स्त्री तथा प्रसुती रोग विशेषज्ञको नाताले बेलाबखत सेवाग्रही गर्भवती महिला तथा तिनका परिवारजनले यही जिज्ञासाको सामना गर्नुपर्दछ । प्रत्येक तीन, तीन महिनाको समय अन्तराललाई समेटेर मानिसको गर्भावधीलाई तीन चरणमा बाँडिएको हुन्छ । गर्भावस्थाको पहिलो त्रैमासिक र तेश्रो त्रैमासिकमा तुलनात्मक रुपमा जोखिम बढ्ने कुरा जानकारी गराउनु पर्ने हुन्छ । अर्थात् हवाईयात्राको दृष्टिले गर्भावधीको दोश्रो त्रैमासिक (गर्भ आएको ४ देखि ६ महिना) सुरक्षित समयावधी हो । त्यसैले हवाईयात्रा अगाडि गर्भको अवधी पनि विचार गर्नुपर्ने हुन्छ । त्यसो त प्रसुती सम्बन्धी तथा कुनै मेडिकल जटिलता छैन र अन्य सामान्य मानिसले जत्तिकै सावधानी अपनाएर एकाध पटक हवाई यात्रा गरेको खण्डमा खासै कुनै हानी छैन । तर खासै प्रमाण नभएपनि गर्भवती बेला खुट्टा सुन्निने तथा नशामा रगत जम्ने समस्या बढी हुनसक्छ । र, हवाईजहाजबाट उत्सर्जन हुने कस्मिक रेडियसन (खगोलिय विकिरण) जुन ब्रम्हाण्डबाट पृथ्वीमा निरन्तर ठोकिरहेको हुन्छ । खगोलिय विकिरणका कारण गर्भे शिशुलाई पर्ने जोखिम अति न्यून छ तर हवाईजहाजका क्र्यु (चालकदलका महिला सदस्य) र तारन्तार यात्रा गरिरहने गर्भवती महिलामा भने जोखिम हुनसक्छ । त्यसो भएर विशेषतः एअरहोस्टेज महिलालाई व्यवसायजन्य जोखिमबारे सचत पार्नु आवश्यक हुन्छ । त्यसो भएर सम्बन्धित विमान कम्पनीको नियमानुसार चालकदलका सदस्यलाई गर्भवती हुन बन्देज छ । लामो उडान भर्ने अन्तर्राष्ट्रिय उडानमा पनि यस्तो जोखिम १५ प्रतिशत भन्दा बढी छैन । अर्को जानकारी अनुसार हवाई यात्रा दौरान खगोलिय विकिरणको अलावा ध्वनी, कम्पनले पनि खासै नकारात्मक असर पु¥याउँदैन । कहिलेकाहीँ हवाईयात्रा गर्नेहरुमा यस्तो जोखिम न्यून हुन्छ । हवाईयात्राकै कारण गर्भपतनको जोखिम पनि खासै हुँदैन । जहाजभित्रको क्याबिन प्रेसर, कम आद्र्रता र गर्भावस्थाका बेला हुने शारीरिक परिवर्तनका कारण मुटुको चाल र रक्तचाप बढ्न सक्छ । त्यसो भएर लामो हवाईयात्राको बेलाको आद्र्रता र लामो समयसम्म एउटै आसन बस्यो भने खुट्टा सुजन हुने र रगत जम्ने जोखिम हुनसक्छ । तर बुद्ध एअरका उडानहरु बढीमा ५५, ६५ मिनेटसम्मको भएकोले यी जोखिम खासै नहुनसक्छ । हवाईयात्राको क्रममा वायु बढ्ने खानेकुरा खाने, पेय पदार्थ पिउने गर्नुहुँदैन किनकी यसका कारण खाद्यनलीमा पहिले नै सञ्चित वायु हवाईजहाजले लिने उचाईसँगै बढ्न थाल्छ । जसले गर्दा हवाई यात्रा थप असहज हुनसक्छ । गाडी वा जहाजमा यात्रा गर्दा वा उचाईमा जाँदा वाकवाकी