अस्ति अंग्रेजी महिना मे २५ का दिन ‘थाइरोइड रोग र आर्टिफिसियल ईन्टेलिजेन्स’ नाराका साथ विश्व थाइरोइड दिवस मनाइयो । थाइरोइड रोग विषयमा जनचेतना जगाउने अभिप्रायले वर्सेनी यस्तो दिवस मनाईंदै आएको छ । पुतली आकारको थाइरोइड ग्रन्थी घाँटीको अग्रभागमा हुन्छ । अकबरे खुर्सानी जस्तै आकारमा सानै भएपनि थाइरोइड ग्रन्थीको काम गराई पनि चर्कै हुन्छ । यसले शरीरभरिकै विविध प्रणाली तथा अन्य ग्रन्थीका काम गराईमा सामञ्जस्यतामा महत्वपूर्ण भूमिका निभाउँछ । थाइरोइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनले शारीरिक वृद्धि विकास र तन्दुरुस्तीमा मद्धत गर्दछ । पुरुष मानिसमा यो अलि ठूलो देखिने हुनाले रुद्रघण्टी पनि भनिने थाइरोइड ग्रन्थीको कम वा बढी काम गराईले मानव स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ । शुरुवाती अवस्थामा तथा यसका थाइरोइड हर्मोनको लेभल तलमाथि हुने बित्तिकै लक्षण चिन्ह देखिहाल्ने हुँदैन । त्यसैले पनि विश्वभरिमा करोडौंको संख्यामा मानिसहरुलाई थाइरोइडको समस्या भएपनि आधाजसोलाई त यसको आभाष नै हुँदैन । थाइरोइड ग्रन्थीको काम गराईलाई लिएर पछिल्ला वर्षमा चासो बढेको देखिन्छ । चिकित्सा सम्बन्धी शोधपत्रहरुमा पनि यस सम्बन्धी रिपोर्ट प्रशस्तै छापिएका छन् । यो समस्या पहिले नभएको होइन । तर पछिल्लो समय थाइरोइड सम्बन्धी रगत जाँच नियमित जसो जाँचिन थालेकाले कृत्रिम रुपमा यो समस्यामा वृद्धि भएको देखिएको हो । थाइरोइडको गडबडी मध्ये ९० प्रतिशत त यसको कम काम गराईले नै हुन्छ । यस्तो मानिसमा राती मज्जाले ९–१० घण्टा नै सुतेपनि थकाई महशुश गर्दछ । दिनहुँजसो दिउँसो नसुती धरै नपाउने तथा आलस्य महशुश गर्ने हुन्छ । खाना कम नै खाएपनि तौल बढ्ने हुन्छ । वास्तवमा तौल बढ्ने नभई शरीरका विभिन्न भागमा पानी थेग्रिएर तौल बढ्छ । तौल घटाउन गाह्रो हुन्छ । मुड पनि तलमाथि हुने, अवसाद हुने, चिन्ता लाग्ने हुन्छ । जोर्नी तथा मांसपेशीमा पीडा हुने हुन्छ । अन्यलाई सामान्य महशुश हुँदा पनि थाइरोइडको काम गराई कमी भएको व्यक्तिमा जाडो महशुश हुने, हातखुट्टा चिसो हुने, शारीरिक तापक्रम पनि हरदम सामान्य भन्दा कम हुने हुन्छ । छाला पहेँलिने र सुख्खा हुने, अत्याधिक कपाल झर्ने, सजिलै नङ भाँचिने हुन्छ । हात निदाउने तथा झमझमाउने, कब्जियत हुने, रगतमा कोलेस्टेरोलको मात्रा बढ्ने हुनसक्छ । यस्तो व्यक्तिमा ध्यान केन्द्रित पार्न गाह्रो हुने, स्मरण शक्ति क्षय हुने, दिमाग प्रष्ट नहुने तथा घाँटी सुन्निने, घुराईको समस्या हुने, स्वर धोद्रो पनि हुने हुनसक्छ । थोरै संख्यामा भने थाइरोइड ग्रन्थीको काम गराई बढ्न गई समस्या हुन्छ । मेडिकल भाषामा हाइपरथाइरोइडिज्म भनिने यस अवस्थामा मन आत्तिने, हातखुट्टा काँपिने, मुटु तथा नाडीको चाल बढ्ने, मांसपेशी पीडा हुने, गर्मी खप्न नसकिने हुनसक्छ । शंका लाग्ने बित्तिकै शुरुमा रगतमा टीएसएच नामक एकथरि हर्मोन जाँचे पुग्छ । यदि यसको परिणाममा तलमाथी देखिए इन्डोक्राइनोलोजिस्टको सल्लाहमा थाइरोइडको काम गराईसम्बन्धी अन्य थप जाँच गराउनु मनासिब हुन्छ । थाइरोइड ग्रन्थीको स्वस्थ्यताको लागि आयोडिनको अलावा जिंक, सेलेनियम, आइरन, भिटामिन डी र बी युक्त