IMG-LOGO

विश्व स्तनपान सप्ताहको सन्दर्भमा

 सोम, सावन २०, २०८२  – प्रा.डा. सुमनराज ताम्राकार

      नेपाल कृृषि प्रधान देश हो तर अहिलेको विडम्बना अधिकतर खाद्य सामाग्री विशेषतः भारतबाट आयात गरेर धानिरहनु परेको छ । यही पीडा नेपालमा स्तनपानको हकमा पनि लागू हुँदैछ । कुनै समय थियो, नेपालमा स्तनपान नगराउने पनि छन् भन्दा असम्भव जस्तो लाग्थ्यो तर समय निकै फेरि सकेको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार भर्खरै सुत्केरी आमा भएका ५५ प्रतिशतले शिशु जन्मेको २४ घण्टा भित्र स्तनपान शुरु गराईसक्छन् भने ५६ प्रतिशतले ६ महिनासम्म आमाको दूध मात्रै (सन् २०११ मा यो तथ्यांक ७० प्रतिशत र २०१६ मा ६६ प्रतिशत थियो), २० प्रतिशतले फर्मुला दूध सेवन गराउँछन् । र, केवल ५२ प्रतिशत सुत्केरी आमाले मात्र स्तनपान सम्बन्धी सही परामर्श पाउने गरेका छन् । सबैभन्दा उदेक लाग्दो विषय वा एक हिसाबले राम्रो पक्ष भनेको सुदूर पश्चिम र कर्णालीका ७४ प्रतिशत महिलाले शिशु जन्मेको ५ महिनासम्म आमाको दूध मात्रै ख्वाउने गरेको छ । शायद त्यहाँ विकल्प नभएर हो वा आधुनिकीकरणको हावा नछोएर हो वा आर्थिक क्रयशक्ति कम भएर हो, त्यो चाहिँ थाहा भएन ।       स्तनपानको हकमा नेपालको परिदृश्य मोटामोटी यही नै हो । समयमै चेत नखुलाएको खण्डमा अवस्था राम्रो छैन । त्यही भएर होला यो वर्षको विश्व स्तनपान सप्ताहको लागि नेपालको लागि पनि निकै सुहाउँदो नारा दिइएको छ – ‘स्तनपानलाई प्राथमिकता देउः दीर्घकालीन टेवा प्रणालीको निर्माण गर’ । आमाको दूधको विशेष महत्वका कारण अङ्ग्रेजी महिना अगस्तको पहिलो हप्ताको समयावधिलाई स्तनपान सप्ताहको रुपमा मनाउने गरिन्छ । अर्थात् विश्वभर अहिले स्तनपान सप्ताह चलिरहेको छ । स्तनपानको महत्वको दृष्टिले केवल एक हप्तालाई विशेष तरिकाले मनाउनुमा कुनै तुक छैन । यो पटकको नारालाई सार्थक पार्न नेपालका सम्पूर्ण सरोकारवालहरुबीच समन्वय हुनु निकै आवश्यक छ, दीर्घकालीन समाधानका लागि ।          शिशु जन्मेको केही समयमै सुत्केरी आमाको शरीरमा बिगौती दूधको उत्पादन हुन थाल्छ । शिशुको स्वास्थ्यका लागि पनि कम्तीमा ६ महिनासम्म आमाको दूध खुवाउनु अति राम्रो हुन्छ । आमाको दूध सजिलै पचाउन सकिने र पेट कम ढाडिने किसिमले बनेको हुन्छ । चिल्लो पदार्थ पनि स–साना आकारका हुन्छन् । त्यसैगरी आमाको दूधको प्रोटिनमा सजिलै पच्ने ल्याक्टल्बुमिन र ल्याक्टोग्लोबुलिन हुन्छ । कार्बाेहाइड्रेटमा पनि बढ्ता अंश ल्याक्टोजको हुन्छ, जसले लाभदायक सूक्ष्म जीवाणुको वृद्धि गराई भिटामिन ‘बी’ उत्पादन गर्न मद्दत गर्दछ । आमाको दूधमा पोटासियम, क्याल्सियम, सोडियम र क्लोराइड लगायतका लवण पदार्थहरु सही मात्रामा हुने हुनाले नवजात शिशुको अपरिपक्व मृगौलालाई बोझ नपर्ने खालको हुन्छ ।       आमाको दूधमा भिटामिन ‘डी’ हुने हुनाले उक्त भिटामिनको कमीले हुने रिकेट्सबाट बचाउँछ । त्यसैगरी ल्याक्टोफेरिन, लाइसोजाइम, ल्याक्टोपेरोअक्सिडेज पनि हुने हुनाले पाचन प्रणालीको संक्रमणबाट बचाउँछ । आमाको दूधमा बच्चाको स्नायु प्रणाली विकास गर्ने ओमेगा फ्याटी एसिड हुन्छ । यसले विभिन्न प्रकारका सरुवा रोगसँग लड्न सक्ने क्षमता दिलाउँछ ।       