आउने, उल्टी हुने समस्या वा जोखिम छ भने हवाई यात्रा अगावै उल्टी नहुने औषधि (ओन्डेम वा पेरिनर्म) खानु बुद्धिमानी हुन्छ । व्यावसायिक उडानहरुमा सामान्यतः ३६ हप्तासम्म हवाईयात्रा गर्न दिइन्छ । तर पनि कतिपय अन्तर्राष्ट्रिय विमान कम्पनीले अलि अगाडिकै गर्भावधी प्रष्ट खुल्ने डकुमेन्ट माग गर्न सक्दछ । र, अधिकतर एअरलाइन्स कम्पनीले ३६ हप्तालाई मानक मानेको छ । त्यसो भन्दै गर्दा नेपाली तथा बाह्य आकाशमा बेलाबखत जहाजमै डेलिभरी हुने गरेको समाचार सुनिन्छ । पछिल्लो पटक २०१७ अक्टोबरमा नेपाल एअरलाइन्स आन्तरिक उडान अन्तर्गत छायाँनाथ रारा नगरपालिकाकी मायादेवी भामले नेपालगञ्जदेखि ताल्चा विमानस्थलसम्मको हवाईयात्राको क्रममा जहाजमै छोरालाई जन्म दिएकी थिईन् । आन्तरिक हवाई यात्राको हकमा गर्भमा एउटा मात्र शिशु छ भने २८ हप्तासम्म कुनै कागजात चाहिँदैन । २९ देखि ३६ हप्तासम्मको गर्भवती महिलाको मेडिकल सर्टिफिकेट आवश्यक छ । जुम्ल्याहा शिशु छ भने २८ हप्तासम्मको गर्भवती महिलालाई कुनै डकुमेन्ट आवश्यक छैन । त्यसपछि २९ देखि ३२ सम्मको गर्भवती महिलालाई मेडिकल सर्टिफिकेट आवश्यक छ भने ३३ हप्तापछि बुद्ध एअरमा यात्रा गर्न पाईंदैन । क्लिनिक वा अस्पतालको लेटरहेडमा गर्भवती जाँचमा सँलग्न चिकित्सकको हस्ताक्षर सहित यस्तो सर्टिफिकेट जारी गरेको ७ दिन भित्र यात्रा गरिसकेको हुनुपर्दछ । त्यस्तो डकुमेन्टमा एउटै मात्र वा जुम्ल्याहा शिशु उल्लेख गरेको, गर्भावधी खुलेको, फिट टु फ्लाई भनेर प्रष्टसँग नेपाली वा अंग्रेजी भाषामा उल्लेख गरेको हुनुपर्दछ । गर्भवती महिला एक्लै भन्दा पनि कुनै सहयोगी सहित हवाईयात्रा गर्न प्रेरित गरेको छ । हवाईयात्राका क्रममा केही टिप्स (बक्समा राख्ने) आन्तरिक उडानका जहाजहरुका शुरुवाती सिट अलि बढी फराक भएपनि पखेटाको समानान्तरमा रहेका सिट चाहिँ टेकअफ र ल्यान्डिङका बेला अलि बढी सहज हुन्छ । तर पनि बोर्डिङ पास लिने बेला टिकट काउण्टरमा गर्भवती भएको जानकारी खुलाउनुका साथै आयल्स (सिटको बीचमा रहेको बाटो) तिरको सिटको टिकट दिन अनुरोध गर्नुपर्दछ । गर्भवती महिलाले आयल्सतिरको सिट लियो भने सजिलै हिँडडुल गर्न, ट्वाइलेट जान सहज हुने हुन्छ । एअरहोस्टेसको सहयोग लिएर वा तिनीहरुलाई जानकारी गराएर प्रत्येक आधा घण्टामा वा प्लेनको टर्बुलेन्स नभएको बेला जहाजभित्रै हिँडडुल गर्ने गर्नुपर्दछ । गर्भवती बेलामा त्यत्तिकै पनि पटकपटक पिसाब लागिरहेको हुनसक्छ वा यसकै बहाना बनाएर भएपनि ट्वाइलेट जाने बहानामा खुट्टा तन्काउने, हिँडडुल