आजको अङ्कमा हामी प्रकृतिको उपासना, कठोर तपस्या र सामाजिक सद्भावको अनुपम महापर्व ’छठ’ को बारेमा सानो चर्चा गर्दैछौँ । छठ केवल एक चाड मात्र होइन, यो त मानव सभ्यता र सूर्य ऊर्जाबीचको अटुट सम्बन्धको उत्सव हो । यसै विषयमा शास्त्र, इतिहास र विज्ञानका पाटाहरू केलाउँदै एउटा आलेखको सुरुवात गरौं । छठ पर्व के हो ? अनि यसको नाम ‘छठ’ नै कसरी रहन गयो ? छठ भनेको प्रत्यक्ष देखिने देवता सूर्य, अर्थात् आदित्य, र उनकी शक्ति स्वरूपिनी छठी माताको आराधना गर्ने पर्व हो । संस्कृत शब्द ‘षष्ठी’ को अपभ्रंश रूप नै ‘छठ’ हो । यो पर्व कार्तिक शुक्ल पक्षको छैटौँ दिन अर्थात् षष्ठी तिथिमा मुख्य रूपले मनाइने भएकाले यसलाई छठ भनिएको हो । यसको सबैभन्दा सुन्दर पक्ष के छ भने, यहाँ कुनै मूर्ति वा मन्दिरको पूजा हुँदैन, बरु प्रत्यक्ष सूर्य र जलस्रोतको पूजा हुन्छ । अझ रोचक कुरा त के छ भने, संसारले उदाउँदो सूर्यलाई पुज्छ, तर छठमा पहिले अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । यसले ‘अस्त बिना उदय सम्भव छैन’ भन्ने गहिरो जीवनदर्शन सिकाउँछ । अस्ताउँदो सूर्यलाई पुज्नु आफैँमा एउटा अद्भुत दर्शन हो । अब अलि इतिहासतर्फ फर्कौँ न । यो पर्वको उत्पत्ति कहिले र कसरी भयो ? हाम्रा पुराण र इतिहासहरूले के भन्छन् ? छठको जरो प्राचीन वैदिक काल, भनौँ करिब ३५०० वर्षभन्दा अघिसम्म पुग्छ । प्राचीन ऋषिमुनिहरूले बिना अन्न र पानी तपस्या गर्दै सूर्यको किरणबाट सिधै ऊर्जा प्राप्त गर्न यो पद्धति विकास गरेका थिए । पौराणिक कथाको कुरा गर्दा, ‘ब्रह्मवैवर्त पुराण’ मा राजा प्रियव्रतको प्रसङ्ग आउँछ । निःसन्तान राजा प्रियव्रतले यज्ञ गर्दा मृत बालक जन्मियो । त्यही बेला ब्रह्माकी मानसपुत्री ‘षष्ठी देवी’ प्रकट भएर त्यो मृत शिशुलाई जीवित पारिदिनुभयो । त्यही खुसीमा राज्यभर षष्ठी देवीको पूजा सुरु भयो । यसबाहेक, त्रेतायुगमा भगवान् राम र सीताले अयोध्या फर्किएपछि छठ व्रत बसेको, अनि द्वापरयुगमा सूर्यपुत्र कर्ण र द्रौपदीले राज्य र परिवारको रक्षाका लागि छठको उपासना गरेको उल्लेख महाभारतमा पाइन्छ । भनेपछि वैदिक कालदेखि रामायण र महाभारत कालसम्म यसको निरन्तरता रहेछ । यो पर्व चार दिनसम्म अत्यन्तै कठोर नियम र पवित्रताका साथ मनाइन्छ । पहिलो दिन, अर्थात् चतुर्थीलाई ‘नहाय–खाय’ भनिन्छ । यस दिन व्रतालुले स्नान गरी घर चोख्याउँछन् र लसुन–प्याज बिनाको शुद्ध लौका र भात खान्छन् । दोस्रो दिन, पञ्चमीलाई ‘खरना’ भनिन्छ । दिनभरको उपवासपछि साँझ माटोको नयाँ चुलोमा आँपको दाउरा बालेर सख्खर र चामलको खीर अनि रोटी पकाइन्छ । त्यो प्रसाद खाएपछि व्रतालुको ३६ घण्टे कठोर निर्जल व्रत सुरु हुन्छ । तेस्रो दिन, अर्थात् मुख्य षष्ठीका दिन ‘सँझिया अघ्र्य’ हुन्छ । बाँसको ढाकीमा ठेकुवा, भुसुवा, केरा, उखु, नरिवल जस्ता प्राकृतिक प्रसाद सजाएर नदी वा पोखरीको घाटमा लगिन्छ र अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । अनि चौथो दिन, सप्तमीको बिहान ‘बिहनिया अघ्र्य’ अर्थात् उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठी माताको कथा सुनेर व्रत तोडिन्छ, जसलाई ‘पारण’ भनिन्छ । ३६ घण्टासम्म पानीसमेत नपिई व्रत बस्नु सामान्य तपस्या होइन । हाम्रा वेद र पुराणहरूमा छठ र सूर्य उपासनालाई अत्यन्त महत्वका साथ व्याख्या गरिएको छ । ऋग्वेदमा सूर्यलाई सम्पूर्ण जगतको आत्मा भनिएको छ । छठको बिहान पूजिने उषा देवी र सूर्यको स्तुति ऋग्वेदको पहिलो मण्डलमा यसरी गरिएको छ — “चित्रं देवानामुदगादनीकं चक्षुर्मित्रस्य वरुणस्याग्नेः । आप्रा द्यावापृथिवी अन्तरिक्षं सूर्य आत्मा जगतस्तस्थुषश्च ।।” यसको अर्थ हो, देवताहरूको तेजस्वरूप सूर्य उदाउनुभएको छ, जसले स्वर्ग, पृथ्वी र अन्तरिक्षलाई प्रकाशले भर्नुभएको छ, र उहाँ नै सम्पूर्ण चराचर जगतको आत्मा हुनुहुन्छ । त्यस्तै, छठी माताको स्वरूपबारे ब्रह्मवैवर्त ‘पुराण’ मा लेखिएको छ, “षष्ठांशां प्रकृतेः शुद्धां सुप्रतिष्ठां च सुव्रताम् । सुपुत्रदां च शुभदां दयारूपां जगत्प्रसूम् ।।” अर्थात्, छठी माता मूल प्रकृतिको छैटौँ शुद्ध अंश हुनुहुन्छ, जो उत्तम सन्तान, सुख र आरोग्य प्रदान गर्ने जगतकी माता हुनुहुन्छ । अनि अघ्र्य दिँदा पाठ गरिने एउटा अत्यन्तै प्रसिद्ध मन्त्र छ, “एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते । अनुकम्पय मां भक्त्या गृहाणाघ्र्यं दिवाकर ।।” यसको भाव के हो भने, हे हजारौँ किरण भएका, तेजका पुञ्ज सूर्यदेव ! मेरो भक्तिपूर्वक चढाइएको यो अघ्र्य स्वीकार गर्नुहोस् । वास्तवमा, प्रकृतिबाट पाएको ऊर्जा र फलफूल प्रकृतिलाई नै फिर्ता गर्ने यो एउटा सुन्दर आध्यात्मिक र वैज्ञानिक चक्र हो । अहा कति गहन भाव! श्लोकहरूको अर्थ सुन्दा छठको आध्यात्मिक पक्ष झनै छर्लङ्ग भयो । अनि वाल्मीकि रामायणको ‘आदित्यहृदय स्तोत्र’ मा पनि सूर्यलाई रोग निवारक भनिएको छ । “नमः सूर्याय शान्ताय सर्वरोग निवारिणे”, अर्थात् सम्पूर्ण रोगहरूको निवारण गर्ने सूर्यदेवलाई नमस्कार छ । छठ व्रत बस्नाले चर्मरोग लगायतका शारीरिक कष्टहरू निको हुन्छन् भन्ने शास्त्रीय र वैज्ञानिक दुवै मान्यता छ । बिहान र बेलुकाको सूर्यको किरणमा भिटामिन ‘डी’ र रोग प्रतिरोधात्मक क्षमता बढाउने शक्ति हुन्छ, जुन आजको विज्ञानले पनि प्रमाणित गरिसकेको छ । साँच्चै, छठ पर्वमा पुरोहित चाहिँदैन, प्लास्टिकको सट्टा बाँस र माटोका भाँडा प्रयोग हुन्छन् । यसले सामाजिक समानता र वातावरण संरक्षणको पनि ठूलो सन्देश दिन्छ । आजको शृङ्खलामा हामीले छठ पर्वको वैदिक इतिहास, विधि र यसको वैज्ञानिक महत्त्वबारे चर्चा गर्यौँ । आशा छ, पाठकहरूलाई आजको आलेख मन पर्यो होला । प्रकृति र संस्कृतिको यो महापर्व छठको यहाँहरू सबैलाई हार्दिक मंगलमय शुभकामना । अर्को अंकमा नयाँ प्रसङ्ग लिएर फेरि भेटौँला । सबैको जय होस् ।
