बनेपा, श्री श्वेत गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ वार्षिक साधारण सभा बनेपास्थित संस्थाकै कार्यालय परिसरमा सम्पन्न भएको छ । बनेपा नगरपालिका–८, अरनिको राजमार्गमा अवस्थित यस संस्थाको साधारण सभाले संस्थाको विगतको प्रगति समीक्षा गर्नुका साथै आगामी कार्ययोजना र संस्थागत विकासका विषयमा विस्तृत छलफल गरेको छ ।
प्रगतिको समीक्षा तथा आर्थिक विवरण प्रस्तुत
२०६४ सालमा स्थापना भएको यस सहकारीले आफ्ना शेयर सदस्यहरूको सक्रिय सहभागितामा नियमित एजेन्डामाथि छलफल गर्दै वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक विवरण प्रस्तुत गरेको थियो । संस्थाद्वारा प्रस्तुत गरिएको विवरणअनुसार यस सहकारीको वर्तमान वित्तीय स्थिति यसप्रकार रहेको छ ः
कुल शेयर सदस्य संख्या ः ४२६, कुल कारोबार ः रु. १ करोड ६१ लाख, कुल बचत संकलन ः रु. १ करोड ३४ लाख र कुल ऋण लगानी ः रु. १ करोड ८ लाख रहेको छ ।
साधारण सभाले संस्थाको आगामी ४ वर्षका लागि त्रिरत्न मानन्धरको अध्यक्षतामा नयाँ सञ्चालन समिति निर्विरोध निर्वाचित गरेको छ । त्यसैगरी सचिव पदमा दीपेन्द्र बहादुर बिष्ट, कोषाध्यक्षमा महेन्द्र बिष्ट, सदस्यहरूमा मिना मानन्धर, तियौराज अधिकारी, रमेश खत्री र धर्मलाल मानन्धर रहनुभएको छ ।
त्यसैगरी, सभाले संस्थाको आर्थिक पारदर्शिता र नियमनका लागि कमल श्रेष्ठको संयोजकत्वमा लेखा तथा सुपरिवेक्षण समिति पनि गठन गरेको छ । उक्त समितिका सदस्यहरूमा राम सुन्दर भट्टराई र चन्द्र मान मानन्धर चयन हुनुभएको छ । संस्थाको निरन्तर प्रगति, पारदर्शिता र शेयर सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्धिको कामनासहित सम्पन्न भएको यस साधारण सभाले आगामी दिनमा शेयर सदस्यको वृहत्तर आर्थिक हितको लागि कार्य गर्दै जाने जनाएको छ ।