उच्चखालको मल्टिभिटामिन खानु श्रेयस्कर हुन्छ । तर क्लोराइड, फ्लोराइड तथा ब्रोमाइडयुक्त खानेकुरा परहेज गर्नु बुद्धिमानी हुन्छ । त्यसैले पनि बन्दा तथा काउली तरकारी ठिक्क मात्रामा मात्र सेवन गर्नु हुन्छ । दिनहुँ पाच्य खाना खानुका साथै निद्रा पनि यथेष्ट मात्रामा सुत्नु पर्दछ । थाइरोइड ग्रन्थीको काम गराई कम वा अधिक नै भएपनि सुगर, प्रेसरमा जस्तै नियमित औषधी सेवनले सामान्यमा राख्न सकिन्छ । थाइरोइडको लागि जिन्दगीभर औषधी खानु पर्दछ भन्ने छैन । जसै थाइरोइडको लेभल सामान्यमा आउँछ औषधी छोड्न सकिन्छ । महिलामा थाइरोइडको समस्या तुलनात्मक रुपमा महिलामा थाइरोइडको समस्या अलि बढी र असर पन तिनीहरुमै बढी हुन्छ । थाइरोइडकै कारण महिलाहरुमा हर्मोन तल माथि भई चिडचिडाहट उत्पन्न हुने, महिनावारी गडबडी हुने, निसन्तान हुने, यौनको चाहना कमी हुने हुनसक्छ । तर पटक पटकको गर्भ खेर जाने समस्या पनि बढी चिन्ताजनक अवस्था हो । यसैकारण पनि गर्भवती महिलामा थाइरोइड ग्रन्थीको काम गराई गडबडी आएर महिना नपुगी व्यथा लाग्ने तथा नवजात शिशुको स्नायु प्रणाली विकासमा नकारात्मक असर पु¥याउने भएर यसलाई हल्का तवरले लिनु भने हुँदैन । नेपाल त्यसै पनि खानेकुरामा आयोडिन कमी भएको मुलुक हो । गर्भावस्थामा गर्भवती महिलाको मिर्गौलाबाट थाइरोइड हर्मोनको निष्काशन बढी भएर वा गर्भे शिशु एवं सालमा पनि आयोडिनको खपत बढ्न गई शरीरमा आयोडिनको कमी भएर वा गर्भावस्थामा निस्किने कतिपय हर्मोनको कारणले गर्भावस्थामा थाइरोइड ग्रन्थीको काम गराईमा फरकपना आउन सक्छ । गर्भावस्थामा थाइरोइड ग्रन्थीको काम कम भयो भने गर्भमा जटिलता स्वरुप रक्तचाप बढ्न सक्छ, सुत्केरी व्यथा लाग्दा पाठेघरको भित्ताबाट साल छुट्टिनसक्छ, सुत्केरी पश्चात् अधिक रक्तश्राव हुनसक्छ, मुटुको काम गराई फरक हुन सक्छ, उमेर एवं तौल नपुगेको बच्चा जन्मिन सक्छ, गर्भभित्रै शिशुको मृत्यु हुनसक्छ । यसको अलावा पटक पटक गर्भ खेर जाने, रक्त अल्पता देखा पर्ने हुनसक्छ । त्यसैगरी कतिपय महिलालाई गर्भावस्थामा थाइरोइड ग्रन्थीको काम गराई बढ्ने समस्या पनि हुनसक्छ । यस्तो समस्या हजार जना गर्भवती महिलामा २ जनामा हुनसक्छ । गर्भावस्थामा थाइरोइड ग्रन्थीको काम गराई बढ्ने समस्याबाट गर्भ खेर जाने, महिना नपुग्दै व्यथा लाग्ने, गर्भे शिशुको तौल कम हुने, गर्भवती महिलाको मुटु फेल खाने हुनसक्छ । गर्भवती अवस्थामा राम्रो भ्रुण वा शिशु हुनुपर्ने ठाउँमा अंगुरको दाना जस्तो हुने मोलार गर्भमा पनि यस्तो थाइरोइडको समस्या देखिन्छ । गर्भावस्थामा पहिलोपल्ट पत्ता लागेको हो कि उक्त महिलामा पहिले देखि थाइरोइडको समस्या थियो भन्ने आधारमा यसको औषधोपचार शुरु गर्ने वा औषधिको मात्रा मिलाउने गरिन्छ । यस्तो महिलाको शिशु जन्मिए लगत्तै शिशुको रगतमा पनि थाइरोइडको जाँच गर्नु पर्दछ । यस्ता खाले समस्या पछिको गर्भमा दोहोरिन सक्छ । र, कुनैपनि बेला यसका लक्षण चिन्ह बिग्रन सक्ने हुनाले नियमित रुपमा फलोअपमा गर्नुपर्दछ । सुत्केरी पश्चात् पनि वर्सेनी रगतमा थाइरोइडको मात्रा जँचाइ रहनुपर्दछ । यस्ता खाले थाइरोइडमा प्रयोग गरिने औषधि आमाको दूधबाट शिशुमा जान सक्ने हुनाले स्तनपान गराउँदा सतर्क हुनुपर्दछ ।