गर्ने गर्नु राम्रो हुन्छ । हवाई यात्राको क्रममा कुर्कुच्चा (पैताला) र घुँडाको जोर्नी तलमाथि हुनेगरी चलाईराख्नुपर्दछ । खुकुलो खालका लुगा लगाउने गर्नुपर्दछ । र, चिकित्सकले सुझाएजस्तै स्टकिङ (लामो खालको विशेष मोजा) लाई फेशन वा देखावटी साधनको रुपमा नलिई आफ्नो स्वास्थ्यको दृष्टिले लगाउने गर्नुपर्दछ । यसले खुट्टा एवं शरीरको तल्लो भागमा रगत प्रवाह चालू राख्न मद्धत गर्दछ । आफ्नो हवाईयात्राको क्रममा हवाई रुट, गन्तव्य स्थल र मौसमको समेत मध्यनजर राखी प्लेन कतिको हल्लिन सक्ने जानकारी अग्रिम लिने गर्नुपर्दछ । मौसम खराबी भएको बेला, जहाज हल्लिन सक्ने वा हल्लिएको बेला चोट लाग्न सक्ने हुनाले सिटबेल्ट अनिवार्य लगाउनु पर्दछ । पेटी कसिलो तरिकाले नबाँध्ने, सिटबेल्ट बढेको पेटको तल्लो भाग वा कम्मरको लेभलमा बाँध्नुपर्दछ । गर्भवती महिलाको शरीरमा रक्तसंचार त्यसैपनि दवाबमा क्याबिन भित्रको कम प्रेसरले सैद्धान्तिक रुपमा रगत जम्ने जोखिम झोलिलो बढी जल वियोजन (डिहाईड्रेसन) बाट बच्न डिहाईड्रेसन भएमा पाठेघरमा रगत प्रवाह घट्न सक्छ । यात्रा अघि ग्याँस बढ्ने खानेकुरा (गेडागुडी, काउली, बन्दा) खाने, कार्बोनेटेड ड्रिंक्स (कोक, पेप्सी) पिउने गर्नुहुँदैन । यी खानेकुराले हवाईयात्रा असहज बनाउन सक्छ । नेपालका आन्तरिक उडान तर्पmका विमानहरु प्रायः १६ हजार देखि २२ हजारको उचाईमा उड्छन् । कुनैपनि अध्ययनबाट यति उचाईको आन्तरिक उडानले गर्भे शिशुलाई खासै असर खासै असर गर्दैन तर पनि १२ हजार माथिको उचाईमा गर्भवती महिलालाई ननिदाउन, चनाखो बसिरहन सल्लाह दिइन्छ । गर्भवती महिला एक्लै भन्दापनि कोही एकजना सहयोगीसँग हवाईयात्रा गर्नु बुद्धिमानी हुन्छ । साथमा आएका व्यक्तिसँग उपचाररत चिकित्सकसहितको केही इमर्जेन्सी नम्बर बोकिराखेको हुनुपर्दछ । अद्यावधिक मेडिकल रेकर्ड, सर्टिफिकेट सबै एउटा क्लियर ब्याग बोकिहिँड्नु पर्दछ । साराशंमा, गर्भावस्थामा कुनै जटिलता छैन भने खासै डकुमेन्ट चाहिँदैन । तर गर्भवती महिला वा नातेदारले ईमान्दारिताका साथ सत्य जानकारी दिनुपर्दछ । डकुमेन्ट आवश्यक हुने परिस्थितीमा हवाई यात्राको केही दिन अगाडि सम्बन्धित चिकित्सकसँग परामर्श लिई सर्टिफिकेट पनि लिनुपर्ने हुन्छ । र, एअरपोर्टमा राखिएका कुनैपनि स्क्यानरले गर्भवती तथा त्यसका जटिलता पत्ता लगाउन सक्दैन । ती स्क्यानरहरु सुरक्षित नै मानिन्छन् । गन्तव्य स्थलमा गर्भजाँच गर्ने, गर्भ स्याहार गर्ने स्वास्थ्यसंस्था वा स्वास्थ्यकर्मीको सुनिश्चितता गर्नु पर्दछ ।
