्नी खिइने समस्या बढ्दै गएमा डिप्रेसन समेत गराउन सक्छ । किनकि दैनिक काम गर्न नसक्ने अवस्थामा अरुमा भर पर्नुपर्ने र सहन नसक्ने दुखाइ हुने जस्ता समस्या कारण मानसिक समस्या देखिन थाल्छ । मेरुदण्डको जोर्नी खिइएमा ढाड दुख्ने, बढ्तै खिइँदै गएपछि ढाडको नसा च्यापिने र बिस्तारै हातखुट्टा चलाउन गाह्रो हुँदै जाने हुन्छ । यस समस्याको पहिचानको लागि एक्सरे, एमआरआई, सिटी स्क्यान, डेक्जा स्क्यान र अल्ट्रासाउन्ड गर्न सकिन्छ । उपचार     जोर्नी खिइने समस्याको उपचार हड्डीहरु कति खिइए सकेको छ भन्नेमा भर पर्छ । जोर्नी खिइने समस्या शुरुवाती चरणमा छ भने घरेलु उपचार गर्न सकिन्छ । यदि खिइन सुरु मात्र गरेको छ भने घरमै खानपान र जीवनशैलीमा ध्यान दिए केही हदसम्म निको पार्न सकिन्छ । जस्तै, फिजियोथेरापी गर्ने, शारीरिक व्यायाम गर्ने, पानी पर्याप्त मात्रामा पिउने, भिटामिनयुक्त खानेकुरा खाने, चिकित्सकलाई देखाएर आवश्यक परे क्याल्सियमको सप्लिमेन्ट खाने, दुखाइको महशुश भए खाने र लगाउने औषधि प्रयोग गर्नुपर्छ । औषधोपचारका लागि चिकित्सकको सल्लाह आवश्यक हुन्छ ।     मध्यम अवस्थाको समस्या भए व्यायाम, फिजियोथेरापीसँगै खिइएको जोर्नीमा स्टेरोइड सूई दिइन्छ । यसले सुन्निएको र खिइएको जोर्नी कम गर्न मद्धत गर्छ । मेडिकल फुटवेयरले पनि केही हदसम्म घुँडाको समस्या कम हुनसक्छ । त्यसैगरी चोटपटक तथा युरिक एसिडको समस्याले जोर्नी खिइएको हो भने त्यसलाई पनि व्यस्थापन गर्नुपर्छ । यदि यी उपचारले आशातित उपलब्धि हासिल नभएमा जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ । जोर्नी कमजोर कसरी बलियो बनाउने ?     नियमित शारीरिक व्यायाम गर्ने, जोर्नीलाई हानि गर्ने र जोखिम पु¥याउने कारक तत्वबाट टाढा रहने, कडा खालको शारीरिक श्रम नगर्ने, शरीरले थाम्न नसक्ने तौल नउठाउने, भिटामिन, फस्फोरस र क्यालसियमयुक्त खानेकुरामा जोड दिने र जोर्नीमा संक्रमण भएमा तत्काल उपचार गर्ने गर्नुपर्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्