स्तनपानका अन्य फाइदाहरुमा बच्चाको दिसा गिलो बनाउने, एलर्जीको डर नहुने, आमा र शिशुबीच वात्सल्य स्थापित गर्न सघाउने मद्दत गर्ने हुन्छ । स्तनपान गराइएका शिशुमा चाक राताम्य हुने गरी पाक्ने, खटिरा आउने, झाडापखाला लाग्ने र छालाको एलर्जी हुने जस्ता समस्या पनि कम हुन्छ । यसको अलावा स्तनपान गरिएका शिशुमा पछि मोटोपना, मधुमेह, एक्कासी शिशुको मृत्यु हुने सिण्ड्रोम पनि कम पाइएको छ भने आवश्यक मात्रामा गिदीको विकास, सुन्ने, हेर्ने तथा सिक्ने क्षमतामा बढोत्तरीका साथै स्कुलमा व्यक्तित्व प्रदर्शनमा वृद्धि एवं उच्च स्तरको स्मरण क्षमता पनि हुने गरेको पाइएको छ । स्तनपान गराउने कार्यले सुत्केरी महिलाको पाठेघर खुम्चिन मद्धत गर्दछ भने कालान्तरमा स्तन तथा पाठेघरको मुखको क्यान्सर हुनबाट पनि जोगाउँछ ।       आमाको दूध सदा तयारी अवस्थामा, प्रायः निर्मलीकृत (किटाणुरहित) र सदा उपयुक्त तापक्रममा हुन्छ । स्तनपान झन्झटिलो पनि हुँदैन । स्तनपानले प्राकृतिक परिवार नियोजनको साधनको काम गर्दछ । त्यसैले नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरुमा स्तनपानको आफ्नै महत्व छ । पछिल्लो नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार स्तनपानको विषयमा पछिल्ला समयका परिदृश्य त्यति राम्रो नभएपनि ९८ प्रतिशत आमाले आफ्नो जीवनकालमा एक न एक पटक स्तनपान गराएकै हुन्छ । तर स्तनपान गराउने शहरी क्षेत्रका तथा कामकाजी महिलाको संख्या भने न्यून नै छ । यसको विपरित यदि कुनै कारण वा विवशताले शिशुलाई आमाको दूध बाहेक अन्य पदार्थ खुवाइन्छ भने त्यसलाई ‘कृत्तिम आहार’ भनिन्छ । यसका लागि प्रायः जसो शिशी प्रयोग गर्ने हुनाले शिशीको आहार पनि भनिन्छ ।       सुत्केरी आमामा एक्कासी उत्पन्न हुने संक्रमण, स्तनमा देखापर्ने समस्याहरु (दूधको मुन्टो चर्किनु, स्तन सुन्निनु एवं पाक्नु, स्तनमा भाइरल संक्रमण) उत्पन्न हुनुका कारण बच्चाहरुलाई कृतिम आहार दिनुपर्छ । यसबाहेक निकै कम तौल भएका, श्वासप्रश्वास सम्बन्धी जटिल समस्या भएका तथा अन्य संक्रमणका कारण दूध चुस्नै नसक्ने अवस्थाका बच्चाहरुलाई पनि कृत्तिम आहार दिनुपर्छ । सुत्केरी आमालाई कडा प्रकारको मुुटुको समस्या, सक्रिय क्षयरोग, गम्भीर खालको मानसिक समस्या, एचआईभी संक्रमण छ भने, सुत्केरी आमाले छारे रोग, थाइरोइड रोग तथा अर्बुद रोगको औषधी सेवन गरिरहेको भए वा बच्चामा देखिने खुँडे तालु वा ग्यालेक्टोसेमिया (दूध पचाउन नसक्ने समस्या) भएपनि कृत्तिम आहार दिनुपर्ने हुन्छ । यसको अलावा आमाको दूध निकै नै अपुग भएमा वा सुत्केरी आमा कामकाजी, शहरी र आधुनिक परिवेशको भएमा पनि स्तनपानको सट्टा कृत्तिम आहार दिने चलन छ ।       आमाको दूधको कुनै राम्रो विकल्प नै छैन किनकि कृत्रिम आहार (शिशीको दूध) ले भाडापखाला गराउने वा कब्जियत गराउने हुन्छ । पानी मिसाइएको गाई, भैंसी, बाख्राको दूध, अनेक किसिमका सुख्खा दूधका फर्मूलाहरु स्तनपानको विकल्पको रुपमा लिइन्छ । यी मध्ये गाईको दूधमा पानी मिसाइ खुवाउने बढी चलन छ । तर आमाको दूधको दाँजोमा गाईको दूधमा ल्याक्टोज, प्रोटिन र सोडियमको निकै भिन्नता हुन्छ ।       दूध खुवाउँदा शिशी भन्दा पनि कचौरा र चम्चाको प्रयोग गर्नु बढी बुद्धिमानी हुन्छ । सिसीको प्रयोग गर्नु नै छ भने निम्न प्रकारका सावधानीहरु अपनाउनु पर्दछ । शिशीबाट दूध खुवाउन प्रयोग गरिएका सबै भाँडाकुँडाहरु खुवाउनु अघि र पछि राम्रोसँग सफा गर्नुपर्दछ । अर्थात् राम्ररी उमालिएको पानीले पखाल्नु पर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्