रोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौतीको ३३औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष राजेश सुन्दर सैजुको सभापतित्वमा सम्पन्न भएको छ । सभामा संस्थाका ज्येष्ठ नागरिक सदस्य तारादेवी कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी एवं सदस्यहरू, लेखा समितिका संयोजक तथा सदस्यहरू र विभिन्न उपसमितिका संयोजक एवं सदस्यहरू तथा १०३७ जना शेयर सदस्यहरूको उल्लेखनिय सहभागीतामा कार्यक्रम सम्पन्न भएको संस्थाले जनाएको छ । ७७ लाख ४४ हजार शेयर पूँजी संकलन गरेको छ । वि.सं. २०५० सालमा स्थापना भएको यस संस्थाले स्थापनाकालदेखि हालसम्म विभिन्न आरोह–अवरोह र चुनौतीहरू पार गर्दै सदस्यहरूको साथ, सहयोग, विश्वास र निरन्तर सहकार्यका आधारमा आफ्नो यात्रा अगाडि बढाउँदै आएको छ ।
सभामा संस्थाका सचिव दिगम्बर श्रेष्ठले आर्थिक वर्ष २०८२÷०८३ मा संस्थाले सञ्चालन गरेका गतिविधि तथा हासिल गरेका प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमा संस्थाका कार्यक्रम, सेवा प्रवाह तथा संस्थागत गतिविधिबारे जानकारी गराइएको थियो । संस्थाका कोषाध्यक्ष बालकृष्ण कर्माचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो । लेखा सुपरीवेक्षण समिति संयोजक सागर प्रधानले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थामा हाल १६५६ जना शेयर सदस्य आबद्ध रहेका छन् भने २६७ जना सदस्यले संस्थाबाट विभिन्न शीर्षकमा कर्जा सुविधा लिई कारोबार गरिरहेको जानकारी सभामा गराइएको थियो । साधारण सभाको अवसरमा विभिन्न बचत विधामा उत्कृष्ट योगदान पु¥याउने बचतकर्ता तथा संस्थाको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने सदस्यहरूलाई सम्मान गरिएको संस्थाका प्रबन्धक सिजन सुद्धकारले बताउनुभयो ।
जेष्ठ नागरिक सम्मान तर्फ तारादेवी कर्माचार्य, उत्कृष्ट दैनिक बचतकर्तामा ज्ञानेन्द्र ताम्राकार, उत्कृष्ट नियमित बचतकर्तामा बिजयराम धुस्सा, उत्कृष्ट बाल बचतकर्तामा उज्सा सैजु, उत्कृष्ट मुद्दती बचतकर्तामा इन्जिता ताम्राकार, उत्कृष्ट ऋणीमा वीरबहादुर थिङ तामाङ, शेयर सदस्य वृद्धि कार्यमा सक्रिय योगदानमा प्राप्ती सैजु सम्मानित हुनुभएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न समयमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसैगरी महिलालाई उद्यमी तथा आत्मनिर्भर बनाउने उद्देश्यले उद्यमशीलता विकाससम्बन्धी तालिम सञ्चालन गरिएको छ । बालबालिकाको शैक्षिक विकास र प्रोत्साहनका लागि छात्रवृत्ति सम्बन्धी कार्यक्रमहरू पनि अगाडि बढाउँदै आएको छ ।
