IMG-LOGO

गौरी मल्ल र मनोज गजुरेलको सस्तो प्रचार

 मंगल, मंसिर २, २०८३  रविन्द्र अधिकारी

                अब यत्ति भएपछि त दर्शकले हलमै गएर फिलिम नहेरेपनि युटुवमा ट्रेलर त हेर्ने नै भए । लौ ट्रेलरै नहेरे पनि कम्तिमा यत्ति जिज्ञाशा त जगाईदियो जस्ले गर्दा जो कोहीले कुन फिलिमको ट्रेलर रिलिज हुन लाग्या रैछ र यो हंगामा भो भन्दै फिलिमको नाम चै मज्जैसंग थाहा पांऊने भए ।                 कुनै समय थियो, जब एउटा नयाँ नेपाली चलचित्र प्रदर्शन हुँदैछ भन्ने खबर मात्रले दर्शकहरू उत्साहित हुन्थे । आफ्ना प्रिय कलाकारहरूको अभिनय हेर्न मानिसहरू घण्टौँ पैदल हिँडेर पनि सिनेमाघर पुग्थे । चलचित्रको कथा, अभिनय, सङ्गीत र प्रस्तुतिकरण नै त्यसको सबैभन्दा ठूलो प्रचार हुन्थ्यो । न कुन "first look" पोष्टर सार्वजनीक गर्नु पथ्र्यो, न कुनै ट्रेलर वा गीत रिलिजिङ प्रोग्राम गर्न पथ्र्यो । तर समयसँगै चलचित्र उद्योगको प्रतिस्पर्धा बढ्दै जाँदा प्रचारका शैलीहरू पनि बदलिन थाले। हालै काका किकी चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री गौरी मल्ल, निर्देशक विक्की अग्रवाललगायत चलचित्र टोलीलाई प्रहरीले पक्राउ गरिरहेको जस्तो देखिने दृश्य सिर्जना गरियो । सुरुमा वास्तविक जस्तो देखिएको त्यो घटना पछि चलचित्रको प्रचारका लागि पूर्वयोजनाअनुसार गरिएको नाटकीय प्रस्तुति भएको खुल्योे । केही समयका लागि यसले चर्चा त कमायो, तर यसले चलचित्र प्रचारको नैतिक सीमामाथि गम्भीर प्रश्न पनि उठाइदियो ।                 चलचित्रप्रति दर्शकको चासो जगाउने सबैभन्दा बलियो माध्यम राम्रो कथा, प्रभावशाली अभिनय, उत्कृष्ट निर्देशन र गुणस्तरीय निर्माण होस कृत्रिम विवाद वा झुटो सनसनी होइन । जब प्रचारका लागि वास्तविक गिरफ्तारी, दुर्घटना वा अन्य संवेदनशील घटनाको अभिनय गरेर दर्शकलाई भ्रममा पार्ने प्रयास गरिन्छ, त्यसले केही क्षणको चर्चा त दिलाउन सक्छ, तर दीर्घकालीन रूपमा दर्शकको विश्वास कमजोर बनाउँछ । प्रचारको उद्देश्य दर्शकलाई जानकारी गराउनु हुनुपर्छ, झुक्याउनु होइन । आज सामाजिक सञ्जालमा भाइरल हुनका लागि जे पनि गर्न मिल्छ भन्ने सोचले सिर्जनात्मकतालाई पछाडि धकेलिरहेको छ । चलचित्रको गुणस्तरभन्दा प्रचारको हल्ला ठूलो बन्न थालेपछि दर्शकहरू पनि यस्ता स्टन्टप्रति क्रमशः उदासीन र निराश बन्दै गएका छन् । तै माथि अब त चलेका सिनियर कलाकार पनि यस्बाट बराबर शिकार भएको देख्दा व्यापारिकरणको बाक्लो पर्दाले नैतिकताको च्यादरलाई ढकमक्कै ढाकेको भान भयो ।                 वास्तवमा, नेपाली चलचित्र उद्योगले अहिले सबैभन्दा धेरै आवश्यक ठानेको कुरा सनसनी होइन, विश्वासको पुनर्निर्माण हो । दर्शक सिनेमाघरमा नक्कली घटना हेरेर होइन, मन छुने कथा, जीवनसँग जोडिने पात्र र सम्झनलायक चलचित्र अनुभव गर्न जान्छन् । यदि चलचित्र निर्माताहरूले आफ्नो ऊर्जा प्रचारका कृत्रिम नाटक सोचेर बिताँऊनु भन्दा उत्कृष्ट पटकथा, मर्मस्पर्शी कथा, सक्षम कलाकार र स्तरीय निर्माणमा लगानी गर्न सके, दर्शकलाई आकर्षित गर्न कुनै कृत्रिम हर्कत आवश्यक पर्ने थिएन । क्षणिक चर्चाले चलचित्रलाई केही दिन चर्चामा राख्न सक्छ, तर उत्कृष्ट सिर्जनाले पुस्तौँसम्म दर्शकको मनमा स्थान बनाउँछ । अन्ततः चलचित्रको भविष्य प्रचारको हल्लाले होइन, त्यसको गुणस्तरले नै निर्धारण गर्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्